March 2, 2021, Tuesday

आकांक्षीको व्यवस्थापन गर्दै देउवा झन् शक्तिशाली

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो राजनीतिक घटनाक्रमबाट पार्टी कमजोर भए पनि आफूभने बलियो हुँदै गएका छन् । राजसंस्थाको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणादेखि संविधान जारी गर्नेसम्मको ऐतिहासिक भूमिका निर्वाह गरेको कांग्रेसको बिरासतलाई नेतृत्व गरेका सभापति देउवा सोही संविधान कार्यान्वयन गर्न स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन गराउन सफल भए पनि संगठनलाई भने कमजोर बनाएका थिए ।

सार्वजनिक महत्व र जनचासोको बिषयमा जनमत र जनभावना विपरित सरकारमा रहँदा र सरकारको साझेदारीमा रहँदा भूमिका खेलेका कारण निर्वाचनमा लज्जास्पद हार बेहोरेको कांग्रेस जति कमजोर छ, सभापति देउवा त्यती नै बलियो बन्दै गएका हुन् । परिस्थिति, परिवबन्द वा संयोगले गर्दा देउवालाई पार्टी भित्र झन शक्ति, समर्थन र साथ दिनेको सख्या बढेको हो ।

तिन वटै तहको निर्वाचनमा पार्टीले पराजय बेहोर्नुको कारण र कमजोरी समिक्षा गर्न दुई साता अघि शुरु भएको पार्टी केन्द्रीय कार्य समिति बैठकमा सभापति देउवाबिरुद्ध जतिसुकै आवाज उठेपनि उनी शक्तिशाली बन्दै गएका छन् । सभापति देउवाबिरुद्ध यूवा नेताहरुले गुटगत स्वार्थभन्दा माथि उठेर पराजयको जिम्मेवारी लिँदै सभापति देउवालाई पद परित्यागको सुझाव समेत दिए । तर एकपछि अर्को गर्दै घटनाक्रमले सभापति देउवालाई शक्तिशाली र बलियो बनाएको छ । निर्वाचनको पराजयको चौतर्फी आलोचना बेहोरिरहेका सभापति देउवालाई पार्टी भित्रैबाट आन्तरिक शक्ति प्राप्त गर्नुको कारण भने एउटै मात्र छैन् ।

खुमबहादुरको निधन
कांग्रेसमा आफूभन्दा बरिष्ठ र संगठनमा प्रभावशाली र शक्तिशाली नेताको रुपमा चिनिएका पार्टी केन्द्रीय सदस्य खुमबहादुर खड्को गत साता निधन भएपछि उनका अनुयायी र गुटका नेताहरु नेता देउवाकै गुटमा लाग्न बाध्य भएका हु्न् । ६४ सदस्यीय निर्वाचित केन्द्रीय सदस्यहरुमध्ये खड्काको गुटमा छ जना केन्द्रीय सदस्यहरु थिए । खड्कासँग पूर्णबहादुर खड्का, पुष्पा भुषाल, शंकर भण्डारी, देवेन्द्रराज कँडेल र अजयकुमार चौरसिया थिए । खड्काको निधनसँगै उनका गुटका नेताहरु यतिवेला सबैजसो देउवाकै गुटमा समाहित भएका छन् ।

१५ बर्षअघि देउवालाई साथ दिँदै नेपाली कांग्रेस प्रजातान्त्रिक गठन हुँदा महामन्त्री भएका खड्का ६१ मा पुन नेपाली काग्रेसमा समाहित भएका थिए । २०६४ सालमा कांग्रेस एकीकरण भएसँगै खड्काले आफ्नो छुट्टै गुट खोलेर बसेका थिए । तर पार्टीको हरेक महाधिवेशनमा देउवालाई समर्थन गर्दै आएका खड्कालाई १३ औं महाधिवेशनमा सभापति देउवाले उपसभापति मनोनित गर्ने आश्वासन दिएका थिए । तर महाधिवेशन भएको दुई बर्ष वितिसक्दा समेत पदाधिकारी नियुक्ति नगरी बसेका देउवालाई उपसभापतिका अर्का आकांक्षीलाई जिम्मेवारी दिन वाटो खुलेको छ ।

पार्टीको तर्फबाट नेतृत्व गर्दै पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा सहभागी हुँदा सभापति देउवालाई धोका दिएका कारण देउवासँगको सम्वन्ध चिसिएपछि चिढिएका विमलेन्द्र निधि अब उपसभापतिमा नियुक्त हुने सम्भावना छ ।

श्रेष्ठलाई बरिष्ठ नेता
उपसभापतिमा पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि आकांक्षा राखेका छन् । तर सभापति देउवाले उनलाई पूर्वउपसभापतिको हैसियतमा पार्टी भित्र पदाधिकारीपछि मर्यादाक्रममा पहिलो नम्वरमा राखेर विगत दुई बर्षदेखिको श्रेष्ठको गुनासोलाई दुई साताअघि संवोधन गरिसकेको छ । श्रेष्ठ पार्टी एकीकरण हुँदा कांग्रेस प्रजातान्त्रिकका उपसभापतिकै हैसियतमा थिए ।

गच्छदारको आगमन
करिव ३५ बर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएर एक दशकअघि मात्र मधेश केन्द्रीत दलमा गएका थारु समुदायका अगुवा विजयकुमार गच्छेदार गत असोज ३० गते नेपाली कांग्रेसमा फर्किए । कांग्रेसमा उनको आगमनलाई धेरैले खास अर्थ र महत्वको रुपमा हेरेका छैनन् । तर देउवालाई संकट पर्दा उनले सँगै साथ दिइरहेका छन् ।

कांग्रेस प्रजातान्त्रिक गठन गर्दा पहिले सहमहामन्त्री र पछि महामन्त्री भएका गच्छेदारलाई पार्टीमा भित्र्याएर देउवा आफूलाई थप शक्तिशाली बनाउँदैछन् । गच्छेदारलाई संसदीय दलको उपनेतामा मनोनित गरेर देउवाले संसदीय निर्वाचनमा पराजित भएका विमलेन्द्र निधिको स्पेसलाई पूर्ती गर्न खोजेका छन् । उनले मधेशमा केही पकट भएका निधि संसदीय फाँटमा नभए पनि त्यतिकै शक्ति र पकड जमाएका गच्छदारलाई उपनेताको जिम्मेवारी दिएर देउवाले खुसी बनाएका छन् ।

शशांकको बिद्रोह
कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाका कनिष्ठ पुत्र डा शशांक कोइराला राजनीतिमा प्रवेश गरेको एक दशकमै पार्टीको महामन्त्री बन्न सफल नेता हुन् । कोइरालाको बिरासतलाई धान्न र निरन्तरता दिन उनले देउवाइत्तर गुटको नेतृत्व गरिरहेका नेता रामचन्द्र पौडेललाई छोडेर आफू गुटभन्दा माथि रहेको भन्दै बेग्लै समूह वा गुट निर्माणमा लागेको संकेत गरेका छन् ।

पुरानो संस्थापन अर्थात पौडेलले नेतृत्व गरेको गुटमा १३ औं महाधिवेशनसम्म आउँदा ७५ जनामा ४२ जिल्ला सभापति पौडेल गुटमा थिए, तर महाधिवेहशनमा भने देउवाले सभापतिमा बाजि मारे । पौडेल गुटबाट महामन्त्रीमा डा. कोइराला र सीतादेवी यादवले निर्वाचन जिते पनि दुई बर्षपछि नैं यो गुटमा खिया लाग्न थालेको छ । पौडेल गुटबाट संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवाबिरुद्ध उम्मेदवारी दिन तयार नदेखिएका कोइरालाले पौडेल गुटबाटै दलको नेतामा प्रतिष्पर्धा गरेका लौहपुरुष गणेशमानका छोरा प्रकाशमान सिंहलाई पनि सघाएनन् । दलको नेतामा कोइरालाले मात्र होइन, गिरिजाप्रसाद पुत्री सुजाता, ड. नारायण खड्का र डा. मिनेन्द्रप्रसाद रिजालले समेत भोट हालेनन् ।

१३ औं महाधिवशनमा तत्कालिन कोइराला गुट अर्थात संस्थापन पक्षमा रहेका कृष्णप्रसाद सिटौला लगायतले बिद्रोह गरेकै कारण महाधिवेशनमा निर्वाचन जित्न सफल भएका देउवालाई यो पटक पुरानै संस्थापन पक्षबाट डा. शशांक कोइरालाले नैं बिद्रोह गर्ने भएपछि सभापति देउवा थप खुसी भएका छन् । शशांक कोइरालाले स्थानीय, प्रदेश र संसदीय निर्वाचनमा उम्मेदवारको नाम छनोट र आइजी नियुक्ति, प्रधानन्यायाधीश र अख्तियार प्रमुख आयुक्तमाथि लागेको महाभियोग प्रकरणमा समेत सभापति देउवालाई सहयोग गर्दै आएका थिए । कोइरालाले आगामी महाधिवेशनमा सभापतिमै प्रतिष्पर्धा गर्ने आन्तरिक तयारी गरेपछि सभापति देउवा हौसिएका हुन् ।

कोइरालाले सभापतिमै प्रतिष्र्धा गर्ने भने पनि अन्तिममा सभापति देउवाले आफूलाई सभापतिमा समर्थन गरे उपसभापतिमा मनोनित गर्ने र कार्यबाहक सभापतिको जिम्मेवारी दिने आश्वासन वाँड्ने रणनीतिमा छन् । देउवाको यही रणनीति र मायाजालमा फसेका कोइराला पुरानो संस्थापन पक्षलाई तिलाञ्जली दिएर आफू जसरी भएपनि पार्टी सभापति बन्ने लाईनमा छन् । जसले गर्दा तत्काल सभापति देउवामाथि आईलाग्ने आरोप, आक्षेप र प्रहारको रक्षा कवच कोइराला बन्ने पक्का छ ।

आकांक्षीलाई यसरी व्यवस्थान
कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना बिरोधी गुटलाई कमजोर बनाउँदै आफ्नो गुटलाई मजबुद बनाउन जस्तो सुकै मागलाई संवोधन र आश्वासन दिन पछि पर्दैनन् । उनले उपसभापतिका आकांक्षी खुमबहादुर खड्काको निधन भएपछि अर्का उपसभापतिका आकांक्षी बिमलेन्द्र निधिलाई उपसभापति बनाउने तयारीमा छन् ।

देउवाले विजयकुमार गच्छदारलाई संसदीय दलको उपनेता बनाइसकेका छन भने पार्टी महामन्त्रीको दाबी गर्दै आएका बालकृष्ण खाँडलाई संसदीय दलको प्रमुख सचेतक मनोनित गरेका छन् । महामन्त्रीका दुई आकांक्षी पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्कीमध्ये एकलाई महामन्त्री बनाउने गृहकार्यमा देउवा लागेका छन् । उनले खड्कालाई महामन्त्री नबनाए कार्की बन्ने पक्का छ ।
सहमहामन्त्रीमा भने डा. प्रकाशशरण महतलाई बनाउन श्रीमती डा. आरजु राणावको जोर बल छ ।देउवा भने मानबहादुर विश्वकर्मालाई सहमहामन्त्री बनाउन चाहन्छन् ।

पार्टीका असन्तुष्ट नेता रामचन्द्र पौडेलले बिरोध जनाउने भएपछि आकांक्षीलाई व्यवस्थापन गर्न पदाधिकारी थप्ने योजना बनाउका देउवा पछि हटेका छन् । उनले आफ्ना गुटका असन्तुष्टमध्ये एकलाई संगठन विभाग र अर्कोलाई प्रचार बिभाग दिने योजना बनाएका छन् । परराष्ट्र विभागमा भने पहिलेदेखि नैं गिरिजाप्रसाद कोइराला पुत्री सुजाता कोइरालाको माग दाबी रहँदै आएको छ ।

सम्बन्धित समाचार

बर्दियामा बाघकाे आक्रमणमा परेका  लालबहादुरको शव फेला
बर्दियामा बाघकाे आक्रमणमा परेका लालबहादुरको शव फेला
  • २०७४ चैत्र २६, ०८: ३६: ३२

नयाँ विकल्प बर्दिया- भैंसी चराउन गएका बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १० कालाबन्जरका ६५ वर्षीय लालबहादुर चौधरीको शव जंगलमा फेला...

सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा जोडियो
सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा जोडियो
  • २०७४ चैत्र २६, ०८: ३६: ३२

नयाँ विकल्प त्रिशूली – नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ...

धवलागिरिमा किशोरी सम्मेलन
धवलागिरिमा किशोरी सम्मेलन
  • २०७४ चैत्र २६, ०८: ३६: ३२

नयाँ विकल्प बाग्लुङ- बालविवाह र यौनजन्य हिंसा न्यूनीकरण तथा महिनावारी स्वच्छताका लागि प्रथम धवलागिरि गाउँपालिकास्तरीय किशोरी सम्मेलनले ११ बँुदे घोषणापत्र...

भर्खरै

TOP