May 14, 2021, Friday

कर्मशील कांग्रेसको प्रश्न

पुरुषोत्तम दाहाल

नेपाली कांग्रेसका वरिष्ठ नेता नेता रामचन्द्र पौडेलले कर्मशील कांग्रेसको अवधारणा सार्वजनिक गरेका छन् । नेपाली राजनीतिमा यो नयां विषय नभए पनि नेपाली कांग्रेसकालागि यो विषय नितान्त नयां हुनपुगेको छ । वि.सं. ०१७ मा लोकतन्त्रको प्रतिसंहरण भएपछिका सबै दिनहरुमा नेपाली कांग्रेसको केन्द्रमा आन्दोलन , संघर्ष जस्ता विषयहरु प्राथमिकतामा परे ।

०४६ को परिवर्तनले कांग्रेसलाई सत्ताको सिढी उक्लदै र ओर्लदैमा ठिक्क भयो । ०४७ यताका अठ्ठाइस वर्ष मध्ये नेपाली कांग्रेसको नेतृत्वमा पन्ध्र वर्षहरु विते । अर्थात् परिवर्तनका अठ्ठाइस वर्षहरुको अधिकांश भाग कांग्रेसको सत्ता आरोह र वांकी तेह्र वर्षहरु अवरोहमा सकियो ।

तेह्र वर्ष मध्ये मनमोहन अधिकारीको समय समेत जोड्दा साम्यवादी दलहरुले करीव नौ वर्ष प्रत्यक्ष शासन गरेका छन् । वांकी समय गठवन्धन वा राजाको नेतृत्व रहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका १२ वर्ष मध्ये सबै भन्दा बढी अर्थात् आठ वर्ष साम्यवादी दलको नेतृत्वले शासन गरिसकेको अवस्था छ ।

समयसमयमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेससंगको गठवन्धनमा समेत साम्यवादीहरु सरकारमा समावेश थिए । निर्दलीय पञ्चायतकालदेखि नै साम्यवादी दलहरुले कर्मशील कार्यकर्ताको अवधारणालाई निरन्तरता दिदै आएका हुन् । उनीहरुको दोहोरो रणनीति थियो । एकथरी प्रत्यक्ष राजनीतिमा देखिन्थे र अर्कोथरी विद्यालय स्थापना र सञ्चालन, स्टेशनरी, शिक्षण, औषधालय, वन्दव्यापार, सरकारी सेवा, पत्रकारिता आदि विभिन्न आय आर्जनमा सक्रिय थिए ।

तिनीहरु अधिकांश भूमिगत रुपमा पार्टीका सदस्यहरु हुन्थे । आवरणमा अनेक गूटमा विभाजित साम्यवादी दलहरुलाई निर्दलीयकालमा दोहोरो, तेहोरो रणनीति प्रयोग गर्नु सहज भयो । सर्वत्र उनीहरुको पकड जम्दै गयो । विपी कोइरालाले निर्वासन परित्यागको लगत्तै ०३३ पछि राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको भाष्य गर्ने सन्दर्भमा डीएन अदितको सूत्रवारे त्यसै व्याख्या गर्नुभएको थिएन । इण्डोनेशियामा सत्ता र समाजका हरेक अवयवमा घुसेर कसरी साम्यवादीहरुले सत्ताकव्जाको रणनीति वनाएका थिए भन्ने इतिहासको पाठलाई विपीले नेपाली समाजमा पढाउने काम गर्नुभएको थियो ।

नेपाली साम्यवादीहरुमा कर्मविरोधी विचार त माओवादी हिंसाले मात्र प्रवद्र्धन र विस्तार गरेको हो । माओवादी हिंसाकालमा अरुका भकारीको धानचामल, अरुका करेसा वारीको तिहुन्, अरुको कमाइको धनसम्पत्ति, अरुका पशुपंक्षि, लुटेर, कुटेर, काटेर खान सिकाउने काम हुनपुग्यो । यद्यपि कतिपय किसानका जग्गाजमीन लुट्ने र त्यसमा आफ्नो स्वामित्व स्थापना गर्न कृषिको नारा लगाइएको भए पनि त्यो सफल हुनसकेन । वस्तुतः माओवादी हिंसाले साम्यवादीहरुको ऊर्जाशील क्षमतालाई धराशायी वनाउदै निरर्थक स्वप्नशील नयां सामन्ती वर्गको निर्माण गर्न पुग्यो ।

