May 18, 2021, Tuesday

बाम एकताको प्रसव वेदना

पुरुषोत्तम दाहाल

नेपालका दुई शक्तिशाली साम्यवादी दलहरु जसलाई चल्तीको भाषामा वामपन्थी भन्ने गरिन्छ, यी दुई दल बीच हुने भनिएको एकता प्रक्रियामा अनुभूत प्रसव वेदनाले राजनीतिक अन्यौललाई विकारका रुपमा क्षेपण गरिरहेको छ । पहिलो चरणको निर्वाचन पहिले नै एकताको प्रस्ताव गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सायद यही प्रसव वेदनाको पीडा सहन गर्न नसकी जुनसुकै फड्को मार्न आफू तयार रहेको दावी र सन्देश दिन लाग्नु भएको छ । उहांको फड्को राष्ट्रको स्वार्थका पक्षमा हुने दावी छ ।

प्रचण्डले दिएको यो नयां ढंगको युटर्नको चेतावनी वुझ्न कठिनाई छैन । एमालेको नेतृत्वले दुई पार्टी एकताका विषयमा गरिरहेको आनाकानीबाट दाहाल रुष्ट र चिन्तित देखिनु भएको छ । यी दुई पार्टीबीच गत असोज १७ गते संयुक्त वक्तव्य मार्फत संसदीय र प्रदेश सभा निर्वाचनमा गठवन्धन गर्ने र निर्वाचनको लगत्तै पार्टी एकता गर्ने सहमति सार्वजनिक भएको थियो । अनेक गूट र उपगुटका चिराहरुले जर्जर हुन लागेको एमालेका लागि प्रचण्डको एकता प्रस्तावले पाइन्को काम गरेको थियो ।

निर्वाचन हुनु अघिसम्म एमालेको केन्द्रमा ओली, नेपाल, खनाल र गौतम गूटहरु थिए । आन्तरिक शक्ति सन्तुलनका खेलमा सबै गुटको शीर्ष शक्तिमा ओली गुट देखिएको थियो । ठाडो चुनौती दिनसक्ने तागत नभए पनि ओलीका लागि यी गुटहरु अनिन्द्राका कारण नवनेका होइनन् । निर्वाचनका समयमा सन्तुलन मिलाउने चुनौती भइरहेको समयमा पुष्प कमल दाहालको प्रस्तावले नयां सम्भावना र आसाको सञ्चार गर्नपुग्यो । यसैकारण अरु गुटहरु मौन देखिएका थिए ।

निर्वाचनका समयमा वर्दियाको एक नम्वर क्षेत्रमा वामदेव गौतमलाई हराउने खेल वाहेक अन्यत्र सबैमा एमाले एकढिक्का देखिनपुग्यो । एमालेसंगको निर्वाचन साझेदारीका कारण माओवादीका मतदाता र कार्यकर्ताहरु पनि अविचल रहे । वास्तवमा एमाले माओवादी केन्द्रका बीच भएको निर्वाचन गठवन्धन कुनै सैद्धान्तिक प्रश्नमा थिएन । यो गठवन्धन लामो समयसम्म सत्ताको डाडुपन्यूं वामपन्थीहरुसंग रहोस् भन्ने आकांक्षावाट प्रेरित थियो ।

स्थायित्व, समृद्धि र विकासका कुराहरु लोकप्रिय नारा हुन् । यी नारा साना ठूला सबै दलहरुले निर्वाचनका समयमा लगाएकै थिए । भोलिका हरेक निर्वाचनहरुमा पनि यिनै नाराहरु दोहोरिने निश्चित छ । विवादको केन्द्रमा सरकार प्रमुख र पार्टी प्रमुखको अंशवण्डामा अल्झिरहेको छ ।
संघीय निर्वाचनको पहिलो चरणकै पूर्वसन्ध्यामा पार्टी एकता गर्ने र एमालेको चुनाव चिन्ह सूर्यमा नै सबै उमेदवार लड्ने प्रस्ताव रहेको थियो । यो प्रस्ताव किन मूर्त हुन सकेन यसको कारण अज्ञात नै छ । यौटै निर्वाचन चिन्ह नभएपछि माओवादी र एमालेका लागि चालीस र साठीको भागवण्डा हुन पुग्यो । प्रदेश र संघ दुवैमा प्रतिशतको गणित नै भागवण्डाको आधार वन्यो ।

