May 18, 2021, Tuesday

बढ्दो छः ‘अमेरिकी फेक मिडिया’ प्रचलन

एकराज पाठक

गत वर्ष सम्पन्न अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्पले जित्छन् भन्ने मिडिया लगभग एउटा पनि थिएन वाल स्ट्रिट जर्नलबाहेक । त्यो पत्रिकाले भने बेलाबखत ट्रम्पको पक्षमा जनमत बनाउन खाजेको जस्तो देखिन्थ्यो । बाँकी सबै हिलारी क्लिन्टनको पक्षमा । अरु त हुँदै भए, त्यहाँको स्टेट ब्रोडकास्टर सिएनएन टेलिभिजनसमेत ट्रम्पकै विपक्षमा अधिक कुर्लिन्थ्यो ।

हिलारीको पक्षमा यसरी मिडिया लागेका थिए कि मानौं यसले हिलारी क्लिन्टनलाई नै धेरै प्रचारले ‘व्याक फायर’ गर्ने त होइन भन्ने त्रास बढाएको देखिन्थ्यो । यसरी हेर्दा सारा अमेरिकी मिडिया नै हिलारीको पक्षमा थियो । त्यसैले पनि ट्रम्प जहाँ जान्थे, जे बोल्ने गर्थे त्यसको विपरित समाचार आउने गर्दथ्यो । भनेको कुरालाई त उनीहरु बंग्याउँदैनथे तर पनि ठूल्ठूला विश्लेषकरु खोज्थे र ट्रम्पले बोलेका कुरा र उनको विचारको गलत अर्थ लाग्नेगरी प्रस्तुती दिनेमात्र होइन कि प्रमाणित नै गरेर छोड्ने प्रयत्न गर्दथे ।

त्यसैले उनले मिडियाको नाम नै ‘फेक मिडिया’ भनेर राखिदिए । उनी जहाँ गएर बोल्थे पहिलो गाली मिडियालाई नै दिन्थे र उनको भाषण खिचिरहेको टेलिभिजन क्यामेरातर्फ ईंगित गर्दै ‘फेक मिडिया’ भनिहाल्थे । पछि नभन्दै परिणाम भने त्यसको ठीक उल्टो आयो । ९९ प्रतिशत मिडियाले हार्छन् भनेका ट्रम्पले नै निर्वाचन जिते । त्यसपछि त झनै मिडियालाई सराप्ने कामबाट ट्रम्प पछि हट्ने कुरै भएन । उनले अब आएर अमेरिकी मिडियाको नाम नै फेक मिडिया राखेका छन् । यो शब्दको बडो रोचक प्रयोग भइरहेको छ किनभने यसको उल्टो अमेरिकी मिडियाले नै ट्रम्पलाई चिन्ने र बोलाउने नाम नै फेक मिडिया भनेर राखिदिएका छन् । अमेरिकी मिडियाले ट्रम्पलाई चिन्नका लागि आफूले मात्र बुझ््ने भाषाका रुपमा यो शब्दावली प्रयोग गर्ने गरेका छन् ।

सन्दर्भका रुपमा नेपालको पहिलो संविधान सभा निर्वाचन वि.सं. २०६४ लाई लिन सकिन्छ । त्यस बेला सबैभन्दा ठूलो दल माओवादी बनेको थियो । तर त्यो कुराको अनुमान नेपालको मिडियाले गर्नै सकेको थिएन । माओवादी मुख्य पात्रका रुपमा जनादेशबाहेक प्रायः कुनै पनि मिडियाले त्यतिधेरै मत ल्याउला भन्ने आँकलन गरेका थिएनन् । त्यसो त देशका अरु राजनैतिक दलमात्र नभएर समाजमा पनि यो विषयको अड्कल कसैले काट्न सकेको थिएन । सबैको एउटा अनुमान थियो की पहिलो दल नेपाली कांग्रेस, दोस्रोमा एमाले र तेस्रोमा माओवादी हुनेछ । तर परिणाम भने ठ्याक्कै उल्टो आइदियो ।

