May 19, 2021, Wednesday

“कुरा गर्ने काम नगर्ने एमालेको बानी छ, तसर्थ हाम्रो विषयमा टुंगो नलगाई सरकारमा जाने कुरा भएको छैन”

अनिल झा–अध्यक्ष, राजपा अध्यक्ष मण्डलका सदस्य

राष्ट्रपतिको निर्वाचन भोली हुँदैछ । एमालेले पुनः विद्यादेवी भण्डारीलाई उम्मेद्वार बनाएको छ भने काँग्रेसले पनि आफ्नै उम्मेद्वार खडा गराएको छ । मधेशी दल राजपालाई पनि सरकारमा सामेल गराउन पाए संसदमा आफ्नो दूई तिहाई बहुमत हुने दाऊमा प्रधानमन्त्री के.पी. ओली छन् र अनेक प्रलोभनमा पार्ने प्रयासमा छन् ।

यो सँगै राजपाले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई सघाउने र हिजो प्रधानमन्त्रीलाई समेत सघाए । तर सरकारमा सामेल हुने कुरा भने यकिन भएको छैन । यिनै विषयमा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झासँग पत्रकार ऋषि धमलाले गरेका कुराकानीको सम्पादीत अंशः

तपाईहरु सरकारमा जाने निर्णय गर्नुभएको हो ?
हैन त्यस्तो भएको छैन । सरकारमा जाने निर्णय गरिएको छैन । प्रधानमन्त्रीसँग कुराकानी भएको हो । एक चरणको कुराकानीमा, संविधान संशोधन लगायतका मधेशका मुद्दाहरु सम्बोधन गर्न सकारात्मक भएको प्रधानमन्त्रीले भन्नुभएको बुझिएको छ । अब त्यसमा यो काम अगाडी गर्ने की पछाडी गर्ने, गर्ने की नगर्ने भन्ने कुराको सन्दर्भमा उहाँसँग फेरी पनि विश्वस्त हुनुपर्ने आवश्यकता छ । त्यसकारणले यसलाई सरकारमा गइहाल्ने कुुरा भन्न मिल्दैन ।

प्रधानमन्त्री ओली र माओवादी अध्यक्षसँग सरकारमा जाने सहमति भइसकेको भनिन्छ नि ?
एकपटक कुराकानी भएको हो । उहाँहरुले हामी यसमा सकारात्मक छौं भन्नुभएको छ । उहाँहरु त सधै सकारात्मक नै भन्नुहुछ नि तर उहाँहरुले कहिल्यै काम गर्नु भएको छैन । यसपाली प्रधनमन्त्री र प्रचण्डजीले चाहनु भयो भने हाम्रो सरोकारका विषयमा संविधान संशोधन तुरुन्तका तुरुन्तै हुनसक्छ । त्यो भनेको हामी र उहाँहरु मिलिसकेपछि संविधान संशोधन गर्न पर्याप्त दुई तिहाई बहुमत आउँछ ।

प्रधानमन्त्रीले कुरा गर्छु भनेपछि कुरा गर्न गएका हौं । विगतमा आन्दोलन चलिहरँदा, संङ्घर्ष भइरहँदा, मधेश बन्द हुँदा, नाकाबन्दी हुँदापनि वार्ताहरु चलेकै हो । प्रजातन्त्रमा, लोकतन्त्रमा वा कुनैपनि व्यवस्थामा कसैले कुरा गर्न चाहन्छ भने कुराकानी रोक्न हुँदैन । हामी कुराकानी रोक्ने पक्षको पार्टी होइनौं । किनभने हामी लोकतान्त्रिक पार्टी हौं । अरुले के गर्छ त्यो उसको कुरा हो । त्यसैले राजपालाई देशको प्रधानमन्त्रीले कुरा गर्छु भनेर बोलाएपछि जाने पार्टी हो ।

तर महन्थ ठाकुरले सरकारमा जान तयार बसेको बताउनुभएको छ नि ?
हामी सरकारमा जाने नजाने कुरा त छदै छ नि । प्रदेश नं. २ को सरकारमा हामी छौं । विगतमा पनि हामी सरकारमा थियौं । सरकारमा नजाने भनेर कसम खाएर हामी राजनीतिमा पनि आएको होइन, सरकारमा नगएको पनि होइन ।