यी दुई पार्टीको गठवन्धनले सात मध्ये छ प्रदेशमा सरकार वनायो भने राष्ट्रिय सभामा दुईतिहाई स्थान जितेको छ । संघमा समेत दुईतिहाईको नजीक स्थान रहेको छ । तर निर्वाचन पछिका दिनहरुमा वाग्मतीमा धेरै पानी वहिसकेको छ । समय गतिवान् हुन्छ । मन वदलिइरहन्छ । आफ्ना राजनीतिक सहयात्री पुष्प कमल दाहाल र पार्टीका समवयी शीर्ष नेताहरुलाई समेत कुनै जानकारी नदिई एमाले अध्यक्ष के.पी. शर्मा ओलीले भारतीय विदेशमन्त्री सुषमा स्वराजलाई नेपाल आउन निमन्त्रणा दिनपुग्नुभयो ।

यो निमन्त्रण ओलीको स्वास्थ्य उपचारको निहुमा भएको वैंकक वसाइले जुराएको धेरैको भनाई छ । करीव दुई वर्ष पहिले ओलीलाई दिल्लीमा स्वागत गर्दै आफू भन्दा आठ दिनले कान्छो भएको हुनाले भाइ भन्नु पर्ने वताएर दिदीभाइको साइनो जोड्न पुगेकी स्वराज भाइलाई वधाइ दिन मात्र काठ्माण्डौं आएकी हुन् भनेर कसैले पत्याउन सक्दैन । त्यो पनि सबै निर्वाचनहरु प्ूारा नहुदै तर स्पष्ट परिणामको खाका सार्वजनिक भएको मध्यकालमा स्वराज भ्रमण हुदा अनेक प्रश्नहरु जन्मिरहेका छन् ।

नेपाल र भारतको सम्वन्धमा देखिएको तिक्तता मेट्नै पर्ने हो भने नयां सरकार वनेपछि प्रक्रियाकासाथ र एजेण्डाकासाथ भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण हुनु पर्ने थियो । यद्यपि नेपालीहरु भारतसंग कुनै पनि हालतमा सम्बन्ध सुधार भएको हेर्न चाहन्छन् । नाकावन्दीको घाउ जतिसुकै गहिरो भए पनि नेपालीहरु घाउ विर्सेर सम्बन्धमा ताजगी ल्याउन चाहन्छन् । तर नेपालको र नेपालीको सम्मान सुरक्षित हुनुपर्छ । नेपालको सार्वभौमिक एकता, अखण्डता र स्वतन्त्रतालाई आघात हुने कुनै पनि विषयमा नेपालीहरु सम्झौता हुन दिदैनन् । कसैले सम्झौता गर्न चाहेर पनि त्यो सम्भव हुदैन ।

करीव सत्तरी वर्ष यताको परिवर्तनको इतिहासमा पहिलो पटक साम्यवादी दल नेपालको सत्तामा बहुमतकासाथ पुग्दैछ भने भारतको इतिहासमा धार्मिक परम्पराको सांस्कृतिक दार्शनिक आधार भएको राजनीतिक दल भारतीय जनता पार्टी सत्तामा रहेको अवस्था छ । भारतमा धार्मिक पुनर्जागरणको युग आरम्भ भएको छ भने नेपालमा धर्मनिरपेक्षताकासाथ साम्यवादी जागरणले मौलो ठड्याउन पुगेको अवस्था छ । यसखालको दुई भिन्न प्रवृत्ति, चरित्र र आदर्श वोकेका राजनीतिक दलमा एकअर्कामा संशय हुनु स्वाभाविक हो ।

