May 14, 2021, Friday

बामगठबन्धनभित्र शंकैशंका उत्पन्न ÷ ५०–५० प्रतिशतको हैसियतमा माओवादीको अडान

एमाले–माओवादी एकता यसरी भाँडिदैछ

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आगामी बैशाख ९ गते हुने भनिएको पार्टी एकता नहुने भएको छ । गत असोज १७ गते पार्टी एकता गर्ने भनी घोषणा गरेका दुवै दलको नेताले अझैसम्म औपचारिक एकताको घोषणा गर्न सकेका छैनन् ।

‘जनयुद्ध’ र सम्मानजनक हैसियतको पक्षमा माओवादी केन्द्रले अडान लिएपछि दुवै पार्टीबीचको एकता एकपछि अर्को बहानामा पर सर्दै आएको हो ।
दुवै पार्टीबीचको एकतामा बाधक बनिरहेको महसुस पार्टी एकताका लागि बनेका दुई कार्यदलका सदस्यहरुले गर्न थालेका छन् । आ–आफ्ना प्रतिवेदन दुवै दलको नेताहरुले बुझाए पनि केही विषयमा भने सहमति जुटाउन सकेको छैन् ।

पार्र्टी एकताका लागि बनेको राजनीतिक प्रतिवेदन कार्यदल र सांगठनिक कार्यदलले पार्टीको विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने वा नराख्ने निर्णय गर्न नसकेपछि र संगठनको स्वरूपमा माओवादीले बराबरी भाग खोजेपछि यस विषयलाई कार्यदलले टुंगो लगाउन नसकेको हो । पार्टीको चुनाव चिह्न के राख्ने भन्ने विषयमा पनि विवाद कायमै छ ।

यी दुई कार्यदलले यी विषय टुंगो लगाउन नसकेपछि पार्टी एकता संयोजन समितिलाई जिम्मा दिएका थिए । तर गत साता बसेको एकता संयोजन समितिको बैठकले पनि यी विषयलाई टुंगो लगाउन सकेको थिएन । प्रधानमन्त्री तथा एमाले अध्यक्ष भारत भ्रमणमा गएकाले गत साता यी विषयलाई टुंगो लगाउन नसकिएको दाबी गरिएको थियो । तर प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएपछि यी विषयमा टुंगो लगाइने भनिए पनि अझैसम्म शीर्ष नेताबीच बैठक समेत बस्न सकेको छैन् ।

अन्य विषयमा टुंगो लागे पनि ‘सम्मानजनक’ एकतामा भने निक्कै गाह्रो पर्ने माओवादी नेताले बताउँदै आएका छन् । एमालेले माओवादीलाई पार्टीको संगठन निर्माणका क्रममा आधा्आधा दिन तयार नदेखिएपछि दुई पार्टीबीचको एकता संकटमा परेको हो । माओवादीका एक नेताका अनुसार अहिले अड्किएको मुख्य विषय नै बराबरीमा हो । अन्य विषयमा भने मोटामोटी टुंगिएको छ ।

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने गरी एमाले–माओवादीले सहमति गरिसकेका छन् । यस्तै, केन्द्रीय कमिटी, स्थायी समिति, पोलिटब्युरो, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी, महानगर, उपमहानगर, नगर तथा गाउँ कमिटी, वडा कमिटी र प्रारम्भिक कमिटीसहित १० वटा तहगत समिति रहने सहमति भइसकेको छ । तर यी कमिटीको निर्माणका क्रममा माओवादीले ५० प्रतिशत हिस्सा खोजेपछि विवाद भएको र यो विषय मिलाउन समस्या भएको थियो ।

एमाले भने चुनावमा गठबन्धन गरेजस्तो ६०÷४० कै भागबन्डामा एकता गर्ने मनस्थितिमा रहेको थियो । तर माओवादी भने सम्मानजनक एकता भनेको गठबन्धन नभएको भन्दै त्यसमा तयार छैन ।

