May 14, 2021, Friday

निष्ठाका धनी मणिबाबु

मोहन मैनाली

मणिराज उपाध्याय ! हामी मणिबाबु भन्थ्यौं । त्यतिबेलाको निजी क्षेत्रको सशक्त दैनिक पत्रिका दैनिक समाजका सम्पादक  । एउटा अनौठो संयोगले म मणिबाबु तथा दैनिक समाज र उहाँहरुसँगको सम्बन्धले पत्रकारिता पेशासँग नजिक हुन पुगेको थिएँ ।
पढ्न भनी काठमाडौं आएपछि पढाइका साथमा काम गर्दै जाँदा २०४३ सालमा डिल्लीबजारको ओरालोमा पुस्तक र पत्रिका पसल राख्न पुगेथेँ । यस पसलबाट म नेपालका अरु पत्रिकाका साथै दैनिक समाज पनि बेच्थेँ । अर्कातिर, दैनिक समाजलाई चाहिँ धेरैवटा नेपाली तथा विदेशी पत्रिका बेच्थेँ ।

दैनिक समाजसँगको यो कारोबार मेरा लागि एउटा सुखद संयोग थियो किनभने यसले मलाई आफूले रुचाएको पेशा अँगाल्ने अवसर दिलाइदियो । यसरी शुरु भएको दैनिक समाज र मेरो सम्बन्ध व्यापारिक सम्बन्धमा मात्र सीमित रहेन । यस सम्बन्धलाई विस्तार गरेर मैले दैनिक समाजसँग सम्पदकीय सम्बन्ध पनि कायम राखेँ ।

पत्रकारिता कर्मको नजिक पुग्न मैले यसअघि अलि घुमारो बाटो हिँड्नु परेको थियो । पत्रकारिता भन्ने पेशा हुन्छ भन्ने थाहा पाउने बित्तिकै मलाई यसप्रति रुचि जागेको थियो । काठमाडौंमा म बि.ए. मा भर्ना भएको क्याम्पस रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता पढाइ हुन्थ्यो तर आई.ए. मा पत्रकारिता नपढेको भनेर मलाई बि.ए. मा पत्रकारिता पढ्न दिएनन् । यस्तो अवस्थामा मसँग एउटा मात्र उपाय थियो—पत्रकारिता विषय मात्र पढ्न आफूले पढिसकेको तह अर्थात् आई.ए. मा भर्ना हुने –अनि अरु विषयमा बि.ए. सकेपछि पत्रकारिता विषय मात्र पढ्न बि.ए. मा भर्ना हुने) । मैले त्यसै गरेँ । यस पढाइले मलाई पत्रकारिताको सैद्धान्तिक ज्ञान त दिन्थ्यो । पत्रकारितामा सैद्धान्तिकभन्दा व्यवहारिक ज्ञान बढी महत्वपूर्ण हुन्छ । (अरु पेशामा पनि यस्तै होला) । दैनिक समाजसँगको कारोबारको संयोगले मलाई यो अवसर दियो ।

म दैनिक समाजमा अनौपचारिक रुपमा इन्र्टसिप थर्न थालेँ । कहिल स–साना समाचार बनाउथेँ । कहिले विदेशी सञ्चारमाध्यममा आएका र नेपाली पाठकलाई उपयोगी हुने फिचर अनुवाद गर्थे । ती छापिदाँ दङ्ग पर्थेँ । यी काम म नियमित रुपमा गर्दैनथँे । केही समयपछि म नियमित रुपमा इन्टर्नसिप गर्छु भनेर मणिबाबुलाई भनेँ । उहाँले त्यसका लागि अनुमति दिनुभयो । मलाई पहिलो काम दिनुभयो— यो मैले लेखेको सम्पदकीय पढ्नुस् र गल्ती भेट्नुभयो भने मलाई भन्नुहोस् । मणिबाबु म जन्मनुभन्दा धेरै पहिल्यै दैनिक पत्रिकाको सम्पादक भइसक्नुभएको थियो । त्यसयता एकदमै छोटो समयबाहेक उहाँ पत्रकारितामा, पत्रकारिता मात्रैमा हुनुहुन्थ्यो ।

