February 26, 2021, Friday

नयाँ सरकार बन्नु भनेको जाँदै गरेको प्रधानमन्त्रीले कसैलाई टिका लगाइ दिने होइन

विश्वप्रकाश शर्मा, प्रवक्ता–नेपाली कांग्रेस

मुलुकमा यतिखेर आमूल परिवर्तन भएको छ । प्रदेशको निर्वाचन पश्चात मुलुक प्रादेशिक संरचनामा पुगेको छ । नेपाली कांगेसले संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक संविधान कार्यान्वयन गर्न कुनै कसर बाँकी राखेको छैन । सबै काम जिम्मेवारीपूर्वक निर्वाह कांग्रेसले गरेतापनि यस पटक जनलहर बामपन्थी गठनबन्धनको पक्षमा उर्लियो र सबैतिर बामहरुकै वर्चश्व छ ।

सबै काम कांग्रेसले गरेपछि अब नयाँ सरकारको नेतृत्व गर्न आत्तिएका बामहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गरिराखेका छन् । यस्तो अवस्थामा कांग्रेसको तयारी के कस्तो छ भन्ने विषयमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासँग पत्रकार ऋषी धमलाले गर्नुभएको कुराकानीको सम्पादीत अशः

अब बन्ने सरकारको नेतृत्व के.पी शर्मा ओलीले गर्ने एमालेले बताईरहँदा अब शेरबहादुर देउवाले राजीनामा दिन लाग्नुभएको हो ?
निर्वाचन सम्पन्न भैसकेपछि सरकार छोड्ने कुरा स्वभाविक नै हो । नयाँ सरकार गठन पनि हुन्छ । नयाँ सरकार गठन गर्नका लागि जे–जस्ता संवैधानिक, राजनीतिक अथवा व्यवहारिक जटिलताहरु थिए, ती जटिलताहरुको हल भइसकेका छन् । प्रदेशको निर्वाचन गराउने, प्रदेश सभाका अस्थायी मुकाम तोक्ने, प्रदेश प्रमुख तोक्ने, राष्ट्रिय सभाको निर्वाचन गराउने जस्ता कार्यहरु सबै सम्पन्न भैसकेका छन् । त्यसैले समानुपातिकको परिणाम सार्वजनिक भए लगत्तै नयाँ सरकार गठन हुन्छ ।

निर्वाचन आयोगले समानुपातिक तर्फको सिट बाँडफाँड गरे लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा आउने नै भएको हो त ?
नयाँ सरकार गठन गर्नका लागि आवश्यक जुन मार्ग प्रशस्त गर्नुपर्ने हो ती सबै प्रक्रियाहरु अगाडि बढेका छन् । यद्यपी यहाँनिर आइपुग्दा यस्तो प्रकारको बहसहरु पनि हुन सक्ला की प्रधानमन्त्री बन्नेक्रम सकिसके पछि सांसदहरुले सपथ लिइसकेर प्रधानमन्त्री बन्ने भन्ने कुरा हुन सक्ला । तर मलाई लाग्छ की निर्वाचन आयोगले समानुपातिकको परिणाम प्रकाशित गरिसके पछि संविधान अनुसार त सम्माननीय राष्ट्रपति ज्यू समक्ष संसदीय दलको सबैभन्दा ठूलो दलको नेताले अर्को दलको पनि समर्थन लिएर जानु हुनेछ । सम्भवतः कमरेड केपीओली नै अहिलेको दृश्यमा उहाँकै पक्षमा एक ढङ्गको जनमत देखिएको छ । एमाले र माओवादी बीच एकीकरण भए पछि एक खालको म्याण्डेड उहाँहरुकै दक्षमा देखिन्छ र सम्माननीय राष्ट्रपति ज्यूले यस कुरालाई टुङ्ग्याउनु हुनेछ ।