माओवादी मुलुकको पहिलो पार्टी भयो । देशका मै हुँ भन्ने ठूला मिडियाले पनि मत सर्वेक्षण गरेका थिए । मुख्य समाचारका रुपमा आमुख पेजहरुमा विभिन्न खालका ग्राफहरु समेत बनाएर छापेका थिए । तर न समाचारको अनुमान मिल्थे न त ती ग्राफहरुको चित्रले नै सही सूचना दिन सक्यो । परिणामपछि भने सबैले अनुमानभन्दा भिन्ने परिणाम भनेर समाचार छाप्ने बाहेकको अर्को बिकल्प थिएन र त्यही गरे ।
अहिले अमेरिकी राष्ट्रपति ट्रम्पको त्यहाँका मिडियाप्रति आफ्नै धारणा छ— यहाँका मिडिया जनताको मनमा पुग्नै सकेका छैनन् । हुन पनि हो । किनभने मिडियाले कुनै पनि हालतमा जित्न सक्दैनन् भनेका थिए तर उनले जिते । ती मिडियालाई एउटा भुक्तभोगीको हैसियतमा उनले त्यो भन्न सक्ने र पाउने अधिकार राख्दछन् ।

उनको तर्क छ– अमेरिकी जनताले मलाई रोजिसकेका थिए, म जित्नेवाला थिएँ त्यसैले निर्वाचन अभियानकै क्रममा मैले जितिसकेँ, औपचारिक घोषणा हुनमात्र बाँकी छ भनेको थिएँ तर पनि मिडियाले मेरो खिल्ली उडाए, त्यसैले यी मिडिया जनताको भवनासम्म नै पुग्न नसक्ने फेक मिडिया हुन् । जनताको चाहना नबुझ्ने र उल्टै आफू अनुकूलका व्यक्तिको पक्षमा जबर्जस्त जनमत बनाउन एकोहोरो प्रयास गर्ने मिडियाका रुपमा अमेरिकी मिडियालाई उनले चित्रण गरेका छन् ।

निर्वाचन भएको वर्षदिन पुगिसक्यो, तर उनको रिस अझै मरेको छैन । कुनै भाषण दिन थाल्यो कि उनले जनताको मनमा पुग्न नसकेका फेक मिडिया भनिहाल्छन् । त्यो प्रक्रिया अहिले पनि जारी नै छ । संसारको अब्बल दर्जाको देशका साधन, स्रोत सम्पन्नहरु त यसरी जनताको मनमा पुग्न सकेका रहेनछन् भने हाम्रो देशको हालत झन हे होला ? त्यति धेरै सम्पन्न देशमा त यसरी नागरिकको मनमै पुग्न नसकेको खप्की अझै खाइरहनुपरेको छ भने हाम्रो जस्तो देशका मिडियाले झन् जनताको मन छुन सक्ने कुरा अलिक कम हुने नै भयो ।

चुनाव वास्तवमा पत्रकारहरुको विश्व्सनीयता मापन गर्ने एक सही साधन र समय पनि हो । यससमयमा सञ्चारमाध्यमहरुले के, कसरी आफ्ना कुरा राखेका छन् भनेर नागरिकले बडो चनाखो भइरहेका हुन्छन् । चुनावको समय नागरिकको सबैभन्दा बढी चासो रहेको एक अति संवेदनशील समय हो । त्यसैले पनि लाखौं मानिससँग पहुँच भएका सञ्चार माध्यमलाई पत्रकारले चुनावको बेला आफूखुशी प्रयोग गरी पूर्वाग्रह राखेर समाचार सम्प्रेषण गर्नुहुँदैन । यदि त्यसो भयो भने मानवीय संवेदनासँग खेलवाड गरेको ठहरिने छ । यस्तो बेलामा सञ्चार जगतको भूमिका अझ महत्वपूर्ण मात्र होइन कि बढी संवेदनशील हुने गर्दछ ।

कतिपय अवस्थामा सञ्चारमा आएका तथ्य तथ्याँकरुको आधारमानै नागरिकले मतदाताको हैसियतमा उम्मेदवारहरुका प्रति आफ्नो धारणा बनाउने गर्दछन् । यसैबाट उनीहरुले कुनै अमुक उम्मेदवारलाई स्वीकार या अस्वीकार गर्ने अवसर पनि प्राप्त गर्छन् । यसैकारण पनि सञ्चारमाध्यमहरुले सम्प्रेषण गर्ने सूचना र जानकारी कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको नभई तथ्यमा आधारित र तटस्थ हुनु जरुरी छ । दलहरुको घोषणापत्र र नीति कार्यक्रमहरु हेरेर र त्यसका आधारमा मत हाल्ने भन्दा पनि उम्मेदवारको व्यक्तिगत विवरणका आधारमा आफ्नो उम्मेदवार छान्ने कम धेरै नागरिकले गर्ने गरेको पाइन्छन् । यसकारण पनि कुनै पनि देशका सञ्चार जगत तोकिएको र आचार संहिताको आधारमा समाचार सम्प्रेषण गर्ने गर्नुपर्दछ ।

