May 14, 2021, Friday

दुईमुखे चरो र नेपाली कांग्रेस

पुरुषोत्तम दाहाल

तेह्र्रौं महाधिवेशन सम्पन्न भएको करीव दुई वर्ष पछि नेपाली कांग्रेसको केन्द्रीय समितिमा पदाधिकारी मनोनयन गरिएको छ । यो मनोनयनलाई लिएर आम नागरिकमा कुनै चासो वा चिन्ता न भए पनि नेपाली कांग्रेस भित्र भने यौटा ससानो कम्पन पैदा हुनपुगेको छ । विस्तारै नेपाली कांग्रेसबाट मानिसहरुको ध्यान हट्न लागेको हुनाले पनि त्यति चासो र चिन्ता नदेखिएको हुनसक्छ । अहिले नेपाली कांग्रेसका नेताहरु, कांग्रेसले लिने निर्णयहरु कसैको पनि प्रभावकारी वजार देखिदैन ।

विचारको वजार तताउन कहिले काही प्रदीप गिरीका लेख र गगन थापाका विचारहरु केही चखिला लाग्दछन् । सकारात्मक निर्णयहरु, सक्रिय कुनै कामहरु देखिएमा वजारमा कांग्रेसको पसलको पृथक स्थान हुने हो । तर यातायात सिण्डिकेटका विषयमा होस् कि संसदीय नियमावलीमा अपराधवृत्तिको आरोपीका विषयमा लिइएको अडान कांग्रेसका लागि हानिकारक भएका छन् र यस्ता नकारात्मक विषयले कांग्रेसको प्रचार वजार धानिरहेको महसूस हुन्छ । यदाकदा पार्टी भित्रवाट आउने वेतुके भाषणहरु अथवा वर्तमान नेतृत्व विरुद्ध प्रयुक्त अपशब्दहरुले समेत कांग्रेसका केही नेताहरुको पसल चलेको देखिन्छ । विपक्षी दललाई कमजोर सिद्ध गराउदै पार्टीको संगठन सवल गर्नुको वदला आफ्नै पार्टी नेतृत्वलाई कमजोर वनाउने रणनीतिमा कांग्रेसजनहरु लागेकोले अझै केही दिन प्रचारवजारमा कांग्रेसहरुको पसल चलिनै रहने विस्वास गर्न सकिन्छ । तर कांग्रेसलाई कसरी सवल तुल्याउने, विचारधाराको संघर्षमा कांग्रेसलाई कसरी सक्रिय तुल्याउने, संगठनलाई अनुशासित गराउदै तल्लो निकायसम्म कुनरुपमा व्यवस्थित गर्ने र पृथक चिराहरुको समायोजन कसरी गर्ने भन्ने चिन्तन कहीं कतै भेटिदैन । मनोगत विश्लेषण र आत्मकेन्द्रित मूल्यांकनको वाढी पहिरो आजको कांग्रेसको नियती भएको छ ।

ठोस, वस्तुगत तर्क कतै देखिदैन । एकताका माओवादी सशस्त्र हिंसा विरुद्ध नारायणकाजीहरु भण्डाफोर अभियान सञ्चालन गर्ने भन्थे, मोहन बिक्रम सिंहहरु संसदीय व्यवस्थाको भण्डाफोर गर्न निर्वाचनमा भाग लिएको कुरा गर्थे । तर यी दुवै खाले भण्डाफोर अभियानको खास अर्थवत्ता रहेन । यसअघि जनपक्षीय उमेदवार उठाएर निर्दलीय पञ्चायतलाई मान्यता दिदा समेत वामपन्थीहरुले पञ्चायतको भण्डाफोर गर्ने विचार अस्त्र प्रयोग गरेका थिए । अहिले नेपाली कांग्रेसका एकथरी नेताहरु तिनै विगतका केही नमूना भण्डाफोरशैलीमा आफ्नै पार्टीको भण्डाफोर अभियानमा जुटेका छन् ।