बैशाख ९ गते पार्टी एकता घोषणा गर्ने कार्यदलको सुझावलाई एकता संयोजन समितिले अनुमोदन गरिसकेको थियो तर माओवादीले प्रत्येक संगठनमा ५० प्रतिशत नपाए बैशाख ९ मा पार्टी एकता घोषणाको सम्भावना नरहेको भनेपछि एकताको मिति सारिएको हो ।

माओवादी केन्द्रका एक केन्द्रीय कार्यालय सदस्यले बताए । उनले भने, ‘सम्मानजनक एकता नभने गठबन्धन होइन। गठबन्धन जस्तो अंकगणितको आधारमा एकता हुँदैन ।’ बराबरीको विषय मिलेन भने तत्काल पार्टी एकता घोषणाको सम्भावना नरहेको ती नेता बताउँछन् र भन्छन्, ‘बराबरी हैसियतमा एकता गर्न एमालेले मानेन भने अहिलेलाई गठबन्धन कायम हुन्छ तर बैशाख ९ मा एकता घोषणा हुँदैन ।

यही गठबन्धनलाई दह्रो बनाएर पछि एकता गर्न सकिन्छ ।’ बराबरी हैसियतमा पार्टीभित्र धेरै बलिदान र योगदान गरेका नेताको व्यवस्थापनमा समस्या पर्ने ती नेता बताउँछन् । भन्छन्, ‘पार्टीभित्र बलिदान गरेका नेताहरू धेरै हुनुहुन्छ ।

सम्मानजनक एकता भएन भने उहाँहरूलाई कसरी व्यवस्थापन गर्ने? एउटा पार्टीका चाहिँ समान हैसियतका पनि व्यवस्थापन हुने अकार्काे चाहिँ अलपत्र पर्ने ?’  माओवादीभित्र तत्काल एकता गर्न नहुने पक्ष बलियो पार्टीका शीर्ष नेताहरू पार्टी एकता तत्काल टुंग्याउने उद्देश्यका साथ छलफलमा व्यस्त छन्। तर पार्टीको तल्लो तहका कार्यकर्ता भने तत्काल पार्टी एकता गर्न नहुने पक्षमा रहेका छन् । माओवादीमा अहिले पनि एकता अहिले गर्न हुन्न भन्ने पक्ष बलियो छ ।

शीर्ष नेताहरू तत्काल एकता गर्नुपर्छ भने पनि पर्याप्त छलफलविनै एकता गर्न नहुने पक्षमा अहिले माओवादीभित्र बलियो समूह बन्दैछ । ‘जनयुद्ध’ को ठाउँमा जनक्रान्ति राख्न एमालेको प्रस्ताव एमाले र माओवादीको एकतामा बाधक भएको माओवादी शीर्ष नेताहरुको बुझाई छ ।

पार्टीको प्रस्तावनामा जनयुद्ध राख्ने नराख्ने विषयमा अहिले पनि बहस जारी छ । एमालेले जनयुद्ध राख्न मानिरहेको छैन भने माओवादीले आफूहरूको पार्टीको ऐतिहासिक विरासत भएको भन्दै जनयुद्ध हुनै पर्ने अडान राखेको छ । माओवादी नेताहरुले भने ‘जनक्रान्ति नेपालमा अहिलेसम्म भएकै छैन भनेर तर्क गरिरहेका छन् ।

चुनाव चिह्नमा विवाद अहिले नमिलेको अर्काे विषय भनेको चुनाव चिह्न हो । एमालेले चुनाव चिह्न सूर्य नै राख्नुपर्ने अडान कायम राखेको छ । उसले जनताले सूर्य चिह्न मनपराएको भन्दै सूर्य नै राख्नुपर्ने अडान राखेको छ । तर माओवादीले पार्टी नयाँ भएकाले चुनाव चिह्न पनि नयाँ खोज्नुपर्ने प्रस्ताव राखेको छ ।