कतिपय सञ्चारमाध्यमले त समाचार मात्रले नपुगेर अनेक नामका सर्वेक्षणहरु पनि गर्छन् र आफूले इच्छाएका उम्मेदवारका नाममा धेरै जनमत भएको देखाउने गर्दछन् । यसबाट पनि मतदातामा भ्रम पैदा गर्ने प्रयत्न हुने गर्दछ । यद्यपि त्यो सर्वेक्षणको विश्वसनीयतामा कुनै आधार भेटिदैन । धेरै सञ्चार माध्यमलाई वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वाग्रही र त्यहाँका पत्रकार हिलारीबाट प्रभावित भएको भनेर दोष लगाउने एउटा कारण यो पनि हो ।

सिएनएनले आफ्नो प्रशारणमा चुनावको दिनसम्म पनि डोनाल्डभन्दा हिलारी लोकप्रियतामा अघि रहेको देखाएको थियो । उनीहरुले गरेको मत सर्वेक्षणमा शुरुका दिनमा हिलारी लोकप्रियता ट्रम्पको भन्दा चुलिएको अर्थात् ५९ प्रतिशत पुगेको थियो । उक्त टिभीले ट्रम्पको पक्षमा जम्मा ४१ प्रतिशत मात्र देखाएको थियो । तर पछि भने उनको लोकप्रियता डोनाल्डकोभन्दा एक प्रतिशत मात्र माथि भनेर प्रशारण गरेको देखियो । आँखिर यी कुनै पनि सर्वेक्षणले काम दिएनन् ।

नेपालका प्रायः सबैजसो निर्वाचनमा यस्तै विवाद हुने गरेका छन् । वि.सं. २०३६ ताका जनमत संग्रह बहुदलवादी नेताहरुले सरकारी सञ्चारमाध्यमहरु, त्यस समयका रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, र गोरखापत्रले पनि तटस्थ रुपमा समाचार दिनुपर्ने माग गरेका थिए । त्यसै बमोजिम समाचार स्वतन्त्र रुपमा दिँदा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले राससका महाप्रबन्धकको राजिनामा मागेको र राजा वीरेन्द्रले भने ती सञ्चारलाई स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता रही आएको छ ।

नेपालका सरकारी सञ्चारमाध्यमहरुको स्वतन्त्रता पनि अपेक्षित छ । तर अपेक्षित रुपमा यीनले पनि सन्तुलित समाचार दिन सकेको केही हदसम्म देखिदैन । अनि नीति क्षेत्रका सञ्चारले त झन स्वतन्त्रता वा तटस्थताभन्दा पनि मत पर्ने पार्टी वा उम्मेदवारलाई बढी मात्रामा हेर्ने गरेका देखिन्छन् । निर्वाचन आयोगको कमिकमजोरीका कारण पनि यस्तो हुने गरेको छ । आयोगले निर्वाचनका बेलामा समाचारदाता वा सम्पादकहरुलाई दिनुपर्ने अभिमुखीकरण कर्मकाण्डी पाराको हुने गरेको छ ।

दिनुपर्ने यथार्थ सूचना दिन नसक्दा तथा तालिम दिने एवं लिने पत्रकार पनि सही छान्न नसक्दा राम्रो र प्रभावकारी सूचना सम्प्रेषण हुन सकेको छैन । अर्को कुरा निर्वाचन आयोगले निर्वाचनसम्बन्धी गतिविधिहरुका सूचना सम्प्रेषण गर्न मिडिया सेन्टरमा राख्ने पत्रकार सरकारी सञ्चारमाध्यम या निजी क्षेत्रबाट लिँदा क्षमता भन्दा पनि भनसुनको आधारमा लिने गरेकाले पनि सूचनामा गुणस्तरीयता र सन्तुलन हुन सकेको छैन । स्थानीय तह तथा संविधान सभाको निर्वाचनका समयमानै यस्तो महसुस भएको छ ।