नेपाली कांग्रेसका अनेक नेताहरुले माथिदेखि गाउसम्म पुगेर भण्डाफोर गर्ने भनी दिएका सार्वजनिक भाषणहरु र सामाजिक सञ्जालमा गरेका टिप्पणीहरु हेर्दा नेपाली कांग्रेस एकताको होइन कुनै पनि हालतमा विभाजनको वाटोमा हिड्न लागेको संकेत मिल्न लागेको छ । माथिदेखि तलसम्म चिरा पार्दै पार्टीलाई सवल गराउने सपना वितरण गर्नु आफैमा आत्मघाती खेल हो भन्ने कुरामा कांग्रेसजन सचेत देखिदैनन् ।
आजको नेपाली कांग्रेसलाई हेर्दा सानैमा हामीले पढेको यौटा दुई मुखे चराको कथा संझना भइरहेको छ । कथा अनुसार यौटा जंगलमा दुई मुख भएको तर यौटै शरीर भएको चरा थियो । चराको यौटा मुख वाटो, छरितो र छिटो थियो ।

उसले तुरुन्त साना किरा फटेड्.ग्राहरु टिप्थ्यो र मुखमा हाल्थ्यो । उसको प्रयासले चरो वांचिरहेको थियो । यस सक्रिय मुखले देखाइरहेको सक्रियताको रीस गरिरहेको अर्को मुखलाई खपिसक्नु भएन । उसको मनमा प्रश्न उठ्यो ः सधै आफू मात्रै चारा टिप्ने त्यस विरोधी चुचोलाई कसरी तह लाउने ? उसले धेरै विकल्पहरु सोच्यो र अन्तिममा निर्णय लियो । उसको निर्णय थियो ः मैले विष खाएं भने त्यो मरिहाल्छ अनि म एक्लै हुन्छु र एक्लै आहारा टिप्दै अघाउजी खान पाउनेछु । अर्को चुचोको जीवन अवशान गर्ने निर्णयकासाथ त्यस ईष्र्यालु चुचोले एकदिन विष खोजेर खायो । परिणाम भनिरहनु पर्दैन ।

चरा नै मर्यो । कांग्रेस भित्रको आजको स्थिति त्यही दुई टाउके चराको जस्तो हुन पुगेको छ । केन्द्रदेखि गाउसम्म विवादलाई लिएर जाने, सभापतिका निर्णयहरुलाई भण्डाफोर गर्ने , सभापतिलाई कमजोर पार्ने भन्ने जस्ता तर्कहरु त्यही विष पिउने ईष्र्यालु चुचोको निर्णय समान हुन् । अनेक राष्ट्रिय मुद्दाहरु छन् तिनलाई लिएर पार्टी सुदृढ वनाउने सोच भन्दा पनि आफ्नै पार्टीलाई कमजोर पार्ने रणनीति हुनु दुर्भाग्यपूर्ण देखिन्छ । महाधिवेशनमा प्रतिस्पद्र्धा भएपछि जयपराजय हुनु अन्यथा होइन । लोकतान्त्रिक विधि अनुसार निर्वाचन भयो वा भएन भन्ने मात्र सैद्धान्तिक प्रश्न हुनसक्छ । लोकतान्त्रिक प्रक्रिया अन्तर्गत निर्वाचन गरी महाधिवेशनले केही अवधिका लागि निर्णय गरेपछि त्यस निर्णयलाई स्वीकार गर्ने, आफ्ना सैद्धान्तिक विषयहरुलाई प्रक्रियासंगत उठाउने र मनोगत संकीर्णताबाट माथि उठेर वृहत्तर हित र लक्ष्य निर्धारण गर्नसक्ने नेताले नै भविष्यलाई हांक्न सक्छ । समयको चापलाई उसले अनुभव गर्नसक्छ ।

जसले समयको चापलाई वुझ्न सक्दैन त्यसले कहिल्यै पनि नेतृत्व लिन सक्देैन । पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन भएको दुई महिना भित्र पदाधिकारी चयन नगरेपछि त्यसै समयमा अव कुनै पनि हालतमा पदाधिकारी चयन गर्न पाइने छैन भन्ने हिम्मत कसैसंग भएन । विभागहरु गठन हुनसक्दैन भनी कसैले आवाज उठाएको थाहा भएन । यस विपरित निर्वाचनमा पराजय भोग्नेहरुलाई वरिष्ठदेखि केन्द्रीय समितिमा मनोनयन गर्दा अवैधानिक भएको कसैलाई लागेन । निर्वाचनमा हारेपछि आफू कुनै पनि सतर््मा केन्द्रीय समितिमा नजाने अडान कसैले राखेको सुनिएको थिएन । कतै सभापति निर्वाचित देउवाले आफूलाई केन्द्रीय समितिमा नराख्ने हो कि वा पाखा लगाउने र भूमिका विहीन होइने हो कि ? भन्ने चिन्ताले अनेक पराजितहरुको ओठमुख सुकेको धेरैलाई थाहा छ ।

