October 20, 2021, Wednesday

कोइराला परिवारका चौथो प्रधानमन्त्री सुशील कोइराला

“जीवनको सार्थकता कुनै उद्देश्य प्राप्तिका निम्ति प्रतिबद्धतामा निर्भर गर्दछ । मानिस आफ्नो सङ्कल्प र आस्थाले यथार्थमा मानिस हुन्छ ।” राजनेता बी.पी कोइरालाको यो वाणी नेपाली कांङ्ग्रेसका केही नेता र कार्यकर्तामा आदर्श बनेको छ ।

बी.पी. वाणीको उक्त सङ्कल्प र आस्थाबाट अनुप्राणित भएर नेपाली कांङ्ग्रेसको बागडोर सम्हाल्ने पछिल्ला अग्रज नेताको नाम हो– श्री सुशील कोइराला । बी.पी.को राष्ट्रिय मेलमिलापका आधारमा सहमतीय राजनीतिको बाटो बनाएर नेता सुशील कोइराला नेपालको संविधान (२०७२) निर्माण गर्न–गराउन सफल भए ।
प्रजातन्त्र उन्मुख बाम घटक र उग्र–माओवादी बाम समूहसँग बसेर संविधान निर्माण गर्नु, बहुदलीय संसदीय संविधान बनाउनु, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको चाँजो पाँजो मिलाउनु लर्तरो कुरा थिएन । साथै चरम सङ्घर्ष अङ्गालेको मधेश मुद्दालाई सम्बोधन गर्नु थियो ।
यस्तो ज्यादै जटिल बेलामा श्री सुशील कोइराला दोस्रो संविधानसभामा बाँके र चितवनमा दुई क्षेत्रबाट चुनावमा विजयी भए । फलतः २०७० माघ २७ गते मुलुकको सैतिसौं प्रधानमन्त्री बन्ने सुअवसर पाए ।

संविधान निर्माण गरेर आफ्नो पद छोड्ने दृढतासाथ संविधानको तयारीमा लागेका सुशील कोइरालाले ज्यादै कठिन प्रयत्न गरेर २०७२ असोज ३ गते करीब ९० प्रतिशत प्रतिनिधित्वहरुको समर्थन अनुमोदनमा “नेपालको संविधान २०७२ पारित गराए । आफ्नो बचनबद्धता अनुसार एमालेका अध्यक्ष के.पी शर्मा ओलीलाई आफू प्रतिद्धन्द्धी भएर लोकतन्त्रको संस्कार देखाउँदै प्रधानमन्त्रीको पद बुझाए । नेपाली कांङ्ग्रेसको तेह्रौ महाधिवेशनको तयारीमा जुटेपछि आफू फेरी सभापति बन्ने इच्छा व्यक्त गरेका थिए । म असमर्थ र बूढो भएको छैन भन्दै ७८ वर्षे कोइरालाले आफ्नो सामथ्र्य उद्घोष गरेका थिए ।

विराटनगरमा वि.सं. १९९४ माघ २१ गते जन्मिएका सुशील कोइरालाको बाल्यकाल केही वर्ष नेपालगञ्जमा बितेको थियो । पिता बोधप्रसाद कोइराला जागीरका क्रममा नेपालगञ्ज पुगेपछि पत्नी कुमुदिनीसँगको गृहस्थी त्यतै बसालेका थिए । सुशील कोइराला आफ्नी ठूली आमा दिव्या कोइरालासँगै कोइराला निवास विराटनगर बसेर आफ्नो पठनपाठन गर्न थाले । कोइराला निवासकै अन्य दाजुहरु–बी.पी आदिसँग हर्के, बढे, पढे । अनि राजनीतितर्फ सक्रिय भए ।

