January 16, 2021, Saturday

तीन अर्बको औद्योगिक पार्कमा दलाल र माफियाको विगविगी

काठमाडौं । आफ्नो जन्मस्थान तेह्रथुमको आठराईबाट झापाको शरणामति हँुँदै पृथ्वीनगरमा बसाईँसरेका मोहनप्रसाद ओलीका पुत्र खड्ग ओलीले २०४८ सालको आमनिर्वाचनमा झापाको दमकस्थित पशुहाटको आमसभामा उभिएर बोल्दा धेरैले हाँसि मजाक गरेर उडाए ।

तत्कालिन नेकपा एमालेले झापाको क्षेत्र नम्वर पाँचबाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनाएका उनै खड्ग ओलीले भनेका थिए ‘मलाई यहाँबाट जिताएर सांसद बनाउनुस, तपाईहरुलाई दुख दिने रतुवा र मावाको पाता कस्छु ।” नभन्दै पश्चिम झापाका मतदाताले खड्ग ओली अर्थात चुनाव जितेपछि केपी शर्मा ओलीको पहिचान बनाएका एमालेका उम्मेदवारलाई चुनाव जिताए ।

उनै ओली एक पटक गृह, एक पटक परराष्ट्र र दोश्रो पटक मुलुकको कार्यकारी अधिकारप्राप्त सरकारको प्रधानमन्त्री बनेका छन् । उनले २८ बर्ष अघिदेखि एउटा आश्वासन दिँदै आएका छन ‘फेरि मलाई चुनाव जिताउनुस म मावा र रतुवाको पाता कसेर सुनका डल्ला फल्ने उर्बर जमिन बनाउँछु ।”

पश्चिम झापाका झापाली मतदाता उनै ओलीको आश्वासनको विश्वास मात्र गरेनन भर पनि परे । तर ओली जब मुलुकको प्रधानमन्त्रीमा आसिन भए तव ति मतदाताले रतुवा र मावाको पात कसिएको देख्न त पाएनन तर आफै पाता कसिने अवस्थामा पुगेका छन् । आदर्श, काल्पनिक, तिलस्मी र मिठासपूर्ण प्रवचनले झापाली जनतालाई लठ्याउने जादुमय वाणी ओकलेका ओलीको बोली सुनेर भापा क्षेत्र नम्वर पाँचका स्थानीय किसान वाक्क मात्र होइन आफ्नै कर्मलाई धिक्कार्दैछन् ।

मतदातालसँग चुनावभन्दा अघि र पछि कहिल्यै नझुल्कने प्रधानमन्त्री ओलीले यतिवेला सुखी नेपाली र समृद्ध नेपालको नारा घन्काउँदै देशमा मात्र होइन बिदेशमा पनि ढ्वाग पिट्दै हिँडेका छन् । आफू दुईतिहाई बहुमतप्राप्त सरकारको प्रधानमन्त्री भएकोले बलियो भएको दाबी गर्ने ओली झन कमजोर भएको ओलीका मतादाताले भन्न थालेका छन् । सुखी नेपाली समृद्ध नारा होइन यतिवेला झापाली जनताले सास्ती पीडा र उठीवासको पीडा भोग्न बाध्य भएका छन् ।

घटना र स्थान प्रधानमन्त्रीकै गृह जिल्ला अर्थात निर्वाचन क्षेत्रकै हो । झापालाई मोरङसँग छुट्याउने मावा खोला र इलामहुँदै झापा झरेको रतुवा नदिले दमक नगरपालिकालाई झापाको कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकालाई छुट्याउने गर्छ ।

दुवै खोलाले बर्सेनी हजारौं विघा जमिन बगरमा परिणत गर्दै आएको छ भने सयौं झापाली किसानलाई उठीवास लगाउँदै आएको छ । ओलीका मतदातालाई बर्सेनी दुख दिने यिनै रतुवा र मावा खोलालाई नियन्त्रण गर्ने ओलीको आश्वासन यतिवेला तुहिएको छ । तुहिएको मात्र होइन, ति मतदातालाई दुखि र निरास बनाउँदै चिनियाँ करिव तीन अर्बको सहयोगमा निर्माण हुँदै गरेकोे चाईना नेपाल फ्रेण्डसिप इन्डस्ट्रियल पार्क निर्माणको योजनाले उनीहरुलाई उठीवास नै लगाएका छ ।

