May 14, 2021, Friday

“ट्रम्प र उनबीच ऐतिहासिक वार्ता सम्पन्न”

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जङ–उनसँगको शिखरवार्तामा ठोस प्रतिबद्धताहरू नभएको भनी आलोचना भैरहेको भए तापनि त्यसलाई एकदमै ठूलो सफलता भनेका छन् । शिखर बैठकपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले दुई नेताबीच हस्ताक्षर भएको दस्तावेजमा उल्लेख नभएका विवरणहरूका बारेमा समेत जानकारी दिएका छन् । उनले दक्षिण कोरियासँग मिलेर हुँदै आएको संयुक्त सैनिक अभ्यासहरु बन्द गर्ने बताएका छन, जस्लाई अमेरिकाले दिएको ठूलो छुटका रुपमा हेरिएको छ ।

बदलामा उत्तर कोरियाली नेता किमले आफ्नो देशको एक प्रमुख क्षेप्यास्त्र इञ्जिन परीक्षणस्थल नष्ट गर्ने वाचा गरेको उनले बताए । तर उनका अनुसार अमेरिकी सैन्यबल तत्कालका लागि दक्षिण कोरियामै रहनेछ । ट्रम्पले आफू र किम एउटा विस्तृत सहमतिमा पुगेको र अमेरिकाले केही पनि नगुमाएको बताएका छन् । उनले उत्तर कोरिया विरुद्धका प्रतिबन्धहरू हाललाई कायमै राखिने पनि बताए। सिंगापुरको एक पाँच तारे होटेलमा शिखर बैठक आयोजना गरिएको थियो । बैठकपूर्व अमेरिका र उत्तर कोरियाको राष्ट्रिय झण्डा पृष्ठभूमिमा राखेर दुवै नेताले मुस्कुराउँदै हात मिलाएका थिए ।

लगत्तै ती दुई नेताबीच एक्लाएक्लै वार्ता भयो। अनि दुवै देशका अधिकारीहरू सम्मिलित वार्ता भएको थियो । दुवै नेताका निम्ति उक्त बैठकले ठूलो चुनौती र विशाल अवसर दुवै प्रदान गरेको छ। उत्तर कोरियाले बैठकलाई आफ्नो देशलाई वैधता दिलाई विश्व मञ्चमा सामान्य अवस्थामा फर्काउने अवसरको रूपमा लिएको थियो । ट्रम्पको हकमा यदी बैठक सफल ठहरिए उनीअघिका कुनै अमेरिकी राष्ट्रपतिले गर्न नसकेको काम गरेको श्रेय उनलाई मिल्ने थियो । मंगलवारको सहमतिमा उत्तर कोरियाली नेता किमले कोरियाली प्रायस्द्वीपको पूर्ण परमाणु निरस्त्रीकरणप्रति उनको अविचलित प्रतिबद्धता दोर्होयाएका छन् । तर पर्यवेक्षकहरूले चाहिँ सो सहमतिपत्रमा खासगरी कसरी निरस्त्रीकरण हुने भन्ने बारे ठोस विषय नरहेको भनी आलोचना गरेका छन् ।

एक अर्काको देश भ्रमण गर्ने निम्तो
उत्तर कोरियाको सरकारी समाचार संस्थाले वाशिङ्टनको भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएको निम्तो नेता किम जङ–उनले स्वीकार गरेको जनाएको छ । सिङ्गापुरमा मङ्गलवार दुई नेताबीच भएको शिखर बैठकका बेला ट्रम्पले भ्रमणको निम्तो दिएका थिए । किमले पनि प्योङ्याङको भ्रमण गर्न ट्रम्पलाई निम्तो दिएको उक्त समाचार संस्थाले जनाएको छ ।

तर केही आलोचकहरू भने त्यो उत्तर कोरियाली नेताका लागि प्रचारबाजीको अर्को मौका हुने आशंका उत्पन्न गरेको छन् । दुवै नेताले प्रसन्नतापूर्वक एकअर्काको निम्तो स्वीकारेको समाचारसंस्था केसीएनएले जनाएको छ । शिखर वार्तापछि पहिलो पटक प्रकाशित किमको प्रतिक्रियामा एकअर्कालाई उत्तेजित बनाउने र शत्रुतापूर्ण देखिने किसिमका सैन्य गतिविधि तत्कालै रोकिनुपर्ने उल्लेख गरिएको छ । उनले दुवै देशले वैमनस्य उत्पन्न नगराउने प्रतिबद्धता जनाउनुपर्ने र त्यसलाई सुनिश्चित गर्न कानुनी र संरचनागत कदमहरू चाल्नुपर्ने धारणा पनि राखेको केसीएनएले जनाएको छ ।

यद्यपि अमेरिकी सेनासँग आफ्नो सेनाले गर्दै आएको संयुक्त अभ्यास रद्द गर्ने राष्ट्रपति ट्रम्पको घोषणालाई दक्षिण कोरियाले आश्चर्यजनक रूपमा लिएको देखिन्छ । वार्ताले उत्तर कोरियाविरूद्धको प्रतिबन्ध खुकुलो पार्न बाटो खोल्न सक्ने चीनले प्रतिक्रिया दिएको छ । मङ्गलवारको सहमतिपत्रमा निरस्त्रीकरणबारे आधापृष्ठ लामो प्रतिबद्धता जनाइएको छ । अस्त्रहरू त्यागेको बदलामा उत्तर कोरियाको सुरक्षाको ग्यारेन्टी गरिने उल्लेख गरिएको छ ।