२०१५–०१७ बी.पी. को प्रधानमन्त्रीत्वकालमा जागीरमा लागेका भए पनि २०१७ काण्डमा निर्वासित बन्न पुगे । २०२५ मा बी.पी. लगायत सबै नेता कार्यकर्ता सँगै आममाफी पाएका सुशील कोइराला बी.पी. को बनारस निर्वासनमा सँगसँगै निर्वासित भए । बी.पी. कोइरालाको करीब आठवर्षे निर्वासनकालमा बनारसको महमूरगञ्ज, सारनाथ फेरी महमूरगञ्जसम्मको बसाइमा सुशील कोइराला बी.पी. सँगै– सहयोगी–सचिवको रुपमा रहे । कोइराला निवासकै सहयोगीमध्ये भीमबहादुर तामाङ र राजेन्द्र (वीरेन्द्र) दाहाल पनि हुन् । ती तीन जनाको राम्रो सम्बन्ध थियो ।
राजघाटमा केही समय गणेशमान सिंह बसेका बेला शैलजा आचार्य, भगत शर्मा, अर्जुनसिंह कठायत आदिको पनि बसोबास थियो ।

२०२७ देखि “तरुण” (ने.का. मुखपत्र) शैलजा आचार्यको प्रधान सम्पादकत्वमा प्रकाशन शुरु भएपछि पत्रिकाको काममा भीमबहादुर तामाङ, सुशील कोइराला र राजेन्द्र दाहालसँगै तुलसी भट्टराई सक्रिय रहने ग¥यौ । बी.पी. द्वारा हप्तामा ३ दिन राजनीतिक प्रशिक्षण दिने क्रममा दर्जनौं कार्यकर्ता (आजका नेताहरु) सहभागी हुने गरेका थिए । सुशील कोइरालाको सहभागी साथीहरुसँगको सौहाद्र व्यवहार हुने गथ्र्यो ।
बनारसमा हुने गोष्ठी, आमसभाहरुमा सुशील कोइरालाको सक्रियता रहन्थ्यो ।

बी.पी. कोइरालाद्वारा २०३३ पौष १६ ‘राष्ट्रिय मेलमिलाप नीति’ का साथ स्वदेश आगमन भएपछि गिरिजाबाबुसँगै बनारस बसेका सुशील कोइरालाको २०३६ को जनमत सङग्रह पछिको राजा वीरेन्द्रद्वारा गरिएको आममाफीमा स्वदेश आगमन । त्यसपछिका २०३७ को मञ्चायती निर्वाचन बहिष्कार आन्दोलन, २०४२ को देशव्यापी सत्याग्रह, २०४६ को जनआन्दोलन हुँदै २०६२–०६३ को दोस्रो जनआन्दोलनमा समेत सक्रिय सहभागित र नेतृत्व दिने काम भयो ।

२०४५ मङ्सिरदेखि केन्द्रीय सदस्य बनेका सुशील कोइराला २०५३ को नवौं महाधिवेशनबाट महामन्त्री बन्न सफल भए । २०५५ असोजदेखि उपसभापति बनेका कोइराला २०६४ पछि कार्यबाहक सभापति भए । बाह्रौ महाधिवेशन २०६७ असोजदेखि पार्टीका केन्द्रीय सभापति बन्ने अवसर पाए । २०४८ र २०५६ मा सांसद निर्वाचित भएका सुशील कोइरालाले त्यतिबेला मन्त्री वा अन्य पदाधिकारी बन्न रुचाएनन् । तर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका प्रमुख सहयोगी सल्लाहकारका रुपमा सक्रिय भएर काम गर्ने गरे ।

२०७० मङ्सिरमा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा बाँके र चितवनबाट सभासद निर्वाचित भएपछि देशका प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त भयो । बी.पी. कोइरालाका सच्चा अनुयायीका रुपमा प्रजातन्त्र, समाजवाद र राष्ट्रियताका पक्षधरका रुपमा श्री सुशील कोइरालालाई जान्न बुझ्न सकिन्छ । राजनीतिमा इमान्दारीता र निष्ठा पनि हुन्छ, सादगी पनि हुन्छ भन्ने कुरा सुशील कोइरालाबाट सिक्न सकिन्छ ।