जग्गा अधिग्रहणको नाममा व्यक्तिको करोडौंको रकम कौडीको भाउमा कब्जा गर्न खोजिएपछि यतिवेला प्रधानमन्त्री ओलीका मतदाता एक महिनादेखि काठमाडौंको गल्लि, होटल र लजमा भौतारिएर न्यायको खोजिमा हिँडेका छन् । प्रधानमन्त्री ओलीले जग्गा अधिग्रहणमा परेका किसानलाई नभेट्ने अड्डी लिएका छन् । पीडितहरुसँग प्रधानमन्त्रीलाई भेट गर्न नदिन उनका सहयोगीहरु नै क्रियाशिल भएको गुनासो किसानको छ ।

उनीहरु आफूहरुलाई उठिवास बनाउन जग्गाको मुल्य कौडीको भाउमा छोड्न दबाब दिन थालेपछि अत्तालिएरर काठमाडौं आएका हुन् । झापा संघीय निर्वाचन क्षेत्र पाँचको दमक र गौरादह नगरपालिका तथा कमल गाउँपालिकास्थित रतुवा खोलाको पूर्व र पश्चिमतर्फको किनारामा स्थापना गर्न लागिएको वान बेल्ट बान रोड अवधारणा अन्तरगताको सो आयोजनाले सरकारी मुल्याङ्कनको भन्दा पनि कम मुल्य निर्धारण गरेर सुकुम्वासी बनाउन खोजेको भन्दै स्थानीय जग्गाधनी आन्दोलनमा उत्रिएका हुन् ।

करिव २ हजार २ सय विघा क्षेत्रफलमा निर्माण गर्न लागिएको औद्योगिक क्षेत्र निर्माणको लागि झापा ५ का जनप्रतिनिधि तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को निर्णले २०७२ चैत १ गते र २०७३ असार २ गतेको मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । २०७४ साल फागुन १४ गते ४३० कित्ता पहिलो चरणमा अधिग्रहण गर्ने निर्णय भएको थियो । गत मंसिर १० गते मुआब्जा रकम र जग्गाको वर्गिकरण गर्दा जग्गाधनीलाई मर्का परेको भन्दै त्यहाँको एक सय ११ परिवारले प्रधानमन्त्री केपी ओलीसँग गुनासो गरे पनि सुनुवाई भएको छैन् ।

चिनियाँ सरकारले वान बेल्ट वान रोड अवधारणा अन्तरगत संचालन गर्न लागेको सो औद्यौगिक क्षेत्रको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन समेत तयार भएको छैन । चिनियाँ सरकारले करिव ३ खर्ब ३३ अर्ब रुपैयाँ सो औद्योगिक क्षेत्रको लागि बजेट छुट्याएको भनिए पनि जग्गा अधिग्रहण गर्दा जनतालाई सुकुम्वासी र विचल्ली बनाउने काम भएको औद्योगिक व्यवस्थापन क्षेत्र संघर्ष समिति दमकका सचिव करण सिंह बस्नेतले बताए ।

सरकारले जग्गाको बर्गिकरण गर्दा अब्बल, दोयम, सिम र चहार भनेर गरेपनि औद्योगिक क्षेत्रले खोला वगेको, काँस घारी र खेतियोग्य भनी तीन भागमा बर्गिकरण गरेको छ ।

संघर्ष समितिले नेपाल सरकारले मालपोत कार्यालयले मुल्याङ्कन गरेअनुसार प्रति विगाह सात लाख देखि एक करोड भएकोले सोही बमोजिम मुआब्जा दिनुपर्ने माग गरेको छ । उनीहरुले मालपोत कार्यालयले प्रति विगाह सात लाख देखि एक करोडको मुल्याङ्कन गरी राजश्य लिइरहेको तर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भने खेतियोग्य जमिनको २२ लाख, काँसघारीको ८ लाख र खोला वा बगरको २ लाख प्रति विगाह मुआब्जा दिने निर्णय गरेको थियो ।

व्यवस्थापन लिमिटेडले हालसम्म पहिचान नखुलेको भन्दै १ सय ३ विगाह जग्गालाई खेतियोग्य भनी उल्लेख गरिनु शंकास्पद भएको बताएका छन् । संघर्ष समितिले कमल गाउँ पालिका वार्ड नं ७ मा पर्ने औद्योगिक क्षेत्रले लिन खोजेको जग्गाको मुआब्जा प्रति विगाह ६० देखि एक करोडसम्म हुनुपर्ने वा सट्टाभर्ना गर्नु पर्ने माग गरेका छन् ।

संघर्ष समितिका सचिव करणसिंह बस्नेतले पुस २५ गतेदेखि प्रधानमन्त्री ओलीसँग भेट गर्नको लागि पहल गरे पनि भेट्न नदिइएको बताए । उनीहरुले संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ, स्थायी समिति सदस्य योगेस भट्टराई, प्रधानमन्त्रीका स्वकिय सचिव इन्द्र न्यौपाने मार्फत सन्देश पठाए पनि भेट गर्न नमानेको दाबी गरेका छन् ।

संघर्ष समितिले पीडित जग्गाधनी किसानहरुलाई स्थानिय प्रहरी , प्रशासन र राजनीतिक दलको संरक्षणमा रहेका डनबाट असुरक्षीत भएको बताए । संघर्ष समितिका सचिव करण सिंह बस्नेतले झापाका प्रमुख जिल्ला अधिकारी र इलाका प्रहरी कार्यालयका डिएसपी तथा दमक नगरपालिकाका मेयर रोम ओलीले धाक धम्की दिएकोले सुरक्षा प्रदान गर्न समेत सरकारसँग माग गरेका छन् ।

दुइ कठ्ठा जग्गा भएका किसानलाई समेत विकास विरोधी र जग्गा दलालको आरोप लगाउँदै प्रहरीले थुन्ने धम्की दिएकोले आफूहरुले राजधानी आएर सुरक्षाको माग गर्नु परेको बताए ।’ संघर्ष समितिमा हालै जग्गा अधिग्रहणमा रहेको एक सय ३५ जना जग्गाधनीले मुआब्जाको रकम बढाउन वा त्यति नै जग्गा सट्टा भर्ना गरिदिन माग गरेका छन् ।

आफ्नो मागलाई दबाउन र प्रतिकार गर्न औद्योगिक क्षेत्रमा जग्गा नै नभएका दमक निवासी तर गौरादह नगरपालिकामा गत स्थानिय निर्वाचनमा नेकपा एमालेकोतर्फबाट मेयरमा पराजित मदन अधिकारी संयोजक र माओवादी पृष्ठभूमि भएका हुकुमसिंह नेपाली सचिव रहेको उद्योग सरोकार समिति गठन गरिएको पीडित किसानको गुनासो छ ।

कमल गाउँपालिका ७ का किसानहरुलाई अहिले दमकका व्यापारी डन र गुण्डाले धम्की दिने गरेको आरोप लगाएका छन् । यसका लागि दमक नगरका पूर्व माओवादी नेता गगन पुरी बढी सक्रिय देखिन्छन् । उनी दमक नगरपालिका क्षेत्रमा पर्ने रतुवा खोलाको बगरको ऐलानी जग्गालाई प्लटिंग गरी घडेरी बेच्ने व्यक्ति हुन् ।

गत स्थानीय तहको निर्वाचनमा एमालेका रोम ओलीभन्दा तीन हजार कम मत ल्याएका पुरी यो पार्कको हर्ताकर्ता नै रहँदै आएका छन् । प्रधानमन्त्री ओलीको समर्थन र सहयोगमा पार्क व्यस्थापनको अध्यक्ष बनाइएका होमबहादुर थापाले आफू निकटकालाई बढी मुआब्जा र रानीतिक आस्था नेकपा नभएकाको जग्गाको मुल्यांकन काम गर्ने गरेको गुनासो सर्वत्र छाएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरितः नेता सिंह
प्रधानमन्त्रीको कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरितः नेता सिंह
  • २०७५ माघ २१, ०८: ३३: ००

नयाँ विकल्प काठमाडाैं- नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली र सभा गरेको छ ।...

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला
सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला
  • २०७५ माघ २१, ०८: ३३: ००

नयाँ विकल्प विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका...

चितवनकै पहिलो आकाशे पुलको उद्घाटन
चितवनकै पहिलो आकाशे पुलको उद्घाटन
  • २०७५ माघ २१, ०८: ३३: ००

नयाँ विकल्प भरतपुर-पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम...

भर्खरै

TOP