पच्चीस वर्षको उमेरमा पत्रकारिता सिक्न गएको केटो मलाई उहाँले आफूले लेखेको सम्पदकीयमा भएका गल्ति औँल्याउन लगाउँदा म होस न हवास भएँ । मलाई त्यहाँबाट भागौँ जस्तो लाग्यो । तर पत्रकारिता सिक्ने चाहनाले मलाई त्यसो गर्न दिएन । उहाँले लेखेको सम्पादकीय मैले अर्धबेहोसीमै गल्ती भेट्ने कुरै थिएन ।

उहाँले मलाई सम्पदकीय किन पढ्न लगाउनु भएको हो भन्ने कुरा मैले केही समयसम्म बुझिनँ । जति अनुभव बढ्दै गयो उति कुरा बुझ्दै गएँ । त्यस दिन उहाँले मुखले नभनीकन (मुखले यसो भन्ने काम त क्याम्पसका कक्षामा प्राध्याापकले गर्ने हो) मेरो दिमागमा यस्तो सल्लाह छापिदिनु भएको रहेछ— जसले लेखेको भए पनि सम्पादन नगरिकन कुनै पनि सामग्री छाप्न नपठाउनु । त्यस दिन मैले पत्रकारितामा सम्पादनको महत्वका बारेमा ठूलो पाठ कहिल्यै नबिर्सनेगरी पढ्न पाएको रहेछु । अहिले जति बेला म कुनै लेख अथवा किताब लेखिसक्छु त्यति बेला मणिबाबुले मेरो दिमागमा छापिदिनुभएको त्यो सल्लाह ताजा भएर त्रुटिले भरिएका सामग्री छापिएको, अनलाइन भएको, प्रसार भएको जति बेला पाउँछु, त्यतिबेला मणिबाबुको त्यो सल्लाह सम्झन्छु ।

मणिबाबुको यो भनाइ म बारम्बार सम्झन्छु— राजाका विरोधमा लेख्ने कुरा दिसा बस्दा पनि नसोच्नू । उनी संविधानभन्दा माथि छन् । हाम्रो पत्रिका यो संविधानको अधिनमा रहेर दर्ता भएको हो । प्रमाण जुटाउन सक्नुहुन्छ भने बाँकी (मरिचमान, नवराज) कसैलाई नछाड्नू ।
त्यतिबेला निर्दलीय पञ्चायती व्यवस्थाको हैकम थियो । राजालाई कानून र संविधानले छुँट्दैनथ्याो । कुनै कुरा लेखेका आधारमा पत्रिका बन्द गराउने अधिकार सरकारी निकायलाई कानुनले दिएको थियो । त्यसैले मणिबाबुले आफ्ना रिपोर्टरलाई तिमी पूर्ण सम्पादकीय स्वतन्त्रता उपयोग गर्न पाउँदैनौं भनी सम्झाइदिनुहुन्थ्यो ।

मरिचमान सिंह त्यतिबेला प्रधानमन्त्री थिए । पत्रिका बन्द गराउन सक्ने अधिकार पाएका सरकारी कर्मचारीले उनको आदेश मान्नुपथ्र्यो । नवराज सुवेदी त्यतिबेलाको विधायिका अर्थात् राष्ट्रिय पञ्चायतका अध्यक्ष थिए । राष्ट्रिय पञ्चायत विरुद्धको मानहानी गरेको झूठा अभियोग लगाएर सम्पादकलाई उनी आफैँले जेल पठाउनसक्थे । मणिबाबुका विरुद्ध पनि यस्तो अभियोग उनले लगाइसकेका थिए ।

राजालाई नछुनू भन्ने उहाँको सम्पदकीय नीतिले त्यतिबेलाको सम्पदकीय स्वतन्त्रताको सीमा स्पष्ट गरेको थियो । अनि प्रमाण जुटाउन सकेका खण्डमा मरिचमान र नवराजलाई पनि नछोड्नू भन्ने उहाँको सम्पादकीय नीतिले प्रेस स्वतन्त्रताको रक्षा गरेको थियो । अहिले राजा छैनन् । मरिचमान र नवराज जस्ता निरङ्कूश कार्यकारी र विधायिका प्रमुख पनि छैनन् । आजभोलि धेरैलाई लाग्न थालेको छ— निरङ्कुशतासँगै मणिबाबुको जस्तो स्पष्ट सम्पदकीय नीति पनि मासियो कि क्यो हो– ?

यस्तो किन लागेको हो भने धेरै सम्पदक अहिले पनि रिपोर्टरलाई “पूर्ण सम्पदकीय स्वतन्त्रता छ” भनेर ढाँट्छन् । सम्पादकको कुरा पत्याएर जब रिपोर्टरले सामग्री तयार गर्छ तब स्टोरीमा हुँदै नभएका अनेक दोष देखाएर सम्पादकले त्यो स्टोरी छाप्दैनन्÷प्रसार गर्दैनन् । यसो गर्नु सम्पादक, रिपोर्टर र प्रकाशन÷प्रसारण गृहको समय र स्रोत साधन बेकारमा खर्च गर्नु हो । रिपोर्टरलाई रिङ्गाउनु हो । मणिबाबु हुनुभएको भए उहाँले सम्पादकहरुलाई यस्तो भन्दिए हुन्थ्यो जस्तो लाग्छ—जस (राजनीतिक दल, व्यापारी, उद्योगी, दूतावास, राष्ट्रिय तथा गैरसरकारी संस्था, बहुराष्ट्रिय संस्था, तपाईको नातेदार आदि) ले गरेका गलत काम तपाईको सञ्चारमाध्यममा छाप्न÷प्रसार गर्न मिल्दैन, तिनका बारेमा लेख्ने कुरा सोच्दै नसोच भनी आफ्नो सम्पदकीय टोलीलाई स्पष्ट रुपमा बताइदिनू ।

“मैले यसो भनेको कसले सुन्छ र ?” मणिबाबु हुनुभएको भए उहाँले मलाई यस्तो सोध्नुहुन्थ्यो होला । मलाई राम्रोसँग थाहा छ, मणिबाबुलाई सल्लाह दिने, सम्झाउने हैसियतको मान्छे होइन म । तर यति चाहिँ नभनी सक्दिनथेँ होला — “सुने पनि नसुने पनि यस्तो कुरा भन्न चाहिँ छाड्नु हुँदैन, मणिबाबु । तपाईले गरेभन्दा भिन्न परिस्थितिमा पत्रकारिता गरेका आधारमा यसो भनेको हुँ । मैले सिकाएको केटो मैलाई सिकाउने भइस्’ नभनी दिनुहोला ।”

अरुले नगरेका वा कम मात्रामा गरेका कुरा सिकारुले नै गर्छु भन्यो भने पनि मणिबाबु प्रोत्साहन दिनुहुन्थ्यो । पत्रकारिता सिक्दै गर्दा जीवनाथ खनाल र मलाई नेपालमा समातिएका तस्करी भएर आउने सुन सम्बन्धी समाचार लेख्ने सुर चल्यो । हामीले नयाँ कुरा खोज्ने हिम्मत गरेका थिएनौं । महिनाभर छापिएका यस सम्बन्धी समाचारका आधारमा यसले÷अज्ञात व्यक्तिले ल्याएको यति सुन समातियो, यति मानिस समातिए भनी हरेक महिना एक्मुष्ट एकै ठाउँमा दिने र वर्षको अन्त्यमा वर्षभरिको जानकारी दिने ।