त्यसो भए प्रधानमन्त्री शेरबहादुर देउवाले अबको प्रधानमन्त्री के.पी शर्मा हो भनेर किन भन्न नसक्नु भएको हो ?
हैन जाँदै गरेको प्रधानमन्त्रीले नयाँ प्रधामन्त्रीको नाम घोषणा गर्ने भन्ने संसदीय पद्धतिमा त्यो व्यवस्था हुँदैन । जनताको नाममा, देशको नाममा काम गर्ने भन्नुको अर्थ राजनीति जटिलताका बीचमा निर्वाचन सम्पन्न गराउनु पनि हो । नयाँ सरकार बन्नु भनेको जाँदै गरेको प्रधानमन्त्रीले कसैलाई टिका लगाइदिने होइन । प्रदेशको निर्वाचन, स्थानीय निर्वाचन, राष्ट्रिय निर्वाचन सम्पन्न गराउने संवैधानिक भनिएका व्यवहारिक जटिलताहरुको हल गराउने र नयाँ सरकार बनाउन मार्ग प्रशस्त गर्ने हो । त्यो मार्ग प्रशस्त गर्नको लागि सबै काम भैइसकेको छ । यति कर्म गरिरहेको अवस्थामा तपाईले धन्यवाद ज्ञापन गर्नुपर्छ । नैतिकतामा प्रश्न उठाउने होइन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अझैपनि राजीनामा दिन किन सकिरहनु भएको छैन ?
निश्चय नै तपाईले भन्नुभएको कुरालाई मैले यति मात्रै भनौ की नयाँ सरकार गठन गर्ने कुरा अहिलेको अवस्थामा फरक छ । पुरानो संसदभित्रबाट माधव नेपालले राजीनामा दिएर अर्को प्रधानमन्त्री बने जस्तो या केपी ओलीले राजीनामा दिएर प्रचण्ड बन्नु भएजस्तै या प्रचण्डले राजीनामा दिएर शेरबहादर देउवा प्रधानमन्त्री बन्नुभए जस्तै उहाँहरुको राजीनामा पश्चात नयाँ सरकार गठनको लागि ढोका खुले जस्तो अवस्था अहिलेको होइन । अहिले रहनुभएको प्रधानमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार बन्न ढोका खुल्ने या अहिलेको प्रधानमन्त्रीले राजीनामा नदिँदा नयाँ सरकार गठन गर्ने ढोका बन्द हुने बिल्कुलै होइन । यद्यपी राजीनामा दिन उचित हुन्छ ।

तर प्रधानमन्त्रीले राष्ट्रियसभा निर्वाचन सम्पन्न भए लगत्तै पदमा नबस्ने घोषणा गर्नु भएको थियो, तर अहिलेसम्म गर्नुभएको छैन नी ?
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बसेपछि नयाँ सरकार गठन गर्नका लागि सारा मार्ग प्रशस्त गर्ने काम हामी गर्दैछौं । यति धेरै काम गरीसकेको राजनीतिक दल जसले राजनीतिक प्रतिकुलताको बीचमा स्थानीय चुनाव गरायो, गोली चलेको मधेशमा एकथोपा रगत नबग्ने अवस्था गरायो, प्रदेशसभाको निर्वाचन गरायो, प्रदेशसभाको निर्वाचन मात्रै होइन अस्थायी मुकाम तोक्यो, प्रदेशको प्रमेख नियुक्त ग¥यो, राष्ट्रियसभाको निर्वाचन गरायो, प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरायो ।

त्यो कर्म गरेको कुरालाई कम्तिमा एउटा यस्तो जटिलताको बीचमा कर्म ग¥यो भन्ने कुरा अभिव्यक्ति नराखेर राजनीतिक रुपमा नैतिकता राखेन भन्ने खालको अभिव्यक्ति मेरो बुझाइमा गलत हुन्छ । तर तपाईले भनेको कुरामा पनि छलफल स्वभाविक छ । नयाँ सरकार गठन गर्नका लागि प्रधानमन्त्रीले छोड्ने भन्ने कुरा सबै कुरा भैरहेको छ । रह्यो राजीनामा दिने कुरो, राजीनामाको कुराले मात्रै नयाँ सरकार बन्ने बाटो खुल्छ भन्ने खालको भ्रमबाट पनि हामी मुक्त बनौ । नयाँ आउँदै गरेको संसदले नयाँ प्रधानमन्त्री लिएर ल्याउँदै छ भन्ने संवैधानिक व्यवस्थालाई तपाइले बुझ्नु हुन्न ।

