May 14, 2021, Friday

विचार समूह र युवा नेताहरुले देउवा र पौडेलको विकल्प खोजे

कांग्रेसको स्थापित गुटमा फ्यूजन

काठमाडौंः नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको भूमिका एकपछि अर्को घटना र प्रकरणमा कमजोर भएको भन्दै गुटभित्रैबाट उनको आलोचना हुन थालेको छ । कांग्रेसका तत्कालिन सभापति शुशील कोइरालाको निधनपछि पार्टी कार्यवाहक सभापतिको जिम्मेवारीमा रहेर नेता पौडेलले पार्टीको १३ औं महाधिवेशन गराए पनि गुटले सर्मनाक हार बेहोरेदेखि नै उनको आलोचना हुँदै आएको थियो ।

भातृसंस्थाहरु नेपाल बिद्यार्थी संघ र नेपाल महिला संघमा पौडेल गुट नराम्ररी पछारिएपछि सभापति शेरबहादुर देउवासँग तरुण दल भागबण्डा माग गरेर महासचिव लिएका थिए । स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी चयन गर्दा समेत आफ्नो गुटका नेता र कार्यकर्ताको संरक्षण गर्नमा पौडेल चुकेको सर्बत्र आलोचना भएको थियो ।

पौडेलले गुटको नेतृत्व गरेपछि आफूहरु एकपछि अर्को गर्दै कमजोर भएको गुनासो गर्दै बिहीबार राजधानीमा भेला भएका दुई दर्जनबढी जिल्लाका सभापतिहरुले पौडेलप्रति आक्रोस पोखेका छन् । काठमाडौंको एयरपोर्टस्थित एक होटलमा भएको कार्यक्रममा जिल्ला सभापतिहरुले पार्टी संसदीय दलको निर्वाचनमा आफ्नो गुट नैं विभाजित हुँदा सर्मनाक हार बेहोर्नु परेको भन्दै हारको जिम्मेवरी पौडेलले लिनु पर्ने बताएका थिए । ति जिल्ला सभापतिले अब पुरानो संस्थापन पक्षलाई पौडेलले नेतृत्व गर्न नसक्ने भन्दै बैकल्पिक नेतृत्वको खोजी गरेका छन् ।

६३ सदस्यीय संसदीय दलमा पौडेलसमूहबाट उम्मेदवारी दिएका लौहपुरुष गणेशमान सिंहका पुत्र प्रकाशमान सिंहले १९ भोटमा चित्त बुझाउनु परेको थियो । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पराजय बेहोरेको सबै जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवाले लिनु पर्ने माग भइरहँदा सभापति देउवा भने झन् एकपछि अर्को गर्दै बलियो हुँदै गएका छन् । पौडेल गुटका जिल्ला सभापतिले सिंहलाई महामन्त्री डा. शशांक कोइरालाले समेत भोट नदिएको भन्दै सार्बजनिक भएको बिषय के हो ? भनेर प्रश्न गरेका थिए ।

दुई वर्षअघि भएको पार्टीको १३ औं महाधिवेशनमा सभापतिमा जिताउन शेरबहादुर देउवालाई स हयोग गरेको कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको गुटले पार्टी भित्र बैचारिक अभियान चलाउने घोषणा गरेको छ । शुक्रबार राजधानीमा आयोजित बैचारिक भेलमा कांग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, नेताहरु गगनकुमार थापा, उमाकान्त चौधरी र प्रदीप पौडेलले पार्टीका परम्परागत गुटले पार्टीको नेतृत्व गर्न नसक्ने भन्दै बैचारिक एकताको आधारमा आफूहरु पार्टीको नेतृत्वको लागि क्रियाशील भएको घोषणा गरेका छन् ।

भेलामा नेता सिटौलाले पार्टीले स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभामा उम्मेदवार उठाउँदा सभापति देउवासँग भागबण्डा गराएर योग्य र क्षमतावान नेता कार्यकर्तालाई पाखा लगाएको आरोप लगाए । उनले नेता पौडेलले सभापति देउवासँग मिलेर समानुपातिकमा उम्मेदवारको बन्दसूची तयार गर्दा पार्टी केन्द्रीय कार्य समिति सदस्य, संसदीय वोर्ड र केन्द्रीय कार्य सम्पादन समितिलाई समेत छलेको आरोप लगाएका थिए । उनले सभापति देउवा र पौडेल दुवैले पार्टी भित्र सामन्तबादी शैली र व्यवहार लाद्ने गरेको आरोप लगाएका थिए ।