यस पटकको तेह्रौ महाधिवेशनमा धेरै कुराहरुको छलफल हुनुपर्ने थियो । एक प्रकारको संक्रमणकालमा यो महाधिवेशन हुँदै गरेको हो । यस्तो बेलामा धेरै विषयहरुको टुङ्गो लगाउनु पर्ने हुन्थ्यो । तर महाधिवेशनको पूर्व सन्ध्यामै श्री सुशील कोइरालाको चोला उठ्यो । कोइराला परिवारका बी.पी., एम.पी, जी.पी हुँदै यसै क्रममा चौथो प्रधानमन्त्री बन्न सफल सुशील कोइरालाको देहावसानले अब कोइराला परिवारमा पाँचौं श्रृङ्खला कसले जोड्ला भन्ने चासो र चर्चा पनि बढाएको छ ।

कोइराला परिवारमा केन्द्रीत पार्टी नेतृत्व अब कतातिरको भागमा गर्ने हो । यो कुरा यतिबेला अन्योल छ । २०१० देखि राजनीतिमा सक्रिय रहन थालेका श्री सुशील कोइरालाको जीवन एकाकी रह्यो । अर्थात् उनको जीवनमा बिहे–घरजम, परिवार केही हुन सकेन । सधै राजनीतिप्रति आबद्ध कोइराला प्रजातान्त्रिक संस्कार र संस्कृतिको, राजनीतिक स्थिरताको कुरा गर्दागर्दै, राजनीतिकै मात्र सपना देख्दा–देख्दै सामान्य जनभन्दा माथि सफल भए–सुशील कोइराला । अर्थात् प्रधानमन्त्री जस्तो उच्चतम् शासन प्रमुख पद प्राप्त गर्न सफल भए । पार्टीमा पनि उच्चतम् पद–केन्द्रीय सभापति बन्न सक्षम भए ।

एकप्रकार श्री कोइरालाले पाउनुपर्ने–मान, सम्मान, पद, प्रतिष्ठा पाइसकेर वि.सं. २०७२ माघ २६ गते सदाका निम्ति पार्थिव रुपबाट मुक्त भए । हामी सबै पुनः श्रद्धेय सुशील कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दछौं । (साभारः डा. तुलसी भट्टराईद्वारा लिखित बी.पी. कोइराला र नेपाली कांग्रेस नामक पुस्तकबाट)

सम्बन्धित समाचार

व्यक्ति केन्द्रीत, आत्म केन्द्रीत, स्वार्थ केन्द्रीत, राजनीतिले राष्ट्रलाई बद्नाम गराउने, ओरालो लाग्ने अवस्था सिर्जना गराउँछ
व्यक्ति केन्द्रीत, आत्म केन्द्रीत, स्वार्थ केन्द्रीत, राजनीतिले राष्ट्रलाई बद्नाम गराउने, ओरालो लाग्ने अवस्था सिर्जना गराउँछ
  • २०७४ चैत्र २६, ०९: ११: २२

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषद् विस्तार गर्न निकै ढिलाई गर्नु भयो । तपाईहरुले दवाव दिन त सक्नु भएन नि ?ढिलै भएपनि...

हल्ला र सत्यताको सत्यापन नहुँदै चियाको कपमा आउने तुफानले पनि उडाउन सक्छ …..
हल्ला र सत्यताको सत्यापन नहुँदै चियाको कपमा आउने तुफानले पनि उडाउन सक्छ …..
  • २०७४ चैत्र २६, ०९: ११: २२

१. प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउबाको नियुक्ति २०७८ साल असार २९ गते भएपछि तत्कालै गठित मन्त्रिपरिषदमा गृहमन्त्रीको रुपमा बालकृष्ण खाँण, कानुन...

विश्वसनीय पार्टीको रुपमा नेपाली काङ्ग्रेस कसरी विकसित हुनसक्छ ?
विश्वसनीय पार्टीको रुपमा नेपाली काङ्ग्रेस कसरी विकसित हुनसक्छ ?
  • २०७४ चैत्र २६, ०९: ११: २२

१.नेपाली काङ्ग्रेसको आन्तरिक निर्वाचनका विभिन्न चरणहरु पार हुँदैछन् । यसपटकको निर्वाचनमा संघीय संरचनालाई आधार बनाएर पहिलेको भन्दा फरक तरिकाले निर्वाचन गराउनु...

Happy Dashain