तर संसारभरी के हुन्छ भने त्यही पार्लियामेन्ट भित्रबाट अर्को प्रधानमन्त्री बन्नु भयो भने भएको प्रधानमन्त्रीले राजीनामा गरेपछि मात्रै नयाँ प्रधानमन्त्री बन्ने बाटो खुल्छ, मार्ग प्रशस्त हुन्छ । शेरबहादुर देउवाले राजीनामा दिनुहोला, राजीनामा दिँदै गर्दा त्यो कुरो बल्ल खुल्यो भन्ने लाग्ला । उहाँले राजीनामा दिँदै गर्दाखेरी मैले पनि त्यसमा आपत्ति मान्नुपर्ने केही पनि कारण छैन, तर थाहा पाउनुपर्ने, बुझ्नुपर्ने, जान्नुपर्ने कुरा के हो भने, निर्वाचन सम्पन्न गराएर अर्को पार्लियामेन्टलाई स्थापित गराउन लागेको सरकारले राजीनामा दिने या नदिने कुराले मात्रै नयाँ सरकार बन्ने या नबन्ने भन्ने हुँदैन । शेरबहादुर देउवाले अहिले राजीनामा दिनुभएन रे त्यस्तो भयो भनेर नयाँ सरकार नबन्ने अनि उहाँले राजीनामा दिएपछि मात्रै नयाँ सरकार बन्ने भन्ने कुराको भ्रमबाट मुक्ति लिनलाई मैले अपिल गरेको हो ।

त्यसोभए तत्काल शेरबहादुर देउवाको राजीनामा आउँदैन ?
तपाईले प्रधानमन्त्रीको सन्दर्भमा उठ्ने जे प्रश्न छ, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसेर निर्णय हुन्छ । राजीनामा दिएर मात्रै त्यसले चाँही सरकार बन्न सक्दछ, नभए हाम्रा कारणले नयाँ सरकार बन्न अवरोध हुनेभयो भन्ने लाग्दै गर्दा स्वभाविक रुपमा राजीनामा दिने कर्म हुन्छ । दुइवटा कम्युनिष्ट पार्टीको गठबन्धन एकताबद्ध भैसकेपछि हामी चुनाव हार्दै छौं भन्ने हुँदाहुँदै पनि निर्वाचन सम्पन्न गराउने क्षमता गरेको नेपाली कांग्रेस पार्टीले यत्रो जनमत भैसके पछि हामी सम्हालेर त्यही रोकिरहन्छौं भन्ने यहाँलाई लाग्छ ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा सम्पूर्ण विषयहरुको छलफल गर्न सक्ने एउटा जिम्मेवार राजनीतिक दलको शक्तिशाली निकाय हो, त्यहा जुनसुकै विषयमा छलफल हुन्छन् र तपाईले भनेजस्तै प्रधानमन्त्रीले त्यो बैठक पश्चात राजीनामा दिने भन्ने कर्ममा पनि जान सकिन्छ अथवा नेपाली कांग्रेस पार्टीले त्यहाँ जान उचित हुन्छ भन्ने ठहर गर्न सक्छ वा नयाँ सरकार बन्दै गरेको सन्दर्भलाई शुभकामना दिएर हामी अघि जान उचित हुन्छ भन्नेमा पनि पुग्न सक्छ । केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुनुपूर्व या बैठकले निर्णय गर्नुपूर्व पार्टी प्रवक्ताले आफ्नै ढङ्गले अभिव्यक्ति राख्ने कुरा पनि व्यवहारिक हुँदैन ।

त्यसो भए कांग्रेसको शुक्रबारको बैठकमा यो विषयमा किन चर्चा भएन ?
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक रुपमा बोलाइएको बैठक मूल रुपमा केही महत्वपूर्ण प्रश्नहरुमा केन्द्रीत भयो । ७ वटा प्रदेशमा प्रदेशसभाको निर्वाचन भैसकेपछि प्रदेश सभाको संसदीय दलको गठन र संचालनसँग सम्बन्धित विधान आवश्यक भएकोले त्यो विधान मस्यौदा समिति मिनेन्द्र रिजालज्यूको संयोजकत्वमा केही अगाडि पार्टीले गठन गरेको थियो । त्यस बारेमा छलफल हुने र त्यसलाई टुङ्ग्याउने भन्ने विषयमै केन्द्रीत रह्यो ।

त्यस्तै गरेर नेपाली कांग्रेस पार्टीले समानुपातिक सूचिको सन्दर्भमा कसरी अघि बढ्ने भन्ने कुरा, नेपाली कांग्रेस पार्टीले आफ्ना सांसदहरुलाई प्रतिक्षित कसरी गर्ने, नेपाली कांग्रेस पार्टीले पराजयको समिक्षाको लागि चाँडै अर्को बैठक कहिले बोलाउने यी यावत प्रसङ्गहरु बारे छलफल गर्ने भनिएतापनि समयको अभावमा ती सबै माथि छलफल हुन सकेन । नयाँ सरकार गठनको सन्दर्भमा प्रधानमन्त्रीले राजीनामा दिएर जाँदै गर्दा बढी व्यवहारिक हो या संवैधानिक व्यवस्था अनुसार अब नयाँ सरकार गठनका लागि भएका अवरोधहरु पन्छाइसकेको अवस्थामा, नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिसकेका अवस्थामा, नयाँ सरकार गठनको प्रक्रियामा अब देश जाँदै गर्दा त्यसमा नेपाली कांग्रेस सहभागी हुने या नहुने भन्ने लगायतका कुराहरु माथि पनि छलफल गर्ने भनिएको थियो तर हुन पाएन ।

प्रदेशसभाको कुरा गर्दाखेरी कुनैपनि प्रदेशमा नेपाली कांग्रेसको सरकार बन्न सक्ने अवस्था छैन, कांग्रेसले कुनै पनि प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पनि गर्नसक्ने अवस्था छैन । उम्मेदवार पनि बन्ने अवस्था छैन र सभामुखको दाबी पनि नगर्ने कांग्रेसको निष्कर्ष निकालेको हो त ?
नेपाली कांग्रेस पार्टीले या विपक्षमा रहेको कुनै राजनीतिक दलले मुख्यमन्त्रीको पदको लागि दाबी गर्न मिल्ने या नमिल्ने संवैधानिक व्यवस्था तपाइले पक्कै पढ्नुभएको छ भन्ने मलाई लाग्छ ।

मुख्यमन्त्री पदमा संवैधानिक व्यवस्था अनुसार दोस्रो पोजिसनमा रहेको दलले प्रतिस्पर्धा गर्ने संवैधानिक व्यवस्था छ या छैन कुरा यो अन्र्तवार्ता लगत्तै संविधान पल्टाउनु भयो भने सजिलो हुन्छ भन्ने लाग्छ । मुख्यमन्त्रीमा दाबी हामीले ग¥र्यौ भने के होला तपाइको बुझाइमा ? असम्भव सम्भव भन्ने कुरा होइन मैले जानकारी गराउन चाँहन्छु कि विपक्षीले मुख्यमन्त्री पदमा दाबी गर्ने संवैधानिक व्यवस्था छैन । सभामुखको सन्दर्भमा, नेपाली कांग्रेस पार्टीले अथवा संसदका समितिको सन्दर्भमा या अन्य सबै कुराको सन्दर्भमा कांग्रेस कसरी अगाडी जाने भन्ने कुरा कै लागि बैठक बस्छ । त्यसलाई टुङ्ग्याउने क्रममा अहिले हामी छौं ।

