May 10, 2021, Monday

आमसञ्चारमा अपेक्षित अपाङ्गता मुद्दा

रमेश बुढाथोकी

प्रकरण नं. १ः हालैमात्र बीबीसी नेपाली सेवामा प्रशारित एक अन्तर्वार्तामा कर्पोरेट कानुनका ज्ञाता भनिने रकम कर्णले “एक जना सवल मानिसँग सय जना…..(सम्पादित) दौडाइ दियो भने पनि रेस जित्न सक्दैन,” भन्ने अभिव्यक्ति दिए । बीबीसीले यस विषयलाई सामान्यसरह मानेर प्रशारण गरिदियो । पंक्तिकारले तत्कालै ध्यानाकर्षण गराएपछि उसले अनलाइनमा अघिल्लो दिन प्रशारित अन्तर्वार्ता संशोधन÷सम्पादन गर्यो ।

प्रकरण नं. २ः आफूलाई नेपालको एक व्यक्ति अनलाइनले यसैगरी एक नेताको भनाइलाई उद्धृत गर्दै अपाङ्गता भएका व्क्तिप्रति विभेद प्रकट हुने समाचार प्रकाशित गर्यो । पंक्तिकारले ट्विटरमा मेन्सन गर्दै उक्त त्रृटि सच्याउन अनुरोध गर्यो, तर त्यो त्रृटि सच्याउनुका सट्टा पंक्तिकारलाई व्यक्तिगत रुपमा आक्रमण समेत गरियो ।

नेपाली आमसञ्चार माध्यममा अपांगताको विषयलाई एकदमै हल्का, कम ध्यान दिइएको विषयका रुपमा लिने, सोहीअनुरुप समाचार, लेख, कार्टुन चित्र प्रकाशित गर्ने क्रम बर्षौदेखि जारी छ । नेताले भनेको त हो नि भनेर सरकारलाई गाली गर्दा “अन्धो, बहिरो, लंगडो” भन्ने वा अर्को पक्षलाई होच्याउनु पर्दा “लुलो–लंगडो” जस्ता शब्दावली प्रयोग गर्ने, प्रचलन भएको प्रयोग गर्दा के फरक पर्छ र ? भनेर अपांगता भएका व्यक्तिप्रति सोझै विभेद भएका उखानटुक्का प्रयोग गर्ने गरिएको छ । पत्रकार आँचारसहिता २०७३ को पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने विषयअन्तर्गत प्रष्टै शब्दमा दफा १४ को उपदफा ३ मा “पत्रकार तथा सञ्चारमाध्यमले अपांगता भएका व्यक्ति बारे समाचार सामग्री सम्प्रेषण गर्दा उनीहरुको मर्यादा, भावना तथा आत्मसम्मानमा प्रतिकूल असर पु¥याउन र होच्याउनुहुँदैन,” भनिएको छ ।

यस्तै, पत्रकार र सञ्चारमाध्यमको कर्तव्यअन्तर्गत दफा ४ मा “पत्रकार तथा सञ्चारमाध्यमले बालबालिका, महिला, ज्येष्ठ नागरिक, अशक्त, असहाय, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका उत्पीडित वर्ग, समुदाय, क्षेत्र, भाषाभाषी र अल्संख्यक, लोपोन्मूख समुदायको उत्थान र विकासमा विशेष सहयोग पु¥याउने गरी सूचना सम्प्रेषणा गर्नुपर्दछ,” भनिएको छ । यसैगरी, दफा ७ को उपदफा २ मा“ पत्रकार तथा सञ्चारमाध्यमले कुनै पनि व्यक्ति, समुदाय वा ससंस्थाको ख्याति, सम्मान वा मर्यादा र सार्वजनिक हित, शिष्टाचार, नैतिकता र जनस्वास्थ्यमा आघचात नपर्ने गरी विज्ञापन प्रकाशन वा प्रसारण गर्नुपर्दछ,” भनिएको छ ।

पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने अन्तर्गत दफा २ मा “पत्रकार तथा सञ्चारमाध्यमले जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक तथा मानसिक अवस्था जस्ता कुुनै पनि आधारमा कसैमाथि पनि भेदभाव हुने वा घृणा उत्पन्न गर्नेगरी सामग्री उत्पादन, प्रकाशन, प्रशारण र वितरण गर्नुहुँदैन,” भनिएको छ । दफा ४ को उपदफा १ मा “पत्रकार तथा सञ्चारमाध्यमले विपत्ति वा शोकमा परेका, दुःख–पीडा भोगिरहेका व्यक्ति वा उनका आफन्तजनमा थप पीडा पुग्ने गरी वा सार्वजनिक संवेदनशीलतामा प्रतिकूल असर पर्ने गरी कुनै पनि विवरण, चित्र, संकेतलगायतका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुदैन,” भनिएको छ ।

यतिले मात्र नपुगी प्रेस काउन्सिल नेपालले नेपाल पत्रकार महासंघ, राष्ट्रिय अपांग महासंघसमेतको सहभागिता र सहमतिमा अपाङ्तामैत्री सञ्चार निर्देशिका समेत जारी गरेको छ । उक्त निर्देशिकाले अपाङ्गता भएका व्यक्तिप्रति विभेद र आँच नआउन के–के विषयमा के–के गर्न नहुने मात्र स्पष्ट खुलाएको छैन, अपितु वर्षोदेखि चलाइदै आइएका कुनकुन शब्दावलीहरु बेठिक हुन्, कुन सही शब्द हुन् भन्नेसमेत परिभाषित गरिदिएको छ । प्रेस काउन्सिल नेपालले उक्त निर्देशिका बेवसाइटमा सबैले सहजै देख्न र डाउनलोड गर्न मिल्ने गरी सार्वजनिक गर्नुपर्ने खाँचो भने छ ।

आमसञ्चारमा अपाङ्गता मुद्दा
लामो समयदेखि अपाङ्गता मामिलाको मुद्दा पूर्णतः बेवास्ता गरिएको विषयका रुपमा रहँदै आएको छ । सञ्चारमाध्यममा अपाङ्गताका विषयमा समाचार, लेख, फिचर, डकुमेन्ट्री प्रशारण गर्दा पनि अति बिजोग भएको, दया र करुणाका पात्रको रुपमा मात्र प्रस्तुत गर्ने गरिएको छ । अभाव, गरिबी, दयनीय अवस्थामा चित्रण भएका समाचार बढी मानवीय अभिरुचि (ह्युमन इन्ट्रेस्ट)का हुन्छन् भन्ने भ्रम सम्पादकहरुमा परेको छ । प्रायः मूलधारका मिडियामा अपांङ्गता मामिलाका समाचार पहिलो पृष्ठमा प्रकाशितनै हुँदैनन्, भइहाले पनि वर्षमा एक दिन –डिसेम्बर ३ तारिक–अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसका दिन–मात्र, त्यो पनि दया, करुणाको अवस्था झल्काउने किसिमबाट मात्र प्रस्तुत गरिन्छ ।

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार रक्षा गर्ने ऐन संसदबाट पारित हुँदा, त्यसको खुसियालीमा माइतीघर मण्डलामा दिपावली गर्दा एउटा तस्बिर प्रकाशित गर्ने जमर्को नगर्नुले मिडियामा अपाङ्गता मामिला प्राथमिकतामा नपरेको देखिन्छ । वास्तवमा अपाङ्गता भएका व्यक्तिहरुको आमसञ्चार माध्यममा पहुँच नै कमजोर छ, सोही कारणले यस्तो मुद्दाले प्राथमिकता पाएको छैन । अपाङ्गता मामिला एक व्यक्तिको मात्र मुद्दा नभएर देशभरिका करिब ३० लाख अपाङ्गता भएका नागरिकको सरोकोको विषय भएको हुनाले यसलाई स्थान दिन कन्जुस्याई हुन्न भन्ने मेरो मान्यता हो ?

