May 14, 2021, Friday

बी.पी कोइरालाको जीवनयात्रा

विश्वेश्वरप्रसाद कोइराला

पूर्व सन्दर्भ
विश्व समाजवादी आन्दोलनका अग्रपङ्क्तिका नेता, नेपालमा प्रजातान्त्रिक समाजवाद स्थापनार्थ गरिएका आन्दोलनका अग्रज विश्वेश्वर प्रसाद कोइरालाका सम्बन्धमा जति लेखे पनि जति अध्ययन, खोज गरे पनि थोरै हुन्छ । जसले आफ्नो सम्पूर्ण जीवन, राष्ट्रियता, प्रजातन्त्र र समाजवादका निम्ति अर्पित गरेको थियो । जसले जीवनको अन्त्य समयतिर तीन तत्व–राष्ट्रियता, प्रजातन्त्र र समाजवाद–प्राप्तिका निम्ति ‘राष्ट्रिय मेलमिलाप नीति’ प्रतिपादन गरेर व्यवहारमा र प्रयोगमा ल्याउन सम्पूर्ण नेपाली जनतालाई सक्रिय पार्नुभएको थियो ।
८५ प्रतिशत ग्रामीण क्षेत्र÷कृषकवर्ग भएको नेपालमा बी.पी सबैलाई आफूसरह मध्यमवर्गीय परिवार बनाउने सपना–जपना गर्नुहुन्थ्यो ।

प्रजातान्त्रिक समाजवादको स्थापना गरेपछि मात्र नेपाली जनताको सपना साकार हुन्छ भन्ने सङ्कल्प राख्ने बी.पीले यिनै आदर्श र मान्यताका निम्ति समग्र जीवन बिताउनुभयो । एउटा महान् तपस्वीको रुपमा आत्मविश्वासका निम्ति सङ्घर्षरत रहनुभयो । अदम्य साहस र दृढसङ्कल्प र आत्मविश्वासका प्रतिमुर्ति बी.पी जनताद्वारा सदा सम्मानित रहनुभयो । विरोधीले समेत ‘वीर बी.पी मुर्दाबाद’ भनेर गाली गर्दर्थे । यो यथार्थ हो– जो आफ्नो महत्तम लक्ष्य प्राप्तिमा समर्पित रहन्छ, ऊ सदा अमर हुन्छ ।

“व्यक्तिगत स्वतन्त्रता, मौलिक अधिकार समय समयमा चुनाव, पार्टी सङ्गठनको अधिकार आदि प्रजातन्त्रका अभिन्न अङ्ग हुन् । जहाँ यी सब अधिकार एवं स्वतन्त्रतामा कुनै किसिमको पनि बन्धन रहन्छ त्यहाँ प्रजातन्त्रमाथि नै बन्धन छ भनी ठान्नुपर्छ । समाजवादको यो एउटा मुख्य पक्ष प्रजातन्त्रको पक्ष हो । प्रजातान्त्रिक समाजवादमा निहित समानताको अर्को रुप आर्थिक समानता हो ।” नेपाली काङ्ग्रेसको पैसठ्ठी वर्षे इतिहासको मूल धुरी जननेता विश्वेश्वरप्रसाद कोइराला नै रहनुभएको छ । जुन कुरा कसैले पनि नकार्न सक्तैन एउटा समय यस्तो पनि थियो, जुनबेला नेपाली काङ्ग्रेस र बी.पी परस्पर पर्यायका रुपमा रहेका थिए ।

विश्व समाजवादी आन्दोलनका अग्रपङ्क्तिका नेता एवं नेपालमा प्रजातान्त्रिक समाजवाद स्थापनार्थ गरिएका आन्दोलनका अग्रज जननेता बी.पी कोइराला एउटा अमर व्यक्तित्वको नाम हो । १३–१४ वर्षको उमेरदेखिनै प्रारम्भ भएको उनको राजनीतिक जीवन आफ्नो अन्त्य समयसम्म पनि राष्ट्रियता, प्रजातन्त्र र समाजवादका निम्ति समर्पित रह्यो । “राष्ट्रिय मेलमिलाप नीति” जस्तो नयाँ राजनीतिक नीति प्रतिपादन गरेर नेपाली काङ्ग्रेस मात्र होइन, सम्पूर्ण नेपाल र नेपालीका निम्ति अमूल्य गुन लगाउनु भएको छ– बी.पी.ले ।