प्रदेशसभाको सन्दर्भमा पनि र केही महत्वपूर्ण थप विषयमा हामीले छिटै बैठक बोलाउँछौं र गर्नेछौं । जसलाई हामीले छलफलबाट सम्पादन गर्नु छ । तपाईले भनेजस्तै राजीनामाको कुरा हुन सक्छ । अथवा राजीनामा नगरे पनि प्रक्रिया पुरा गरेका छौं भनेर यसमा चाँही विश्लेषण गर्ने कुरा हुनसक्छ तर प्रदेशसभासँग सम्बन्धित तपाइले अहिले भर्खरै उठाउनु भएका विषयहरुलाई सम्बोधन गर्ने विषयहरु पनि छन् र नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बअहिलेको अवस्थामा छलफल गर्नकै लागि बोलाउन आवश्यक छ । नेपाली कांग्रेस पार्टी समग्र विषयमा लामो बैठकमा जानुभन्दा अगाडीको पूर्व तयारीमा रहेको पनि हुनसक्छ ।

कांग्रेसको अब संसदीय दलको नेतामा नयाँ अनुहार आउँछ की पूरानै कायम हुने हो ?
नेपाली कांग्रेसको संसदीय दलमा रहेका साथीहरुले त्यो विषयमा प्रवेश गरेर छलफल गरेर जानुपर्ने विषयमा झापाबाट उपबिजेता रहेर ससंदीय दलको सदस्य नबन्दै गरेको कार्यकर्ताले पार्टीको केन्द्रीय सन्दर्भमा उठ्ने प्रश्नहरुको बारेमा आफ्नो धारणा राख्ने कुरो स्वभाविक हुँदैन । संसदीय दलको पूर्ण गठन नभइकन संसदीय दलका सदस्यहरुको अधिकार क्षेत्रको विषयमा गएर समय भन्दा अगाडी गर्ने कुरा व्यवहारिक हुँदैन ।

अब नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विषय प्रवेश गर्ने अथवा त्यस सन्दर्भमा प्रवक्ताले समय भन्दा अगाडी टिप्पणी गर्दा पनि व्यवहारिक हुँँदैन । त्यसको प्रक्रियाको बारेमा भन्न मिल्छ । राजनीतिक रुपमा को बन्ने भन्ने छलफलको सन्दर्भमा मैले सहभागी हुन उचित समयमा मिल्छ तर अहिले मिल्दैन । नेपाली कांग्रेसको संसदीय दलले पूर्णता प्राप्त गरिसकेपछि समानुपातिकको परिणाम पनि आइसके पछि संसदीय दलको नेता सर्वसम्मत रुपले चयन गर्ने या सर्वसम्मत हुन लोकतान्त्रिक प्रक्रिया बमोजिम प्रतिस्पर्धा बीचबाट चयन गर्ने भन्ने ठिक समयमा ठिक ढङ्गबाट हामी निर्णयमा पुग्नेछौं ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको लडाईं लोकतन्त्र र संविधान बँचाउनको लागि हो !
नेपाली कांग्रेसको लडाईं लोकतन्त्र र संविधान बँचाउनको लागि हो !
  • २०७४ माघ २९, ०८: ५९: १२

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सिद्धान्त निष्ठ र कर्मठ नेताको रुपमा चिनिन्छन् जीवन परियार । उनी पूर्व मन्त्री तथा तथा...

प्रधानमन्त्री ओलीकाे असंवैधानिक कदम सर्वाेच्चले उल्ट्याई दिनेछ !
प्रधानमन्त्री ओलीकाे असंवैधानिक कदम सर्वाेच्चले उल्ट्याई दिनेछ !
  • २०७४ माघ २९, ०८: ५९: १२

नयाँ विकल्प काठमाडाैं- विद्यार्थी राजनीतिबाट खारिएर आएकी नेतृ हुन् कमला पन्त । उनी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पनि हुन् ।...

प्रधानमन्त्रीले भ्रष्टाचारका कर्तुतहरु छताछुल्ला हुने डरले संसद विघटन गरेका हुन !
प्रधानमन्त्रीले भ्रष्टाचारका कर्तुतहरु छताछुल्ला हुने डरले संसद विघटन गरेका हुन !
  • २०७४ माघ २९, ०८: ५९: १२

नयाँ विकल्प काठमाडाैं- विद्यार्थी राजनीतिबाट खारिएका जुझारु नेता हुन् मोहनप्रसाद बराल । जनताको कामप्रति सधैं दत्तचित्त भएर लागिपर्ने बराल नेपाली...

भर्खरै

TOP