अरु विषयका समाचार संकलन गर्दागर्दै अपाङ्गता विषयवस्तु न्यून प्राथमिकतामापर्ने गरेको देखिन्छ । संपाददाताले विषयगत गहनता बुझेर कुनै समाचार, फिचर बनाए पनि अरु समाचार सरह त्यो समाचारले प्राथमिकतामा पर्दैन । अपाङ्गताको मुद्दा आमसञ्चार माध्यममा वर्षौदेखि न्यून प्राथमिकतामा परेको छ, चाहे सर्वाधिक बिक्ने भनेर दाबी गरिएका ठूला अखबार हुन् वा टेलिभिजन अथवा अनलाइनहरु अपाङ्गताको विषयलाई देश पेजको समाचार ठानिएको छ, त्यो पनि फिलर समाचारका रुपमा मात्र प्रयोग गरिएको छ ।

पंक्तिकारले नेपालका प्रमुख सात दैनिक पत्रकिाको एक महिनाको प्रकाशित समाचारका आधारमा गरेको अध्ययनअनुसार आमसञ्चार माध्यममा प्रकाशित अपाङ्गतासम्बन्धी समाचारमा दयामुखी समाचार ६६ प्रतिशत, उत्प्रेरक ३२ प्रतिशत अपराध, संगीत÷पुस्तकसहितका अन्य २ प्रतिशत रहेको पाइएको छ । सात वटा दैनिक पत्रिकामा एक महिनामा जम्म २७ वटामात्र समाचार प्रकाशित भएका थिए । कुल अपाङ्गतासम्बन्धी सञ्चार सामग्रीमध्ये ६० प्रतिशत समाचार, ३० प्रतिशत फिचर, ९ प्रतिशत लेख÷विचार र जम्मा १ प्रतिशतभन्दा पनि कम सम्पादकीय सामग्री रहेका थिए । यसले हाम्रो आमसञ्चार माध्यमको वास्तविक चित्र कस्तो छ, त्यो उजागर गर्छ ।

श्रव्यदृष्य सञ्चारमा अपाङ्गता मुद्दा
श्रव्यदृष्य सञ्चारमाध्यममा त स्थिति अझ कहालीलाग्दो छ । सिनेमा, टेलिफिल्म, गीत–संगीत पनि आमसञ्चारका एकरुप हुन्, तर श्रव्यदृष्य सञ्चार माध्यममा हाँस्यका रुपमा अपाङ्गता देखाउने गरिएको छ । बोलीजन्य अपाङ्गता, हिँडाइजन्य अपाङ्गता, शारीरिक कमजोरी नदेखाई मानिलिऊँ श्रव्यदृष्य माध्यमको हाँस्य पूरा हुँदैन । त्यसभन्दा अलि अघि बढेमा विजोगका रुपमा मात्र देखाउने गरिएको छ भने संरक्षकबिना केही गर्नै नसक्ने असहायका रुपमा चित्रित गरिन्छ ।

समस्या
आमसञ्चार माध्यममा अपाङ्गताको मुद्दा समावेश नहुनुको मुख्य कारण भनेको अपाङ्गता भएका पत्रकारहरुको मूलधारको पत्रकारितामा सहभागिता नै छैन । मुख्य धारका पत्रकारहरुमा अपाङ्गता बारे या बुझाइमा कमी छ, वा यस विषयमा चासो नै छैन । यो मेरो वा हाम्रो सरोकोको विषय होइन भन्ने अधिकांश पत्रकारकने सोंच छ । देशभरि झण्डै २३ हजार पत्रकार नेपाल पत्रकार महासंघको सदस्य रहेकोमा अपाङ्गता भएका पत्रकार करिब ०.०५ प्रतिशतमा मात्र छन् । अर्थात् पुगनपुग देशभर अपाङ्गता भएका १०० जना पत्रकार छन् ।

