May 18, 2021, Tuesday

चुनौती र अवसरको मध्यमार्गी बाटो कसरी पैल्याउलान् त वाम गठबन्धन र काँग्रेसले ?

हरिविनोद अधिकारी

१. नेपालको संविधान तयार गर्न र कार्यान्वयन गराउनका लागि संक्रमणकाल छिचोल्न सफल भएको नेपाली काँग्रेस अबका दिनमा भने नेपालको शासन गर्न वञ्चित भएको देखिन्छ । हुन त कसैले पनि बहुमत ल्याएको प्रत्यक्ष देखिँदैन तर वाम गठबन्धनका नाममा यसरी लज्जास्पद हार भइसकेपछि पनि हामी हारेका छैनौँ र अरु मिलेर हराए भन्नुचाहिँ राजनीतिक बेइमानी हुन्छ नेपाली काँग्रेसका लागि ।

२. एकातिर नीतिगत रुपमा भने नेपाली काँग्रेसको संसदीय व्यवस्थाअनुसारको प्रजातान्त्रिक व्यवस्थाको जीत भएको छ र त्यही अनुसारको राजनीतिक प्रणाली सञ्चालनमा आउन थालेको छ । संघीय स्वरुपको विकेन्द्रित शासन प्रणालीको कार्यान्वयन सुरु भएको छ । काँग्रेसको आवश्यकता भनेको प्रजातन्त्रको पुनर्बहाली, त्यसको व्यवस्थापन र कार्यान्वयन सम्मको नेतृत्वका लागि थियो , अब हामीले पो सञ्चालन गर्ने भन्ने वामपन्थीहरुको भनाइलाई नेपाली जनताले लालमोहर लगाएका छन् स्थानीय तहदेखि, प्रदेश सरकार र संघीय सरकारसम्मको यात्रामा ।
३. नेपालीहरुले तत्कालीन सोभियत संघको मिन्सेभिक र बोल्सेभिकको कथा पनि पढेका छन्, चीनको साम्यवादी शासनको स्थापनाको कथा पनि सुनेका छन् , पढेका छन् । ती देशमा राजतन्त्र कसरी समाप्त भए र कम्बोडियामा कसरी राजतन्त्रको स्थापना फेरि भयो भन्ने पनि बडो ध्यान दिएर जानकारी राखेका छन् । अनि नेपालमा कम्युनिस्टहरुको लागि सहज अवस्था कसरी तयार भएको थियो भन्ने कुरा अबका दिनमा पुनर्लेखन होला, सत्यलाई छोप्दै तर नेपालको राजनीतिका चाख राख्नेहरुले राम्रैसँग बुझेका छन् । त्यसैले कोही पनि डराएका छैनन् किनभने प्रजातन्त्रका जगमा उभिएको शासन प्रणाली आफैँ कहिल्यै पनि ढल्दैन, ढाल्नु पर्छ । त्यो आजको युगमा साह्रै गाह्रो छ भन्ने कुरा म्यान्मारले देखाएको छ । नेपालले पनि त्यसको स्पष्ट जानकारी इतिहासलाई दिएको छ ।
४. बरु मुलुकमा राजनीतिक , सामाजिक तथा आर्थिक स्थिरता भने अझै टाढा देखिँदैछ । अनावश्यकरुपमा विदेसीहरुको हस्तक्षेप निम्त्याइएको देखिन्छ । त्यो कुनै विदेसीहरुको धेरै नजिक गएर र कुनै विदेसीहरुसँग धेरै टाढा बसेर पनि । निर्णायक दलहरुको वारेमा जनतामा सकारात्मक धारणा छैन । बाध्यता हो जनताको, उपलब्ध खराबहरुमध्ये छान्नु जरुरी थियो । वाम गठबन्धनको जिताइ पनि प्राविधिक देखियो भने नेपाली काँग्रेसको लज्जास्पद हार पनि झन प्रायोजितरुपमा मन्चन गरेजस्तो देखियो । वैधरुपमा प्रजातान्त्रिक पक्षलाई हराएर वाम गठबन्धनको शासन प्रणाली थोपर्न चाहँदा पनि सहज तरिकाले शासन चलाउन गाह्रो छ र सधैँ फुट्न बानी परेका नेपाली कम्युनिस्टहरुको पनि आपसका मिलेर स्थायी सरकार दिन पनि त्यति सहज देखिँदैन ।
५.हिजोका दिनमा काँग्रेसलाई सिध्याउन धेरै तरिका अपनाइए तर कोही पनि सफल भएनन् । अहिले काँग्रेसको आफ्नै कमजोरी र आपसमा देखिने अविश्वासले त्यो सफल त भएको देखियो तर प्रजातन्त्रको पक्षमा संघर्ष गर्न एकदम सडकमा आउनचाहिँ काँग्रेसका लागि सामान्य कुरा जस्तो हुँदो रहेछ । जेल बस्न र दुःख खप्नेहरुमात्र फेरि काँग्रेसमा एकपटक जम्मा हुने देखिन्छ किनभने स्वाद खानका लागि मात्र आएकाहरुलाई यी केही वर्षहरु फाप्ने खालका होइनन् । प्रजातन्त्र भनेको धेरै सहिष्णुता देखाएर र धैर्यताका साथ पर्खने र खप्ने व्यवस्था हो । तर यता केही समयदेखि नेपाली काँग्रेसमा देखिएको उत्ताउलो पनले पनि आजको अवस्था आउनका लागि सहज भएको मानिन्छ ।
६.हुन त नेपाली काँग्रेसमा चुनाबी समीक्षा पनि सुरु भएको छ क्यारे , तर अहिलेका कोही पनि निष्पक्षताका साथ आफूलाई हेर्न सक्षम छैनन् । यो पटकको निर्वाचनमा तत्कालै एकदिनमा मात्र आजको अवस्था सृजना भएको होइन,यसका पछिल्तिरको इतिहास पुरानै हो । तर यसभन्दा पहिले नेपाली जनताले विश्वास गर्न लायक नेताहरु थिए र कमी कमजोरीलाई बेलैमा सुधार्ने कोसिस गरेका थिए । किसुनजी, गिरिजाबाबु र सुशील कोइरालालाई दलभित्रैबाट दिएको दुःखसमेत यसपटक अविश्वासको कारक बनेको थियो ।
७. अबको यात्रा भनेको कुन दल कसरी बचाउने भन्दा पनि प्रजातन्त्र कसरी बचाउने भन्ने हो । घर पालुवा खरायोरुपी प्रजातन्त्रलाई गाँज्न सक्ने जंगली बाघबाट कसरी बचाउने भन्ने अबको समस्या हो । त्यो जंगली बाघ भनेको यही व्यवस्थाबाट त जन्मिन सक्दैन तर हामीेले गरेका धेरै प्रयोगमध्ये कुनै प्रयोगमा असफलता देखियो भने पूरै प्रणालीमा अस्थिरता आउने छ र प्रणालीमा कतैबाट पनि आक्रमण हुनसक्छ ।
८. अब छिटै नै प्रदेश सरकारहरुको गठन सुरु हुनेछ । संघीयताको पहिलो र प्रभावकारी खुट्किलो स्थानीय तहको प्रभावकारितामा प्रश्न उठ्न थालेको बेलामा प्रादेशिक सरकारको परीक्षण सुरु हुनेछ र तत्कालै संघीय सरकारको तयारीले र कार्यक्रमले नयाँ अध्याय सुरु हुनेछ । एकपछि अर्को प्रयोगमा मुलुक झन झन टाट पल्टँदै जाने र कुनै पनि तह प्रभावकारी नहुने लक्षण पनि देखिँदैछ । अधिकारको लडाईँले नयाँ उग्ररुप लिने कुरा अस्थायी मुकामको ख्याल ख्यालमा नै देखियो भने साँच्चै सरकारमा जानेहरुले भोलि प्रयोग गर्ने अधिकारले तीन तीन तहमा कस्तो रुप लेला ? सायद यिनै कारणले पनि आगामी दिनमा स्थिरताभन्दा अस्थिरताले पो अप्ठेरो पार्ने हो कि भन्ने डर लाग्न थालेको छ ।
९. र अन्त्यमा, मुलुक झन कठोर संक्रमणतर्फ डोरिँदैछ । जानेर नजानेर प्रजातन्त्रका लागि लड्नेहरुले नै त्यसको लागि बाटो तयार गरिरहेका देखिन्छन् । अहिलेको काँग्रेस र एमालेका बिचको कटुताले नयाँ संक्रमणका लागि बाटो तयार गरेको छ । माओबादी केन्द्रले देखाएको मध्यमार्गलाई कसरी एकाकार पार्टीले सहजीकरण गर्ला, अहिल्यै अनुमान गर्न सकिँदैन । जानेर नजानेर मुलुकमा स्थिरताभन्दा अस्थिरता प्रभावी नहोस् भनेर सहकार्यमा जानु काँग्रेस र एमालेका लागि आगामी दिनमा चुनौती र अवसर दुवै हुनसक्छ ।