माओवादीका एक नेताका अनुसार माओवादीले सूर्यभित्र हँसिया हथौडा राख्नुपर्ने प्रस्ताव गरेको छ तर एमालेले यस विषयमा सहमति जनाइसकेको छैन । ती नेताले भने, ‘अहिले चुनाव चिह्न पनि छलफलमा छ। उहाँहरू सूर्य भन्नुहुन्छ । हामी सूर्यभित्र हँसिया हथौडा भन्छौ ।

किन तर्सिदैछ ओलीसँग माओवादी ?
पार्टी एकताको लागि औपचारिक घोषणा गर्न तयार भएको माओवादी केन्द्र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार र कार्यशैलीबाट त्रस्त छ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा ४० प्रतिशत उम्मेदवार उठाएको माओवादीले ३० प्रतिशत मात्र उम्मेदवार विजयी गराउन सक्नु तर ६० प्रतिशत उम्मेदवार उठाएको एमालेले ७० प्रतिशत स्थानमा विजय हासिल गर्नुलाई नै माओवादीले शंकाको घेरामा राख्ने गरेको छ ।

माओवादीले एमाले नेता ओलीको संकेतमा आफ्ना उम्मेदवारहरुलाई हराइएको बुझेको छ । उसले माओवादीतर्फ नरम व्यवहार गर्ने एमाले उपाध्यक्ष बामदेव गौतमले बर्दियाबाट निर्वाचनमा पराजित हुनुलाई पनि माओवादीले आशंका गरेको छ । संविधानमा पार्टी फुटाउन ४० प्रतिशत केन्द्रीय सदस्यहरुको हस्ताक्षरले पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई झस्काई रहेको छ ।

यसअघि पार्टी फुटाउन वा अलग हुन पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एक ठाउँमा ४० प्रतिशत सदस्यले अलग हुने निर्णय गरेमा फरक दलको मान्यता पाउने प्रावधान थियो तर यस पटकको संविधानले पार्टीबाट अलग भएर नयाँ दल दर्ता गर्न संसदीय दल र पार्टी दुवैमा ४० प्रतिशत पुर्याउनु पर्छ ।

संविधानको यस्तो प्रावधानले भविश्यमा तीन बर्षपछि ओलीसँग गरेको भद्र सहमति अनुसार ओलीले सत्ता नछोडे उनलाई ठेगान लगाउन सकिँदैन भन्ने मनोविज्ञानका कारण प्रचण्ड पार्टी एकतामा ५० प्रतिशत भागको वार्गेनिङ गरिरहेका छन् ।

भारत भ्रमणको अघिल्लो दिन प्रधानमन्त्री ओलीले माओवादी नेताहरुसँग कुनैं सल्लाह नै नगरी एकलौटी ढंगले सचिव सरुवा गरेपछि माओवादी नेताहरु ओलीको कार्यशैलीबाट झन त्रसित बनेका छन् । ओलीले गृह मन्त्रालय मातहतको राष्ट्रिय अनुसन्धान बिभागलाई प्रधानमन्त्री कार्यालय मातहत मात्र ल्याएनन कि गृहको सचिवमा राष्ट्रपति विद्यादेवी भण्डारीको इसारामा प्रधानमन्त्री कार्यालयका सचिव तथा भोजपुरका स्थायी वासिन्दा प्रेमकुमार राईलाई रातारात सरुवा गरे ।

ओलीले आफ्नै इच्छा बमोजिम माओवादीलाई थाहै नदिई प्रहरी महानिरिक्षकमा समेत रमेश खरेललाई नियुक्त गर्न लागेका थिए तर प्रचण्डको चेतावनी पछि सर्वेन्द्र खनाललाई प्रहरी महानिरिक्षक बनाइएको थियो । ओलीले खरेलको बिकल्पको रुपमा भोजपुरकै स्थायी वासिन्दा तथा राष्ट्रपति भण्डारीका नातेदार पुस्कर कार्कीलाई महानिरिक्षक बनाउन खोजेका थिए ।

 

 

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७५ बैशाख ३, ०९: ५९: ००

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७५ बैशाख ३, ०९: ५९: ००

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७५ बैशाख ३, ०९: ५९: ००

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP