June 20, 2021, Sunday

संयमता नअपनाउँदा भड्कियो हिंसा

कञ्चनपुर हत्याकाण्ड सरकारलाई गलापासो

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरस्थित भीमदत्त नगरपालिका वार्ड नं २ उल्टाखामकी १३ बर्षिया निर्मला पन्तको हत्याका दोषीलाई कारबाहीको माग गरेर प्रदर्शनमा उत्रिएका नागरिकमाथि प्रहरी दमनको घटनाले सरकारप्रतिको जनविश्वास घटेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारमा अव कसैले भ्रष्टाचार गर्न नपाउने र कुनै पनि नागरिक असुरक्षीत हुनु पर्दैन भनेर बारम्बार अभिव्यक्ति दिए पनि उनको सो अभिव्यक्तिलाई कञ्चनपुरको प्रहरी र प्रशासनले नटेरेपछि सरकारप्रति अविश्वास र आक्रोस दुवै बढेको छ ।

बलात्कार र त्यसपछिको घटनालाई लुकाउन, दबाउन र बिषयान्तर गराउन प्रहरी र स्थानीय प्रशासनले प्रयास गरेपछि स्थानीय स्वतस्फूर्त प्रहरीको क्रियाकलाप बिरुद्ध प्रदर्शनमा उत्रिएका थिए । घटनामा संलग्न भएको भनिएका व्यक्तिहरुलाई अनुसन्धानको दायरामा नल्याउने, हत्या र बलात्कारको दोषीलाई कारबाहीको माग गर्ने महिलामाथि लाठी चार्ज गरी दमन गर्ने र मानसिक सन्तुलत गुमाएको एक व्यक्तिलाई अभियुक्तको रुपमा सार्वजिनक गरेपछि कन्चनपुरमा हिंसा भडकिएको हो ।

सो घटनामा संलग्न भएको भनिएका दुई जनालाई प्रहरीले सोधपुछको लागि नियन्त्रणमा लिएको भनेर गृह मन्त्री रामबहादुर थापा बादलले प्रतिनिधिसभाको बैठकमा समेत जानकारी दिएका थिए । तर, ति व्यक्ति को को हुन भनेर न गृहमन्त्रालय न त स्थानीय प्रहरीले नै आजसम्म जनाएको छ । स्थानीयहरुको आशंका छ, हाल निलम्वनमा परेका एसपी डिल्लीराज बिष्टले निर्मला पन्तकी सहपाठी आँचल भन्ने रोशनी बम र अनिता बम हुनसक्ने आशंका गरिएको छ ।

तर उनीहरुको नाम प्रहरीले गोप्य राखेको थियो । ति दुई व्यक्ति भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टका भतिजा र निलम्वित एसपी डिल्लिराज बिष्टका छोरा पनि हुन सक्ने भन्ने रहेको छ । गृह जिल्लामा नै प्रहरी प्रमुख भएर गएका प्रहरी उपरिक्षक डिल्लिराज बिष्टले निर्मला बेपत्ता भएको दिन साउन १० गते नै छोरी हराएको भनेर उजुरी दिने निर्मलाकी आमालाई भोली खोजौंला भनेर फर्काएका थिए ।

उनले निर्मलाको शब बलात्कारपछिको बिभत्स रुपमा देखिएपछि निर्मला अध्ययन गर्ने स्कुले सबै बिद्यार्थीलाई थर्काएको घटनाले प्रहरी प्रमुखको भूमिका शंकास्पद रहेको स्थानीयको आरोप छ । जिल्ला प्रहरी कार्यालयका तत्कालिन प्रमुख प्रहरी उपरिक्षक डिल्ली बिष्टले एक महिनासम्म बलात्कारीलाई नियन्त्रणमा लिन नसकेको र हिंसा भड्काएको तथा अनुसन्धान गर्न नसकेको भन्दै गृहमन्त्रालयले निलम्बन गरिसकेको छ ।

उनीसँगै जिप्रका कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर सेठी र प्रहरी निरिक्षक एकेन्द्र खड्कालाई गृहमन्त्रालयले केन्द्रमा तानेको छ । मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई पनि परिवर्तन गरी तारानाथ अधिकारीलाई पठाएको छ ।

