May 14, 2021, Friday

मेलमिलाप नीतिको औचित्य

प्ुारुषोत्तम दाहाल

राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको औचित्य र सान्दर्भिकता कति छ ? ०३३ पुस १६ गते स्वनिर्वासनबाट स्वदेश फर्कदा जननायक वि.पी. कोइरालाले परिभाषित गर्नु भएको यो नीति माथि वहस हुने क्रममा उठिरहेको प्रश्न हो यो । हिजोका दिनमा यो नीति प्रतिपादन गर्दाको राजनीतिक अवस्था फरक थियो । राजनीतिका शक्ति र केन्द्रहरु भिन्न थिए । राजनीतिक प्रणाली फरक थियो । राजाका वरिपरि नेपालको राजनीतिक शक्ति थियो र प्रणालीका रुपमा निर्विकल्प,निर्दलीय पञ्चायत थियो । साम्यवादी दलहरु कतिपय भूमिगत थिए त कतिपय राजाका सहयोगी थिए । नेपाली कांग्रेसको अवस्था तीन प्रकारको थियो । एकथरी कांग्रेसहरु राजाका विस्वस्त सहयोगी थिए, अर्काथरी कांग्रेसहरु जेलमा थिए र तेस्रोथरी कांग्रेसजन निर्वासनमा थिए । तत्कालीन कानून अनुसार धेरै कांग्रेसहरुले मृत्युदण्ड सम्मको सजायको सामना गरिरहेका थिए । ०१७ सालमा राजा महेन्द्रले गरेको कूका कारण नेपालको राजनीति वाहिर र भित्र हुनपुगेको थियो । त्यसमा पनि ०२६ सालमा वि.पी. भारत निर्वासनमा गएपछि त राजनीतिको मोड नै परिवर्तन हुनपुगेको देखिन्छ । ०२६ देखि ०३३ को पहिलो चरणसम्म अनेक राजनीतिक उतार चढाव भयो । ०२८ मा राजा महेन्द्रको देहावसान, राजा वीरेन्द्रको उदय, नेपाली कांग्रेसको सशस्त्र आन्दोलन र त्यसले पुर्याएको भौतिक क्षति, पंचायतमा अनुदारवादी संशोधन जस्ता परिघटनाहरु आन्तरिक राजनीतिमा आएका उतार चढाव हुन् । त्यसैको सेरोफेरोमा अन्तरराष्ट्रिय राजनीतिमा समेत उथलपुथल आएको थियो । खास गरी भारतमा सिक्किम विलय, भारतकै सहयोगमा वंगलादेशको उदय, सोभियत संघको सहयोगमा अफगानिस्तानमा सत्ता परिवर्तन र इरानमा राजा रेजा पहल्वी विरुद्ध आरम्भ आन्दोलनहरुले साना देशको स्वतन्त्रतामाथि सन्देह पैदा गराइरहेको थियो । रुसको विस्तारित शक्ति र भारतसंग रुसको विशेष सम्वन्धका कारण यस क्षेत्रका साना राष्ट्रहरुमा एकप्रकारको शंका र भय व्याप्त थियो । त्यसमा पनि भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको महत्वाकांक्षाचरम उत्कर्षमा पुगेको थियो । अर्थात् सशस्त्र आन्दोलनका लागि आधार परिपक्व थिएन । सशस्त्र आन्दोलन गरे पनि वि.पी. पहिले राष्ट्रवादी र दोस्रोमा लोकतन्त्रवादी हुनुुहुन्थ्यो । तर राष्ट्र जोगाउने जनता हुन् भन्ने उहांको प्रबल मान्यता थियो । यस अर्थमा जनता सर्वोपरी तत्व हुन् देशका निम्ति भन्ने भनाई वारम्वार वि.पी.ले राख्नु भएको छ । लोकतन्त्रलाई वाद गर्नु भनेको जनता तत्वलाई वाद गर्नु समान हो भन्ने चिन्तन वि.पी. को थियो ।
सशस्त्र आन्दोलन वास्तवमा नै अपरिपक्व कदम थियो । योजनाबद्ध थिएन त्यो आन्दोलन । आन्दोलनमा अन्तरराष्ट्रिय समर्थन र सहयोग पनि थिएन । नेपाली राजनीतिमा भारतीय प्रभाव निरन्तर थियो र तत्कालीन भारतीय सत्ता नेपाली कांग्रेसको सहयोगी थिएन । नेपाली कांग्रेसको सम्बन्ध वर्मेली समाजवादीहरु, भारतीय समाजवादीहरु र अन्तरराष्ट्रिय समाजवादीहरुसंग वाहेक कसैसंग थिएन । समाजवादी अन्तरराष्ट्रियले भारतको दृष्टिकोणलाई नै नेपाललाई हेर्ने एकद्वार वनाएको थियो । उसले शान्तिपूर्ण