उत्तर कोरिया परमाणु खतराका रुपमा नरहने ट्रम्पको भनाई
ऐतिहासिक भनिएको वार्तापछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरिया अब परमाणु खतराको रूपमा नरहेको घोषणा गरेका हुन् । किम जङ उनसँगको शिखर बैठकपश्चात् उनले ट्वीट गर्दै अब सबैले सुरक्षित अनुभव गर्न सक्ने बताएका छन् । गत साता मङ्गलवार भएको बैठकको उपलब्धीबारे कतिपय पूर्व अमेरिकी कूटनीतिज्ञहरूले आशंका व्यक्त गरेका छन् ।

कैयौं कूटनीतिज्ञ तथा राष्ट्रपति ट्रम्पका विपक्षी राजनीतिज्ञहरूले उक्त बैठकमा भएको सहमतिले उत्तर कोरियाको अस्त्रभण्डार कम गराउनेबारे आशंका व्यक्त गरेपछि ट्रम्पले उक्त प्रतिक्रिया दिएका हुन् । खासगरी उनले दक्षिण कोरियासँग हुने गरेको संयुक्त सैन्य अभ्यास तत्कालका लागि रद्द गरिदिएपछि पूर्वी एसियामा विविध आशंका पैदा भएका थिए । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ सोही विषयबारे छलफल गर्न दक्षिण कोरियामा पुगेका थिए ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आफ्ना सहयोगी देशहरूलाई उसको सुरक्षा प्रतिबद्धताहरूमा कुनै विचलन नआउने भनी आश्वस्त पार्ने प्रयास गरिरहेको छ । ती सैन्य अभ्यास रद्द गर्ने घोषणा गरेर ट्रम्पले उत्तर कोरियाका निम्ति ठूलो छुट दिएको तर आफ्ना क्षेत्रीय सहयोगी राष्ट्रहरूलाई आश्चर्यचकित पारिदिएको ठानिएको छ ।

विश्वभरिबाट सकारात्मक प्रतिक्रिया
राष्ट्रपति ट्रम्प तथा उत्तर कोरियाली नेता किमबीच भएको शिखरबैठकपछि अब संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियामाथि लगाएका प्रतिबन्धहरू खुकुलो पार्ने समय आएको हुनसक्ने चिनियाँ सरकारले जनाएको छ । उत्तर कोरियाको एक मात्र प्रमुख कूटनीतिक तथा आर्थिक साझेदार चीनले किम तथा ट्रम्पबीच भएको शिखरबैठकले नयाँ इतिहासको रचना गरेको प्रतिक्रिया दिएको छ । कोरियाली प्रायस्द्वीपमा परमाणु निरस्त्रीकरण तथा शान्ति स्थापना गर्ने उद्देश्यका साथ आयोजना गरिएको बैठकलाई विश्वभरिबाट चासो र उत्सुकतापूर्वक हेरिँदै त्यसबारे विभिन्न प्रतिक्रियाहरू व्यक्त गरिएका छन् ।

यसै वर्षको आरम्भमा किमसँग प्रत्यक्ष भेटवार्ता गरेका दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले, उनकै शब्दमा, दुई कोरिया तथा अमेरिकाले शान्ति तथा सहयोगको नयाँ इतिहास लेख्ने बताएका छन् । शीतयुद्धको बाँकी रहेको अवशेष पनि सिङ्गापुरमा भएको शिखरभेटले अन्त्य गराइदिने मूनले बताएका छन् । जापानी प्रधानमन्त्री शिन्जो आबेले अमेरिकी राष्ट्रपति ट्रम्पको नेतृत्व तथा प्रयासको प्रशंसा गरेका छन् । उनले परमाणु निरस्त्रीकरणप्रति उत्तर कोरियाको प्रतिबद्धतालाई समर्थन गर्दै त्यसलाई उत्तर कोरियासम्बन्धी समस्याहरूको विस्तृत समाधानतर्फको एक कदम भनेका छन् ।

तर रुसले चाहिँ विस्तृत विवरणहरू आउन बाँकी रहेको भन्दै सावधानीपूर्वक प्रतिक्रिया दिएको छ । दुई नेताबीच भेट हुनु मात्र पनि सकारात्मक रहेको रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले बताए । इरानले भने उत्तर कोरियालाई ट्रम्पको विश्वास गरिनहाल्न सुझाव दिएको छ । इरानी सरकारका प्रवक्ता मोहम्मद बाकेर नौबख्तले उत्तर कोरियालाई ट्रम्पको विश्वास नगर्न चेतावनी दिँदै उनी अमेरिकाका विद्वान प्रतिनिधि नभएको बताए । –बीबीसीबाट

सम्बन्धित समाचार

मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
  • २०७५ असार ४, १०: २१: १३

नयाँ विकल्प, एजेन्सी- भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा उपचाररत् २२ जनाको मृत्यु भएको छ। नासिक...

फर्जी मतदाता बनाएर चुनाव गराउन खाेजेपछि एनआरएन अमेरिका विघटन गर्ने आईसिसिको चेतावनी
फर्जी मतदाता बनाएर चुनाव गराउन खाेजेपछि एनआरएन अमेरिका विघटन गर्ने आईसिसिको चेतावनी
  • २०७५ असार ४, १०: २१: १३

नयाँ बिकल्प,काठमाडौं –गैरआवासीय नेपाली संघ राष्ट्रिय कार्यसमिति अमेरिका फेरि अप्रमाणित मतदाता तयार गरी जवर्जस्ती चुनाव गराउन खोजेपछि विघटनको संघारमा पुगेको...

महामारीबिरुद्ध लड्न भारतले ८० बढी देशमा खोप दिएको दाबी
महामारीबिरुद्ध लड्न भारतले ८० बढी देशमा खोप दिएको दाबी
  • २०७५ असार ४, १०: २१: १३

नयाँ बिकल्प, काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणको बिरुद्ध भारत सरकारले विश्वका सिंगो समुदायलाई खोप बितरण गरेको...

भर्खरै

TOP