पुख्र्यौली स्थिति
पूर्व २ नं. दुम्जाको नाम लिनासाथ कोइराला थर– परिवारबारे प्रत्येकका स्मृतिमा घुम्न थाल्दछ । भनिन्छ मकवानपुरे कोइरालामध्ये दामोदर कोइराला तात्कालीन सेन राजाका बडाकाजी थिए । उनले सिन्धुलीको दुम्जा भन्ने ठाउँ बिर्ता पाएर त्यसतर्फ लागेका थिए । पछि क्रमशः उनकै वंशजहरु पूर्वतिर फैलिए । दामोदरदेखि क्रमशः हरिहर–परशुराम–जनमेजय–विश्वम्भर–करुणाकर– शिवनिधि हुँदै नन्दिकेश्वर भए नन्दिकेश्वरका सरदार कालिदास–सुब्बा नारायणप्रसाद, हरिप्रसाद र खरदार र कृष्णप्रसाद समेत चारभाई छोरा थिए । यीमध्येको कान्छा कृष्णप्रसाद नेपालको प्रजातान्त्रिक आन्दोलनका आदि पुरुष मानिन्छन् ।

बी.पी. वंशलता

प्रजातन्त्रका महान सेनानी बी.पी कोइरालाको वंशलता–
महर्षि–अङ्गिरा
मुद्गल
मौद्गल्य
मुद्गलायन
लम्बोदर भट्ट
अलाल भट्ट
लाल भट्ट
लालकर्ण भट्ट
लालचन्द्र भट्ट
यिनले लमजुङको कोइराली भन्ने एउटा ठूलो फाँट बिर्ता पाएर त्यतै बसोबास गर्न थाले । यिनीपछिका सन्तानहरुको थर यही कोइराली भन्ने स्थानकै आधारबाट कोइराला बन्न गयो । लालचन्द्र कोइरालाका तीनभाइ छोरामध्ये महिला विशाको सन्तानक्रम कोइराला वंश विस्तारमा अघि बढेको देखिन्छ । विशाबाट वसु, वसुबाट परम भए ।

अनि परमका छोरा थिए काजी दामोदर कोइराला । यिनी मकवानपुरे सेन राजाका मुख्य काजी थिए । यिनैले सिन्धुलीको दुम्जा बिर्ता पाएका थिए । यहीँबाट कोइराला वंश पूर्वतिर विस्तार भयो । दामोदरबाट क्रमशः शिवदत्त र हरिहर भए । हरिहरका शिवराम र परशुराम थिए । परशुरामबाट मार्कण्डेय, कपिलामुनी र जनमेजय भए । जनमेजयका बिलभद्र, यमदम्नी र विश्वभर जन्मिए विश्वभरका जनमंगल, करुणाकर, कुसुमाकर र रामनारायण भए । करुणाकरबाट शिवनिधि जन्मिए । शिवनिधिका श्रीहर्ष, नन्दिकेश्वर, जगनधर, हरिदत्त र बुद्धिनाथ थिए ।
नन्दिकेश्वरबाट सरदार कालिदास, सु नारायण, हिरालाल, कृष्णप्रसाद समेत चारभाई भए ।

नेपालमा प्रजातान्त्रिक राजनीतिक आन्दोलनका सूत्रपात गर्ने गान्धीवादी नेताका रुपमा कृष्णप्रसाद चिनिन्छन् । यिनै कृष्णप्रसादका छोराहरु हुन् मातृका, विश्वेश्वर, हरिहर, केशव, तारिणी र गिरिजाप्रसाद । छोरीहरु सौरी, नलिनी, इन्दिरा र विजयालक्ष्मी गरी चार बहिनी थिए । अनि विश्वेश्वरबाट प्रकाश, श्रीहर्ष शशांक र छोरी चेतना भए ।

(स्रोतः बी.पी कोइरालाको जीवनयात्रा नरेशचन्द्र भट्टराई प्र.सं २०४८)

पिताजीको पार्सल
कृष्णप्रसाद अर्थात् पिताजीले एउटा ढाक्रेले लगाएको कोटको झुत्रो कपडा लिएर त्यसको बदलामा ढाक्रेलाई नयाँ कपडा लगाउन दिए । अनि ती झुत्रा कपडाको पार्सल बनाएर सिंहदरबार पठाइदिए । चन्द्र समशेरलाई कृष्णप्रसादले केके न सौगात पठाए होलान् भन्ने उत्सुक भैरहेको बेला त्यस्तो गनाउने मैलो झुत्रो कपडाको पार्सलले निश्चय पनि भारदारका बीच हलचल मच्चायो । भनौं यो कुरा चन्द्र समसेरका निम्ति भयानक घटना जस्तो भयो होला ।