त्यसमा पनि छिमेकी मित्र राष्ट्र चीनको नेपाल चासो महत्वपूर्ण मानिनसक्छ । यसैकारण भाइलाई भेट्न आएकी दिदीको उपस्थितिप्रति एमाले नेतृत्वमा रहेका शीर्षहरु र माओवादी केन्द्र समेतलाई झस्काइ रहेको देखिन्छ । त्यसमा पनि केही महत्वपूर्ण मुद्दाहरु सुल्झिन कठीन देखिदैछ ।
एमाले मदन भण्डारीको लिगेसीमा चलेको पार्टी हो । संस्थापक सदस्य पुष्पलाललाई सम्मान गरे पनि एमालेको अहिलेको सिद्धान्त आदर्श, नीति ,कार्यक्रम, कार्यदिशा जे भने पनि मदन भण्डारीले ०४७ सालमा परिभाषित गरेको जनताको बहुदलीय जनवादमा टिकेका छन् । एमालेका लागि जनताको बहुदलीय जनवादको मूल नारा परित्याग गर्नु सहज हुदैन ।

माओवादीले ०५२ देखि ०६२ सम्म सञ्चालन गरेको हिंसात्मक राजनीतिलाई स्वीकार गर्ने अवस्थामा पनि एमाले रहेको छैन । त्यस हिंसालाई समर्थन गर्ने हो भने हिंसाको डढेलोमा परी मारिएका अनेक एमालेका कार्यकर्ता र समर्थकहरुलाई विर्सनु पर्ने हुन्छ । के एमाले आफ्ना कार्यकर्ताले वहाएको रगत र उत्सर्ग गरेको जीवनलाई विर्सेर हिंसालाई इतिहासको गौरव मान्न तयार हुन्छ ? कि जनताको बहुदलीय जनवादलाई थाती राखेर नयां समीकरणमा जाने साहस गर्छ ? एमालेले यी दुई प्रश्नमा आफ्नै अडान राखेमा के माओवादी यी दुवै विषयमा पुनर्विचार गर्दै हिंसाको इतिहासलाई अस्वीकार गर्ने र जनताको बहुदलीय जनवादलाई स्वीकार गर्न तयार हुन्छ ? यदि एमालेका सतर््मा माओवादीले एकता गर्ने हो भने त्यो एकता नभएर माओवादीको एमालेमा विलय हुने छ ।

चालीस साठीको चुनावी परिणामले पनि एकता नभएर विलयको संकेत गरिरहेको देखिन्छ । आजकै अवस्थामा माओवादी र एमालेबीच एकता भएमा त्यो एकता भन्दा पनि माओवादीको विलय नै मान्नु पर्ने हुन्छ । के माओवादीले सशस्त्र हिंसाकाललाई विस्मृतिको गर्भमा छाड्दै एमालेमा विलयको बाटो रोज्न सजिलो छ ? एमालेमा विलय हुने हो भने माओवादी दलले सशस्त्र हिंसामा भएको ज्यादती र वहेको रगत र उत्सर्गकृत जीवनलाई इन्कार गर्नु पर्ने हुन्छ । के माओवादीका लागि यो सम्भव छ ? ठूलो दल भएका कारण स्वाभाविक रुपमा एमालेको विलय माओवादीमा हुनसक्दैन ।

सत्ताको लामो आकांक्षाकासाथ चुनावी गठवन्धन भएपनि अवको नेतृत्व कसले कसरी र कुनकुन पदमा गर्ने भन्ने झगडा यी दुई दलमा देखिएको छ । एमाले भित्र गुटको विषयका कारण गम्भीर चिराहरु पर्दैछन् । ती चिराहरुले आकार लिइरहेको देखिन्छ । प्रदेशमा मुख्यमन्त्रीको चुनावमा होस् कि सभामुखहरुको चयनमा होस् अध्यक्ष ओलीले एकलौटी गरेको आरोप माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले लगाइ रहेको छ । तीन नम्वर प्रदेशमा विगत पांच दशकदेखि पार्टीमा निरन्तर योगदान दिइ रहेकी जनजातीवाट समेत पर्नसक्ने महिला नेतृ अष्टलक्ष्मी शाक्यलाई अध्यक्ष आफैले हराउने षड्यन्त्र गरेको आवाज सतहमा उठिरहेको छ ।

यो आवाज निकै धारिलो रहेको छ । यसैपनि एकता पछि आफ्नो स्थिति के हुने छ भन्नेमा कम्तीमा पनि ओली र दाहालमा चिन्ता व्याप्त छ । एमालेका गुटका चिराहरु एक ठाउ जुटे र त्यसलाई विलयीकृत माओवादी पक्षले समर्थन गरेको अवस्थामा ओलीले नेतृत्वमा बहुमत गुमाउने हुनसक्छ । नेपाल, खनाल, गौतमसंग दाहालको लय मिलेमा ओली सत्ताविस्थापित हुने पर्याप्त सम्भावना छ । यही भयले ओली एकता प्रयत्नमा आफ्नो गतिलाई सुस्त गर्न चाहिरहेका छन् । एमालेको नेपाल, खनाल र गौतम पक्ष जतिसक्दो चांडो माओवादीसंग एकता गरी ओलीलाई साइजमा ल्याउन व्यग्र छ ।

तर माओवादी अध्यक्षलाई पनि चालीसको भागवण्डामा पर्दा आफ्नो हैसियत कम हुने चिन्ता छ । त्यसमा पनि केन्द्रदेखि गाउ तहसम्मको नेतृत्व समायोजनमा कार्यकर्ताहरुलाई सन्तुष्ट राख्नु चुनौती पूर्ण हुन्छ । त्यो चुनौती एमालेमा पनि समान छ । कदाचित माओवादी र एमालेका बीचमा एकता भएको खण्डमा पनि यी दुईलाई सत्ता वाहेक संगठनमा कुनै फाइदा हुने लक्षण छैन । निर्वाचन भइसकेको हुनाले सत्ताको सांचो सजिलै एकीकृत नेतृत्वले पाउने छ । तर संगठनको फाइदा भने मोहन वैद्य र नेत्रविक्रम चन्दले लिने छन् । हिजोका दिनमा एमालेसंग रुष्टहरु माओवादी र माओवादीसंग रुष्टहरु एमालेमा जानेक्रम थियो । अव यी दुईको एकता पछि यिनीहरुसंग असहमतहरुको ठूलो पंक्ति चन्द र वैद्यका तम्वु भित्र सुशोभित हुनेमा सन्देह गरिरहनु पर्दैन । यसैकारण यो एकताले लोकतन्त्रलाई कुनै फाइदा पुर्याउने छैन ।

सम्बन्धित समाचार

व्यापारीलाई पोष्न खोपमा भ्रष्टाचार गर्दा कोरोना संक्रमितले ज्यान गुमाउनु पर्यो, ओलीले राजिनामा दिनु पर्छ
व्यापारीलाई पोष्न खोपमा भ्रष्टाचार गर्दा कोरोना संक्रमितले ज्यान गुमाउनु पर्यो, ओलीले राजिनामा दिनु पर्छ
  • २०७४ फाल्गुन ७, ०६: ५२: ०९

प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा प्रस्तुत गर्नु भएको विश्वासको मत लिने प्रस्तावको विषयमा आफ्नो मत राख्दै प्रमुख प्रतिपक्षी दलका नेता...

कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
  • २०७४ फाल्गुन ७, ०६: ५२: ०९

१.कोभिड—१९को दोस्रो छालले नेपाललाई पनि छोप्यो भने हुन्छ । विश्वका देशहरुमा कोरोनाका भाइरसहरुले विभिन्न रुप लिएर विस्तारित हुन थालेका समाचारहरुले...

पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
  • २०७४ फाल्गुन ७, ०६: ५२: ०९

१. नेपालमा प्रजातन्त्रको स्थापना, पुनस्र्थापना र फेरि पुनस्र्थापनाका घटनाहरुको कडीमै २०६३साल वैशाख ११ गते आएको थियो, जुन दिन जनताको आन्दोलनको...

भर्खरै

TOP