परिवर्तनका पक्षमा त आफूलाई स्पष्ट गरेको थियो तर सशस्त्र आन्दोलनका पक्षमा मत जाहेर गरेको थिएन । देश भित्र राजाहरुको पकड जगैसम्म थियो । निर्दलीय पञ्चायती संयन्त्रलाई गाउसम्म विस्तार गरेका थिए । सूचना संयन्त्र मजवूत थियो । अहिलेको जस्तो सूचना प्रविधिको उपस्थिति नभए पनि प्रत्येक गाउमा एक वा दुई जना सूचक जासूसहरु राखिएको थिए । पञ्चहरु स्वयं जासूसीको काम गर्दथे । सशक्त सैनिक शक्ति र हतियार थियो सत्तासंग । उसको अन्तरराष्ट्रिय सम्बन्ध समेत परिपक्व वनाएको अवस्था थियो । चीन, भारत, सोभियत संघ र अमेरिका जस्ता ठूला राष्ट्रहरुलाई सन्तुलित बनाएर देशमा निरंकुश सत्ता चलिरहेको थियो । पंचायती सत्ताले लोकतन्त्रका सहयोगी हुने खालका सबै नाकाहरु वन्द गरिदिएको थियो । यस अवस्थामा भएको सशस्त्र आन्दोलन सत्ता परिवर्तनका निम्ति नभएर सत्तालाई तर्साउन मात्र हुन पुगेको थियो । तर यस विपरित नेपाली कांग्रेसको अवस्था थियो । कांग्रेसका अनेक महारथीहरुदेखि तलका अधिकांश कार्यकर्ता पञ्चायतमा प्रवेश गरिसकेका थिए । ०१८ सालको सशस्त्र विद्रोह असफल भएपछि कार्यकर्तामा ठूलो निरासा थियो । पार्टी संगठन भूमिगत भएका कारण सक्रिय हुनसकेको थिएन । अधिकांश जिल्लामा पार्टीको ढाचा समेत थिएन । यसतो अवस्थामा आरम्भ सशस्त्र आन्दोलन वापत नेपाली कांग्रेसले भयानक क्षति व्यहोर्नु परेको स्पष्ट छ । अर्थात् त्यो आन्दोलनले निरंकुश सत्ता झन् क्रूर र कठोर भयो भने लोकतान्त्रिक आन्दोलनमा क्षति । अन्दोलनले पंचायतलाई तर्साउने काम भने गरेको देखिन्छ । तर सशस्त्र आन्दोलनले नेपाली राजनीतिलाई सीमा वाहिर र सीमा भित्र गराएको हुनाले नेपालको सार्वभौमिक एकता र अखण्डतामाथि नै चुनौती हुनपुगेको आभाष वि.पी.ले गर्नुभयो । खास गरी वंगलादेशको विभाजनको लगत्तै भारतमा सिक्किमको विलय र इीन्दरा गान्धीको महत्वाकांक्षाको समीचिन विश्लेषण गरी वि.पी. मेलमिलाप र एकताको निष्कर्षमा पुग्नु भएको हुनसक्छ । सशस्त्र आन्दोलनको वलमा तत्कालीन भारतीय नेतृत्वले नेपालको सार्वभौमिक अखण्डता र एकतामाथि धावा वोल्ने खतराप्रति अन्तरात्माबाट वि.पी.सचेत देखिनुहुन्थ्यो । यसैकारण लोकतन्त्रको लडाईंलाई देश भित्रैबाट अघि बढाउने निष्कर्षमा उहां पुगेको स्पष्ट छ । जबकी त्यस समय उहां माथि सातोटा यस्ता अभियोग थिए ती प्रत्येक अभियागमा मृत्युदण्डको सजाय हुनसक्ने थियो । तर वि.पी. ले आफ्नो जीवन भन्दा मूल्वान् देशको जीवन र नेपाली जनताको स्वतन्त्रतालाई अनुभव गर्नुभयो । वि.पी.को महानता यसबाट समेत प्रमाणित हुन्छ ।
उल्लिखित राष्ट्रिय र अन्तरराष्ट्रिय परिवेशलाई सूक्ष्म मूल्यांकन गर्दै विपीले राष्ट्रिय एकता र मेलमिलापको नीति प्रतिपादन गर्ने परिपक्वता देखाउनु भएको अनुभव हुन्छ । उहांको यो नीतिले देश भित्र र वाहिर रहेको नेपाली राजनीति देश भित्र नै आयो । सशस्त्र आन्दोलनका कारण आफ्नो घर फर्कन नपाएका राजनीतिक कार्यकर्ताहरुले स्वदेश फर्कने र आफ्नो घरमा वस्ने अवसर पाए । जेल परेका कांग्रेसका कार्यकर्ताहरु जेलमुक्त भए र नेपाली राजनीतिको विभाजनलाई आधार वनाएर विकसित हुनसक्ने अन्तरराष्ट्रिय राजनीतिको चलखेल कमजोर हुन पुग्यो ।
