February 26, 2021, Friday

प्रजातन्त्र नै आम जनताको अपेक्षा पूरा गर्न सक्षम शासन प्रणाली हो

हरिविनोद अधिकारी

१.संसारमा अहिले प्रजातन्त्रमाथि खतरा आएको मानिन्छ । प्रजातन्त्र अब म्याद गुज्रेको ओखती जस्तै भयो भनिन्छ । कम्पास हराएको जहाज जस्तै भयो भनिन्छ । विश्वभर यसमा बहस सुरु भएको छ ।

२. हाम्रो नेपालमा पनि प्रजातन्त्र स्थापना भएको पनि ६८ वर्ष भएको छ । अहिले हामी कुन अवस्थामा छौँ ? त्यो समीक्षा गर्ने पनि यही बेलामा हो । अहिलेको प्रजातन्त्रका वारेमा आफैँले आफैँलाई सोध्ने बेला भएको छ ।

३.हामीले संसदीय व्यवस्थालाई आत्मसात गरेका छौँ । विश्वभर प्रजातन्त्रमाथि कालो बादल मडारिइरहेको पनि मान्न थालिएको छ । आफ्नो ज्यान दिन तयार भएर अपराधलाई निमिट्यान्न पार्न भनेर प्रतिज्ञा गरेर प्रहरी बनेकाहरु करोडौँ भ्रष्टाचार गरेर जेल जान्छन्, करोडौँ रुपैञा कमाएर अकुत सम्पत्ति अवैध तरिकाले कमाएको भनेर अदालतबाट दण्डित हुन्छन् भने त्यहाँ सदाचार कसरी कहाँ खोज्ने हो ?

४.अख्तियार दुरुपयोग गर्नेलाई दुरुत्साहित गर्न र दूधको दूध पानीको पानी छ्ट्टयाउन र रौँचिरा अनुसन्धान गरेर अपराधीलाई दण्डित गर्नका लागि स्थापित आयोगका आयुक्तहरु करोडौँ कमाउन लाग्छन् र न्यायलाई मार्नका लागि अन्यायको पक्षधरता लिन्छन् भने त्यहाँ सदाचार र न्याय कहाँ पाउनु । अनि योभन्दा पहिले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुबाट यस्ता अरु पनि कुनै भ्रष्टाचारका कामहरु भएका थिए कि भनेर सार्वजनिक सूचना गरिनु जरुरी छ । धुँवा त पहिले पनि आएकै हो प्रमुख आयुक्त र आयुक्तहरुका व्यवहारले, त्यहाँ काम गर्ने कर्मचारी तथा प्रहरीबाट पनि भएका काम कार्बाहीका, किन त्यो बेलामा ध्यान दिइएन भनेर अब कसले अनुसन्धान गर्ला ? अन्यायमा परेकाले झन झन अन्यायको सामना गर्नु परेको पहिले पनि अनुभूत नभएको होइन । अनि ती भ्रष्टाचारीहरुलाई सिफारिस गर्ने र तिनको बचाब गर्नेहरु पनि भ्रष्टाचारी हुन् कि होइनन् ?

५.सबैतिरबाट अन्यायमा परेकाहरु, ठगिएकाहरु जब अन्तिम न्यायका लागि , जीवनप्रति आशा राख्दै र भविष्यप्रति भरोसा राख्दै सहारा प्राप्त गर्न भनी अदालतमा न्याय पाइन्छ भनेर भगवानको अवतार सम्झँदै न्यायालय जान्छन्, अनि त्यहीँ नै उनीहरुको सम्मान र अपेक्षालाई अपमान गर्दै यदि न्याय विक्री हुन्छ भने सदाचार कसरी अपेक्षा कहाँबाट गर्ने हो । हालैको न्याय परिषदको कदमलाई स्वागत गर्दै शङ्काको फाइदा पनि लिन सकिन्छ—अझै यस्तो कहाँ र कति भएको होला? त्यता पनि श्रीमान प्रधान न्यायाधीशको ध्यान जाओस् । त्यसका लागि सार्वजनिक सूचना माग गरेर पीडितहरुलाई आफ्ना पीडा भन्नका लागि उत्साहित गर्न सकिन्छ कि न्यायलाई शुद्ध र आम जनताको पहुँचमा पु¥याउनका लागि ?

