February 28, 2021, Sunday

म गणेशमान सिंह वा किसुनजीको मान्छे भन्न पाउँदा त गर्वको कुरा हुन्थ्यो, तर अहिले त्यस्तो आदर्श व्यक्ति भनेको को नै छ र ?

पुष्पा भूषाल –केन्द्रीय सदस्य एवम् सांसद नेपाली कांग्रेस


कांग्रेस अहिले प्रतिपक्षमा छ । दोस्रो संविधानसभा पछि पहिलो पार्टी हुँदै नयाँ संविधान निर्माण गरेको कांग्रेस प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा भने वाम गठबन्धनको भन्दा पनि आफ्नै कारणले पराजय भोग्न पुगेको छ । गुट उपगुटले गर्दा अहिले कांग्रेसलाई नराम्ररी पछाडी पारेको छ ।

प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा देशैभरबाट मतमा पहिलो भएपनि प्राविधिक रुपमा कांग्रेस सत्ता बाहिर बस्न बाध्य भएको छ । यसका कारण तथा समसामयिक विषयमा वरिष्ठ अधिवक्ता समेत रहेकी कांग्रेस केन्द्रीय सदस्य एवम् सांसद पुष्पा भूषालसँग हाम्रा विशेष सम्बाददाताले गरेको कुराकानीको सम्पादीत अशः

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसले पराजय बेहोर्नुको कारण के के होलान ?
मुलुकको राष्ट्रिय राजनीति र परिवर्तनको लागि नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका खेल्यो । पार्टी भित्रको आन्तरिक व्यवस्थापन भन्दा राष्ट्रिय महत्वको बिषयलाई नैं कांग्रेसले बढी महत्व दियो । कांग्रेसको आन्तरिक संगठन मजबुद नहुँदा गुटले प्रश्रय पायो जसले कांग्रेसलाई कमजोर बनायो । २०५२ सालको शसस्त्र द्वन्द्वले कांग्रेसलाई आक्रमण गर्यो। दरबारले पर्यायवाची शक्ति र सबैभन्दा ठूलो प्रतिपक्षीको रुपमा व्यवहार गर्यो । कांग्रेसलाई दरबारले केन्द्रमा र माओवादी आन्दोलनले कांग्रेसमाथि आक्रमण गर्यो, जसले गर्दा कांग्रेसका नेता र कार्यकर्ताले गाउँमा संगठन गर्न सकेनन् । द्वन्द्वबाट सबैभन्दा बढी मार कांग्रेसले बेहोर्नु पर्यो ।

कांग्रेसले नैं हतियार बोकेको माओवादीलाई बन्दुक छोडाएर संसदीय प्रणालीभित्र प्रवेस गरायो । शान्ति प्रकृयामा माओवादीलाई ल्याउने कार्य पनि उपलब्धीपूर्ण छ । शान्ति प्रकृया वहाल गर्ने कांग्रेसले नैं मधेशवादी दलले उठाएको संघीयताका एजेण्डलाई संवोधन गरेर उनीहरुलाई चुनावमा ल्याउने भूमिका खेल्यो । कांग्रेसले शान्तिप्रकृया थाल्यो, गणतन्त्र र संघीयताको पक्षमा भूमिखा खेल्यो तर २०६४ मा भएको संविधानसभा निर्वाचनमा कांग्रेसले पराजय बेहोर्यो । कांग्रेसले त्यसवेला पनि संविधान निर्माण प्रक्रियाका कुनैं वाधा गरेन् ।
कांग्रेसभित्र उम्मेदवार चयन गर्दा रोजाईको बिषय हुन थाल्यो ।

पार्टी संगठनमा रोजाईको राजनीति शुरु भयो, फलानो व्यक्ति उम्मेदवार भए सघाउन सकिन्छ, सजिलो हुन्छ नत्र हुँदैन भन्न थालियो । विगतमा बीपी ग्रुप र सुवर्ण गु्रप थियो तर निर्णय प्रक्रियाले छिनोफानो गरेको बिषयमा वाहिर टिका टिप्पणी हुँदैन थियो । म गणेशमान सिंह वा किसुनजीको मान्छे भन्न पाउँदा त गर्बको कुरा हो नि, तर अहिले त्यस्तो आदर्श बोकेको व्यक्ति को छ र ?

