May 10, 2021, Monday

प्रजातन्त्र पुनः स्थापनापछिका केही महत्वपूर्ण सन्दर्भ

वामपन्थी दृष्टिकोण
निर्वाचन २०४८ बाट नेकपा एमाले दह्रो प्रतिपक्षी भएर संसदमा पुगेको थियो । त्यति बेला प्रजातान्त्रिक संस्कार विकसित भइसकेको थिएन– एमालेमा । ३२ वर्षे पञ्चायती व्यवस्थाले सबै क्षेत्र ध्वस्त पारेको थियो । आर्थिक क्षेत्र त पुरै धरायशी नै थियो । मुलुकको सबै क्षेत्र एक प्रकार ध्वस्त भएको थियो । सबैतिर पुननिर्माणको आवश्यकता थियो । संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र स्थापना भए पनि समाजमा प्रजातन्त्र बारे राम्ररी चेतना फैलिसकेको थिएन ।

राजाको पनि प्रजातन्त्रप्रति सकारात्मक धारणा बनेको थिएन । पञ्चायती निरङ्कुशता भित्र तालिम पाएको कर्मचारीतन्त्रलाई पनि नयाँ व्यवस्था सुपाच्य भएको थिएन । सबैतिर राजजाको छाप यथावत् थियो । यस्तो बेलामा सबैतिर परिवर्तन आवश्यक थियो । पुरानो मानसिकता र प्रवृत्तिमा सुधार गर्नुपर्ने धेरै कुराहरु थिए ।

२०४६ चैत्र २७ गतेका दिन टुँडिखेल–काठमाडौंमा भएको प्रजातान्त्रिक व्यवस्थाको विजय आमसभामा तात्कालीन पार्टी महामन्त्री एवं वरिष्ठ नेता गिरिजाप्रसाद कोइराला बोल्न लाग्दा कम्युनिष्टको एक हुलले हुटिङ्ग गरेर अवरोध पु¥याएका थिए । गिरिजाबाबुप्रति कम्युनिष्ट जगत पहिलेदेखि नै अनुदार रहँदै आएको कुराको उदाहरण थियो यो । २०४७ सालभरि गिरिजाबाबुले निर्वाचन प्रचारप्रसारमा मेची–महाकाली दौडाहा गर्नुभयो । देशका धेरैवटा आमसभाहरुमा गिरिजाबाबुमाथि बामपन्थीले हुटिङ्ग, कालो झण्डा र विभिन्न विरोध जनाएको थिए । प्यूठान र अन्य केही ठाउँमा भौतिक आक्रमण पनि गरेका हुन् ।

प्यूठान आक्रमणपछि ‘माले, मसाले र मण्डले भनेका एकै हुन्’ भन्ने गिरिजाबाबुको अभिव्यक्तिले निकै ठूलो चर्चा पाएको थियो । वाम समुदायको कतिपय व्यवहार त्यस्तै देखिएको पनि हो ।

प्रधानमन्त्रीमा गिरिजाप्रसाद कोइराला
गिरिजाबाबु २०४८ को आम निर्वाचनमा मोरङ र सुनसरी दुई ठाउँबाट अत्याधिक बहुमतबाट विजयी हुनुभयो । विजयपछि गिरिजाप्रसाद सदनका नेता र प्रधानमन्त्री बन्नु भयो । जनआन्दोलन २०४६ देखि नै कम्युनिष्ट क्षेत्रबाट गिरिजाबाबुको बढी विरोध गर्ने अभियान चलाइएको थियो । प्रधानमन्त्री भएपछि यो कुरा झन् वामहरुमा बढ्दै गयो । फलतः निजामती कर्मचारी आन्दोलन गराए ।

नेपालकै इतिहासमा पहिलो आन्दोलन थियो— सरकार विरुद्ध सरकारी कर्मचारीको आन्दोलन । यसबाहेक वामपन्थीले सडक आन्दोलन चलाए । सडक र सदन दुबैतिर आन्दोलन गर्ने एमाले कार्यक्रमले निकै ठूलो सङ्कट निम्त्याए पनि गिरिजाबाबुले समाधान गर्दै जानुभयो ।

विकास निर्माणका कार्यहरु
नेपाली काँङ्ग्रेसको सरकारले विकास निर्माण, कलकारखाना, उद्योगधन्दा, कृषिक्षेत्र, शिक्षा, संचार आदिमा व्यापक परिवर्तन र उत्थानको नीति लिएको थियो । संचार क्षेत्रमा दु्रतगतिले विकास भयो । पत्रपत्रिका, टेलिफोन, रेडियो, एफएम रेडियो, टि.भीका विभिन्न च्यानल, दैनिक पत्रपत्रिका, टेलिफोन, कम्प्युटरप्रणाली जस्ता कुरामा व्यापक बृद्धि भयो । यातायात क्षेत्रमा पनि विस्तार नीति लिइयो । प्रत्येक जिल्ला सदरमुकाम पुग्ने सडकहरु निर्माण गर्न योजना कार्यान्वयन हुन थाल्यो ।

पार्टीभित्र फुटको विजारोपण
२०४८ पुस १५ गते आफ्नै मन्त्रीमण्डलका सदस्यहरुबाट प्रधानमन्त्रीप्रति अमर्यादित व्यवहार भएको भन्दै मन्त्रीहरु– वासु रिसाल, शेख इद्रिस, तारानाथ रानाभाट, चिरञ्जिवी वाग्ले, ढुण्डीराज शास्त्री एवं गोपालमान श्रेष्ठलाई हटाइयो । यस घटनापछि नेपाली काँग्रेसभित्र गुट, उपगुट, प्रवृत्ति झागिँन थाल्यो । यसको ज्वलन्त प्रमाण झापा कलवलगुडीको नेपाली काँङ्ग्रेस आठौं महाधिवेशनमा तीन जना नेताबीचको फोटोबाट प्रष्ट हुन्छ ।

झापा अधिवेशन
२०४८ फागुन १ गते भद्रपुरको खुलामञ्चमा विशाल आमसभा कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो । सर्वमान्य नेता गणेशमान सिंहद्वारा श्री भट्टराईलाई सभापति बनाउन प्रस्तुत सभापतिमा निर्विरोध निर्वाचित भएका थिए । तर अर्को दिनमा नै नेतात्रयबीचको मनमुटाव बाहिर आएपछि त्यही विशाल अधिवेशनभित्रै कार्यकर्तामाझ विभाजित स्वरहरु देखिएको थियो ।

माओवादीप्रति गिरिजाबाबु
कोइरालाजी शान्तिपूर्ण माध्यमबाट माओवादीलाई पनि प्रजातान्त्रिक मूलधारमा ल्याउने कुरामा विश्वस्त थिए । मुलुकमा सङ्ककाल लगाउने कुराका विरोधी थिए– कोइरालाजी । सङ्कककालको निहुँमा अर्को निरङ्कुशताको जन्म हुनसक्छ भन्ने थियो उनको धारणा । माओवादीसँग वार्ताकै माध्यमबाट समस्या समाधान गर्ने पक्षमा गिरिजाबाबुले वकालत गरिरहे । उता राजा पनि माओवादी आतङ्कको निहुँमा प्रजातन्त्र समाप्त पार्ने दाउ खोजिरहेका थिए । पूर्व पञ्चहरु र दरबारिया शक्तिले टाउको उठाउन थालेको थियो ।

२०५९ असोज १८ पछि राजा ज्ञानेन्द्र अझ सक्रिय हुँदै गए । पञ्चायतकालकै जस्तो राजा ज्ञानेन्द्रले देश भ्रमण गरी अभिनन्दन र स्वागत गराउन थालेका थिए । जनताका पीडा र आँसु पुछिदिने वाचा गर्दै हिँड्दै थिए । यता कोइरालाको नेतृत्वमा सबै पार्टीहरु मिलेर आन्दोलन गरिरहेका थिए । संसद् पुनस्थापनाको मागसहित आन्दोलन चलेको थियो ।

२००७ सालको प्रजातन्त्र स्थापनापछि राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र हुँदै वर्तमान राजा ज्ञानेन्द्रसम्मको शासनसत्ता र सत्तामोहको दुर्नियति भोगिसकेको हुँदा अब राजाले संसद् पुनस्थापना नगरेसम्म आन्दोलन चलिरहने कुरामा कोइराला अविचलित थिए । राजाले संवैधानिक बाटो छोडेपछि संवैधानिक राजतन्त्र मान्दै आएको नेपाली काँङ्ग्रेस पनि राजा हटाउन बाध्य हुनेछ जस्ता अभिव्यक्ति कोइरालाबाट आउन थालेका थिए ।

राजपरिवार हत्याकाण्ड
गिरिजा बाबुको प्रधानमन्त्रीत्व कालमा नै २०५८ जेठ १९ शुक्रबारका दिन नेपालको इतिहासमा नै नभएको हत्याकाण्ड भयो । उक्त दिन राति नौ बजेतिर सम्र्पूण राजपरिवार रात्रिभोजमा एकै ठाउँमा भेला भएको थियो । राजा वीरेन्द्रका परिवार, दिदी, बहिनी, भाइहरुसमेत सपरिवार भोजनमा व्यवस्त थिए । त्यति बेला नृशंस हत्याकाण्ड मच्चियो ।

तात्कालीन श्री ५ वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, नीराजन, श्रुति लगायत नौ जनाको एउटै स्थानमा हत्या भयो । वीरेन्द्रको सम्पूर्ण वंश विनाश भयो । त्यति बेलाका प्रधानमन्त्री, गिरिजाप्रसाद कोइरालाले केही गर्नसक्ने स्थिति थिएन । प्रधानमन्त्रीको लाचारी र निरीहपना प्रष्ट देखिन्थ्यो । तात्कालिन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा एउटा छानविन कमिटि बनेपछि यस काण्डलाई त्यही कमिटिको रिर्पोटअनुसार ढाकाछोप गरियो । तर वास्तविकता के थियो–त्यो रहस्यमा नै लुकेको छ ।

प्रधानमन्त्री गिरिजाबाबुलाई लाग्यो यसरी लाचारीसाथ पदमा बसिरहनुको कुनै औचित्य छैन । अनि २०५८ साउन ४ गते राजीनामा दिएर राजनीतिक सङ्गठन सुदृढ पार्नतिर सक्रियता बढाए ।

प्रधानमन्त्री देउवा र पार्टी विभाजन
फेरि शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वमा सरकार गठन भयो । त्यतिबेला गिरिजाप्रसाद पक्ष र देउवा पक्षका रुपमा सदनभित्र विभाजन हुँदै थियो । दुई नेताबीच मतभेद तीव्र हुँदै भयो । फलत ः देउवाले आफु प्रधानमन्त्री भएकै बेला २०५८ मा पार्टी फुटाएर छुट्टै पार्टी नेपाली काँङ्ग्रेस प्रजातान्त्रिक नामबाट गठन गरे । दरबारकाण्ड, माओवादी आन्दोलन र अन्य विभिन्न प्रतिकूल परिस्थिति भएकै बेला पार्टी विभाजित भयो । अनि प्रजातान्त्रिक शक्ति यसरी खण्डित भएपछि दरबार माओवादी दुवै पक्षलाई बल पुग्यो । दरबारले शेरबहादुरलाई क्रम थिच्तैमिच्तै ल्यायो ।

ज्ञानेन्द्रको तानाशाही सुरु
त्यसैबेला प्रधानमन्त्री शेरबहादुरले आमनिर्वाचनको घोषणा पनि गरेका थिए । काँङ्ग्रेस लगायत अन्य पार्टीहरु माओवादीलाई मुलधारमा ल्याएपछि मात्र निर्वाचन सम्भव हुने कुरा गरिरहेकै बेला फेरि निर्वाचन पनि सार्ने राजा ज्ञानेन्द्रसमक्ष प्रधानमन्त्री देउवाले प्रस्ताव लगेपछि सदन नै भङ्ग गरिदिए । त्यतिबेला देउवालाई अक्षम प्रधानमन्त्रीको ओरोपसँगै उनको मन्त्रीमण्डल भङ्ग गरिदिए । प्रजातन्त्र मास्न चलाइएको दरवारिया अभियान पूरा हुँदै थियो ।

प्रजातान्त्रिक काँङ्ग्रेस र एमाले सरकार
शेरबहादुर सत्ताच्यूत गरिएपछि फेरि एमालेसँग मिलेर शेरबहादुरले सरकार बनाए । त्यसबेला गिरिजाप्रसाद कोइरालको नेतृत्वमा विभिन्न पार्टीहरु एकबद्ध भएर सडक आन्दोलन, धर्ना, सत्याग्रह र पक्राउ दिने अभियानमा लागिरहेका थिए । अर्कातिर माओवादी विद्रोह चरमचुलीमा पुगेको थियो । देशका प्रायः सबैभागमा माओवादी आक्रमण भइरहेको थियो । (डा.तुलसी भट्टराईद्वारा लिखित बी.पी कोइराला र नेपाली काँग्रेस नामक पुस्तकबाट)

सम्बन्धित समाचार

कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
  • २०७४ चैत्र १२, ०९: ५०: ४४

१.कोभिड—१९को दोस्रो छालले नेपाललाई पनि छोप्यो भने हुन्छ । विश्वका देशहरुमा कोरोनाका भाइरसहरुले विभिन्न रुप लिएर विस्तारित हुन थालेका समाचारहरुले...

पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
  • २०७४ चैत्र १२, ०९: ५०: ४४

१. नेपालमा प्रजातन्त्रको स्थापना, पुनस्र्थापना र फेरि पुनस्र्थापनाका घटनाहरुको कडीमै २०६३साल वैशाख ११ गते आएको थियो, जुन दिन जनताको आन्दोलनको...

कोरोना भाइरसले भयाभह स्थिति ल्याएको हुँदा सरकारले यसलाई नियन्त्रण गर्न लागि पर्नुपर्दछ
कोरोना भाइरसले भयाभह स्थिति ल्याएको हुँदा सरकारले यसलाई नियन्त्रण गर्न लागि पर्नुपर्दछ
  • २०७४ चैत्र १२, ०९: ५०: ४४

दिनानुदिन कोभिड–१९ महामारी बढ्दै गइरहेको छ । विज्ञहरुको सुझाव अनुसार सरकारले तयारी गर्न नसक्दा अकालमा नेपालीहरुको ज्यान जान थालेको छ । सीमा...

भर्खरै

TOP