६.प्रजातन्त्रमा विभिन्न सँस्थाहरु स्थापित हुन्छन् स्वतः स्वचालित प्रक्रियामा समाज लैजानका लागि । शक्तिको विभाजन गरिएको हुन्छ आफ्ना आफ्ना कामका लागि । त्यसैलाई शक्ति पृथकीकरण भनिएको हो । जनताले निर्वाचित गर्ने हो व्यवस्थापिका, व्यवस्थापिकाले कानुन बनाउने हो सुशासनका लागि औजारका रुपमा अनि कार्यपालिकाले संविधान तथा कानुनको पालना गर्ने र गराउने हो । न्यायालयले व्यवस्थापिकाका कानुनलाई सरकारले कार्यान्वयन गरेको नगरेको हेर्ने, समीक्षा गर्ने र नमिलेका काम कुरामा नियम अनुसार गर्नका लागि उत्प्रेरित गर्ने हो । आवश्यकताअनुसार दण्डित पनि गर्ने हो । प्राचीन न्याय प्रणालीमा दण्डलाई महत्व दिइन्थ्यो किनभने राज्यलाई अराजक अवस्थाबाट मुक्त गराउने नै दण्ड हो । दण्ड भनेको न्याय हो । अनि त्यही न्याय दिने ठाउँमा नै अन्यायको बोलबाला भयो भने आम जनतालाई राज्यप्रति कति भरोसा हुन्छ होला ? अहिले हामी त्यही अवस्थाबाट गुज्रिरहेका छौँ । आम जनताले भरोसा गर्ने प्रजातान्त्रिक सँस्थाहरुले नै जनताका अपेक्षा र आशामाथि नै निरासा बढ्यो भने त्यसको के परिणाम होला ?

७.त्यसैले प्रजातन्त्र भनेको सरकारमात्र होइन, व्यवस्थापिका मात्र होइन, न्याय पालिकामात्र होइन, विभिन्न संवैधानिक सँस्थाहरुमात्र होइनन्, प्रहरीमात्र होइन, सेनामात्र होइन, नागरिक समाजमात्र होइन, सरकारी तथा गैर सरकारी सँस्थाहरुमात्र होइनन्, सामाजिक सँस्थाहरुमात्र होइनन् , तर सबैको संयुक्त अधिकार, कर्तव्य, सदाचार र समाजको कल्याण गर्ने सद्प्रयास नै प्रजातन्त्रको सुन्दरतम पक्ष हो, परिणाम पनि हो ।

८.अहिलेको हाम्रो प्रजातान्त्रिक प्रयासले र सँस्कारले के आम जनताका अपेक्षा र आवश्यकता पूरा गर्न सकेका छौँ त ? जनताले सुशासन पाएका छन् त ? जनताका दैनिक आवश्यकताहरु पूरा भएका छन् त ? हामीले अंगीकार गरेको राजनीतिक व्यवस्थाले आम जनताको गाँस बास, कपास, सुरक्षा, शिक्षा र स्वास्थ्यको समस्या समाधान भएको छ त ? पक्कै उत्तर आउँछ —सकेका छैनौँ । त्यसो भए अहिलेको प्रजातन्त्रले आम जनताको इच्छाको प्रतिनिधित्व गर्दैन त ? फेरि उत्तर आउँछ—प्रतिनिधित्व त गर्छ तर इच्छा पूरा हुन समय लागिरहेको छ । फेरि अर्को प्रश्न पनि आउँछ—अहिलको प्रजातन्त्रको अभ्यासबाहेक कुन त्यस्तो व्यवस्था छ जसले जनताको भावनाको कदर गर्दै व्यक्तिको स्वतन्त्रतालाईँँ सम्मान गर्दै सामूहिक अधिकारको रक्षा गर्छ त ? फेरि उत्तर आउँछ—सँसदीय सर्वोच्चताको आधारमा हामीले अभ्यास गरेको प्रजातन्त्र नै मानवीय उच्च आकांक्षा पूरा गर्न सक्षम छ ।

९.के कुरामा बहस अगाडि बढाउनु जरुरी छ —त्यसो भए हाम्रो प्रजातन्त्रमा के कमी भयो जसले अपेक्षित परिणाम समाजलाई दिन सकेन ? हो यहीँनेर सचेतनायुक्त दण्डहीनताको उपचार आफैँमा खोज्नु आवश्यक छ । प्रजातन्त्र भनेको अराजकता पनि होइन र जनतालाई पिँजडामा राख्ने शासन प्रणाली पनि होइन । यो जेलमा जस्तै खान, लाउन र बस्न त सित्तैमा पाइन्छ तर अभिव्यक्ति स्वतन्त्रता भने पाइँदैन । त्यसैले जनताका अपेक्षा स्वतन्त्रतामा बढी नै मुखरित भएको पाइन्छ । स्वतन्त्र जनताको, नागरिक सबैको अपैक्षाका वारेमा किन, बेलैमा जनताका अपेक्षा पूरा गर्नका लागि सँयन्त्रको खोजी गरौँ, त्यस्ता औजारहरुको विकास गरौँ र जनताको अधिकारको सम्मान गर्दै निर्दोष, निरपराध र जनताको आवश्कता पूरा गर्ने प्रजातन्त्रलाई अपमानित हुन र बदनाम हुनबाट बचाऔँ ।

१०. र अन्त्यमा, प्रजातन्त्र मरेको पनि छैन, म्याद गुज्रेको ओखती पनि होइन र जीवन दायिनी क्षमता यदि कुनै पनि शासन प्रणालीमा अझै पनि छ भने त्यो प्रजातन्त्रमा नै छ जहाँ जनता शासनको मालिक आफैँलाई सम्झन पाउँछ । शासन प्रणालीमा सुधार गर्न पनि पाइन्छ ।

सम्बन्धित समाचार

यात्राका अनेक तरेली
यात्राका अनेक तरेली
  • २०७५ फाल्गुन १३, १०: ३७: १९

भ्रमण अवलोकन ज्ञान र अनुभूतिका बृहत पाठशाला हुन् । फरक यात्राका अनुभूति फरक हुन्छन् । कति स्मरणहरु अविष्मरणीय हुन्छन्, कति अनौठा त...

नेपाली कांग्रेसको लडाईं लोकतन्त्र र संविधान बँचाउनको लागि हो !
नेपाली कांग्रेसको लडाईं लोकतन्त्र र संविधान बँचाउनको लागि हो !
  • २०७५ फाल्गुन १३, १०: ३७: १९

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सिद्धान्त निष्ठ र कर्मठ नेताको रुपमा चिनिन्छन् जीवन परियार । उनी पूर्व मन्त्री तथा तथा...

अन्यौल परिस्थितिको फाइदा कसैले उठाउन नपाऊन्, निरन्तर सजगता आवश्यक छ
अन्यौल परिस्थितिको फाइदा कसैले उठाउन नपाऊन्, निरन्तर सजगता आवश्यक छ
  • २०७५ फाल्गुन १३, १०: ३७: १९

१.सबैको प्रतीक्षा यो बेलामा सर्वोच्च अदालतभित्रको संवैधानिक इजलासको फैसलामा छ । २०७७ साल फागुन ७ गते सम्ममा एमिकस क्युरीका विशेषज्ञहरु वरिष्ठ...

भर्खरै

TOP