त्यसैले सरकारमा जाने कुरा प्रमुख होइन । सरकारमा जाने आउने काम त भइरहन्छ नि । एजेण्डाको बारेमा उहाँहरुको अगाडि हामीले कुरा राखेका छौं । हाम्रो तर्फबाट महन्थ ठाकुर गएर कुरा राख्नु भएको हो । त्यसका साथसाथै रेशम चौधरी जेलमा छन् उनी सांसद हुन् । अरु साथीहरु जेलमा छन् थुनामा छन् । यस विषयमा नि छलफल गर्न आवश्यक छ ।

तपाईहरु रेशम चौधरीलाई छुटाउन चाहनु हुन्न भन्ने चर्चा छ नि ?
पार्टीले रेशम चौधरीलाई थुनिराख भनेको छ र ? देशको सर्वोच्च स्थान संसदमा सम्बोधन सुरु गर्दा नै हाम्रो तर्फबाट हाम्रो साथीले रेशम चौधरीको कुरालाई १ मिनेट सम्म बोल्नुभएको हो । अरु कहाँकहाँ बोल्नुपर्छ ? त्यहाँ सिपाही र हवल्दार साबलाई छोड्दिनुस् भनेर छोड्छन् त जहाँजहाँ कुरा गर्नुपर्ने हो, जे–जे गर्नुपर्ने हो, राजपाले त्यो काम गरिरहेको छ । रह्यो कुरा कहाँ बोलेर त्यो बोलिएको मानिन्छ, त्यो कुरा तपाईले नै बताइदिनु पर्यो हामीलाई ।

राजपाका नेताहरु आफ्नो लागि मात्र काम गर्ने स्वार्थी छन् भन्ने आरोप पनि छ नि ?
होइन, नेता को–को हुन्छ ? रेशम चौधरी सांसद भएकोले मान्छे नेता होइन ? पार्टीको कुन पद सम्मको मान्छेलाई नेता भन्ने ? सांसदलाई नेता भन्ने की नभन्ने ? महासचिवलाई नेता भन्ने कि नभन्ने ? उपाध्यक्षलाई नेता भन्ने की नभन्ने ? केन्द्रीय सदस्यलाई नेता भन्ने कि नभन्ने ? प्रधानमन्त्रीसँग, कुराकानी भइराखेको छ । टेलिफोनमा महन्थ ठाकुर र प्रमबीच कुरा भएको हो । किनभने रेशम चौधरी आमरण अनशनमा बसिरहेको छ । प्रधानमन्त्रीले के भन्नुभयो त्यो त मैले टेलिफोनमा सुनिन ।

तर नियम, कानुनले मिलाउँदै छु भन्नुभयो भन्ने मैले थाहा पाएँ । अब त्यस्तो स्थितिमा रेशम चौधरीको लागि हामीले काम गरिरहेका छैंनौं भन्न मिल्दैन । रेशम चौधरीलाई त्यो कुरा थाहा छ । देशलाई, दुनियाँलाई पनि थाहा छ । पार्टीको सांसद जेलमा छ त्यो पार्टीेले केही गरिरहेको छैन भनेर यसरी आरोप लगाउन त भएन नि । मुल कुरा के हो भने, राजपा पनि एउटा जिम्मेवार पार्टी हो । अरु पार्टीहरु पनि जिम्मेवार होलान् । तर राजपाको आफ्नै दृष्टिकोण छ । सबै विषयमा जनताको दृष्टिकोणसँग मिल्ने कुराहरु छ ।

जहाँको लागि हामी राजनीति गर्छौ तिनलाई मिल्ने कुराहरु छन् । रेशम चौधरीदेखि लिएर विश्वनाथ शिव राजवंशी सम्मको कुराहरु मिल्ने कुरा छ । विराटनगरदेखि लिएर महेन्द्रनगरसम्मको कुराहरु छ । ति सबै कुराहरु हामीले उठाउँदै आएका छौं । हिमालदेखि तराइसम्मका कुराहरु छन् । त्यस्ता कतिपय कुरा तपाईसँग मिल्छ, कतिपय कुरा के.पी ओलीसँग मिल्छ, कतिपय कुरा देउवाजीसँग मिल्छ र कतिपय कुरा कसैसँग पनि मिल्दैन । त्यसकारणले अलग–अलग विषयमा हाम्रो दृष्टिकोण अलग भएकै कारणले हामी अलग–अलग पार्टी हौं । अलग–अलग जाती र समुदाय छौ तर सबै एक देशका नागरिक हौं । हामी सबैका लागि का मगर्ने पार्टी हौं ।