स्थानीयले घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निर्मला पन्तकी सहपाठी आँचल भनिने रोसनी बम जसको घरबाट आफ्नो घर फर्किँदै गर्दा बेपत्ता भएकी थिइन, उनै रोसनी र उनी दिदी अनिता बमलाई बलात्कार र हत्याको घटनामा संलग्न वा जानकार राख्छन भनीरहेको छन् । निर्मलाकी आमा छोरी अबेरसम्म घर फर्किएर आइन कहाँ गइ भनेर छोरीकी साथी रोसनीको घर पुगेकी थिइन, साउन १० गते साँझ नै ।

तर रोसनीकी दिदी अनिताले ‘मैले अम्बा दिएर पठाएको थिएँ, कहाँ गई हामीलाई के थाहा ? पोइला गइ होला भनेर’ निक्कै होच्याएर र बिल्कुल वेवास्था गरेर जवाफ दिएकी थिइन् । आर्थिक अवस्था कमजोर रहेको पन्त परिवारप्रति अनिता बमको रुखो जवाफ र व्यवहारले घटनालाई उत्तेजित गरेको स्थानीयहरु बताउँछन् ।

रोसनी र अनिता दिदी बहिनी तीन तले घरमा बस्छन् । उनीहरुका अभिभावकहरु दार्चुलामा बस्छन् । घरको पहिलो तल्लामा बसेर माथिको तला भाडामा लगाउने उनीहरुको सामाजिक प्रतिष्ठामाथि पनि छिमेकीहरुले प्रश्न गर्ने गरेका छन् ।

छिमेकीहरुले अनितासँगको संगत स्थानीय भीआईपीहरुसँग छ । ति भिआईपीको संगत र प्रभावले गर्दा प्रहरीले अनितालाई नियन्त्रणमा लिएर सोधपुछ समेत नगरेको घटनाले प्रहरीप्रति चरम अविश्वास बढेको हो । अनिताले भनेजस्तै उनले निर्मलालाई अम्बा दिएर पठाएको भनिए पनि उनको घरको अम्बाको रुख नै काटिएको छ ।

प्रहरीलाई स्थानीयले अनिताको घर र कोठा र परिसर सिल गर्न र अनुसन्धान गर्न दिएको सुझाव र सूचनालाई एसपी बिष्टले इन्कार गरेको पाइन्छ । घटनालाई अर्कैतिर मोड्न एसपी बिष्टले जव भदौ ४ गते मानसिक सन्तुलन गुमाएका ४१ बर्षिय दिलिपसिंह बिष्टलाई गिरफ्तार गरी सार्वजनिक गर्यो तब घटनाले उग्र रुप लियो र प्रहरी बिरुद्ध सर्वसाधरण सडकमा उत्रिए ।

स्थानीयका अनुसार घटनास्थलभन्दा दिलिपको घर निकै टाढा पर्छ । अनि मानसिक सन्तुलन गुमाएका दिलिपसिंह बिष्टले बलात्कार र त्यसपछि हत्या गरे भनेर कसैले बिश्वास गरेका छैनन् । एसपी डिल्लीराजले तिनै मानसिक सन्तुलन गुमाएका दिलिपसिंह बिष्टबिरुद्ध किटानी जारी दिन निर्मलाका बाबुलाई दबाब दिएका थिए ।

निर्मलाका बुबाले त्यस्तो मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई किटानी जाहेरी दिन मान्दै मानेनन्, उनले प्रहरीको यस्तो हर्कतलाई बलात्कार लुकाउने षडयन्त्रको रुपमा लिएका छन् ।

एसपी बिष्टको त्यस्तो क्रियाकलापाबिरुद्ध प्रदर्शन गरी दोषीलाई नियन्त्रणमा लिन बारम्बार आग्रह गरे तर उनले प्रहरीको बन्दुक, लाठी अश्रुग्यासको सहाराले सर्बसाधरणमाथि दमन शुरु गरे । एसपी बिष्टले लाठी चार्ज र अश्रुग्यास मात्र हानेन बालबच्चा र किशोर माथि गोली समेत ठोके । उनको क्रियाकलापको चरम बिरोध भयो । एसपी डिल्लिराज बिष्टको यि सबै हर्कतलाई तत्कालिन प्रमुख जिल्ला अधिकारी, जिप्रका कन्चनपुरका डीएसपी ज्ञानबहादुर सेठी र मुद्धा फाँटका प्रहरी नियरिक्षक एकेन्द्र खड्काले साथ दिएका थिए ।

