May 14, 2021, Friday

लोकप्रिय हुन भाषण र उद्घाटनमा मन्त्रीहरुको होडबाजी

आफ्नै मन्त्रीहरुसँग ओली असन्तुष्ट

काठमाडौं । दुई तिहाई बढी बहुमतको सरकारको नेतृत्व गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई उनकै मन्त्रिमण्डलको कुनै पनि सदस्यले पुरा गर्नको लागि सिन्को समेत भाँच्न नसकेपछि ओली यतिवेला तनावग्रस्त छन् ।

ओली नेतृत्वको सरकारका मन्त्रीहरु कि त बद्नाम या त गुमनाम भएपछि ओली एकपछि अर्को गर्दै मन्त्रीहरुसँग रुष्ट हुन थालेका छन् । कतिपय ओलीका विश्वास पात्र भनिएका मन्त्री त आफ्नै सांसदद्वारा बढी आलोचित बनेका छन् ।

ओली सरकारका कोही मन्त्री काम गर्ने क्षमता देखाउन नसकेर गुमनाम पनि भएका छन् । स्वच्छ छवि बनाएका, युवा जोश जाँगर भएका, अनुभवी र विज्ञ भन्दै ओलीले पार्टीकै कतिपय नेताहरुलाई चिढ्याएर मन्त्री बनाएकाहरुको कार्य क्षमता शून्यप्राय भएपछि ओली चिन्तित, रुष्ट र कतिपय अवस्थामा आक्रोसित बन्ने गरेका छन् ।

ओलीले नजिक भनेर सरकारमा ल्याएका मन्त्रीहरुको त धेरै जसो सांसदहरु असन्तुष्टी मात्र होइन, बिरोध र आक्रोसमा आएर दोहोलो काडेका छन् । नेपालको संसदीय इतिहासमै सबैभन्दा बलियो सरकारका मन्त्रीहरुको कार्यक्षमतामा आएको ह्रासलाई देखेर प्रधानमन्त्री ओली मात्र होइन, एमालको बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पनि निकै गम्भिर देखिएका छन् ।

विगतमा जस्तो धेरै पार्टीका नेताको अनुहार हेरेर सम्झौता गर्नुपर्ने अवस्था नभए पनि मन्त्रीहरुले किन आफ्नो काम गर्न सकेनन् भनेर ओलीले अब मन्त्रीबाट काम नचल्ने निष्कर्ष निकालेर बुधबार र शनिबार मन्त्रिको उपस्थितिमा सचिवबाट ब्रिफिङ समेत लिएका थिए ।

बद्नामी कमाएका मन्त्रीहरु

ओलीले आशलाग्दा भनेर मन्त्रिपरिषद्मा ल्याएका मन्त्रीहरुको क्रियाकलाप र व्यवहारले दिन प्रतिप्रतिदिन बद्नामी कमाई रहेका छन् । निकै क्रान्तिकारी र स्वच्छ छवि भनेर चिनिएका पूर्वमाओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री भएर धेरै बद्नामी कमाइसकेका छन् । उनले उपभोग्य सामग्रीको गुणस्तर मापन गर्न रोक मात्र लगाएनन् उपभोक्तामाथि ठगी गर्ने उद्योगी र व्यपारीमाथि छानबिन र अनुगमन गर्न गएको वाणिज्य विभागको टोलीलाई नै फर्काइ दिए ।

उनले मन्त्रीको अनुमति बिना त्यस्तो अनुगमन नगर्न भनेर कर्मचारीलाई थर्काए र व्यापारीलाई पोष्ने काम गरे । जसको कारण वाणिज्य विभाग अन्तरगतको बजार अनुगमन शाखा र उपभोक्ता हित संरक्षण बिभागलाई निकम्मा सावित गरे । यादवले सरकारको नीति तथा कार्यक्रममा मूल्यबृद्धिलाई ६ प्रतिशतमा सीमित राख्ने भने पनि त्यसलाई समेत धोति लगाएर पेट्रोलियम पदार्थको मूल्य बृद्धि चार महिनामै २० प्रतिशत भन्दा माथि पु¥याए ।