मुख्य समस्या भेनको आमसञ्चार माध्यममा–अपाङ्गता भएका पत्रकारलाई उचित स्थान दिइएको पाइन्न । अपाङ्गता भएका पत्रकारहरुलाई आमसञ्चार माध्यमका व्यवस्थापक वा लगानीकर्ताले बोझ ठान्ने प्रवृत्ति छ । यस्ता पत्रकारहरुको काम र क्षमताको सही मूल्यांकन नै नहुने, पारिश्रमिकमा विभेद गर्ने प्रवृत्ति अर्कोतिर हाबी छ ।

समान काम, समान कार्यविभाजनमा पनि साङ्ग पत्रकार र अपाङ्गता भएका पत्रकारलाई दिने सेवासुविधा र तलबमानमा विभेद छ । नेपालको सबैभन्दा ठूला भनिएका सञ्चारमाध्यमहरु त अपाङ्गता संवेदनशील पूर्वाधार भएका छैनन् भने साना सञ्चारमाध्यमहरुको अवस्था के होला सहजै अनुमान गर्न सकिन्छ । यद्यपी, सुधारको विषय भनेको हालैका दिनहरुका केही सञ्चार माध्यमले अपाङ्गताको विषयलाई केही फरक ढंगले हेर्न थालेका छन् ।

आचारसंहिता पालनाको प्रश्न
इमान्दारीपूर्वक भन्दा अहिलेको पुस्ता, अहिलेको पत्रकारितामै समग्रमा पत्रकार आचारसंहिता पालनामा गैरजिम्मेवारीपनको भाव बढ्दै गइरहेको बेला अपाङ्गता भएका व्यक्ति, बालबालिका, महिला र जेष्ठ नागरिकहरुप्रति विशेष संवेदनशीलता अपनाउन अझै पनि कमजोरी नै छ भनेर स्वीकार गर्नैपर्ने हुन्छ । यदि प्रमुख सञ्चारमाध्यमका सम्पादक, न्यूज रुमका प्रमुख, पत्रकारिताका शिक्षक तथा वरिष्ठ पत्रकारहरु अपाङ्गता मामिलामा संवेदनशील हुन सके, नयाँ पुस्तालाई यस मामिलामा संवेदनशील बनाउन सकिन्छ । जसका अभ्यासले समाजमा अपाङ्गता भएका व्यक्तिहरुप्रति हुने विभेद अन्त्य गर्न र समावेशी समाज सिर्जना गर्नमा मद्दत पु¥याउन सक्छ । (संहिता नामक पुस्तकबाट)

सम्बन्धित समाचार

कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
  • २०७४ फाल्गुन २८, ०८: ५२: २१

१.कोभिड—१९को दोस्रो छालले नेपाललाई पनि छोप्यो भने हुन्छ । विश्वका देशहरुमा कोरोनाका भाइरसहरुले विभिन्न रुप लिएर विस्तारित हुन थालेका समाचारहरुले...

पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
  • २०७४ फाल्गुन २८, ०८: ५२: २१

१. नेपालमा प्रजातन्त्रको स्थापना, पुनस्र्थापना र फेरि पुनस्र्थापनाका घटनाहरुको कडीमै २०६३साल वैशाख ११ गते आएको थियो, जुन दिन जनताको आन्दोलनको...

कोरोना भाइरसले भयाभह स्थिति ल्याएको हुँदा सरकारले यसलाई नियन्त्रण गर्न लागि पर्नुपर्दछ
कोरोना भाइरसले भयाभह स्थिति ल्याएको हुँदा सरकारले यसलाई नियन्त्रण गर्न लागि पर्नुपर्दछ
  • २०७४ फाल्गुन २८, ०८: ५२: २१

दिनानुदिन कोभिड–१९ महामारी बढ्दै गइरहेको छ । विज्ञहरुको सुझाव अनुसार सरकारले तयारी गर्न नसक्दा अकालमा नेपालीहरुको ज्यान जान थालेको छ । सीमा...

भर्खरै

TOP