मणिबाबुको प्रोत्साहन तथा सम्पादकीय मार्गनिर्देशनले गर्दा हामीले १२ वटा यस्ता समाचार तयार गरेका थियाँै जुन दैनिक समाजको पहिलो पृष्ठमा छापिए । त्यस्तै नेपाली पत्रपत्रिकाभन्दा बढी भारतीय पत्रपत्रिकामा खर्च गर्नेहरुको संख्या पनि बाक्लै भएको महसुस भएकाले पत्रकार जीवनाथ खनाल र मैले नेपालमा भित्रिने विदेशी पत्रपत्रिकामध्ये भारतीय र अन्य देशका पत्रपत्रिकाको परिमाण र खर्चको सामान्य सर्वेक्षण प्रतिवेदन तयार गरेर दैनिक समाजमा छापेका थियौँ ।

मणिबाबुले पत्रारितालाई व्यक्तिगत स्वार्थका लागि उपयोग गर्नु भएन । यसलाई धन कमाउने वा पत्रकारिताबाहेकका पद कमाउने साधनका रुपमा लिनुभएन । उहाँको यो आदर्श सबै पत्रकारले सम्झनयोग्य कुरो हो । २०४७ सालमा म दैनिक समाजको रिपोर्टर भएँ । यसबीचमा मणिबाबुको निर्देशनमा पत्रकारितामा थप अनुभव र दक्षता हासिल गरेँ । त्यसका आदर्शबारेमा थाहा पाएँ । आफ्ना संवाददाताको मनोबल उच्च राख्न उहाँ जहिल्यै पनि सतर्क रहनुहुन्थ्यो । कसैले बदमासी गरेका विषयमा, धेरै जानकारी भएका गम्भीर खालका समाचार लेख्दा कहिलेकाहिँ एकाध सानातिना गल्ती हुन्छन् नै ।

जसको समाचार बनाइएको छ ती मानिस समाचारमा भएका ती सामान्य गल्ती–कमजोरीका आधारमा रिपोर्टरको सातो खान पत्रिकाको कार्यालयमा आइपुग्थे । मणिबाबु उनीहरुका अगाडि ती सानातिना गल्ती–कमजोरीको जिम्मा आफूले लिएर समाचारदाताको रक्षा गर्नुहुन्थ्यो । झगडा गर्न आएको मानिस कार्यालयबाट हिँडेपछि समाचारमा भएका गल्ती कमजोरीको समिक्षा गरी फेरि त्यस्ता गल्ती दोहोरिन नदिन उपाय सुझाउनुहुन्थ्यो । (साभारः मणिराज उपाध्यायद्वारा लिखित पत्रकारिताका सतिसाल नामक पुस्तकबाट)

सम्बन्धित समाचार

व्यापारीलाई पोष्न खोपमा भ्रष्टाचार गर्दा कोरोना संक्रमितले ज्यान गुमाउनु पर्यो, ओलीले राजिनामा दिनु पर्छ
व्यापारीलाई पोष्न खोपमा भ्रष्टाचार गर्दा कोरोना संक्रमितले ज्यान गुमाउनु पर्यो, ओलीले राजिनामा दिनु पर्छ
  • २०७५ जेष्ठ २८, ०९: ३८: ३९

प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा प्रस्तुत गर्नु भएको विश्वासको मत लिने प्रस्तावको विषयमा आफ्नो मत राख्दै प्रमुख प्रतिपक्षी दलका नेता...

कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
  • २०७५ जेष्ठ २८, ०९: ३८: ३९

१.कोभिड—१९को दोस्रो छालले नेपाललाई पनि छोप्यो भने हुन्छ । विश्वका देशहरुमा कोरोनाका भाइरसहरुले विभिन्न रुप लिएर विस्तारित हुन थालेका समाचारहरुले...

पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
  • २०७५ जेष्ठ २८, ०९: ३८: ३९

१. नेपालमा प्रजातन्त्रको स्थापना, पुनस्र्थापना र फेरि पुनस्र्थापनाका घटनाहरुको कडीमै २०६३साल वैशाख ११ गते आएको थियो, जुन दिन जनताको आन्दोलनको...

भर्खरै

TOP