May 14, 2021, Friday

‘मेरो नेतृत्वमा नेपाली कांग्रेस कमजोर भएको छ’ भन्ने कुरा उहा“ले स्वीकार्नुपर्छ

डा. शेखर कोइराला, नेता, नेपाली काँग्रेस

संविधान लागु गर्नेदेखि लिएर स्थानीय र संघीय निर्वाचन समेत सम्पन्न गरेको नेपाली कांग्रेस अहिले आफैँ नराम्ररी पछि परेको छ । पार्टी नेतृत्वको असक्षमताका कारण पार्टीले नराम्रो पराजय भोग्नुपरेको आरोप पार्टीभित्रैबाट सभापति शेरबहादुर देउवामाथि लागेको छ भने “अर्ली महाधिवेशन” बोलाउनुपर्ने आवाजदेखि संसदीय दलको नेता युवा पुस्ता हुनुपर्ने लगायतसम्मका आवाज व्यापक रुपमा उठ्न थालेको छ ।

पार्टीलाई बलियो र सक्षम बनाउन संगठन बलियो हुनुपर्ने एक पक्षको अडान छ । यिनै विषयमा काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालासँग पत्रकार ऋषि धमलाले गरेका कुराकानीको सम्पादीत अशंः

भर्खरै सम्पन्न चुनावहरुको नतिजा हेर्दा नेपालको इतिहासमा नै काँग्रेस सबैभन्दा कमजोर देखियो नि, के भन्नुहुन्छ ?
केही हदसम्म म मान्छु । पक्कै पनि नेपाली काँग्रेस अहिले एकदमै कमजोर अवस्थामा देखिन्छ । स्थानीय तहमा पनि ७५३ मा ५०० सय भन्दा बढी हामी छैनौं । प्रदेशमा पनि हामी छैनौं, केन्द्रमा पनि हामी छैनौं । तर कुरा के छ भने हामीहरुले तीनवटा निर्वाचन सफलता पूर्वक सम्पन्न गरेका छौं । संघीयता र गणतन्त्रको निम्ति नेपाली काँग्रेस लडेको छ ।

हामीलाई जनताले नरुचाएको होइन, हाम्रो नेतृत्व संगठनात्मक रुपमा बलियो हुन नसकेको हो । नेपाली काँग्रेसको संगठन कमजोर भएको अवस्था छ । नेपाली काँग्रेस यति कहिले कमजोर कहिले पनि भएको थिएन । वास्तवमा यो कुरा सहि हो र त्यसलाई हामी सुधारेर लगेनौं भने हामी अप्ठ्यारोमा पर्नेछौं ।

सुधारको लागि नेतृत्वले के गर्दै छ त ?
सुधारको आवश्यकता पक्कै छ । तर सुधार्नको लागि नेतृत्वले के सोच्नु भएको छ, कसरी सोचिरहनु भएको छ त्यो चाँही थाहा छैन । हामीसँग सरसल्लाह हुँदैन । केन्द्रीय समितिमा मात्रै हुने गरेको छ । केन्द्रीय समितिको बैठक छिट्टै बस्दैछ । त्यो बैठक संसदीय दलको विधान पास गर्नको लागि हो जस्तो लाग्छ मलाई तर विडम्बना के छ भने अहिलेसम्म सभापतिले कार्य सम्पादन समितिबाट पार्टी चलाइरहनु भएको छ । नेपाली काँग्रेसको केन्द्रीय समितिले गर्ने अधिकार कार्य सम्पादन समितिले गरिरहेको छ ।

केन्द्रीय समितिमा नै एउटा कुरा के उठ्यो भने पार्लियामेन्ट बोर्ड र कार्य सम्पादन दुईवटै अवैधानिक छ भनिसकेपछि नेतृत्वले फेरि पनि दुई चोटी कार्य सम्पादनको बैठक बसाल्न खोज्नुभयो । नेताहरुले त्यसलाई अस्वीकार गरेको देखिन्छ । त्यसकारण केन्द्रीय समिति बैठक बस्नै पर्ने आवश्यकता भएको छ ।