सम्बन्धित समाचार

व्यापारीलाई पोष्न खोपमा भ्रष्टाचार गर्दा कोरोना संक्रमितले ज्यान गुमाउनु पर्यो, ओलीले राजिनामा दिनु पर्छ
व्यापारीलाई पोष्न खोपमा भ्रष्टाचार गर्दा कोरोना संक्रमितले ज्यान गुमाउनु पर्यो, ओलीले राजिनामा दिनु पर्छ
  • २०७४ माघ ८, ०९: ०९: २४

प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा प्रस्तुत गर्नु भएको विश्वासको मत लिने प्रस्तावको विषयमा आफ्नो मत राख्दै प्रमुख प्रतिपक्षी दलका नेता...

कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
  • २०७४ माघ ८, ०९: ०९: २४

१.कोभिड—१९को दोस्रो छालले नेपाललाई पनि छोप्यो भने हुन्छ । विश्वका देशहरुमा कोरोनाका भाइरसहरुले विभिन्न रुप लिएर विस्तारित हुन थालेका समाचारहरुले...

पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
  • २०७४ माघ ८, ०९: ०९: २४

१. नेपालमा प्रजातन्त्रको स्थापना, पुनस्र्थापना र फेरि पुनस्र्थापनाका घटनाहरुको कडीमै २०६३साल वैशाख ११ गते आएको थियो, जुन दिन जनताको आन्दोलनको...

भर्खरै

TOP