फेरि अर्को यथार्थ हामीसँग के पनि छ भने सूचनाको आदान प्रदानका लागि हामीसँग पत्रकारिताका परम्परागत माध्यमको अतिरिक्त अरु पनि धेरैथरी प्रविधि र विधाहरु भित्रिएका छन् । फेसबुक, ट्वीटर, ब्लग, ईमेल, इन्टरनेट च्याटिङ, यू ट्यूब लगायत संसारसामु छन् । यीमध्ये कैयौं साधनहरुमा हामी पनि पारङ्गत भइसकेका छौं । आधुनिक परिभाषाले यिनको नामाकरण ‘सोसियल मिडिया’ भनेर गरेको छ ।

सञ्चारकै विधाका रुपमा यिनको विकास भएकोले विश्व पत्रकारिता जगतले पनि यो परिभाषाप्रति कुनै आपति जनाएको छैन । विना कुनै दस्तुर सञ्चारकै विधाका रुपमा यी माध्यमहरु नागरिकसामू विकास भई आएको तथा स्वयंसेवी रुपमा सामाजिक सञ्चार गर्ने भएकोले पनि यिनलाई सोसियल मिडिया भनिएको होला । कहिँकतै अभियानलाई नागरिक पत्रकारिताको नाम पनि दिएको पाइन्छ ।

अहिले यिनको प्रभाव र प्रयोगले मानौं संसारै ढाकेको छ । प्रतिदिन प्रभावकारी बन्दैछन् यी माध्यम । सन् २००४ देखि सुरु भएको हो संसारमा फेसबुकको प्रयोग । त्यस्तै ब्लगलाई त झन पत्रकारिताकै विधाका रुपमा विकास गरिएको छ । दक्षिण कोरियाको ब्लग जर्नालिज्म विश्वकै उदाहरण बनिसकेको छ । त्यहाँमात्र हजारौं ब्लगहरु सञ्चालित छन् । नेपालमा यतिविधि नभएपनि अनलाइन मिडियाले प्रतिदिन प्रभाव फैलाउँदो छ । हामीमाझ पछिल्लो समयमा धेरै विस्तारिएको सशक्त माध्यम फेसबुक नै हो ।

यति बलियो बनिसकेका यी मिडियाको प्रयोग र उपयोग हामीले कसरी गरिरहेका छौ त ? यो चासोको खोजी अब गर्ने बेला भएको छ । अहिलेको अवस्थालाई हेर्दा हाम्रो प्रयोग त्यति सिर्जनात्मक पाइँदैन । हामीले यो सञ्चारमार्फत गम्भीर राष्ट्रिय तथा सामाजिक मुद्धामा जनमत बनाउन सकिरहेका छैनौं । हाम्रा चासोका सम्बद्ध पक्षलाई घच्घचाउन यी मिडियाको प्रयोग गर्न सक्थ्यौं । तर आफ्नोभन्दा पनि कैयौं गुणा ठूलो रफ्तारमा अमेरिकी राष्ट्रपतिको निर्वाचनताका फेसबुकहरुमा हाम्रो चासो बढेको थियो । यसले हामी आफ्नै मुद्धामा यी सजिला मिडियालाई प्रयोगमा ल्याउन सकिरहेका छैनौं भन्ने स्पष्ट देखाउँछ ।

राजनीतिक दलका राम्रा घोषणापत्र, हिजो घोषणा भएका तर पूरा गर्नुको सट्टा फेरि दोहो¥याएका, राम्रा उम्मेदवारहरुजस्ता विषयमा देशव्यापी र विदेशमा रहेका नेपालीहरुबीच फेसबुकमार्फत ठूलो अभियान थाल्न सक्छौ । लाखौंको जनमतले विचार र समस्यालाई सही दिशातर्फ डो¥याउन सक्छ । निर्वाचनलाई र यसका राम्रा पक्षहरुलाई पनि जनसमक्ष ल्याएर यसलाई सफल बनाउने अभियान हामीले फेसबुकलगायतका यी मिडियामार्फत पनि गर्न सक्छौ, जो दिनमा लाखौंको सञ्चार हुनसक्छ । विदेशतिर यस्ता कैयौं अभियानहरु फेसबुकबाटै गरिएका दर्जनौं उदाहरण छन् ।