त्यसो भए केन्द्रीय समितिको बैठकले मात्र काँग्रेस बलियो हुन्छ ?
होइन हुँदैन । त्यसैले त म भन्दै छु त नेतृत्वहरुले के बुझ्नु भएको छैन भने नेपाली जनताले हामीलाई भोट दिएका छन् । अझ पनि माया गरीराखेका छन् । तर हाम्रो क्रियाकलापले गर्दा हामी पराजीत भएका हांै । सभापतिज्यूको एउटा सभामा कसरी र किन भन्नुभयो, कसको आडमा लागेर भन्नुभयो कि ‘व्यक्ति हारेको हो, पार्टी हारेको होइन’ भनेर, त्यस्तो सभापतिको नेतृत्वबाट हाक्न सकिन्न । संगठन कमजोर भएको पार्टीले कसरी जित्छ ? जतिसुकै व्यक्ति राम्रो भएपनि संगठन कमजोर भए पार्टीले हार्छनै ।

व्यक्ति हारेको छ पार्टी हारेको छैन भन्ने कुरा उहाँले बोल्न हुँदैनथ्यो । उहाँले व्यक्ति हारेको छैन पार्टी हारेको छ भन्ने कुरा स्वीकार्न प¥र्यो, मेरो नेतृत्वमा नेपाली काँग्रेस कमजोर भएको छ भन्ने कुरा स्वीकार्नु पर्छ । हामी हारेका छौ भन्ने कुरा स्वीकारेर अगाडी बढ्नुभयो भने ठिक ठाउँमा पुग्नु हुन्छ, हैन भने हामीले जुन कुराहरु उठाइरहेका छौं छिटो भन्दा छिटो आमुल विधानमा संशोधन गरेर अर्ली अधिवेशनमा जाउँ । तर सभापतिज्यू पदाधिकारीहरु थपिदिने केही केन्द्रीय समितिहरु थप्ने तथा विभागहरु थपेर टालटुले नीति गरेर जान खोजीरहनु भएको छ । त्यसले नेपाली काँग्रेसलाई झन कमजोर बनाउँछ ।

एउटा कुरा सभापतिले पनि सुन्नुप¥यो, महासमितिले जुन निर्णय गर्छ, यो अब्बल हुने महाअधिवेशनले त्यसलाई इन्डोर्स गरेपछि मात्र हुन्छ । त्यसै हुँदैन, उहाँहरुले जथाभावी गर्न पाउनुहुन्न नेपाली काँग्रेस उहाँहरुको पेवा होइन ।

आफु शक्तिशाली बन्नको लागि सभापतिले मनपरी गर्न पाउनुहुन्न भन्न खोज्नु भएको हो ?
सभापतिज्यू अहिले पनि शक्तिशाली हुनुहुन्छ । व्यक्ति शक्तिशाली हो । उहाँका हृदयगृत शक्तिशाली भए । ने.वि संघ शक्तिशाली भयो उहाँकै छ । तरुण दल उहाँको नै छ, महिला संघ पनि उहाँको नै छ, दलित संघ उहाँको नै छ ।

सबै संघ संस्थाहरु उहाँको नै छ तर पार्टी त कमजोर रैछ नि त । तर त्यसप्रति त्यति उहाँलाई चिन्ता छैन, उहाँ आफु बनेर के गर्नुहुन्छ, पार्टी नै नबनेपछि ? पार्टी जबसम्म बलियो हुँदैन हामी जनतामा जान सक्दैनौं । जबसम्म संगठन हाम्रो मजबुत गर्दैनौं तबसम्म हामी अगाडी बढ्न सक्दैनौं ।
२०६४ सालमा नेपाली काँग्रेस हारेपछि तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले पार्टी नेतृत्व नछोड्नु भएकोले अहिले पनि शेरबहादुरले छोड्नु पर्दैन भन्ने पनि छन् नि ?

सभापति छोड्न कसले भनेको छ उहाँलाई ? मैले त भनेको छैन तर छिटो भन्दा छिटो महासमितिबैठक बसेर “अर्ली अधिवेशन” गरेर जित्नुहोस् न ।देखाइदिनुस् जितेर कसरी जित्नु हुँदो रहेछ हामी पनि हेर्छौ ।

अर्ली महाधिवेशन गराउनुपर्छ भन्ने भनाई हो तपाईको ?
हो, “अर्ली अधिवेशन” एकदमै महत्वपूर्ण छ र त्यो जरुरी पनि छ । किनभने नेपाली काँग्रेसको विधान एकात्मक राज्यमा छ । संघीयतात्मक राज्यमा गइसक्यो । उहाँहरुले के गर्न खोजीरहनु भएको छ भने अहिलेकै सिस्टम पूर्ण बनाइदिन खोजीरहनु भएको छ । १३औं महाअधिवेशन देखि त्यो चलिरहेको छ । अब त हामी दिँदै दिँदैनौं यो गर्नलाई । एक इन्च पनि बढ्न दिँदैनौं उहाँहरुलाई । कार्यसम्पादन बसाउन नसक्ने सभापति ज्यूले उहाँहरुले भनेको कुरा हामी किन स्वीकार्ने ?