सोही अवसरमा सिटौलाले कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो समूहले दुई वर्षदेखि दिएको निःशर्त समर्थन अब नरहने घोषणा समेत गरे । “पार्टी सभापतिमा जिताउन मेरो समूहका सबै साथीहरूले विना सर्त पूर्ण समर्थन र्गयौं’, सिटौलाले भने, “हामीले उहाँलाई दुई वर्षअघि दिएको ब्लाङ्क चेक अब फिर्ता हुन्छ ।’ उनले आफ्नो समूहले पूर्ण रूपमा दिएको समर्थनलाई देउवाले उपयोग गर्न नसकेकाले उनीमाथि सभापतिको हैसियतले “क्रिटिकल सपोर्ट’ मात्र हुने बताए । सिटौलाले पार्टी सभापति देउवा परिवर्तन हुन सक्ने नदेखेको भन्दै पार्टी नेतृत्व वा उनीहरूको कार्यशैली परिवर्तन नभए पार्टीको अझ बढी क्षति हुने चिन्ता पार्टी कार्यकर्ताले व्यक्त गरेको बताए । उनले भने, “पार्टी सभापतिमा निर्वाचित भएपछि देउवाले गरेको क्रियाकलाप विधान विपरीतका छन् ।”

सिटौलाले पार्टीमा देखिएको कमीकमजोरी सुधार्ने वा नयाँ नीति र रणनीति तय गर्ने वा पार्टीको आधिकारिक धारणा के हो भन्ने विषयमा देउवा सभापति भएपछि उनले नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाले एउटा पनि प्रतिवेदन वा कार्ययोजना प्रस्तुत नगरेको संचारकर्मी समक्ष बताए । उनले भने, “पार्टीले निर्वाचनका सम्बन्धमा गरिएका धेरै निर्णयहरू विधानविपरीत छन्, कार्यसम्पादन, संसदीय बोर्ड र केन्द्रीय कार्यसमितिबाट निर्णयसमेत गरिएका छैनन् ।”

सिटौलाले पार्टीको नेताहरुमा सामन्तवादी संस्कार र शैली कायम रहेको भन्दै त्यसको अन्त्यका लागि बैचारिक अभियान देशव्यापी चलाइने बताए । सोही अवसरमा युवा नेता गगन थापाले अब पार्टीमा देखिएका परम्परागत गुट भत्किएको दाबी गरेका छन् । उनले विगतमा परम्परागत गुटमा देखिएका नेता र केन्द्रीय सदस्यहरू आफूहरूतर्फ अकर्षित भएको पनि बताए । उनले भने, “पार्टीभित्र अबको द्वन्द्व भनेको परिवर्तन चाहने र परिवर्तन रोक्ने गुटबीच मात्र हुन्छ ।”

थापाले पार्टीलाई नेतृत्वले सैनिक डफ्फाझैँ प्रयोग गरिरहेको अरोप लगाए । थापाले नेतृत्वप्रति लक्षित गर्दै भने, “जनताको कुरा नसुन्ने, पार्टी विधान, पद्धतिलाई कुल्चँदै आफूलाई शक्तिशाली ठान्नेहरूले के पार्टीलाई सैनिक डफ्फा ठानेका हुन्?” उनले एकपछि अर्को गल्ती गर्दै जाने र पार्टीभित्र बलियो भएँ भनेर पार्टी बलियो नहुने प्रस्ट पारे ।

“पार्टीमा बलियो भएँ अब सबैले सलाम गर्छन् भन्ने ठानेको हो भने व्यक्ति त बलियो हुन्छ होला तर पार्टी बलियो हुँदैन” थापाले पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै भने, “के पार्टी भनेको सेनाको डफ्फा हो र? जहाँ सलाम सर भनेकै आधारमा सैनिक टुकडी बलियो र दुरुस्त रहेछ भनेर, पार्टी बलियो बनाउन त जनताको मत जित्नुपर्छ ।”

कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले कांग्रेसका स्थानीय नेता र कार्यकर्तालाई नोकर र दास ठान्ने संस्कार प्रवृत्ति हटाउनुपर्ने बताए । उनले वर्तमान नेतृत्वलाई पार्टी र संगठनको माया नभएको तर पद भने चाहिएको आरोप लगाए । “वर्तमान नेतृत्वले व्यापारी र पैसा हुनेलाई निर्वाचनमा टिकट दिए” चौधरीले भने, “दुःख पाएका पार्टी कार्यकर्ता निराश भएका छन् ।”

चौधरीले कांग्रेसको विचार, नीति र सिद्धान्त ठीक भए पनि नेतृत्वको आचारण, व्यवहार र चरित्र सामन्तवादी संस्कार अनुसारको भएको र पार्टी विधानविपरीत नेतृत्व चलेको आरोप लगाए । नेतृत्व परिवर्तन नभए पार्टी थप कमजोर हुन्छ नेता प्रदीप पौडेलले पार्टीको वर्तमान नेतृत्व परिवर्तन नगर्ने वा नसच्चिने हो भने पार्टी झन कमजोर हुने चेतावनी दिए ।

देउवा र पौडेललाई छाड्दै शशांकसँग नजिकिँदै नेताहरु
नेपाली कांग्रेसलाई “मास बेस’ पार्टी भन्दै सिण्डकेट लाद्ने, केन्द्रिकृत संगठन बनाउने र पद कहिल्यै नछाड्ने शीर्ष नेताको कार्यशैलीका कारण दशकौंदेखि गुट सञ्चालन गर्दै आएका नेतालाई दोश्रो पुस्ताका नेताले छाड्न थालेका छन् । गुटको नेतृत्व गरिरहेका पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलको कार्यशैली व्यवहारले उनीहरुको गुट निकटका दोश्रो पुस्ताका नेता आजित भएका छन् ।

दुवै नेताले देश, लोकतन्त्र, पार्टी र आफ्नो गुटभन्दा पनि बढी प्राथमिकता घर, परिवारका सदस्य र नाता गोतालाई पहिलो प्राथमिकतामा राखेपछि दोश्रो पुस्ताका नेताहरु बिस्तारै देउवा र पौडेललाई छाड्दै बीपी पुत्र डा. शशांक कोइरालासँग निकट हुन थालेका हुन् । वीपी पुत्र डा. शशांकले हालै प्रतिनिधिसभा र प्रदेशसभा तथा राष्ट्रियसभामा निर्वाचित कांग्रेसका सांसदलाई दिवा भोजमा आमन्त्रण गरेर आफूलाई पनि शक्तिकेन्द्रको रुपमा प्रस्तुत गरेका छन् ।
नेताहरुको पहलमा कृष्णप्रसाद सिटौला डा. शेखर कोइराला, पूर्णबहादु खड्का र अर्जुननरसिंह केसी मिलेर बैकल्पिक गुट निर्माण गर्ने गृहकार्य शुरु भएको छ ।

यस्तो अवस्थामा पुरानो संस्थापन पक्षका अधिकांश नेता र कार्यकर्तालाई ल्याउन सकिने तथा पाका नेताहरु सबै पाखा लाग्ने विश्वास गरिएको छ ।

को को आकर्षित हुँदैछन कोइरालाप्रति ?
बीपी पुत्र डा. शशांक कोइरालालाई कोइराला परिवारका सदस्यहरु डा. शेखर कोइराला, सुजाता कोइराला, डा. मिनेन्द्रप्रसाद रिजाल, महेश आचार्य, दिपक गिरी, डा. नारायण खड्का, अर्जुननरसिंह केसी, मानबहादुर विश्वकर्मा, गोविन्दराज जोशी, सञ्जय गौतम, यज्ञबहादुर थापा कोइरालाप्रति नजिकिँदैछन् ।

को कसले छाड्दैछन् पौडेललाई
नेता रामचन्द्र पौडेलको गुटबाट सबैभन्दा बढी असन्तुष्टी प्रकाशमान सिंह भएका छन् । गत साता भएको पार्टी संसदीय दलको निर्वाचनमा देउवासँग सर्मनाक हार बेहोरेका सिंहले नेता रामचन्द्र पौडेलले गुट समेत धान्न नसकेको भनेर गुनासो गरेका छन् । पौडेललाई केन्द्रीय सदस्य हृदयराम थानी, सरिता प्रसाईं, सञ्जय गौतम, कोइराला परिवारका सबै सदस्य यज्ञबहादुर थापा, तेजुलाल चौधरीसहित दर्जनौं नेताले साथ छाड्ने भएका छन् ।