हिजोको दिनमा टिकट बाँड्दा सबै नेता एक ठाउँमा बसेर बाँड्नु भएको छ। सबै नेताले मेरो यो व्यक्तिलाई टिकट दिनु पर्छ भनेर वार्गेनिङ गर्नु भएको छ। हिँजोको दिनमा निर्णय गर्दा विधेयक नहेर्ने अनि आज विधान विपरित भयो भन्ने? हिजोको दिनमा विधानमा यस्तो थियो भन्ने कुरा थाहा थिएन र ? त्यहाँ भित्र रहेर आफ्ना मान्छेलाई सकेसम्म धेरै उम्मेदवार बनाउने कोशिश गरेको कारण नै पराजय हो ।

कांग्रेस पराजय हुनुको एउटा कारण गुटबन्दी हो भन्नुभयो, त्यसलाई रोक्न नसक्नु नेतृत्वको कमजोरी होइन र ?
केन्द्रीय कार्य समिति बैठक बारम्बार गरेको भए, वाहिर यसरी कुरा आउने थिएन् । कांग्रेसको दृष्टिकोण के त भन्ने महासमिति बैठकले निर्णय गर्ने थियो । नेताको कमीकमजोरी के त भन्ने आउँथ्यो । गुनासोहरु संवोधन हुने थियो। यो चुनावको लगत्तै केन्द्रीय कार्य समिति बैठक बसाएको भए नेता र संगठनको कमी कमजोरी र आलोचना वाहिर आउँदैन थियो । गाउँमा बस्ने पार्टी कार्यकर्तालाई यहाँ केन्द्रमा कुने गुटबन्दीसँग के को सरोकार हुन्थ्यो र ?

सभापतिले गुटबन्दी रोक्न नसक्नु उहाँ कमजोर भएर, विधानले नदिएर वा गुटहरु बलियो भएर हो ?
हालैको निर्वाचनपछि पार्टी केन्द्रय कार्य समिति बैठक नबसेको चाहिँ होइन, तर ति वैठकमा चुनावी समिक्षा मात्र नभए र अन्य महत्वपूर्ण एजेण्डामा छलफल भयो । आन्तरिक संगठनको बिषयमा छलफल भएको भए, टिकट वितरणमा पूर्वाग्रह अपनाइयो वा संसदीय वोर्ड अबैधानिक भन्ने कुरा आउने थिएन् । टिकट वितरण गर्दा आफ्नो मान्छे पठाउने, मन्त्रीपरिषद् बिस्तार गर्दा मेरो यति मान्छे भनेर पठाउने, कसैले धेरै, कसैले थोरै भाग पाएका मात्र हुन् । केन्द्रीय कार्य समिति बैठक डाकिदिएको भए अहिलेको जस्तो गुटबन्दी बिस्तार जिल्ला सम्म पुग्ने थिएन् ।