पदको लागि सँधै सम्झौता गर्ने नेताहरु नि छन् नि काँग्रेसमा होइन ?
छन् त देखिसक्नु भयो त प्रवक्ता नै जानुभयो । त्यसमा मलाई चिन्ता छैन तर जो जादैनन् उनीहरु लडेर बस्छन्, उठेर बस्छन् र नेपाली काँग्रेस काठमाडौंमा बस्ने हामी जस्ता मात्रै होइनन्, गाउँ गाउँका कार्यकर्ताहरुले नेपाली काँग्रेसलाई हामी भन्दा धेरै चिनेका छन् । नेतृत्व परिवर्तन भनेको के हो भने महासमितिको बैठक हुनुप¥यो । महासमितिले व्यापक विधान संशोधन गर्नुप¥यो र अर्ली अधिवेशन गरेर जो आउनु हुन्छ त्यसलाई स्वीकार्नु प¥यो । त्यो भन्न खोजेको हो मैले ।

अब १४औं महाअधिवेशनको लागि तपाईहरु तयार हुनुभएको हो ?
म मात्रै होइन धेरै तयार होलान् । शेरबहादुरज्यूमा के चाँही सक्षमता छ र उहाँलाई सभापति मानिराख्नु पर्ने । उहाँपनि चार चोटी हारेर जित्नु भएको हो । गिरिजाप्रसाद कोइरालासँग १०औं होकी ११ आंै अधिवेशन देखि लडिरहनु भएको हो । उहाँले संसदीय दलमा एक चोटी त जित्नुभयो नि । सभापतिमा एक चोटी त जित्नुभयो । गिरिजाप्रसाद कोइरालाज्यूसँग २÷३ चोटी हार्नुभयो ।

सुशील कोइरालासँग हार्नुभयो । एकचोटी मात्रै जित्नु भएको त होनी । अहिले संसदीय दलको नेताको लागि उहाँ कोसिस गर्दै हुनुहुन्छ भन्ने सुने । म त छैन संसदीय दलमा तर २०५१ सालको सम्झिनु प¥यो उहाँले । २०५१ सालमा जब नेपाली काँग्रेस पराजय भयो एमालेसित, दोस्रो पार्टी बन्यो । त्यतिबेला गिरिजाप्रसाद कोइरालाले पार्टी हारेर के भयो । संसदीय दलको नेता म आँफै बन्छु त भन्नु भएन । २०५१ सालमा शेरबहादुर ज्यूलाई कसले नेता बनायो ? बिर्सिने ? त्यतिसम्मको त ज्ञान छैन्, उहाँलाई अनि बी.पी को अनुयायी भन्न सुहाउँछ उहाँलाई ?

त्यसोभए संसदीय दलको नेतामा अब शेरबहादुर देउवालाई तपाईहरुले स्वीकार्नु हुन्न ?
होइन म त संसदमा नै छैन । अब समानुपातिक उहाँले भएभरका आफ्नै गुटका मान्छेलाई हाल्नु भएको छ । शेरबहादुर देउवाज्यू नै बलियो हुनुहुन्छ तर पनि लड्नुपर्छ, भिड्नुपर्छ । कोही न कोही आउनुपर्छ लड्नलाई तयार हुनुपर्छ । हामी त छैनौं तर कोही न कोही अगाडी आउनुपर्छ, च्यालेन्ज गर्नुपर्छ ।

सभापतिलाई च्यालेन्ज गर्ने नेता हुनुहुन्छ काँग्रेसमा ?
सुशिल कोइरालाले च्यालेन्ज गर्नुभएको होइन । शेरबहादुर देउवाज्यूलाई रामचन्द्रज्यूले च्यालेन्ज गरेको होइन हराएको होइन संसदीय दलमा ? कति चाडै बिर्सनु हुन्छ ? शेरबहादुरज्यूको पावर भनेको समानुपातिकमा उहाँले ६० प्रतिशत आफ्नो गुटका मानिसहरुलाई हाल्नुभयो । त्यही न हो पावर भनेको, त्यतिकै हुन्छ, उहाँले सोच्नु पर्दैन ? नेपाली कांगे्रसलाई उहाँले समाप्त पार्न खोज्ने, उहाँले अहिले संसदीय दलको नेतामा नउठे के पहाड फुट्छ उहाँको निम्ति ?

संसदीय दलको नेतामा उहाँले उम्मेदवारी दिनुहुन्छ ?
होइन, एकदम गिरिजाप्रसाद कोइरालाले पनि दिनुभएको थिएन र अब शेरबहादुर देउवाले पनि दिनुहुँदैन भन्ने पक्षमा हामी छौं ।

को हुन्छ त संसदीय दलको नेता त्यसो भए ?
जोसुकै बन्नुहोस् । जो संसदमा हुनुहुन्छ उहाँहरु लड्नु हुन्छ, जित्नुहुन्छ । तर शेरबहादुर देउवाज्यू लड्नु हुँदैन । शशांक कोइरालाले भन्नुभएको छ की म सर्वसम्मतको भए मात्रै हुन्छु भनेर । अब त्यो त पहल उहाँले गर्नुप¥यो तर सर्वसम्मतीको होइन लड्नुप¥यो । प्रकाशज्यू लड्छु भनेर आइरहनु भएको छ । हामी त हैनौं भोट दिने तर शेरबहादुरज्यूले सोच्नुप¥यो । २०५१ साल सम्झिनु प¥यो । नेपाली काँग्रेसको निम्ति पनि उहाँले सोच्नु प¥यो । नेपाली काँग्रेसलाई वास्ता गर्दिन म आफु बलियो हुन्छु भनेर आफ्ना नजिकियाहरु बलियो हुन्छन् भनेर सोच्नुहुन्छ भने चाँही नेपाली काँग्रेस कमजोर हुन्छ ।

तर उहाँको टिमले त उहाँ नै फरी दलको नेता हुनुपर्छ भनेको छ नि ?
भन्छन् त सन्नु न त । त्यो टिमका सबै कमजोर हुनुहुन्छ । तर शेरबहादुर देउवाज्यू बलियो हुनुहुन्छ । अनि शेरबहादुरज्यूको आड लिएर चल्न खोज्नुहुन्छ, उहाँहरु । शेरबहादुरज्यूले बी.पीको अनुयायी भएर राजनीति सुुरु गर्नुभएको हो । अगाडि आउनु भएको होनी त । विद्यार्थीकाल देखि राजनीति सुरु गर्नु भएको हो । नेपाली काँग्रेसको अवस्था अघि तपाईले भन्नुभयो यति कमजोर कहिल्यै भएको थिएन र दुर्भाग्यवस शेरबहादुरज्यूकै पालमा कमजोरी देखियो किनभने उहाँको संगठन कमजोर भएर हो । त्यसकारण उहाँले संसदीय दलको नेतामा उठ्न हुँदैन भन्ने मान्यता हो ।

उहाँले महासमितिमा विधान संशोधन गर्ने प्रस्ताव ल्याउनुभयो भने चाँही असफल हुनु हुन्न ?
होइन होइन, तपाईले बुझ्नु भएन । विधान संशोधन त कमिटीले गर्छ, छलफल हुन्छ । उहाँले राम्रै कुरा ल्याउनु भएको छ नि । उपसभापति थप्ने भन्नुभएको छ । तर मैले यही केन्द्रीय समितिमा थप्ने भनेको तर त्यतिबेला नै गर्नुपर्छ भनेको थिएँ । जुन अहिलेसम्म हुन सकेको छैन र अब त्यो हुन पनि सक्दैन ।

शेरबहादुर देउवा सभापति र आफू वरिष्ठ उपसभापति भएर अघि बढ्ने भन्नुभएको छ नि गोपालमानज्यूले, के भन्नुहुन्छ ?
गोपालमानज्यू वास्तवमै सिनियर हो, वरिष्ठ हो । शेरबहादुरज्यू जेल पर्दाखेरी गोपालमानज्यू कार्यबाहक सभापति पनि हुनुहुन्थ्यो । प्रजातान्त्रिक काँग्रेसको त्यो पनि थाहा छ मलाई, तर म के भन्दै छु भने उहाँले अब थप्नुभयो भने शेरबहादुरज्यू झन् कमजोर हुनुहुन्छ र नेपाली काँग्रेस झन कमजोर हुन्छ । व्यक्तिगत रुपमा बलियो भएर भएन के नेपाली काँग्रेस बलियो हुनुप¥यो भन्ने मेरो कुरा हो ।