वि.पी. ले राष्ट्रिय एकता तथा मेलमिलाप नीतिलाई सिद्धन्तका रुपमा , आफ्नो विस्वासका रुपमा वा रणनीति कुन रुपमा प्रतिपादन गर्नुभएको थियो ? यो प्रश्न जायज रुपमा उठ्ने गर्दछ । मेरो वुझाईमा यो सिद्धान्त , विस्वास र रणनीति सबै हो । सशस्त्र आन्दोलनबाट भएको सांगठनिक क्षतिले वि.पी.लाई आहत तुल्याएको थियो । यसकारण उहांले मेलमिलापको नीतिलाई सिद्धान्त मान्नुभयो । अन्तरराष्ट्रिय परिस्थितिलाई सूक्ष्म विश्लेषण गर्नुभयो यसकारणले यस नीतिलाई उहांले विस्वासका रुपमा व्याख्या गर्नुभयो । निर्दलीय सत्ता विरुद्ध यो शान्तिपूर्ण सत्याग्रह हुने भएको हुनाले रणनीतिका रुपमा प्रयोग गर्नुभयो । वि.पी कोइराला नेपाली लोकतन्त्र र समाजवादको प्रथम भाष्यकार मात्र होइन राष्ट्रियताको एक कुशल व्याख्याकार र प्रयोग कर्ता पनि हो । यसैकारण उहांका हरेक कुराको अर्थ हुन्छ । अर्थमा गम्भीरता हुन्छ । परिभाषाको महत्व हुन्छ ।
आज भन्दा करीव चार दशक पहिले परिभाषित गरेको राष्ट्रिय एकता र मेलमिलाप नीतिको सान्दर्भिकता र औचित्य कति छ ? राजनीतिक सत्ता र शक्ति सन्तुलनमा परिवर्तन आउनासाथ यो नीतिको औचित्य र अर्थवत्ता अन्त्य हुन्छ कि हुदैन ? त्यसमा पन राजनीतिक प्रणाली नै परिवर्तन भएको अवस्थामा चार दशक पहिलेको सिद्धान्त, विस्वास र रणनीति कति उपयुक्त हुन्छ ? यी प्रश्नहरु सतहमा उठिरहेका हुन्छन् । वि.पी.ले राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई प्रस्तुत गरेपछि दुईकोणबाट उग्र आक्रमण भयो । पहिलो निर्दलीय पञ्चहरुले भेला समेत गरी यसलाई अवाञ्छित घोषणा गरे भने साम्यवादी चिराहरुले पराजयको पीडा मान्दै राजासंग आत्म समर्पण हो भन्ने निचोड निकाले । लामो समयसम्म वि.पी विरुद्ध यी दुवै शक्तिहरु दुई भिन्न कोणमा वसी आक्रामक देखिए । दुवैका फरक स्वार्थ थिए । निर्दलीय पञ्चहरु राजाका आडमा देशलाई लुटि रहेका थिए । कतै मेलमिलापको नीतिलाई राजाले समर्थन गरी तदनुरुप कदम चाले भने आफ्नो स्वार्थ विपरित हुने उनीहरुको ठम्याई थियो । साम्यवादीहरु पनि राजा र लोकतान्त्रिक शक्ति मिलेको अवस्थामा आफ्नो जमीन भत्कनेमा त्रसित थिए । उनीहरु निर्दलीय पञ्चायती छहारीमा वसेर विभिन्न पेसा व्यवसाय चलाइ रहेका थिए र संगठनको काम गरिरहेका थिए । जेलमा हुने र यातना भोग्नेहरुको पीडा वाहेकका साम्यवादीहरुको स्वार्थ पञ्चायत रहनु र मेलमिलाप नीति सफल नहुनुमा वढी केन्द्रित थियो । ०४६ मा सम्पन्न जन आन्दोलन पछि यो विषय केही मत्थर भएको देखिन्छ । अव राजसंस्था छैन । शक्तिमा साम्यवादीहरु पुगेका छन् । राष्ट्रको स्वार्थलाई केन्द्रमा राख्ने हो भने हिमला , पहाड, तराई जहां वस्ने भए पनि उनीहरु बीच मेलमिलाप हुुनु पर्ने छ । राजनीतिक रुपले लोकतन्त्रवादी, साम्यवादी र अरु शक्तिहरु वीच मेलमिलापको आवस्यकता छ । मेलमिलापको अर्थ राजनीतिक मात्र हुदैन । सामाजिक समता, आर्थिक रुपान्तरण समेत हो । क्षेत्रीय सन्तुलन पनि मेलमिलाप नीति अन्तर्गत पर्दछ । समुदायका वीचको सम्वन्धलाई मेलमिलापको नीतिमा राख्नु पर्ने हुन्छ । राष्ट्रिय एकता र राष्ट्रिय मेलमिलाप भने पछि यसको अर्थ समग्रमा वुझ्नु पर्ने हुन्छ । समग्रमा वुझ्नासाथ यो नीतिको सार्वकालीन औचित्य र सान्दर्भिकता पुष्टि हुन्छ ।