निर्वाचन अघि पनि त केन्द्रीय कार्य समिति बैठक बस्दैन थिए, बैठक बसाल्न नदिन सभपातिलाई के गुटले दबाब दिएको थियो र ?
निर्वाचनअघि केन्द्रीय समिति बैठक नबोलाएको भनेर यति धेरै गुनासो आएको थिएन् । त्यसवेला त हामी स्थानीय तहको निर्वाचनमा स्थानीय तहका संगठनलाई कसरी अधिकार दिने भन्ने बिषयमा वढी केन्द्रीत थियो । जिल्लास्तरिय संगठनलाई बलियो बनाउँ भन्दा पनि मलाई टिकट दिनु भयो भने चुनाव जित्छु वा फलानोलाई टिकट दिए जित्न सक्छ र सघाउन सकिन्छ भनेर दविङ भएको छ ।
जिल्लाको संगठन बलियो बनाउने कर्तव्य त जिल्लास्तरिय नेताको जिम्मेवारी पनि हो । निर्वाचनको अघिल्लो तिर हामीमा निर्वाचन कसरी सम्पन्न गर्ने भन्ने तिर वढी ध्यान दिएको पाइन्छ । संगठनलाई प्राथमिकता दिएकै छैन् । एमाले र माओवादीबीच गठबन्धन नगरेको भए समानुपातिकमा कांग्रेसले यो भन्दा बढी मत ल्याउँथ्यो । टेक्निकल्ली ६० र ४० को भागबण्डाले मतदातालाई अन्योलन पनि बनायो। ग्रास रुटमा अझै पनि कांग्रेसको भोट घटेको छैन् ।

तर संगठन बिस्तार गर्ने र आकर्षण वढाउन चाहीँ सकेको छैन । आन्तरिक संगठन नैं कमजोर थियो । विधान बमोजिम सभापतिले पदाधिकारी नियुक्ति गर्न नसक्नु र विभाग गठन गर्न नसक्नु निर्वाचनमा पराजयको कारण हो कि होइन ?
त्यसले निर्वाचनलाई असर गर्दैन । पार्टीप्रतिको नकारात्मक सन्देश जाने एउटा कुरा होला तर त्यसले त्यसले पार्टी कार्यकर्तालाई र निर्वाचनलाई कुनैं असर गर्दैन । पार्टीमा पदाधिकारी नथपेकोले कांग्रेसलाई भोट दिन्न भन्ने मतदाता हुँदैनन् ।

विभागहरु गठन नगर्दा वा जिम्मेवारी नपाउँदा केन्द्रीय सदस्य र वरिष्ठ नेताहरले नैं गुनासो गर्ने गरेका छन, त्यसले के संगठनलाई असर गरेन ?
संगठन विभाग जस्तो महत्वपूर्ण निकायमा संगठन गर्न सक्ने जुझारु नेतालाई जिम्मेवारी दिएको भए संगठन राम्रोसँग परिचालित हुने थियो । त्यो हुन सकेन, यसलाई त कमजोरीको रुपमा लिनु पर्छ ।

कांग्रेस सरकारमा सहभागि हुँदा वा नेतृत्व गर्दा राष्ट्रिय राजनीतिका महत्वपूर्ण बिषयमा जनमतभन्दा उल्टो पक्ष लिएर अलोकप्रीय भएका कारण निर्वाचनमा असर परेको भन्ने लाग्दैन ?
यस्ता महत्वपूर्ण बिषयमा पार्टीको दृष्टिकोण बनाउन ८० जना केन्द्रीय सदस्य नैं बस्नु पर्छ भन्ने छैन, केन्द्रीय कार्य सम्पादन समितिले पनि निर्णय गर्न सक्छ । त्यो गरिएन् । पार्टीको कार्य सम्पादन समितिले निर्णय गरेर एक मत दिएको भए आलोचना हुने थिएन । यहाँ त एउटै बिषयमा एउटा नेताले समर्थन र अर्को नेताले बिरोध गरिरहेको पाइयो। आमनागरिकमा कांग्रेसको छाप नकारात्मक पर्यो । कार्य सम्पादन समितिले बैठक गरेर एउटै दृष्टिकोण बनाई दिएको भए सायद यस्तो बिबाद वाहिर आउने थिएन् । संस्थागत निर्णय नगर्दा समस्या यो समस्या आयो । त्यसको नकारात्मक छाप पब्लिकमा पर्यो । कांग्रेस सरकारमा जाँदा सँधै फसाउन त खोजिन्छ ।

कांग्रेसले निर्वाचनमा पराजय बेहोर्नुमा वामपन्थीहरुको एजेण्डा बोक्नुलाई कारण मान्नु हुन्छ ?
कम्युनिष्टको एजेण्डा त कांग्रेसले कहाँ बोक्यो र? कांग्रेसले त कम्युनिष्टहरुलाई संसदीय प्रणालीमा ल्याएको छ । संसदको नामै सुन्न नचाहने माओवादी संसदीय प्रणालीलाई स्वीकार गरेर आएको छ । समावेसिताको कुरा गर्नु हुन्छ भने कांग्रेसले आज संविधानमा लेखेर मात्र यसको कुरा गरेको हो र ? कांग्रेसको संगठन हेर्नु हुन्छ भने बीपी कोइराला पार्टी सभापति हुँदा दलित, थारु र मधेशीलाई महामन्त्री र महत्वपूर्ण जिम्मेवारी दिनुभयो । समावेसी मुद्धा कम्युनिष्टको एजेण्डा होइन् । संघीयता भनेको कांग्रेसले मधेशी समुदायको मागलाई संवोधन गरेको हो। कम्युनिष्टको कुनैं पनि एजेण्डामा कांग्रेस गएको छैन् ।

धर्मनिरपेक्ष मुलुक घोषणा गरिएको बिषयलाई लिएर असन्तुष्टि वाहिर पनि आएका छन नी ?
केही त्यस्ता एजेण्डाहरु छन्, जुन आन्दोलनले वा जनताले मागेको थिएन । मुलुकलाई एकदमै चाहिने परिवर्तन पनि होइन धर्मनिरपेक्षता । धार्मिक स्वतन्त्रता राखेको भए पनि हुन्थ्यो । विश्वको एकमात्र हिन्दु राष्ट्र नेपाल हो । हिन्दु धर्मलाई राजासंस्थासँग जोडेर यसको अपब्याख्याहरु गरियो । धर्म निरपेक्षता कसैको माग नैं थिएन तर एउटा गलत व्याख्या गरियो । राजतन्त्र भन्दा हजारौं बर्ष पुरानो हो । यो बिषयले पार्टी भित्र पनि विवादको बिषय भनेर प्रवेश पाएको छ । भोलीका दिनमा यो एजेण्डालाई राष्ट्रिय महत्वको बिषयको रुपमा जनमत संग्रहमा लैजान नसकिने भन्न मिल्दैन ।

पार्टी सञ्चालन गर्न नेतृत्व असक्षम भएको आरोप केन्द्रीय नेताहरुले नै लगाएका छन् नि ?
सवैभन्दा ठूलो डेमोक्र्याटिक पार्टी हो । महाधिवेशनबाट आएका प्रतिनिधिले भोट दिएर निर्वाचित भएको व्यक्तिलाई असक्षम त कहाँ भन्न मिल्यो र ? हाम्रो पार्टी वान मेन लिडरसीपबाट चलेको त होइन नि, संस्थागत रुपमा चल्ने पार्टी हो । केन्द्रीय कार्य समिति बैठक, महासमिति बैठक बोलाएर समिक्षा गर्न सक्नु पर्दथ्यो । तर छलफल र समिक्षा नगर्ने अनि सभापतिलाई असक्षम भयो भन्नु त महाधिवेशनलाई कुर्न नसक्नु हो। महाधिवेशनसम्म कुर्न सक्ने क्षमता र धैर्यता हुनु पर्यो नि। पाँच बर्षसम्म अब जनताको माझमा जाने भनेर लागिरहेको बेला महाधिवेशनसम्म २ बर्ष त कुर्न सक्नु पर्यो । महाधिवेशनमा निर्वाचन लडेर को सक्षम ? को असक्षम भन्ने त देखिहालिन्छ नि ।

पार्टी सभापति असक्षम भए, पार्टी सभापतिले नेतृत्व छाड्नु पर्छ भन्ने कुरा मलाई उपयुक्त लाग्दैन । जितेको सभापतिले पद छोड्नु भनेको त सिस्टम बिगार्नु हो । अहिले छोड, भरे छोड भन्न त मिल्दैन । यो कमजोर अभिव्यक्ति हो । यसलाई नैतिकतासँग पनि जोडेर भन्ने गरिएको छ नि ? जनताको माझमा जाँदा असफल भयो भने एउटा कुरा हो । नत्र पार्टी भित्रको कुरामा यस्तो हुँदैन । उम्मेदवारको लागि टिकट लिँदा सामूहिक निर्णयबाट गर्ने, मन्त्रीमा भागबण्डा खोज्दा सामूहिक अधिकार खोज्ने अनि अलिकति कमजोरी हुनासाथ सभापतिले छोड्नु पर्छ भन्ने ? यसले पार्टीको संगठनलाई कमजोर बनाउने र गुटबन्दीलाई बलियो बनाउने षडयन्त्र मात्र हो । अहिले पार्टी भित्र यतिधेरै गुट हुन थालेकी गाउँका कार्यकर्तालाई पनि कुन गुटमा जाँदा मलाई राम्रो हुन्छ भन्न थाले । हाम्रो पार्टीमा फेरी गाउँको कार्यकर्ताको पनि डाइरेक्ट सम्वन्ध हुन्छ । तर यसको समिक्षा गर्नुपर्ने थयो की थिएन ।

पार्टीलाई संस्थागत ढंगले अघि बढाउन सभापतिले नसक्नुको कारण सहयोगी कमजोर भएर हो वा गुटबन्दीको दबाबले हो ?
सभापतिजीले पनि यसमा अलिक गम्भिर भएर सोच्ने बेला देखियो । कांग्रेस भित्र भएका कमी कमजोरीको जिम्मेवारी सवैले नलिने नकारात्मक परिणाम आउने वित्तिकै सबै सभापतिलाई दोष दिने संस्कार देखियो । सभापतिलाई दोष दिनु पहिले घटनामा धेरै थोरै संलग्नता छ कि छैन भनेर छलफल नै गर्न पाईएन् । गिरिजाबाबु सभापति हुँदा अरु नेतृत्व छायाँमा पर्दथे । एकले निर्णयलाई पनि कार्यान्वयन गराउन सक्नुहुन्थ्यो। गिरिजाबाबु जस्तो हाईट भएको लिडरसीप नै भएन । गिरिजाबाबुले राम्रो गरे पनि बोल्न सक्दैन थिए, नराम्रो गरे पनि बोल्न सक्दैन थिए । उहाँको पर्सनालिटीले का गर्दथ्यो ।

अहिलेको सभापतिलाई त गल्ती र कमजोरीको दोष सबै दिने गरिन्छ तर त्यो गलत निर्णय गर्ने र पृष्ठभूमि बनाउनमा अरुको पनि भूमिका हन्छ । विभाग गठन, पदाधिकारी नियुक्ति गरिएन र संसदीय वोर्ड गठन गर्ने बिषयमा दोष मात्र दिएर हुन्छ । केन्द्रिय कार्य समिति बैठकमा हामीले यो बिषयमा के कति कुरा उठायौ ? यो बिषयमा निर्णय हुनु पर्यो वा अर्को बैठकमा यो निर्णय गर्नुपर्छ भनेर यहाँ कसैले आवाज उठाएको त छैन् । सभापतिले कहिले गल्ति गर्नुहुन्छ र मैले भन्न पाउँछु भन्ने मानसिकता पनि छ । संगठनभित्रको एजेण्डा र राष्ट्रिय राजनीतिको एजेण्डा पनि शुरु भयो अब त । उलब्धीलाई गुम्न नदिन राष्ट्रिय राजनीतिमा भूमिका खेल्नुपर्छ । केन्द्रीय नेताको भुमिकाको कारणले ग्रास रुटको कार्यकर्तालाई निरासामा पानुृ हुँदैन ।