नेपालका प्रथम प्रजातन्त्रवादी समाजसेवी–कृष्णप्रसादको जन्म वि.सं. १९३६ दुम्जा–सिन्धुलीमा भएको थियो । पिता नन्दिकेश्वर र आमा राज्यलक्ष्मीदेवीका कान्छा छोरा कृष्णप्रसादका तीनवटी पत्नी मध्ये जेठी रुक्मिणीको निधनपछि मोहनकुमारीसँग विवाह भयो । यीबाट छोरा मातृकाप्रसाद र छोरीहरु नलिनी उपाध्याय, इन्दिरा र सौरीदेवी जन्मिएका थिए । कान्छी पत्नी दिव्यादेवीबाट विश्वेश्वरप्रसाद, हरिहरप्रसाद केशवप्रसाद, तारिणीप्रसाद र गिरिजाप्रसाद एवं छोरी–बुनु जन्मिएका थिए ।

दयालु, परोपकारी, उद्यमी, मृदुभाषी, मानवतावादी, समाजसेवी, शिक्षासेवी एवं प्रजातन्त्रका पक्षपाती कृष्णप्रसाद संस्कृत, अङ्ग्रेजी, फारसी, नेपाली, हिन्दी, बंगाली, उर्दु, मैथिली आदि भाषाका ज्ञाता थिए । वि.सं १९४८ देखि दाजु सरदार कालिदाससँग विराटनगर बसोबास गर्न थालेका कृष्णप्रसादले विराटनगरलाई नै कर्मथलो बनाए । विराटनगरमा कृष्णप्रसादले संस्कृत पाठशाला, आदर्श विद्यालय, स्वास्थ्य केन्द्र, काली मन्दिर आदिको स्थापनासँगै विभिन्न सामाजिक काम गरेका थिए । विभिन्न उद्योग स्थापनासँगै विराटनगर आधुनिक बजारका रुपमा व्यवस्थित पारेका थिए ।

महात्मा गान्धीसँग धेरैपटक भेट गरेका कृष्णप्रसादले गान्धीका आदर्श र चिन्तनबाट प्रभावित भएर नै नेपाली जनजीवनको उत्थानमा विभिन्न कार्यहरु गरेका थिए । पार्सल घटनापछि चन्द्रसमसेरका कारण एघार वर्ष भारतमा निर्वासन झेलेका कृष्णप्रसादको २००१ मा काठमाडौंको जेलमा निधन भयो । प्रजातन्त्रका निम्ति उनी यसरी शहीद भएका थिए ।

बी.पी. को जन्म
“आमा” को प्रसव अत्यन्त जटिल हुन गयो । तत्काल एउटी सिपालु डाक्टरर्नी आइपुगेर शल्य चिकित्साको मद्दतले उद्धार नगरेको भए मैले त प्रकाश नै देख्न पाउने थिइनँ, आमा पनि जीवीत रहनुहुने थिएन । मैले संसारमा प्रवेश गर्दा परिवारको एउटा परम्परा तोडेँ । प्रसव कोठामा आधुनिक चिकित्सा विज्ञानको उपकरणलाई पु¥याएँ । आजकालको दृष्टिमा त्यो सामान्य घटना हो । तर तिनताका हाम्रो परिवारका निम्ति मात्र होइन नेपाली मध्यमवर्गीय परिवारका निम्ति पनि त्यो एउटा क्रान्तिकारी कदम थियो ।

वि.सं १९७१ भाद्र २४ गते ई १९१४ सेप्टेम्बर ८ का दिन बनारसमा जन्मिएका चूडामणि कोइरालालाई ठूलाबा कालीप्रसादले काशी विश्वनाथको वरप्रसाद ठानेर विश्वेश्वर नाम जुराइदिए । जुन नाम नेपालभित्र फैलिँदै विश्वप्रख्यात बन्यो । “म जन्मिएँ नक्षत्र गणनाअनुसार चूडामणी नाम लिएर तर मेरा ठूलो पिताजीले बनारस मेरो जन्म नगरीको महिमालाई ध्यानमा राखेर अर्को नाउँ विश्वेश्वर राखिदिनुभएको थियो । जो प्रचलित हुन गयो ।” बी.पी. कोइरालाको बाल्यकाल विराटनगरमा नै बित्यो ।