जो देउवा गुटबाट अलग्गिन तयारी
सभापति शेरबहादुर देउवाले महाधिवेशनपछिका हरेक निर्णय श्रीमती आरजु राणाको सल्लाहमा मात्र गरेको भन्दै दोश्रो पुस्ताका नेता देउवासँग सबैभन्दा बढी रुष्ट भएका हुन् । देउवालाई महाधिवेशमा नजिकबाट मरिहत्ते गरेर सहयोग गर्ने विमलेन्द्र निधि, गुटको सल्लाहमा निर्णय गरेर देउवालाई साथ दिएका खुमबहादुर खड्का, संस्थापन पक्षलाई टुक्र्याएर तेश्रो धार खोलेर सभपातिमा उम्मेदवारी दिएका कृष्णप्रसाद सिटौलाको गुट समेत देउवाको पछिल्लो कार्यशैलीबाट सबैभन्दा बढी असन्तुष्ट भएका छन् ।

महाधिवेशनमा देउवा गुटबाट महामन्त्रीमा उम्मेदवार भएका अर्जुननरसिंह केसी प्रदेश र संघीय संसदका उम्मेदवार चयन गर्दा आफूलाई वाईपास गरेको भनेर बिरोध गरेसँगै देउवासँगको उनको सम्वन्ध नराम्ररी चिसिएको छ ।

महाधिवेशनमा देउवाले सभापति जितेमा नेता निधि र खड्का दुवैलाई एउटै पद महामन्त्रीमा नियुक्ति गर्छु भनेर आश्वासन दिएका थिए । तर दुवैलाई कुनैं पद नदिई दुई बर्ष व्यतित गरेपछि देउवासँग दुवै नेता सम्वन्ध बिच्छेदको निष्कर्षमा पुगेका छन् । त्यस्तै, देउवाले आफूपछि दोश्रो वा तेश्रो मर्यादामा राख्ने र महत्वपूर्ण निर्णयमा साथ र सहयोग गर्ने वचन दिएका देउवाले कुनैं पनि महत्वपूर्ण निर्णय गर्दा आफूसँग सल्लाह नगरेको भन्दै सिटौला उनीसँग चिडिएका छन् ।

देउवाले लिन मात्र जानेको र दिन कहिल्यै नजानेको भन्दै यूवा नेता चन्द्र भण्डारीसहितका नेता पनि देउवासँग चिडिएका छन् । उनीहरुले देउवालाई सभापतिबाट राजिनामा दिन र महासमिति बैठक बोलाई महाधिवेशनमा जाने निर्णय गर्नु पर्ने र प्रदेश तथा संघीय संसदमा पार्टीले बेहोरेको सर्मनाक हारको जिम्मेवरी लिँदै पदबाट राजिनामा दिनु पर्ने माग गरेका छन् ।

पार्टीको १३ औं महाधिवेसनमा देउवालाई सहयोग गरेको पूर्वसहमहामन्त्री गोविन्दराज जोशी नेतृत्वको गुटले समेत देउवाबाट केही पाउन नसकेको भन्दै बीपी पुत्र शशांकलाई नैं अघि सार्ने भएका छन् । जोशीको गुटमा बरिष्ठ नेता कुलबहादुर गुरुङ, पूर्वमन्त्री तथा कांग्रेस संसदीय दलका पूर्वप्रमुख सचेतक विनयध्वज चन्द र लक्ष्मणप्रसाद घिमिरेले समेत देउवलाई साथ छाड्ने निष्कर्ष निकालीसकेका छन् ।

को–को अन्योलनमा
युवा नेताहरु गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारी र गुरुराज घिमिरेल आफ्ना गुटहरु सिटौला गुट, पौडेल गुट र देउवा गुट त्याग गरिसकेका छन् ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७४ चैत्र ५, ०८: ४२: २२

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७४ चैत्र ५, ०८: ४२: २२

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७४ चैत्र ५, ०८: ४२: २२

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP