May 19, 2021, Wednesday

ठूला दलका सत्ता स्वार्थका कारण जिल्ला जिल्लामा आक्रोश

सरकारलाई प्रदेशसभाको राजधानी तोक्नै “सकस”

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन पश्चात संघीय र प्रदेश सभा सरकार निर्माण गर्ने कार्य राष्ट्रियसभाको निर्वाचन पश्चात मात्र प्रकृया अगाडि बढ्ने भएको छ । प्रदेश सभा सरकार निर्माण गर्नका लागि संविधानले तोके अनुसार सात प्रदेशमा अस्थायी राजधानी निर्माण गर्नुपर्ने बाध्यता सरकार सामु रहेको तत्काल प्रदेश सभाको अस्थायी राजधानी तोकी प्रदेश प्रमुखको नियुक्ती पश्चात प्रादेशिक सरकार निर्माण गर्नका लागि सम्बन्धीत प्रदेशमा बहुमत पाएको दलबाट मुख्य मन्त्रीको चयन हुने र मुख्य मन्त्रीबाट सात मन्त्रालयको सातवटा मन्त्री नियुक्त हुने व्यवस्था रहेको छ । त्यसपछि स्थायी राजधानीका लागि दुई तिहाई प्रदेश सभा सदस्यबाट अनुमोदन भएपछि मात्र स्थायी राजधानीे तय गरिने प्रावधान अनुसार प्रदेशको स्थायी राजधानीको टुंगो लाग्नेछ ।

अहिले गरेको अस्थायी राजधानी यथावत नहुन पनि सक्छ । तर राजनैतिक दलहरुको अर्कमण्यता र चुनावी नाराका कारण फेरी मुलुकमा द्धन्द्ध, झगडा तथा बन्द हड्तालले प्रसय पाउने होकी भन्ने आंशका बढेर गएको छ । जसअनुसार सरकारले शहरी विकास मन्त्रालय अन्तरर्गत गरेको प्रदेशसभाको राजधानीको प्रारम्भिक खाका बाहिर आउनासाथ विषेशगरी तीन प्रदेशमा आगजानी, तोडफोड, बन्द हड्ताल, चक्का जामले फेरी जनता आतंकित हुन पुगेको छ । सरकारको प्रारम्भिक खाका अनुसार प्रदेश नं. १ को राजधानी विराटनगर, प्रदेश नं. २ को राजधानी जनकपुर, प्रदेश नं. ३ को राजधानी भक्तपुरको ठिमी, प्रदेश नं. ४ को राजधानी पोखरा, प्रदेश नं. ५ को दाङ्ग, प्रदेश नंं ६ को राजधानी सुर्खेत र प्रदेश नंं ७ को राजधानी धनगढी हुने भन्ने हल्लाले प्रदेश नंं १, २, ५ र ७ मा जनता–जनताबीच आक्रोश पैदा भएको छ । गएको हप्ता देखिनै प्रदेश नं. ७ मा दबाबमुलक कार्यक्रम भन्दै सुदुरपश्चिमका पहाडी जिल्लामा आंतक सिर्जना भएको छ ।

उक्त स्थानहरुमा धनगढी राजधानी बनाउने कुरालाई डोटीवासीले विरोध गर्दै सडक अवरुद्ध तथा बजार क्षेत्र बन्द गराएका छन् । डोटीका सरकारी कार्यालय देखि शैक्षिक संस्था समेत बन्द भएका छन् । सुदुरपश्चिमका ७ जिल्लाको केन्द्रबिन्दु भीमदत्त राजमार्ग अवरुद्ध हुँदा त्यहाँबाट पहाडी जिल्लामा आवतजावत समेत ठप्प भएकोले जनताको दैनिक जीवनयापनमा ठूलो असर पर्न गएको छ । आन्दोलनले उग्र रुप लिँदा आगजानी, तोडफोड हुँदा सरकारी कार्यालय समेत तारो बन्न पुगेका छन् । अहिले डोटी, दिपायल जस्ता जिल्लाहरुमा राजधानीको माग बढ्दै जाँदा आन्दोलनले नयाँ उचाई लिएमा हिजोको जस्तो अखण्डको नारा पुनः दोहोरिने सम्भावना बढ्दै गएको छ । त्यसैगरी, प्रदेश नं ५ को बुटवल पनि निकै तातेको अवस्था छ । बुटवलमा नेपाली कांग्रेस, एमाले, माओवादी लगायत अन्य मधेशी दलहरु बुटवललाई राजधानी बनाउनु पर्ने माग राख्दै सडकमा उत्रेका छन् । सरकारको प्रारम्भिक खाका अनुसार ५ नं. प्रदेशको राजधानी दाङ्ग हुने हल्ला आएपछि बुटवल वासी आक्रोशित हुन पुगेका हुन् । बुटवललाई ५ नं. प्रदेशको राजधानी बनाएर अन्तर्राष्ट्रियस्तरको लुम्बिनी क्षेत्र, अन्तर्राष्ट्रिय विमानस्थलको विकास तथा पूर्वपश्चिमको प्रमुख नाका, नेपाल–भारत आवातजावतको दोस्रो ठूलो नाका तथा व्यापारिक केन्द्रहरु समेत भएको बुटवललाई राजधानी बनाउन अहिले भैरहवा, बुटवल, कपिलवस्तु, पाल्पा, गुल्मी लगायत जिल्लाका राजनैतिक नेताहरु एकमत देखिएका छन् । ५ नं. प्रदेशको लुम्बिनीलाई अखण्ड राख्न संविधान घोषणा हुनु अगावै पनि निकै लामो आन्दोलन हुँदा केही व्यक्तिको ज्यान समेत गएको थियो । अहिले पनि सोही अनुसारको आन्दोलनले उग्र रुप लिने सम्भावना बढ्दै गएको छ ।

नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रका नेताहरुले चाहीनेभन्दा बढी चुनावी नारा बनाएका कारण पनि समस्या बढ्दै गएको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका ठूला दलका नेताहरुले चुनावी परिणाम आफ्नो हात पार्न राजधानी बाँड्दै हिँडेका कारण पनि यो समस्या बढेर गएको देखिन्छ । ५ नं. प्रदेशको राजधानी दाङ्ग बनाउन दाङ्गबाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र ने.क.पा एमालेका नेता शंकर पोख्रेलले चुनावी भाषणमा नै ५ नं. प्रदेशको राजधानी दाङ्ग बनाउने प्रतिबद्धता जाहेर गरेका थिए र त्यही अनुसार उनीहरुले मत पनि पाएर विजयी भए । तर त्यही कुरा रुपन्देहीका ने.क.पा एमालेका उम्मेदवार विष्णु पौडेलले पनि बुटवललाई राजधानी बनाउने भन्दै मत मागेका कारण अहिले आ–आफ्नै पार्टीका नेताहरुको आ–आफ्नै चुनावी क्षेत्रलाई पकड बनाउन निर्वाचनको रणनीतिका कारण दाङ्ग राजधानी हुँदा पनि बुटवलका जनताले नमान्ने र बुटवल राजधानी हुँदा दाङ्गवासीले नमान्ने स्थिति सिर्जना भएको छ । यसमा राजनैतिक नेतृत्वकर्ताको बढी हात रहेका कारण प्रदेशको राजधानी तोक्ने कार्य सजिलै साम्य हुने देखिंदैन । त्यसैगरी प्रदेश नं. २ मा पनि यस्तै समस्या बढ्दै गएको छ । प्रारम्भिक खाका अनुसार २ नं प्रदेशको अस्थायी राजधानी जनकपुरमा बन्ने हल्ला आउन साथ बीरगञ्ज तातेको छ । त्यहाँका ठूला दल कांग्रेस, एमाले, माओवादी र मधेशी दलहरु पनि वीरगञ्ज नै राजधानी बनाउन पर्नेमा एकमत देखिन्छन् । २ नं. प्रदेशको राजधानी जनकपुर बनाउने प्रारम्भिक खाकाले वीरगञ्ज वासी आक्रोसित हुन पुगेका छन् । ठूला दलहरुका नेताहरुले नै उक्त आन्दोलनमा सरिक भएर भाषण ठोक्न थालेका छन् । वीरगञ्जमा कांग्रेस, एमाले, माओवादी तथा मधेशीवादी दल वीरगञ्जलाई नै राजधानी बनाउनु पर्ने अडान राख्दै आएका हुँदा वीरगञ्जमा पनि तनावग्रस्त हुने सम्भावना बढेर गएको छ । जे गरे पनि राजनैतिक नेताहरुको, राजनैतिक चिन्तन, दूरदृष्टि अभाव भएको कारण मुलुक फेरी द्धन्द्धको चपेटामा पर्ने चिन्ता बढेर गएको छ । सत्ताका भोगी राजनैतिक नेताहरुका कारण मुलुकमा शान्ति स्थापना स्थिर हुन नसकेको तितो यथार्थ जनतासामु छर्लङ्ग हुँदैछ ।

त्यस्तै प्रदेश नं. १ को राजधानी विराटनगरको हल्लाले धनकुटामा आन्दोलन सुरु भएको छ । अहिले धनकुटामा आन्दोलन चर्कदा कोशी राजमार्ग अवरुद्ध भएको हुँदा धनकुटा भएर पहाडी क्षेत्रतिर प्रवेशद्वार नै प्रभावित भएको हुँदा तेह्रथुम, संखुवासभा, भोजपुर लगायतका जिल्लाको यातायात ठप्प भएको छ । जसले गर्दा त्यहाका जनताको दैनिकी कष्टकर हुन पुगेको छ । धनकुटालाई राजधानी बनाउन धनकुटावासीले गरेको आन्दोलनमा राजनैतिक दलहरुको समर्थन रहेको हुँदा धनकुटाको आन्दोलन पनि त्यसै सेलाउन मुस्किल पर्ने देखिन्छ । धनकुटाको विकास र पूर्वाधारले पनि भरिपूर्ण भएको हुँदा धनकुटालाई राजधानी बनाउन सबै राजनैतिक दलहरुको समर्थन रहेको हुँदा बहालवाला मन्त्री सुनिल थापा समेत मन्त्रीमण्डलको विरोधी हुन पुगेका छन् । मन्त्रीमण्डलमा पनि बस्ने सरकारले गरेको हरेक कुरामा असहमति राख्ने खिचडी मन्त्रीहरुदेखि बौद्धिक समाज समेत निकै आक्रोशित भएका छन् ।
निर्वाचन अगावै यी समस्या समाधान गर्नुपर्ने राजनैतिक दल र सरकार निर्वाचनको बेलामा एक आपसमा चरम मनमुटाव भएपछि कारण यो समस्या झनझन गहिरिंदै जाने सम्भावना बढेर गएको हो । पार्टीपिच्छे र उम्मेदवार पिच्छे चुनावी नारा लिएर जनताका माझ गएका राजनैतिक दलका नेताहरुले गर्दा पुन समस्या बढदै गएको हो । सत्ता प्राप्तिमा मात्र सिमित रहेका शिर्ष नेताहरु जिल्ला जिल्लामा आगो सल्किंदा चुपचाप लागेर बस्नुले कतै संघीयताको पूर्ण कार्यान्वयन नहुने होकी भन्ने आशंका समेत बढ्न थालेको छ । विना पूर्वाधार प्रदेश सभाको निर्वाचन गरिएको र प्रदेश सभामा निर्वाचित भएर आएमा जनप्रतिनिधिलाई बस्ने र जनताको काम गर्ने थलोको ठेगाना गर्न नसक्ने नेपालका ठूला दलका नेताहरुले देश विकासको खोक्रो नारा दिएर नेपाली जनतालाई पुन झुक्याउन थालेका छन् भने ठूला पार्टीका नेतैपिच्छे राजधानी बाँड्ने गर्नाले नै यो समस्या बल्झाएका हुन् ।

सम्बन्धित समाचार

देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
  • २०७४ पुष २४, ०८: २९: ५७

नयाँ बिकल्प,काठमाडौं । कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैं देशमा कोरोना संक्रमणको महामारीबाट दैनिक दुई सयको हाराहारीमा नेपाली...

उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
  • २०७४ पुष २४, ०८: २९: ५७

नयाँ बिकल्प,काठमाडौं । सत्तारुढ केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्वासको मत दिने र नदिने विषयमा चर्किएको विपक्षी जनता समाजबादी पार्टी...

जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
  • २०७४ पुष २४, ०८: २९: ५७

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्तावको विपक्ष र तठस्थमा...

भर्खरै

TOP