उनले नै प्रदेश २ मा रहेको प्रदेश सरकार, संसद, मुख्य मन्त्री र प्रदेश प्रमुखको कार्यालय राखिएका पुरानो जनकपुर चुरोट कारखानालाई सञ्चालनमा ल्याउन अर्बौंको बजेट विनियोजन गर्न लगाए । राज्यका नागरिकहरु स्वास्थ्य सेवाको माग गरिरहेको बेला क्यान्सर भित्र्याउने चुरोटको उत्पादन गर्ने भन्दै भारतबाट कच्चा पदार्थ आयात गरेर भारतसँगको व्यापार घाटालाई बढाउने अभियानमा लागेर बद्नाम र बिबादित भएका छन् ।

ओली सरकारका अर्का बिबादित र बद्नाम मन्त्री हुन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबीर महासेठ । एमालेको राजनीतिक पृष्ठभूमि भएका महासेठले सरकारले लिएको सिण्डकेट अन्त्य गर्ने योजनालाई बिफल पार्न लागेर बिबादमा तानिए । उनले सिण्डिकेटबिरुद्ध लागेको यातायात व्यवस्था विभागका महानिर्देशकलाई विभागबाट तानेर कारबाही स्वरुप मन्त्रालयमा हाँजिर गराएर बद्नाम भएका हुन् ।

उनले निर्धारित समयमा विकास निर्माणको काम नगर्ने ठेकेदारलाई कारबाहीको प्रकृयामा ल्याउने सरकारको निर्णय बिरुद्ध ठेकेदारको प्रतिरक्षा गरेका छन् । उनले व्यवसायीको प्रभावमा परेर बद्नाम निर्माण व्यवसायीहरु पप्पु कन्स्ट्रक्सनका हरिनारायण रौनियार र शिवप्रसाद अधिकारीलाई कारबाही त के प्रश्न समेत गर्न सकेका छैनन् । रौनियार उपप्रधानमन्त्री उपेन्द्र महतोका विश्वास पात्र र फोरमका सांसद पनि हुन् । अधिकारी भने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई डेरा दिने घरबेटी हुन् ।

उनले प्रचण्डका २ छोरीलाई घर नै उपहार पनि दिएका छन् । आर्थिक प्रलोभनमा परेर मन्त्रालयमा कर्मचारी सरुवा बढुवा गरेको आरोप उनीमाथि लाग्दै आएको छ । व्यवसायीको आर्थिक प्रलोभनमा परेर बीपी राजमार्गमा ठूला सवारी साधन चलाउन दिने महासेठको निर्णयलाई भने सर्वोच्च अदालतले रोकेको छ । युवा मन्त्रीको पहिचान बनाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी मन्त्रालयबाट आफू निकटका एनजीओ र गुमनाम संस्थाको नाममा ६० करोड रुपैयाँ बाँडेको बिषयमा बद्नाम भएका छन् ।

त्यस्तै, बिना प्रतिपष्र्धा वाईड बडीका दुई बिमान खरिद गर्नको लागि आर्थिक चलखेल गरेको आरोप उनीमाथि लागेको छ । उनीमाथि नेपालको दोश्रो ठूलो अन्तर्राष्ट्रिय बिमानस्थल निजगढलाई उपेक्षा गर्दै पोखरा बिमानस्थललाई मात्र बजेट उपलब्ध गराएको, पश्चिमी पहाडी जिल्लाको बिमानस्थल निर्माण गर्न विगतमा दिएको बजेट कटौति गरेको भन्दै नेकपाकै सांसदबाट गम्भिर आरोप खेपिरहेका छन् । सञ्चार माध्यमलाई विकृति र नकारात्मक बिषयको समाचार नबनाउने र सकारात्मक समाचार मात्र लेख्न दबाब दिएर सार्वजनिक रुपमै अधिकारीले बद्नामी बटुलेका छन् ।

अर्का सर्बाधिक बिबादित मन्त्री हुन् गृहमन्त्री रामबहादुर थापा बादल । उनले मन्त्रालयको अधिकार क्षेत्रभित्र पर्ने शान्ति सुरक्षाको कामलाई ध्यान नदिएर मन नपरेको र आफूलाई नजराना नबुझाउने निर्माण व्यवसायीलाई थुन्न भनेर प्रहरी प्रशासनको दुरुपयोग गरेको, चिकित्सकलाई अपहरणको शैलीमा गृहमन्त्रालयमा लगेर मानसिक यातना दिएको, सिंहदबार भित्र सञ्चारकर्मीलाई निर्वाध आवागमनमा रोक लगाउने षडयन्त्र गरेको लगायतका बिषयमा बद्नामी कमाएका छन् ।

प्रधानमन्त्री ओलीकै निर्वाचन क्षेत्रका बासिन्दा राष्ट्र बैंकका पूर्वकर्मचारी युवराज खतिवडालाई राष्ट्रिय सभाको सदस्यमा सपथ नै नगराई अर्थमन्त्री बनाए । तर ओलीको यो निर्णयप्रति नेकपामा बहुमत सांसदले आलोचना गरे । अर्थमन्त्री खतिवडामाथि नेकपाकै सांसदहरुले आफूहरुलाई वार्ड अध्यक्षको रुपमा व्यवहार गरेको भन्दै टिके मन्त्रीको उपमा समेत दिए ।

खतिवडाले राजनीति नबुझेको, जनताबाट अनुमोदित नभएको, सरकारको नीति अनुसार बजेट नल्याएको, झापा, चितवन र कैलाली तथा मन्त्रीहरुको जिल्ला र निर्वाचन क्षेत्रमा मात्र बढी बजेट दिएको भनेर आलोचित छन् । कार्यान्वयनमा रहेको विकास आयोजनालाई निरन्तरता नदिएको, कतिपय आयोजनालाई बजेट नदिएको, बजेट काटेको लगायतका आरोप समेत उनीमाथि लागेको छ ।

ओलीका विश्वास पात्र सूचना तथा संचार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटा पनि सम्पति बिबरणमा आफूले बोलेको भन्दा बढी सुन देखिएको, प्रश्न गर्ने सरकारी सञ्चार माध्यमका संचारकर्मीलाई कार्यक्रम संचालन गर्न नदिएको, संचार माध्यमलाई नियमनको सट्टामा नियन्त्रण गर्ने कानुन ल्याउन लागेको बिषयमा बिबादित बनेका छन् ।

ओली सरकारका अर्का सर्वाधिक बिबादित मन्त्री हुन् कानुन मन्त्री शेरबहादुर तामाङ । मन्त्रिपरिषद्को बैठकबाट पूर्ववती शेरबहादुर देउवा नेतृत्वको सरकारले १४ भदौदेखि गरेका सबै राजनीतिक नियुक्ति निर्वाचन आचारसंहिता बिपरित भएको भन्दै खारेज गराउन प्रधानमन्त्रीलाई उक्साएका थिए । मन्त्रिपरिषद्को सो निर्णय अदालतले अहिले धमाधम उल्टाउन थालेपछि तामाङले आलोचना मात्र होइन प्रधानमन्त्रीको अक्रोशको पनि सामान गरिरहेको छन् ।

संविधान अनुसारका कानुन बनाउन छोडेर संविधान समेत राम्ररी अध्यय नगर्ने, प्रदेश प्रमुखलाई पदमुक्त गर्ने संवैधानिक अधिकार प्रावधानलाई कुल्चेर मन्त्रीपरिषद्बाट पदमुक्त गराउने निर्णय गराएर उनी विबादित बनेका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारीले संविधान बमोजिम प्रदेश प्रमुखलाई हटाउने अधिकार आफूलाई मात्र रहेको भनेर सरकारलाई जनाए पछि मन्त्री तामाङलाई ओलीले अध्ययन नै नगरी जताभावी प्रस्ताव ल्याएको भनेर सातो लिएका थिए । उनै मन्त्रीको लहै लहै लागेर ओलीले देउवा नेतृत्वको सरकारले गराएका निर्णय बदर गर्दा अदालतले धमाधम उल्टाई दिएको छ ।

तामाङ न्याय मन्त्रीको हैसियतमा न्याय परिषद्को सदस्य पनि हुन् । तर उनले न्यायाधिशले आर्थिक प्रलोभनमा परेर फैसला गरेको भन्दै सार्वजनिक रुपमा बोलेको, त्यस्ता न्यायाधिशलाई कारबाहीको लागि प्रस्ताव नलगेको, न्यायाधीशको सम्पति छानबिन र सार्वजनिक गर्छु भन्ने तर कानुनको लागि प्रस्ताव नलगेर वार्गेनिङ गरिरहेको बिषयलाई लिएर उनी आलोच्य मात्र होइन, बदनाम पनि भएका छन् ।

अक्षम मन्त्रीहरु
कांग्रेस सभापति शुसील कोइराला प्रधानमन्त्री हुँदा सामान्य प्रशासन मन्त्री हुँदा डीभी र पीआरधारी कर्मचारीलाई कारबाही गर्ने भनेर चर्चा कमाएका लालबाबु पण्डित गुमनाम मात्र होइन, असक्षम सावित भएका छन् । कानुन बमोजिम चैतदेखि स्वेच्छिक अवकास लिन चाहने, संघीय, प्रदेश र स्थानीय सरकारमा जान चाहने कर्मचारीको छनौट अनुसार उनीहरुलाई खटाउन नसकेको बिषयलाई लिएर मन्त्री पण्डित असक्षम भएको भनि टिप्पणी हुन थालेको छ ।

पण्डितले गत संसदीय निर्वाचनमा आफूसँग पानी किनेर खाने पैशा समेत नभएर खाडीमा पसिना काडेका मजदुरको आर्थिक सहयोगमा चुनाव प्रचार गरेको भनेका पण्डितले सम्पती विवरण पेश गर्दा ५० लाख रुपैयाँको बैंक ब्यालेन्स देखाए पनि थप बदनाम भएका हुन् ।

आशालाग्दा अर्का मन्त्री गोकर्ण बिष्टले बैदेशीक रोजगारीको लागि नेपालको पहिलो गन्तब्य मुलुक मलेशीयामा मन्त्री भएपछि एक जना पनि नेपालीलाई बैदेशीक रोजगारीको लाागि पठाउन नसकेको, बैदेशिक रोजगारीमा भएको भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकेको र अन्तर्राष्ट्रिय एक सम्मेलनमा अंग्रेजीमा भाषण गर्ने नाममा अण्ठसण्ठ र अस्पष्ट अभिव्यक्ति दिएर अन्तर्राष्ट्रिय फोरममा नेपालको बद्नाम गरेको आरोप लागेको छ ।

ओली सरकारका अर्का असक्षम मन्त्री हुन् बर्षामान पुन। अर्थमन्त्री हुँदा चर्चामा रहेका पुनले अहिले उर्जा तथा सिंचाई मन्त्री भएर पनि काम नगर्न सकेनन् । उनले उर्जा र जलश्रोतमा बैदेशीक लगानी भित्र्याउन नसकेको आरोप लागेको छ । सोही मन्त्रालको जिम्मेवारी सम्हालेका जनार्दन शर्माले उर्जाको क्षेत्रमा लोडसेडिङ अन्त्यदेखि उर्जा क्षेत्रको लगानी सम्झौता अघि बढाएका थिए ।

प्रचण्डकी बुहारी बिना मगर पनि असक्षम देखिएकी छन् । उनी खानेपानी मन्त्री हुन् । तर मेलम्चीको पानी काठमाडौमा अघिल्लो बर्ष नै आउने भनी तत्कालिन प्रधानमन्त्री तथा ससुरा प्रचण्डले गरेको बाचालाई समेत उनले पुरा गराउन सकिनन् । मेलम्चीको सुरुङ खन्ने काम सकिए पनि पानी वितरणको लागि द्रुत गतिमा काम हुन सकेको छैन । मेलम्चीको खानेपानी घरघरमा जडान गर्ने क्रममा जथभावी सडक खनेको कारण काठमाडौका सडक पानी जहाज कुदाउन योग्य भनी सामाजिक सञ्जालमा व्यंग्य हुँदा समेत मन्त्री बिना कानमा तेल हालेर बसेकी छन् ।

यी हुन गुमनाम
रक्षा मन्त्री भएका ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भएका उपेन्द्र यादव, शहरी बिकास मन्त्री भएका इस्तियाक राई, बन मन्त्री शक्ति बस्नेत, महिला मन्त्री थममाया थापा भने गुमनाम छन् । यिनले न कुनै राम्रो काम गरेका छन् नत कुनै खराव नै । उनीहरु मन्त्रालय जान्छन्, फाईल सदर गर्छन् वा भाषण र उद्घाटनमा व्यस्त हुन्छन् । यी मन्त्रीको पर्फमेन्स नदेखेर ओली निराश छन् ।

सम्बन्धित समाचार

शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
शुक्रबार थपिए काेराेनाका ८ हजार ५२० जना नयाँ संक्रमित, २०३ को मृत्यु
  • २०७५ असार ३२, ०९: २३: ५९

नयाँ विकल्प, काठमाडाैं- शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महतो चयन
  • २०७५ असार ३२, ०९: २३: ५९

नयाँ विकल्प, काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार...

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?
  • २०७५ असार ३२, ०९: २३: ५९

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध...

भर्खरै

TOP