केन्द्रीय समितिमा पर्नासाथ कांग्रेस भित्र एकताको सन्देश जानेछ भन्ने नाउमा त्यहां वसेर निरन्तर पार्टीलाई चिरा पार्ने खेल हुनुलाई अवैधानिक मानिएन । पराजित भएर पनि मनोनित हुदा नैतिकताको प्रश्न त्यसवेला उठेन । तर अहिले संघीय संसदको निर्वाचनमा जनताको केही मतको अन्तरमा पराजय भोगेका नेताहरु नै पदाधिकारीमा मनोनयन भए भनी व्यापक हल्ला चलिरहेको छ । पार्टी भित्रको केही अपवादलाई छाडेर गत वर्ष सम्पन्न संसदीय निर्वाचनमा नेपाली कांग्रेसका धेरै नेताहरु पराजित भए । केन्द्रीय समितिका नेताहरु मध्ये थोरैले आफ्नो इज्जत जोगाउन सकेका थिए । संघीय निर्वाचनमा पराजित भएका कुनै पनि केन्द्रीय सदस्यहरुले आफ्नो पराजयको जिम्मेदारी अनुभव गर्दै नैतिकताका आधारमा पदबाट राजीनामा दिन चाहेको सुनिएन । आफ्नो पराजयको भारी अरु कसैको टाउकोमा विसाएर आफू क्रान्तिकारी हुने दौडमा लागेको सबैले सुनिरहेका छन् ।

यो दौड कांग्रेस भित्र पन्पिदै गएको स्खलनको संकेत वाहेक केही पनि होइन । कांग्रेसप्रति सहानुभूति राख्नेहरु, नेपालमा वलियो लोकतन्त्रको मियो यथावत् रहोस् भनी मान्यता राख्नेहरु र लोकतन्त्रलाई सुरक्षित राख्न नेपाली कांग्रेसको भूमिका निरन्तर रहनुपर्छ भनी सदा चिन्तित हुनेहरुमा कांग्रेस भित्र पन्पिदै गएको स्खलनका धाराहरुले निरास तुल्याएको अवस्था छ । देउवाले तिनजनालाई पदाधिकारीमा मनोनयन गरेका छन् । देउवाको एकल निर्णय नभएर निर्वाचित केन्द्रीय समितिको बहुमतको निर्णयवाट ती तिन पदाधिकारी चयन भएका छन् । तीन मध्ये एक पदाधिकारीमा भिन्नधारको दावी रहेको चर्चा थियो । तीन मध्ये एकमा भिन्न धरलाई स्थान दिएको भए नराम्रो हुने थिएन । तुष्टिकरणकै लागि कम्तीमा पनि सहमहामन्त्री पदमा भिन्नधारको नियुक्ति हुनु पर्ने मान्यता गलत थिएन ।

तर एउटा कुनै पदाधिकारीमा भिन्नधारको नियुक्तिवाट कांग्रेस भित्र विस्तारित असहमतिको धारलाई मेट्ने थियो त ? यदि धारलाई मेट्न सघाउ पुर्याउथ्यो भन्ने हो भने देउवासंग निर्वाचनमा पराजित रामचन्द्र पौडेलको वरिष्ठ स्थानमा भएको मनोनयन वा महाधिवेशनमा यो वा त्यो रुपमा पराजित कृष्ण सिटौला, अर्जुन नरसिंह केसी वा गगन थापाहरुको मनोनयनले किन चिरा मेट्न सकेको छैन ? र झन् चिरा वढाउने काम गरिरहेको छ ? प्रश्न उठिरहेको छ । अहिले पदाधिकारीमा नियुक्त तिन जना मध्ये विमलेन्द्र निधि र पूर्णबहादुर खड्का जनताका माझमा निरन्तर रहेका नेताहरु हुन् । प्रकाशशरण महत भने कांग्रेस भित्रको राजनीतिबाट मात्र स्थापित भएका हुन् । विमलेन्द्र निधिको उपभापतिमा मनोनयनले तराईमधेसको राजनीतिलाई नेपाली कांग्रेसले दिएको महत्व प्रमाणित गरेको छ ।