सम्बन्धित समाचार

व्यापारीलाई पोष्न खोपमा भ्रष्टाचार गर्दा कोरोना संक्रमितले ज्यान गुमाउनु पर्यो, ओलीले राजिनामा दिनु पर्छ
व्यापारीलाई पोष्न खोपमा भ्रष्टाचार गर्दा कोरोना संक्रमितले ज्यान गुमाउनु पर्यो, ओलीले राजिनामा दिनु पर्छ
  • २०७४ माघ १, ०९: ५५: ०६

प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा प्रस्तुत गर्नु भएको विश्वासको मत लिने प्रस्तावको विषयमा आफ्नो मत राख्दै प्रमुख प्रतिपक्षी दलका नेता...

कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
  • २०७४ माघ १, ०९: ५५: ०६

१.कोभिड—१९को दोस्रो छालले नेपाललाई पनि छोप्यो भने हुन्छ । विश्वका देशहरुमा कोरोनाका भाइरसहरुले विभिन्न रुप लिएर विस्तारित हुन थालेका समाचारहरुले...

पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
  • २०७४ माघ १, ०९: ५५: ०६

१. नेपालमा प्रजातन्त्रको स्थापना, पुनस्र्थापना र फेरि पुनस्र्थापनाका घटनाहरुको कडीमै २०६३साल वैशाख ११ गते आएको थियो, जुन दिन जनताको आन्दोलनको...

भर्खरै

TOP