पदको लागि जे पनि गर्न तयार हुने नेताहरु नि छन् नि होइन र ?
त्यो त देखिसकियो नि युवाहरुमा देखिएन, र जित्नुभयो भने जानुहोला युवाहरु तर नेपाली काँग्रेसलाई त्यसले कमजोर बनाउँछ भन्ने कुरा उहाँहरुले नि बुझ्नुप¥यो ? केन्द्रीय समितिको बैठकको एजेण्डा त उहाँहरुले पेशनै गर्नुभएको छैन । मलाई लाग्छ एउटा त संसदीय दलको विधान संशोधन गर्ने होला । त्यसपछि अरु एजेण्डाहरु हुन्छन् । त्यसमा के–के हुनुपर्ने हो त्यो हामीले ल्याउँछौं । तर त्यसरी उहाँहरुलाई चुप लागेर बस्न दिने अवस्था छैन्, अब । किनभने नेपाली काँग्रेस उहाँहरुले मात्र बनाएको होइन । गाउँका धेरै साथीहरु, जिल्लामा बस्ने साथीहरु जसले दुःख गर्नुभएको छ, जो रोइरहनु भएको छ ।

नेपाली काँग्रेस कमजोर भयो भनेर उहाँहरुले नेपाली काँग्रेसलाई बचाएको हो । माओवादीको कार्यकालमा झण्डालाई सिरानीमुनी राखेर बसेका मानिसहरुले बचाउनु भएको छ नेपाली काँग्रेसलाई हामीहरुले बचाएका होइनौं । त्यस्ता कार्यकर्ताहरुको सम्मान गरिनु पर्दछ । आफू मात्रै फपाइदा बटुल्ने पार्टी र कार्यकर्ताको वास्ता नगर्ने नेता भएर के काम ?

राष्ट्रपतिको निर्वाचन हुँदैछ, काँग्रेसले उम्मेदवारी दिन्छ त ?
दिनैपर्छ, हार्ने र जित्ने कुरा भएन नी हामीलाई थाहा छ हारीन्छ भनेर । तर हार्ने र जित्ने कुरा हुँदैन । हामीले दिनैपर्छ उम्मेदवारी, पार्लियामेन्ट्री सिस्टमको संवैधानिक राष्ट्रपतिको चुनावमा हामीले हारिन्छ भनेर उम्मेघवारी नै नदिने भन्ने हुँदै हुँदैन नि ।

सम्बन्धित समाचार

कोरोना भाइरसले भयाभह स्थिति ल्याएको हुँदा सरकारले यसलाई नियन्त्रण गर्न लागि पर्नुपर्दछ
कोरोना भाइरसले भयाभह स्थिति ल्याएको हुँदा सरकारले यसलाई नियन्त्रण गर्न लागि पर्नुपर्दछ
  • २०७४ फाल्गुन १४, ०८: ००: ३४

दिनानुदिन कोभिड–१९ महामारी बढ्दै गइरहेको छ । विज्ञहरुको सुझाव अनुसार सरकारले तयारी गर्न नसक्दा अकालमा नेपालीहरुको ज्यान जान थालेको छ । सीमा...

संक्रमितको संख्या बढ्दो अवस्थामा भएकोले जनस्वास्थ्य मापदण्डहरुलाई नियमित गर्नुपर्छ
संक्रमितको संख्या बढ्दो अवस्थामा भएकोले जनस्वास्थ्य मापदण्डहरुलाई नियमित गर्नुपर्छ
  • २०७४ फाल्गुन १४, ०८: ००: ३४

चीनको वुहान प्रान्तबाट सुरु भएको कोभिड–१९ महामारीले विश्वमा लाखौं मानिसहरुको ज्यान लिईसकेको छ । २०७६ चैत्र ११ गतेदेखि नेपालमा लकडाउन भएका...

यो सरकारले सञ्चार क्षेत्रको अधिकारलाई समेत कुण्ठित पार्ने प्रयास गरीरहेको छ
यो सरकारले सञ्चार क्षेत्रको अधिकारलाई समेत कुण्ठित पार्ने प्रयास गरीरहेको छ
  • २०७४ फाल्गुन १४, ०८: ००: ३४

मुलुकमा देखिएको पछिल्लो राजनैतिक घटनाक्रमले के देखाउन खोजी रहेको छ भन्ने कुरा घाम जस्तै छर्लङ्ग भएको छ तर पनि राजनैतिक...

भर्खरै

TOP