सरकारमा जान दूई मन्त्रालय र उपराष्ट्रपति पदको बार्गेनिङ गर्नु भएको हो ?
हामीले सरकारमा जानको लागि केही पनि मागेका छैनौं । न महन्थ ठाकुरले माग्नु भएछ न राजेन्द्र महत्तोले माग्नु भएछ । सबैको बोल्ने शैली÷ तरिका फरक–फरक हुन्छन् । मिडियाले ति कुरालाई पुष्टि गर्ने तरिका फरक हुन्छन् । मन्त्री बन्न कसलाई मन लाग्दैन ? मन्त्री बन्न नचाहने नेता कहाँ हुन्छ ? अहिले मुल कुरा भनेको राजपालाई प्रधानमन्त्रीले औपचारिक रुपमा बोलाउनु भयो ।

राजपाको तर्फबाट साथीहरु जानुभयो । त्यहाँ गएपछि उहाँलाई संविधान संशोधन, मधेश आन्दोलन, मधेशका मुद्दा र हाम्रा बन्दी साथीहरु, अनशनमा रहेका साथीहरुको बारेमा राज्यको दृष्टिकोण के छ भन्ने बारेमा छलफल भएका छन् । हामीले काम गरेर देखाउनुस् भनेका छौं । उहाँहरु के–के गर्नुहुन्छ त्यो गरेपछि मात्रै सरकारको बारेमा सल्लाह हुन्छ । अहिले हामीले कुनै पदको लागि बार्गेनिङ गरेका छैनौं ।

त्यसोभए राष्ट्रपतिको निर्वाचनपछि सरकारमा जाने तयारी गर्नुभएको हो त ?
त्यस्तो विषयमा पनि कुनैपनि कुराकानी अहिले भएको छैन र दोस्रो, तेस्रो कुनै चरणको पनि वार्ता भएको छैन । एक चरणको कुराकानी औपचारिक भएको चाँही हो । बाँकी, टेलिफोनमा त विभिन्न कुरामा कुराकानी भइनै रहन्छ नि ।

सबै साथीहरु फिल्डमा हुनुहुन्छ । म पनि फिल्डमा जानीवाला थिएँ । अहिले पनि जान सक्छु । त्यसैले के हो भने त्यसमा कुनै होडवाजी वा कुनै दौडधुप भएको छैन । राजपामा मन्त्री बन्न सक्ने, मन्त्री चलाउन सक्ने, मुख्य मन्त्री चलाउन सक्ने एकसय एक नेताहरु हुनुहुन्छ । यदी हाम्रो मागप्रति उचित सुनुवाई हुन्छ भने सरकारमा जाने कुरामा विचार गर्न सकिन्छ । तर अहिले नै हामी दौडमा भने छैनौं ।

राजपामा अहिले नै मन्त्री बन्न चाँही कठिन छ हो ?
स्वभाविक रुपले कठिन छ किनभने सरकारमा जाने कुनै कुरा भएको छैन । छोरो पाउने कहिले कहिले भोटो सिलाउने अहिले भनेजस्तो कुरा हो यो ।

राष्ट्रपतिको निर्वाचनमा राजपाले विद्यादेवी भण्डारीलाई सघाउने निर्णय ग¥यो होइन ?
होर, शुक्रबार बसेको हाम्रो बैठकले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई सघाउने निर्णय गरेका हौं । प्रधानमन्त्री के.पी. ओली र माओवादी अध्यक्ष प्रचण्डसँग हामी निरन्तर सम्बादमा छौं र त्यो सम्वाद सकारात्मक भएको हामीले बुझेकाले भोली हामीले विद्यादेवी भण्डारीलाई भोट दिने निर्णय गरेका हौैं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई मतदान गर्ने कि अर्कोलाई मतदान गर्ने भन्ने सन्दर्भमा पार्टीमा निर्णय गर्ने भएको थियो ।

त्यो निर्णय निर्वाचन भन्दा पहिलेनै हुन्छ भनेको थियो । त्यसको बारेमा दुईवटामा एउटालाई त मत हाल्नैपर्छ । एमालेसँग सकारात्मक कुरा भएपछि हामीले यो निर्णय गरेका हौं । यो कुराको निर्णय गर्ने अधिकार पार्टीको एउटा नेतालाई मात्र नहुने भएकोले पार्टीबाटै निर्णय गरेका हौं । २९ गते निर्वाचन छ, यो पार्टीलाई हाल्छु भनेर भन्यो भने त अर्को पक्ष त भोट माग्नै आउँदैनभन्ने सोचर हामीले धेरै अघि निर्णय गरेका हौं । हामी डेढ महिनाभरी भोट मागेर यहाँ आइपुगेका छौं । रातदिन मेहेनत गर्यौ।