पिताजीबारे बी.पी. को भनाइ
आफ्ना पिता कृष्णप्रसादका बारेमा बी.पी. ले लेख्नुभएको एउटा सन्दर्भ रोचक र मननीय छ । “पिताजीले व्यापार गर्नुभयो । निकै पैसा कमाउनुभयो । विराटनगरको स्थापना गर्नुभयो । त्यसबेला भन्सार अड्डाहरु ठेक्कमा दिने चलन थियो । प्रायः देशभरिका अड्डाहरुलाई ठेक्कामा लिनुभयो । व्यापार खेती भन्सार आदि सबै क्षेत्रमा सफलता प्राप्त गर्नुभएको थियो र केही कुराको कमी थिएन ।

एकपल्टको घटना हो– धुलाबारीस्थिति बजार अड्डाबाट विराटनगरतिर घोडामा फर्कदैँ हुनुहुन्थ्यो । जंगल पार गरेर एउटा ठूलो फाँटमा एकान्त ठाउँमा आइपुगेपछि हठात् एउटा आवाज सुन्नुभयो । “कृष्णप्रसाद, तिमिले यी सबै कुरा आफ्ना निम्ति ग¥यौ । तिमिले पैसा कमायौ, आफ्ना निम्ति, दुलहीका निमित, छोराछोरीका निम्ति अर्थात् आफ्नै निम्ति कमायौ ।

मिती अहिले जो घमण्ड गरिरहेका छौं त्यसमा घमण्ड गर्ने केही कुरा छैन । तिमीले के ग¥यौ ? जबसम्म तिमीले अरुहरुका निम्ति केही गर्दैनौं तबसम्म तिमीले कमाएको केही मान्य हुँदैन । यी त कुनै स्वार्थी मानिसका निम्ति सन्तोषको कुरा हो ।” घरमा आएर मैले त्यस्तो आवाज सुने भनेर आमासँग र केही आफ्ना विश्वासी साथीहरुलाई सुनाउनु भएछ । अनि त्यस कुरालाई देववाणी मानेर परसेवातर्फ लाग्नुभयो ।

बी.पी. ले आत्मवृत्तान्तमा भन्नुभएको एउटा प्रसङ्ग छ–“कृष्णप्रसाद परिवार बनारस निर्वासनमा बसेका बेला विराटनगरका शिक्षकको एउटा छोरालाई फाँसी र अर्को छोरालाई कालापानी पठाएको सुनेर कृष्णप्रसाद र बी.पी. (बाबुछोरा) भेट्न गएछन् । कृष्णप्रसादले छोराहरुको फाँसी सम्बन्धी घटनाप्रति दुःख व्यक्त गर्दा ती बङ्गाली शिक्षकले भनेछन्– “दुई भाई छोरा देशको काममा आए ।

बाँचेका भए पनि यस भन्दा ठूलो काम के गर्थे होला ? बरु मलाई त मेरा दुई भाई मात्र किन भए भन्ने पीर लागेको छ । अरु छोरा भएदेखि राष्ट्रको काममा ती पनि आउने थिए ।” कृष्णप्रसाद कोइराला निर्वासित हुँदा परिवार र परिचारक समेतको पैतालीस जनाको समूह थिए । ती सबैको बन्दोबस्त मिलाउनु सामान्य कुरा थिएन । तर हिम्मती कृष्णप्रसाद त्यहि ठूलो शरणार्थी जत्था आफ्ना साथै लिएर निर्वासित बनेका थिए । कृष्णप्रसादले देवीप्रसाद सापकोटा, धरणीधर कोइराला र सूर्यबिक्रमको सहयोगमा–गोरखाली र जन्मभूमिको सम्पादन प्रकाशन गरेर राणा शासनका कुकृत्यबारे भण्डाफोर गराएका थिए ।

केही घटनाक्रम
वि.सं १९७७ मा ‘मकैको खेती’ नामक पुस्तक लेख्ने कृष्णलाल अधिकारीलाई पक्राउ गरेर जेल हालियो । पछि उनी जेलभित्र मरे । तर यस घटनाले नेपालका बुद्धिजीवी समुदायमा ठूलो हलचल ल्याएको थियो । देशरादूनमा ठाकुर चन्द्रसिंहको नेतृत्वमा स्थापित गोरखा लीग र यसका गतिविधिहरु पनि राणा विरोधी थिए । कृष्णप्रसादको पनि समर्थन थियो यस सङ्गठनमा ।

चन्द्रसमशेर काल वि.सं. १९७४ मा निर्वासित कृष्णप्रसाद भीमसमशेरको शासनपछि १९८६ मा नेपाल फर्किएका थिए । कृष्णप्रसाद चुप लागेर बस्ने व्यक्ति थिएनन् । कृष्णप्रसाद चित्तधर, हृदय, धर्मराज, थपलिया, जोगवीर सिंह, महाकवि देवकोटा, बैकुण्ठ लाकौल लगायत पैतालीस जनाले हस्ताक्षर गरेर पुस्तकालय खोल्ने माग गरेका थिए । तर यो कार्य राजद्रोह ठह¥याएर सबैलाई सजाय गरियो । तर यस घटनाको प्रभाव त्यसबेला सम्पूर्ण बौद्धिक समुदायमा परेको थियो ।

वि.सं. १९८७ मा खड्गमान सिंह, मैनाबहादुर सिंह, उमेश विक्रम शाह आदिद्वारा ‘प्रचण्ड गोरखा’ नामक सङ्गठन खोलिएको थियो । १९८८ साउनमा ती सबै पक्राउ परे । यी सबै २००७ को क्रान्तिपछि मात्र छुटेका थिए । गान्धी आश्रममा पाँवर्ष जति बसेर फर्किएका तुलसी मेहरले १९८३ मा चर्खा प्रचार अभियान सुरु गरे । चर्खा प्रचारका शाखाहरु बनाए तर १९८८ मा चर्खा प्रचार प्रतिबन्धित भयो । तुलसी मेहर पक्राउ परे । अरु केही व्यक्ति पनि कारवाहीमा परेपछि चर्खा अभियान पनि बन्द प्रायः भयो । तर यस काण्डले पनि जनतामा चेतना जगाउन निकै ठूलो योगदान पुगेको थियो ।

सन् १९३९ देखि दोस्रो विश्वयुद्ध प्रारम्भ भयो । बेलायतलाई राणाशासकले सहयोग गरेका थिए । तर केही विदेशी सेनामा रहेका गोर्खाली सेनाले विद्रोह गरेर सुवासचन्द्र बोसको आजाद हिन्द फौजमा लागेर भारतीय स्वतन्त्रता सङ्ग्राममा सहयोग पु¥याएका थिए । भारत स्वतन्त्र भएपछि २००७ को क्रान्तिमा यिनै आजाद हिन्द फौजसँग सम्बद्ध गोर्खाली सेनाले सहयोग गरेका हुन् । वि.सं १९९४ मा काठमाडौंका केही व्यक्तिले, महावीर स्कूलको नामबाट एउटा शिक्षालय स्थापना गरे । फत्तेबहादुर सिंह र चिनियामान सिंहका घरमा पठनपाठन सुरु गरिएको उक्त विद्यालयमा गंगालाल श्रेष्ठ, चन्द्रमान मास्के, पूर्णबहादुर मानव, चित्तधर हृदय, सिद्धिचरण श्रेष्ठ, रामजी जोशी आदि व्यक्तिहरुले पढाउने गरेका थिए । यस स्कूलमा पढाउने शिक्षक र विद्यार्थीहरुमा राजनीतिक जागरण सहित राणाविरोधी भाव फैलिँदै गएको थियो । (डा. तुलसी भट्टराईद्वारा लिखित बी.पी कोइराला र नेपाली कांङ्ग्रेस नामक पुस्तकबाट)

सम्बन्धित समाचार

व्यापारीलाई पोष्न खोपमा भ्रष्टाचार गर्दा कोरोना संक्रमितले ज्यान गुमाउनु पर्यो, ओलीले राजिनामा दिनु पर्छ
व्यापारीलाई पोष्न खोपमा भ्रष्टाचार गर्दा कोरोना संक्रमितले ज्यान गुमाउनु पर्यो, ओलीले राजिनामा दिनु पर्छ
  • २०७४ माघ २९, ०९: ३०: ११

प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा प्रस्तुत गर्नु भएको विश्वासको मत लिने प्रस्तावको विषयमा आफ्नो मत राख्दै प्रमुख प्रतिपक्षी दलका नेता...

कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
  • २०७४ माघ २९, ०९: ३०: ११

१.कोभिड—१९को दोस्रो छालले नेपाललाई पनि छोप्यो भने हुन्छ । विश्वका देशहरुमा कोरोनाका भाइरसहरुले विभिन्न रुप लिएर विस्तारित हुन थालेका समाचारहरुले...

पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
  • २०७४ माघ २९, ०९: ३०: ११

१. नेपालमा प्रजातन्त्रको स्थापना, पुनस्र्थापना र फेरि पुनस्र्थापनाका घटनाहरुको कडीमै २०६३साल वैशाख ११ गते आएको थियो, जुन दिन जनताको आन्दोलनको...

भर्खरै

TOP