May 18, 2021, Tuesday

फोरमसँगको सम्बन्ध चिसिँदै

समर्थन फिर्ता लिने मुडमा राजपा

काठमाडौ । संघीय समाजवादी फोरमले शुक्रबार सत्तारोहण गरेसँगै राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने मुड बनाएको छ । आफूहरुलाई सत्ताबाट अलग्याएर फोरमलाई सत्तामा पुर्याउने ओली सरकारको रणनीतिबाट राजपाका अध्यक्ष महन्थ ठाकुरदेखि राजेन्द्र महतो समेत रुष्ट भएका छन् । जुन घटना पछि फोरम र राजपाको सम्वन्ध समेत विग्रने भएको छ ।

प्रदेश २ का आठ जिल्लामा गठबन्धन बनाएर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गएका यी दुई दलबीच फोरम सरकारमा गएसँगै तिक्तता छाएको हो । मंसिरमा भएको निर्वाचनमा राजपा र फोरमको गठबन्धनमा राम्रै नतिजा आयो । प्रदेश २ को नतिजाबाटै फोरम र राजपा राष्ट्रिय दल बनेका थिए । अहिले संघीय संसदमा राजपा तेस्रो र फोरम चौँथो दलको हैसियतमा छन् ।

प्रदेश २ मा पनि फोरम र राजपा गठबन्धनको सरकार छ । फोरमबाट निर्वाचित लालबाबु राउत प्रदेश २ को मुख्यमन्त्री भएका छन् । प्रदेशमा फोरम राजपाभन्दा ठूलो दल भएको छ । फोरम सरकारमा गएसँगै प्रदेश २ को समीकरण परिवर्तन हुने हो कि भन्ने विभिन्न अड्कलबाजी हुन थालेका छन् ।

एक साताअघि मात्र प्रदेश २ सरकारलाई दिएको समर्थन नेकपाले फिर्ता लिनु र त्यसको भोलिपल्ट फोरमले नेकपा नेतृत्वमा रहेको केन्द्रीय सरकारमा जाने सहमति गर्नु निकै रहस्यपूर्ण बनेको फोरम नेताहरू बताउँछन् । अंकगणितका हिसाबले पनि प्रदेश २ मा फोरम र नेकपाको बहुमत पुग्छ । अहिले राजपा सरकारमा हुँदा पनि फोरमसँग स्पष्ट बहुमत छ । फोरमबाट २९, राजपाबाट २५ र एक स्वतन्त्र सांसद गरी ५५ जनाको समर्थनमा प्रदेश २ को सरकार छ ।

राजपा सरकारबाट बाहिरिने र नेकपा सरकारमा जाने हो भने फोरम र नेकपाको ६२ जना सांसद हुने छन्, ३२ जना नेकपा सांसद रहेका छन् । यसले गर्दा केन्द्रमा जे समीकरण छ त्यही हुन सक्ने भन्दै राजपाका नेताहरू हच्किएका छन् । राजपाका कतिपय नेताहरूले प्रदेश २ को सरकारबाट बारिहनु पर्ने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने भन्दै नेतृत्वलाई दबाब दिन थालेका छन् । यस्तै, राजपाभित्रकै कतिपय नेताहरूले आफ्ना माग पूरा गराउन भए पनि सरकारमा जानुपर्ने र सत्तारुढ दललाई बिच्क्याउन नहुने बताउँदै आएका छन् । राजपाले फोरम सरकारमा गएर आफूहरूलाई धोका दिएको बताउँदै आएको छ ।

गठबन्धन गरेर अघि बढेको फोरम माग पूरा नहुँदै सरकारमा गएर गल्ती गरेको राजपाका नेताहरुको ठहर छ । सहकार्य गरेसँगै संघर्ष गर्दै चुनावमा पनि सँगै प्रतिस्पर्धा गरेको दललले धोका दिएको भन्दै राजपाले अव मधेसका जनतालाई साथमा लिने योजना बनाएको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लगायतको बिषयमा राजपाको २५ गतेको राजनीतिक समितिको बैठकबाट सबै निर्णय हुने बताएको छ । प्रदेश सरकारबाट बाहिरिने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा राजपाका नेताहरु रहेका छन् । आन्दोलनका समयमा मधेसी जनतालाई अधिकारका कुरा गरेर सडकमा ल्याउने र सत्ता पाएपछि अलपत्र छाड्ने काम फोरमले गरेको राजपाका नेताहरुले आरोप लगाउन थालेका छन् ।

राजपाले संविधान संशोधन, मधेश आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा गर्नुपर्ने र घाइतेको उपचार गर्नुपर्ने मुख्य माग सरकारले पुरा नगरेको भन्दै आन्दोलनको तयारी समेत गर्ने मुड बनाएका छन् ।

सम्बन्धित समाचार

बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
  • २०७५ जेष्ठ २१, ०९: ३०: ३३

नयाँ विकल्पबुटबल- लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । चार जनामध्ये तीनजना रुपन्देहीका र एकजना अर्घाखांचीका...

भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
  • २०७५ जेष्ठ २१, ०९: ३०: ३३

नयाँ विकल्प, काठमाडाैं- भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात्...

कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
  • २०७५ जेष्ठ २१, ०९: ३०: ३३

नयाँ विकल्प, काठमाडाैं-सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणले मृत्यु भएको छ। विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै आज...

भर्खरै

TOP