साथीहरु चुनाव लड्दै हुनुहुन्छ । उहाँहरुलाई मेहेनत त गर्न दिनुपर्यो । लास्टमा निर्णय गरौंला नि भनेर निर्णय गर्न हतार नगरेका थियौं । हामी कति ठाउँमा दौडियौ । ४० दिनसम्म पैदल नै हिँडियो, ४० वटा वडा थियो । पुरानो ४० वटा गाउँ थियो । धेरै टोलटोल–घरघर, दुईदुई पटक घुम्नु पर्यो। हामीकहाँ पनि भोट माग्ने मान्छे आइदिन पर्यो नि । पहिले नै डिक्लियर गरेपछि त साथीहरु आउनुहुन्न भोट माग्न त्यसैले उहाँहरुलाई अलिकति मेहेनत गर्न दिनुपर्छ भनेर हामी मौन बसेका थियौं तर प्रधानमन्त्री तथा माओवादी अध्यक्षसँग भएको वार्ता सकारात्मक भएपछि निर्णय गरेका हौं ।

प्रदेश नं. २ को विकासका लागि के योजना छ ?
तपाईसँग कुरा गर्न आउनु भन्दा दुई घण्टा पहिलादेखि म ल्यापटप चलाएर योजनाहरु लेखिरहेको थिएँ । मलाई थाहा छ, मधेशमा अझैसम्म राम्रोसँग सडक पिच हुन सकेको छैन । अब अहिले देशको नयाँ योजना बन्दै छ । चालु आर्थिक वर्षमा नयाँ कामहरु बन्दै छन् । आज पनि हाम्रो क्षेत्रमा अर्को क्षेत्रको सांसद गएर सडक शिल्यान्यास गर्दै छन् । त्यसमा ढुङ्गा मुढा हुने सम्भावना छ । यि विभिन्न कुराहरु भइरहेछ देशमा के गर्नु ? काठमाडौंको सांसद माधव कुमार नेपाल रौैतहट १ नं. मा अर्को पटकको चुनावको तयारी गर्न थाल्नु भएको छ ।

उहाँले मलाई लिफ्ट जाने कुरा नै भएन उहाँ त आफ्नो क्षेत्रबाट भागेर आउनुभएको हो । अनि फेरी त्यहाँ निहुँ खोज्न झगडा गराउन र गोली चलाउन जाँदै हुनुहुन्छ ? जनता त आफ्नो प्रतिनिधि खोज्छ नि ! त्यहाँ झडप हुन सक्ने सम्भावना छ । भगौडा नेता गएर त्यहाँ शिल्यान्यास गर्दा त राम्रो देखिदैन नि ।

सम्बन्धित समाचार

कोरोना भाइरसले भयाभह स्थिति ल्याएको हुँदा सरकारले यसलाई नियन्त्रण गर्न लागि पर्नुपर्दछ
कोरोना भाइरसले भयाभह स्थिति ल्याएको हुँदा सरकारले यसलाई नियन्त्रण गर्न लागि पर्नुपर्दछ
  • २०७४ फाल्गुन २८, ०८: ३९: ४२

दिनानुदिन कोभिड–१९ महामारी बढ्दै गइरहेको छ । विज्ञहरुको सुझाव अनुसार सरकारले तयारी गर्न नसक्दा अकालमा नेपालीहरुको ज्यान जान थालेको छ । सीमा...

संक्रमितको संख्या बढ्दो अवस्थामा भएकोले जनस्वास्थ्य मापदण्डहरुलाई नियमित गर्नुपर्छ
संक्रमितको संख्या बढ्दो अवस्थामा भएकोले जनस्वास्थ्य मापदण्डहरुलाई नियमित गर्नुपर्छ
  • २०७४ फाल्गुन २८, ०८: ३९: ४२

चीनको वुहान प्रान्तबाट सुरु भएको कोभिड–१९ महामारीले विश्वमा लाखौं मानिसहरुको ज्यान लिईसकेको छ । २०७६ चैत्र ११ गतेदेखि नेपालमा लकडाउन भएका...

यो सरकारले सञ्चार क्षेत्रको अधिकारलाई समेत कुण्ठित पार्ने प्रयास गरीरहेको छ
यो सरकारले सञ्चार क्षेत्रको अधिकारलाई समेत कुण्ठित पार्ने प्रयास गरीरहेको छ
  • २०७४ फाल्गुन २८, ०८: ३९: ४२

मुलुकमा देखिएको पछिल्लो राजनैतिक घटनाक्रमले के देखाउन खोजी रहेको छ भन्ने कुरा घाम जस्तै छर्लङ्ग भएको छ तर पनि राजनैतिक...

भर्खरै

TOP