भिमदत्त नगरपालिका प्रमुख (मेयर) सुरेन्द्र बिष्टका भजिता र एसपी डिल्लीराज बिष्टका भतिजालाई नियन्त्रणमा लिनु पर्ने जनताको आवाजलाई एसपी र मेयरले नजरअन्दाज र बेवास्था गरेका थिए । तर ६ गते आधा दर्जन यूवा प्रहरीको गोली लागि घाईते भए र ७ गते एकको मृत्युसहित आधा दर्जनलाई गोली लागि महाकाली अञ्चल अस्पतालबाहिर रिफर गर्नुपर्यो । घटनाले उग्र रुप लिए पछि मात्र गृहमन्त्रालय, सरकार र स्थानीय राजनीतिक दलले चासो र गम्भिरता देखाएका थिए ।

बलात्कार घटनाको छानबिन गर्न केन्द्रीय अपराध अनुसन्धान व्युरोले प्रहरी निरिक्षकको नेतृत्वमा टोली पठाए पनि स्थानीय प्रहरी नेतृत्वको सामू सो टोली निरिह देखिएको थियो । गृहले एसपी डिल्लीराज बिष्ट र प्रमुख जिल्ला अधिकारीको सरुवा पनि गर्यो तर परिस्थिति सामान्य बनेन । सरकारले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा कञ्चनपुरको हत्या र बलात्कार काण्ड, प्रहरी दमनको समेत छानबिन गर्न छानबिन समिति बनाएको छ ।

सो समितिमा प्रहरी नायव महानिरिक्षक रामप्रसाद श्रेष्ठ, शसस्त्रका नायव महानिरिक्षक बसन्त वानियाँ, राष्टिय अनुसन्धान बिभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र उपसचिव बिरेन्द्र केसी रहेका छन् । एसपी बिष्टलाई सरकारले प्रहरी प्रधान कार्यालयमा र प्रजिहलाई गृहमन्त्रालयमा ताने पनि स्थिति सामान्य बन्न सकेको छैन् । नयाँ एसपी कुवेरसिंह कडायत कञ्चनपुर जिप्रकाका प्रमुख बनेर गए तर उनी त्यहाँ पोष्टिङ भएको भोलिपल्ट शुक्रबार शन्नी खुनाको प्रहरीलको गोली लागि मृत्यु भयो र अन्य दर्जनौं घाईते भए ।

प्रधानमन्त्रीको दबाब पछि बल्ल शनिबार प्रहरीले सर्वाधिक शंका गरिएका रोसनी बम र अनिता बमलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ भने बिहीबार काठमाडौ तानिएका एसपी बिष्टसहित डीएसपी सेटी र प्रहरि निरिक्षक खड्कालाई समेत निलम्बन गरेको छ ।

बलात्कारीलाई कारबाही गर्न दबाब दिने उदेश्यले प्रदर्शनमा घाइते भएकाहरु सुरेन्द्र चटौत, उमेश देउवा, चेतन भट्ट, दामोदर खाती, कबिन्द्र सिंहको उपचार कञ्चनपुरमा हुन नसकेपछि कोहलपुर र काठमाडौंमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

शेयर बजारमा पहिरोः ६३.२८ अंकले नेप्से घट्यो, कारोबार पनि १२ अर्बमा सिमित
शेयर बजारमा पहिरोः ६३.२८ अंकले नेप्से घट्यो, कारोबार पनि १२ अर्बमा सिमित
  • २०७५ भाद्र ११, ०९: २४: ५१

नयाँ बिकल्प, काठमाडौं । धितोपत्र बोर्डले गत मंगलबार ५१ वटा संस्थाले शेयर बजारमा आन्तरिक चलखेल गरी शेयर मुल्य बढाएको र...

देउवाकाे सभापति दोहोर्याउने चाहनाः बागमति र गण्डकी प्रदेशका नेतासँग छुट्टा छुट्टै परामर्शमा
देउवाकाे सभापति दोहोर्याउने चाहनाः बागमति र गण्डकी प्रदेशका नेतासँग छुट्टा छुट्टै परामर्शमा
  • २०७५ भाद्र ११, ०९: २४: ५१

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्वमा पुनः दोहोरिने चाहना प्रकट गरेका छन्।पार्टी केन्द्रीय कार्यसमितिको शुक्रबारको...

कोरोना संक्रमणबाट पूर्वराज्यमन्त्री बिष्टकाे निधन
कोरोना संक्रमणबाट पूर्वराज्यमन्त्री बिष्टकाे निधन
  • २०७५ भाद्र ११, ०९: २४: ५१

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको कोरोनाभाइसको संक्रमणबाट निधन भएको छ। सुर्खेतमा कोरोना संक्रमण भएका...

भर्खरै

TOP