०६२ को शान्तिपूर्ण संयुक्त जनआन्दोलनको परिणामले माओवादीलाई पनि क्रमशः उद्यमशील वनाउने क्रमसंग जोड्ने काम गरेको छ । तर माओवादीले ०५२ देखि देखाएको वाटोमा अझै पनि केही समूह सक्रिय देखिन्छन् । तिनीहरु पनि ढिलोचांडो मूलधारमा जोडिनु अनिवार्य छ । अहिले नेपालको शासकीय सत्तामा मात्र होइन राज्यको विकासका आधरशीला मानिने हरेक क्षेत्रमा साम्यवादी कार्यकर्ताहरुको पहूंच र पकड देखिएको छ । शिक्षा, उद्योग, व्यापार, निजी विद्यालय, निजी स्वास्थ्य संस्थाहरु, निजी सञ्चारमाध्यमहरु, सहकारी, यातायात व्यवसाय, निर्माण व्यवसाय, वैदेशिक रोजगार , विद्युतगृह, साहित्य र कलाको क्षेत्रमा समेत साम्यवादी विचार पक्षधरहरुको प्रभाव व्यापक छ । राष्ट्रको मूल आर्थिक आधारहरुलाई उनीहरुले यसरी आफ्नो पक्षमा गराउनुको मुख्य कारण भनेको उनीहरुको कर्मशील योजना र सक्रियता नै हो ।

उदारीकरण र निजीकरणको नीति सहित सहकारी अभियानलाई नेपाली कांग्रेसले आरम्भ गरे पनि त्यसबाट सर्वाधिक लाभ लिने सामथ्र्य साम्यवादीहरुले देखाउनुलाई सामान्यरुपमा हेरिनु गलत हुने छ । यस सत्यलाई नेपाली कांग्रेसले कहिल्यै पनि स्वीकार गरेको देखिदैन । कांग्रेस कहिले निर्दलीय पञ्चायतसंग कहिले राजासंग, कहिले साम्यवादीहरुसंग र पछिल्लो चरणमा आफूआफैमा लड्नमा नै व्यस्त रह्यो । ०७४ को आम निर्वाचन पछि त नेपाली कांग्रेस कुहिरोमा हराएको काग जस्तो भएको छ । युद्धमा घाइते भएर पराजित हुन लागेको सेनापतिले हतास सैनिकहरुलाई पुनर्संगठित गराउने काम गर्छ ।

उसको प्रयत्न पुनः युद्ध जित्नमा हुने छ । तर नेपाली कांग्रेसको नेतृत्वमा वसेका सबै तहका नेताहरु अहिले आफ्ना घाइते कार्यकर्ताहरुलाई डिस्पर्स गर्नमा सक्रिय देखिन्छन् । उनीहरु न संगठित हुन प्रेरित गर्दैछन् न त योजनाबद्धरुपमा कर्मशील हुन सिकाउदैछन् न कर्मशील हुने प्रयासहरुलाई उनीहरुको कुनै सहयोग, समर्थन र सहानुभूति नै देखिन्छ । आजको कांग्रेसको दुर्भाग्य यही नै हो । महात्मा गान्धीले आफूलाई निरन्तर कर्मशील वनाउन चर्खा चलाउने गर्थे भन्ने सत्यलाई कांग्रेसका नेता र पार्टीका सदस्यहरुले वुझिरहेका छैनन् ।
यतिखेर नेपाली कांग्रेस चुनौतीहरुको चांड.मा वसेको छ ।

कांग्रेसका सामु असरल्ल कामहरु छन् । प्रचण्ड बहुमतको सरकारले समाजवादको नारा दिन लागेको छ । लोकतन्त्रवादीहरुले खोजेको समाजवाद र साम्यवादीहरुले खोजेको समाजवादमा तात्विक फरक छ । साम्यवादीहरुको राजनीतिक समाजवाद हो भने लोकतन्त्रवादीहरुको आर्थिक सामाजिक रुपान्तरणको विषय हो समाजवाद । प्रधानमन्त्रीले अहिले समाजवाद ल्याउने विचार प्रक्षेपण गर्दा नेपाली कांग्रेसले यस विषयलाई स्पष्ट गर्नुजरुरी छ ।

मानव अधिकारको प्रश्न गंभीर भएर उठ्न लागको छ । गंगामाया र डा. गोविन्द केसीप्रतिको व्यवहारले सत्ताले विवेक गुमाएको अनभूत गराएको छ । यद्यपि डा. केसीका कतिपय कार्यशैली र मुद्दाहरुमा यो पंक्तिकारको स्पष्ट असहमति छ । तर उनको आफूलाई प्रस्तुत गर्ने अधिकारमाथि निषेध गर्नु मानव अधिकार विरुद्ध छ भन्नेमा कुनै द्विविधा छैन । गंगामाया नेपाली शासनको विवेकहीनता र अलोकतान्त्रिक चरित्रले देखाएको निर्मम आचरण विरुद्ध मानक हुन पुगेकी छिन् । आन्दोलन वा विप्लवका समयमा संवेदनशील क्षेत्रहरुलाई सुरक्षित गर्न निषेधको वैधानिक आदेश हुने गर्छ ।

त्यसको पनि कार्यविधि हुन्छ । अहिले सरकार विरोध र असहमतिलाई रोक्न सर्वत्र निषेधको नियम वसाल्दै छ । लोकतन्त्रको मेरुदण्ड स्वतन्त्रता हो र स्वतन्त्रताको मेरुदण्ड अभिव्यक्ति स्वतन्त्रता हो । अभिव्यक्ति स्वतन्त्रताको संयन्त्र स्वतन्त्र प्रेस हो । यसमाथि अंकुश लगाउन सरकार योजनाबद्ध सक्रिय देखिन्छ । उदार अर्थतन्त्रको प्रयोगमा अभ्यस्त समाजलाई नियन्त्रण गर्न खोज्दा अहिले सेयरवजारदेखि साग र आलुकाउलीमासम्म नकारात्मक प्रभाव परिरहेको छ । पानी जहाज र रेलका गफ सुनिरहेका राजधानीवासीहरु हिलाम्य सडकदहमा चोवलिदै गन्तव्यमा उन्मुख हुन विवश छन् ।

विकासे सबै गफ हावामा परिणत हुदैछन् । के नेपाली कांग्रेस यस्तो समयमा कर्महीन भएर वस्नु उचित हुन्छ ? प्रमुख प्रतिपक्ष संख्या होइन , मान्यता र शक्ति हो । लोकतन्त्रमा प्रतिपक्ष सरकारसंगै तर सरकारका विपक्षमा सक्रिय सिद्धान्त र आचरण हो । सत्ता लिने रणनीति र योजनाको खोजी कुनै समयमा प्रतिपक्षका निम्ति सही हुनसक्ला तर सदा त्यो सत्य हुदैन । कांग्रेसकालागि अहिले सत्ताको खोजि सही हुदैन, तर सत्तालाई सुधार गर्ने र सही बाटो देखाउनु त उसकोे विपक्षीय धर्म नै हो । किन यता सक्रिय देखिदैन कांग्रेस ?

रामचन्द्र पौडेलले समयको चापलाई विस्तारो महसूस गर्दै कर्मशील कांग्रेसको सूत्रलाई प्रस्तुत गरेका छन् । तर यो कर्मशील कांग्रेस कसरी निर्माण गर्ने त्यसको कुनै खाका देखिदैन । नेपाली कांग्रेसमा झोला वोकेर चन्दा उठाउन हिड्ने, वाटो खर्च वा पढाइ खर्च माग्दै नेताका घरमा पुग्ने, जुलूस र नारामा सीमित जमातलाई पार्टीको शक्ति मान्ने प्रचलन छ । अथवा झोला वोकेर नेताहरुको महलका ढोका कुर्ने र नेताहरु समेतलाई आफ्नो महलमा स्वागत गर्नेहरुलाई बढी विस्वास गर्ने चलन छ ।

कर्मशील अध्यवसाय, व्यवसाय,व्यक्तिगत योगदान, क्षमता, र इमान्दारिता भन्दा पृथक चरित्रपात्र नातानाला र आनुवंशिक क्षमतालाई प्रश्रय दिने काम भएको छ । कर्मशीलहरुलाई सहयोग गर्नुको वदला अधिकांश समर्थ कांग्रेसकर्मीहरु मदिरामत्त हुनुमा गौरवबोध गरिरहेको देखिन्छ । उनीहरुका वैधअवैध आयहरुको ठूलो हिस्सा स्वजनको उन्नति वा व्यक्तिगत विलासी जीवनमा प्रयोग भइरहेको छ । त्यस आयलाई अस्पताल, विद्यालय, कृषि विकास, उद्यमशीलता, विपन्न र सीमान्तीकृतहरुको हीत, पार्टी आबद्ध निम्छराहरुको उन्नति, साहित्यिक सांस्कृतिक उत्थान, सञ्चार सम्बन्ध ,समुदायकालागि विकास निर्माणमा लागेको त्यति देखिदैन । शिक्षा क्षेत्रमा, निर्माण व्यवसाय र स्वास्थ्य क्षेत्रमा अनि सञ्चार क्षेत्रमा केही आफ्नै क्षमतामा भर गर्ने लोकतन्त्रवादीहरु छन् ।

उनीहरुलाई कांग्रेसले उपयोग वाहेक केही गरिरहेको देखिदैन । संस्थागत रुपमा ती कर्मशीलहरुलाई प्रोत्साहन गर्ने र संगठित गर्ने नीति कांग्रेसले वनाएको छैन , व्यवहार त परको कुरा हो । उद्यमशीलतालाई निकै वर्ष अगाडीदेखि आन्दोलनका रुपमा विकास गरेका पर्वतका कांग्रेस नेता ऋषिकेश तिवारी एक्लो वृहस्पति जस्ता थिए । उनले कृषि उत्पादनलाई उद्योगमा परिणत गर्ने अभियाननै चलाएका छन् ।
निर्दलीय पञ्चायतकालमा स्वयं रामचन्द्र पौडेल पनि कफिखेती गर्दै थिए । सत्ताको धारमा उभिनासाथ त्यो त्यसै हराएको छ ।

के नेपाली कांग्रेसको युवापुस्ता नेतृत्वको सिढी चढ्ने सपनासंग कर्मशीलतालाई आफ्नो आधार बनाउनसक्छ ? एकपटक युवाप्रतिभा गगन थापाले सुरु गरेको वाखा्र खेती कता हरायो ? त्यो राम्रो कामको निरन्तरता किन हुनसकेन ? अवका दिनमा कर्मशील कांग्रेसको विषयलाई प्रशिक्षणसंग जोड्नु जरुरी छ ।

केही दिन पहिले उपसभापतिका रुपमा पदेन प्रशिक्षण प्रतिष्ठानको प्रमुख समेत हुनपुगेका विमलेन्द्र निधिका लागि यो विषय महत्वको हुनसक्छ । विग्रिएको पार्टी अनुशासन, कमजोेर प्रशिक्षण, समुदायमा भुसको आगो जस्तो भएर रहेको द्वेषका झिल्काहरु र देशभर पुगेको गूटगत चिरालाई न्यून गर्नुमात्र होइन कर्मशील कांग्रेस निर्माण गर्ने योजना समेत प्रशिक्षणको प्रमुखका हैसियतमा निधिको जिम्मेदारीसंग जोडिएको देखिन्छ । तर सिंगो कांग्रेससंग दृष्टिकोण, दृढईच्छाशक्ति र सामूहिक क्रियाशीलता भएन भने कर्मशील कांग्रेस क्षणिक नारामा सीमित हुने छ । (व्ुानपा १० कपन नारायणचोक)

सम्बन्धित समाचार

व्यापारीलाई पोष्न खोपमा भ्रष्टाचार गर्दा कोरोना संक्रमितले ज्यान गुमाउनु पर्यो, ओलीले राजिनामा दिनु पर्छ
व्यापारीलाई पोष्न खोपमा भ्रष्टाचार गर्दा कोरोना संक्रमितले ज्यान गुमाउनु पर्यो, ओलीले राजिनामा दिनु पर्छ
  • २०७५ असार २५, ०९: ५५: ०१

प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा प्रस्तुत गर्नु भएको विश्वासको मत लिने प्रस्तावको विषयमा आफ्नो मत राख्दै प्रमुख प्रतिपक्षी दलका नेता...

कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
कोभिड—१९को विस्तार र स्वतन्त्र प्रेसको भूमिका
  • २०७५ असार २५, ०९: ५५: ०१

१.कोभिड—१९को दोस्रो छालले नेपाललाई पनि छोप्यो भने हुन्छ । विश्वका देशहरुमा कोरोनाका भाइरसहरुले विभिन्न रुप लिएर विस्तारित हुन थालेका समाचारहरुले...

पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
पशुपति नाथको शरणमा नै पुगेका हौँ त ?
  • २०७५ असार २५, ०९: ५५: ०१

१. नेपालमा प्रजातन्त्रको स्थापना, पुनस्र्थापना र फेरि पुनस्र्थापनाका घटनाहरुको कडीमै २०६३साल वैशाख ११ गते आएको थियो, जुन दिन जनताको आन्दोलनको...

भर्खरै

TOP