यद्यपि निधि तराई मधेसको मात्र होइन नेपालको प्रजातान्त्रिक आन्दोलनको हिस्सा भइसकेका छन् । उनका पिताजी महेन्द्रनारायण निधिको योगदानका भरमा मात्र उनको उपस्थिति भएको होइन । नेपाली कांग्रेसका तीन क्लस्टर मध्ये विपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका उत्तराधिकारीहरु अहिले राजनीतिमा छन् । यी मध्ये विमलेन्द्र निधि र प्रकाशमान सिंहको आफ्नै विशिष्ट योगदान रहेको छ । निधिको उपसभापति मनोनयनले विस्तारो नेपाली कांग्रेसको नयां पुस्तामा नेतृत्व हस्तान्तरण हुनलागेको र श्रेणी निर्माणको संकेत गरेको छ । तर निधिका लागि उपसभापति पद जति सम्मानजनक छ त्यो भन्दा बढी चुनौतीपूर्ण छ । उनले असन्तुष्टहरुलाई संयोजन गर्ने, पार्टीका चिराहरु मेट्ने र आफूलाई सम्पूर्ण नेपाली कांग्रेसको सिद्ध गर्ने सामथ्र्य देखाउनसक्नु पर्दछ ।

विगतमा मन्त्री भएका समयमा पार्टीकै कतिपय साथीहरुका अनेक गुनासाहरु थिए तिनलाई अनुभूत गर्दै राष्ट्रिय नेताको छवि वनाउने चुनौती निधिमा थपिएको छ । लथालिंग देखिएको पार्टीको आन्तरिक व्यवस्थापनलाई नयांरुप दिने दायित्व महमन्त्री पूर्णबहादुरमा आएको छ । उनले जिम्मेदारीलाई राम्ररी निभाउन सकेमा कांग्रेस भित्रका अनेक समस्याहरुको समाधान हुनसक्छ । कांग्रेसलाई दुईमुखे चरोको जस्तो नियती नवनाउने हो भने आफै यदुवंशी कलहबाट मुक्त हुने प्रयास गर्दै राष्ट्रिय राजनीतिको मूल मियो वन्ने प्रयास गर्नु बुद्धिमानी हुने छ ।
वरिष्ठ राजनीतिक विश्लेषक पुरुषात्तम दाहालको लेख ईमेलबाट प्राप्त

सम्बन्धित समाचार

व्यापारीलाई पोष्न खोपमा भ्रष्टाचार गर्दा कोरोना संक्रमितले ज्यान गुमाउनु पर्यो, ओलीले राजिनामा दिनु पर्छ
व्यापारीलाई पोष्न खोपमा भ्रष्टाचार गर्दा कोरोना संक्रमितले ज्यान गुमाउनु पर्यो, ओलीले राजिनामा दिनु पर्छ
  • २०७५ बैशाख ३१, ०८: ४९: २०

प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा प्रस्तुत गर्नु भएको विश्वासको मत लिने प्रस्तावको विषयमा आफ्नो मत राख्दै प्रमुख प्रतिपक्षी दलका नेता...

कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
  • २०७५ बैशाख ३१, ०८: ४९: २०

१.कोभिड—१९को दोस्रो छालले नेपाललाई पनि छोप्यो भने हुन्छ । विश्वका देशहरुमा कोरोनाका भाइरसहरुले विभिन्न रुप लिएर विस्तारित हुन थालेका समाचारहरुले...

पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
  • २०७५ बैशाख ३१, ०८: ४९: २०

१. नेपालमा प्रजातन्त्रको स्थापना, पुनस्र्थापना र फेरि पुनस्र्थापनाका घटनाहरुको कडीमै २०६३साल वैशाख ११ गते आएको थियो, जुन दिन जनताको आन्दोलनको...

भर्खरै

TOP