एमाले–माओवादी गठबन्धनको नेतृत्व गरिरहेका केपी ओली नेतृत्वको सरकारलाई सुविधाजनक बहुमत भए पनि मधेश केन्द्रीत दलको समर्थनमा दुई तिहाई समर्थन प्राप्त गरेको छ । यस्तो अवस्थामा भविश्यमा कांग्रेसलाई प्रतिपक्षीको भूमिका खेल्न कत्तिको सहज देख्नुहुन्छ ?
सुविधाजनक बहुमत हुँदा हुँदै केपी ओलीले दुई तिहाई बहुमत पुर्याउन खोज्नुको पहिलो कारण माओवादी केन्द्रसँग विश्वास नभएर हुनसक्छ भने दोस्रो कारण अत्यन्त शक्तिशाली सरकारको रुपमा आफूलाई देखाउन खोज्नु नै हो । दुई तिहाई बहुमतको दम्भ देखाएर अन्य संवैधानिक अंगलाई पनि नियन्त्रण गर्न खोज्ने उदेश्य हुन सक्छ ।

कांग्रेसलाई अझ शक्तिलाली बनाउन अब के नेतृत्व नै परिवर्तन गर्ने बेला आएको हो र ?
अहिले नेतृत्व परिवर्तनको बेला आएकै छैन् । त्यसअघि विधान परिवर्तन गर्नु पर्यो । अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न सक्छ तर, अहिले नैं हतार गर्नु पर्दैन । २ बर्ष कुर्न त सक्नुपर्छ । सभापति, महामन्त्री जुन पदमा पनि उम्मेदवार हुन त पाईहालिन्छ नि ।

पार्टीको नेतृत्व लिन त पार्टी महामन्त्रीले पनि आकांक्षा देखाउनु भएको छ नि ?
आकांक्षा राख्नु त स्वभाविक छ नि । पार्टीमा लागेपछि मिसन भिजन त हुन्छ नै । पार्टी चलाउन धेरै नेताले चाहना त राख्नु होला । जितिसकेपछि त सबैले मान्नु पर्छ। रोजाईको राजनीतिक, रोजाईको नेता खोज्ने संस्कारलाई विकास गर्नुपर्छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको लडाईं लोकतन्त्र र संविधान बँचाउनको लागि हो !
नेपाली कांग्रेसको लडाईं लोकतन्त्र र संविधान बँचाउनको लागि हो !
  • २०७४ चैत्र १९, ०९: १७: १७

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सिद्धान्त निष्ठ र कर्मठ नेताको रुपमा चिनिन्छन् जीवन परियार । उनी पूर्व मन्त्री तथा तथा...

प्रधानमन्त्री ओलीकाे असंवैधानिक कदम सर्वाेच्चले उल्ट्याई दिनेछ !
प्रधानमन्त्री ओलीकाे असंवैधानिक कदम सर्वाेच्चले उल्ट्याई दिनेछ !
  • २०७४ चैत्र १९, ०९: १७: १७

नयाँ विकल्प काठमाडाैं- विद्यार्थी राजनीतिबाट खारिएर आएकी नेतृ हुन् कमला पन्त । उनी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पनि हुन् ।...

प्रधानमन्त्रीले भ्रष्टाचारका कर्तुतहरु छताछुल्ला हुने डरले संसद विघटन गरेका हुन !
प्रधानमन्त्रीले भ्रष्टाचारका कर्तुतहरु छताछुल्ला हुने डरले संसद विघटन गरेका हुन !
  • २०७४ चैत्र १९, ०९: १७: १७

नयाँ विकल्प काठमाडाैं- विद्यार्थी राजनीतिबाट खारिएका जुझारु नेता हुन् मोहनप्रसाद बराल । जनताको कामप्रति सधैं दत्तचित्त भएर लागिपर्ने बराल नेपाली...

भर्खरै

TOP