त्यसैले यो नागरिक पत्रकारिताको सिर्जनात्मक र अर्थपूर्ण रुपले भरमग्दूर उपयोग गर्न सक्ने उचित अवसर पनि हो । तर यो अभियानलाई भए नभएका गफ लडाएर आफू र आफ्नो पक्षका उम्मेदवारहरु ढाँट्न र पैसा तिरेर बढीभन्दा बढीलाई हेर्ने बनाउन मात्र हामीले अमूल्य समय खर्चिने गरेका छौं । जहाँ कुनै आचार संहिताको कुरा आउँदैन र यसलाई सोसियल भन्ने शब्द अघि जोडिदिएर मिडिया भन्न पनि पाइएकै छ ।
निर्वाचनका बेलाको सञ्चारमाध्यमको कुरा गर्दा यो सबै कुरा हो तर केही पनि होइन भन्न सकिन्छ । माथिका दुई उदाहरणहरु ट्रम्प र नेपालको पहिलो संविधानसभाको प्रसंगलाई हेर्ने हो भने वास्तवमा मिडिया निर्वाचनका लागि केही होइन भन्न सकिन्छ ।

किनभने ती समयमा मिडियाले जे लेखे वा देखे त्यसको उल्टो मतदान गरे जनताले । यसबाट दुई वटामात्र धारणा हामीले बनाउन सक्छौं कि या ती सञ्चारले ती व्यक्ति वा पार्टीप्रति पूर्वाग्रही भएर लेखे या उनीहरु अमेरिकी राष्ट्रपति ट्रम्पले भनेजस्तै जनताको मनमै पुग्न सकेनन् । तर समय या क्रममा जेजस्ता खालका उदाहरणहरु स्थापित भएको भए पनि सञ्चारमाध्यमहरु कुनै पनि देशका नागरिकको सारथी हुन् । उनीहरुको सूचनाको आधारमानै नागरिकले धारणा बनाउने गर्दछन् । त्यसैले यसबेला आचारसंहिताको कुरा अघिपछि भन्दा अझै धेरै गर्नुपर्ने हुन्छ । अघिपछिको आचारसंहिताको कुरा गरेर निर्वाचनको समयमा हुँदैन ।

निर्वाचनको समयमा कुनै पक्ष वा विपक्षमा नउभिने, तटस्थ र स्वतन्त्र खालको सूचना सम्प्रेषण हुनु जरुरी छ । यसबाट मात्र नागरिकमाथि न्याय हुनेछ । अनि दूधको दुध र पानीको पानी छुट्याएर जनताले पार्टी या उम्मेदवारलाई मत दिन सक्छन् । त्यसैले यस बेलाको मिडियालाई समाजको सशक्त सारथीका रुपमा विकास गर्न र सबै नागरिकले सही सूचना प्राप्त गर्नका लागि पनि निर्वाचन आयोगले यस्तै खालको सशक्त मिडिया नीति बनाउनु आवश्यक छ । (साभारः संहिता नामक पुस्तकबाट)

सम्बन्धित समाचार

सरकारी तथा गैह्रनाफामूलक संघ–संस्थालाई भारत सरकारको एम्बुलेन्स तथा स्कुल बस उपहार
सरकारी तथा गैह्रनाफामूलक संघ–संस्थालाई भारत सरकारको एम्बुलेन्स तथा स्कुल बस उपहार
  • २०७४ चैत्र १९, ०९: ३३: १९

नयाँ विकल्पकाठमाडौं–काठमाडौंस्थित भारतीय राजदूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ– संस्थाहरुलाई यही बैशाख ९...

काभ्रेमा भारत सरकारको सहयोगमा दुई वटा विद्यालयको निर्माण गरिँदै
काभ्रेमा भारत सरकारको सहयोगमा दुई वटा विद्यालयको निर्माण गरिँदै
  • २०७४ चैत्र १९, ०९: ३३: १९

नयाँ विकल्पकाठमाडौं–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, भारतीय राजदूतावासको राजनीतिक प्रभागकी प्रथम सचिव सौम्या सी र रोशी गाउँपालिकाका मेयरको उपस्थितिमा...

भारतको सहयोगमा कुमारी छेँ र कुमारी निवास पुनर्निर्माण सुरु
भारतको सहयोगमा कुमारी छेँ र कुमारी निवास पुनर्निर्माण सुरु
  • २०७४ चैत्र १९, ०९: ३३: १९

काठमाडौं । भारत सरकारको सहयोगमा ललितपुरको पाटनस्थित कुमारी छेँ र कुमारी निवासको पुनर्निर्माण हुने भएको छ । नेपालका लागि भारतीय...

भर्खरै

TOP