November 24, 2020, Tuesday

देउवा र पौडेल ‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ !

विबाद थाँति राखी तातोपानीमा डुबुल्की

काठमाडौं । ‘कामकुरो एकातिर कुम्लो बोकि ठिमीतिर’ भने झैं नेपाली कांग्रेसका शीर्ष नेताहरु यतिवेला पार्टीको आन्तरिक समस्यलाई असरल्ल छाडेर देश दौडाहाको नाममा तातो पानीमा डुबुल्की मार्दै रुमलिएका छन् । तीन बर्षअघि जारी संविधानले मुलुकलाई संघीय संरचना लगेपनि कांग्रेसको सांगठानिक संरचना सोही बमोजिम बनाउन भने नेतृत्वले कुनै पहल गरेको छैन । संविधान जारी भएपछि कांग्रेसको १३औं महाधिवेशन सम्पन्न भयो ।

तर, विधान बमोजिम महाधिवेशन भएको दुई महिनाभित्र गठन गर्नु पर्ने कुनै पनि विभाग र समिति अहिले अस्तित्वमा छैनन् । नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको दुई तिहाई बहुमतको सरकारले विपक्षी बिचारधारा बोक्ने हरेक पेशा र वर्गका समुदायलाई पेल्दै गएको अवस्थामा नेताहरुबीच एकता हुनुपर्नेमा केन्द्रीय तहले गर्नुपर्ने दायित्व र पुरा गर्नुपर्ने जिम्मेवारीबाट पन्छिएको देखिएको छ ।

आगामी चैत ४ गते बोलाईएको केन्द्रीय कार्य समिति बैठकको एजेण्डा समेत तिनै निर्वाचन, अनुशासन समिति र नेविसंघ तदर्थ समिति गठनमा केन्द्रीत छन् । ति बिषयमा पार्टी संस्थापन पक्ष र संस्थापनइत्तर पक्षबीच छलफल र वार्ता नै नगरी शीर्ष नेताहरु देश दौडाहामा जुटेका छन् ।

पार्टीको केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठानको संयोजक उपसभापति स्वतः हुने प्रावधान छ । गतबर्ष सभापति शेरबहादुर देउवाले गठन गर्नुभएको केन्द्रीय संसदीय समिति र अनुशासन समिति समेत हाल अस्तित्वमा छैनन् । सभापति देउवाले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा उम्मेदवार छनोट गर्न संसदीय समितिले गर्नुपर्ने बैधानिक बाध्यताका कारण गठन गरेका थिए । १५ सदस्यीय संसदीय समितिलाई विधान विपरित २३ सदस्यीय बनाइएको भन्दै सभापति देउवाले भङ्ग गरेका थिए ।

सभापति देउवाले केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेपनि एक बर्षदेखि सो समिति निष्कृय छ । संघीय संरचना बमोजिम बिधान निर्माण गर्न र एक बर्षअघि सम्पन्न तीनै तहको निर्वाचनको समिक्षा गर्ने उदेश्यले पुस ८ गते महासमिति बैठक सम्मन्न भएको छ ।

तर, महासमिति बैठकले गरेका निर्णय कार्यान्वयन गर्ने र विधान संशोधन गर्ने बिषयमा केन्द्रीय कार्य समितिमै बिबाद भएको थियो । फलस्वरुप कांग्रेसको ७० बर्षको इतिहासमा पहिलो पटक पार्टी बिधान समेत बहुमतको अधारमा फागुन १२ गते पारित भएको थियो ।

संशोधित बिधान बमोजिम निर्वाचन समिति र अुनशासन समिति गठन गर्ने प्रस्तावको बिषयमा छलफल गर्न फागुन १२ गते बसेको बैठकमा असन्तुष्ट नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसीले बहिस्कार गर्ने चेतावनी दिएपछि अनिश्चितकालका लागि स्थगित भएको थियो ।

आफूहरुको सहमतिबिना बहुमतको बलमा सभपाति शेरबहादुर देउवाले निर्वाचन र अनुशासन समिति तथा नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गर्न खोजेको भन्दै असन्तुष्टी जनाएपछि सभापति देउवाले बैठक तत्काल राखेको थिए ।

महासमिति बैठकमा व्यक्त गरेको प्रतिवद्धता विपरित सभापति देउवाले विधान संशोधन प्रतिवेदनलाई बहुमतको आडमा पारित गरेकोप्रति असहमति जनाएका असन्तुष्ट नेताहरुकै लयमा ५६ जिल्ला सभापतिले पनि महासमिति बैठकको प्रतिवद्धता कार्यान्वयन नगरे तत्काल महाधिवेशन बोलाउने चेतावनी दिएका छन् । यसरी चौतर्फी घेराबन्दी र दबाबमा परेका सभापति देउवा संवादमा जुट्नुभन्दा बहुमतकै आडमा पेलेर जाने योजनामा लागेको देखिन्छ ।

सभापति देउवा मात्र होइन, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला छुट्टाछुट्टै कार्यक्रम लिएर जिल्ला दौडाहामा जुटेका छन् । केन्द्रीय कार्य समिति बैठकमा दुईतिर मुहार फर्काएर बस्ने सभापति देउवा र वरिष्ठ नेता पौडेललाई पार्टी जिल्ला कार्य समिति म्याग्दीले भने एउटै मञ्चमा राखेको थियो ।

पार्टीको आन्तरिक जीवनका जकडिएका समस्यालाई थाँति राखेर सभापति देउवा फागुन २३ गते विराटनगरमा एक दैनिक पत्रिकाको वार्षिकोत्सवमा भाग लिन गएका थिए । शुक्रबार पोखरामा अगुवा नेता कार्यकर्तासँग भेटेका सभापति देउवा र नेता पौडेलले शनिबार भने तातोपानी कुण्डमा सँगै नुहाएका थिए । आइतबार पार्टीको पर्वत जिल्लास्थित जलजला गाउँपालिका भवन शिलान्यासमा समेत सभापति देउवा र पौडेल दुवै गएका थिए ।

सभापति देउवा आइतबारनै वाग्लुङमा पार्टी कार्यकर्तासँगको भेटघाटमा व्यस्त भएका थिए । उनी आज फागुन २७ गते पर्बतमा पार्टी कार्याकर्तासँगको छलफलमा व्यस्त हुने भएका छन् ।
उता नेता पौडेल भने आइतबार दिनको ११ बजे नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको भेटघाट कार्यक्रममा अर्का नेता डा. शेखर कोइरालासँगै थिए ।

नेता पौडेल आज २७ गते जिल्ला कार्यसमिति नवलपरासीले आयोजना गर्ने कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । फागुन २८ गते नेता पौडेल अर्घाखाँचीको शीतगंगा नगरपालिकास्थित ज्योति बहुमुखी क्याम्पसको धार्मिक महोत्सव उद्घाटन गरी सन्धीखर्क नरपानी बीपीपार्क र वार्ड कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

२९ गते नेपाल महिला संघ अर्घाखाँचीको कार्यक्रममा सहभागी हुँदै शहिदका शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ भने पौडेल चैत १ गते कपिलबस्तुमा पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुने बताइएको छ । महामन्त्री डा. शशांक कोइराला शुक्रबार नवलपरासीमा आफ्नो निर्वाचन क्षेत्रका अगुवा कार्यकर्तासँगको छलफलमा रहेका थिए ।

त्यसैगरी महामन्त्री कोइराला शनिबार पनि नेपाल शिक्षक संघ नवलपरासीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमम सहभागी भए । अर्का नेता कृष्णप्रसाद सिटौला पनि धेरै समय आफ्नै निर्वाचन क्षेत्र झापाको तीन नम्बर क्षेत्रमा खटिन थालेको छन् । विहीबार राष्ट्रिय सभाका पूर्वसांसद जीतबहादुर पुरीको निधनपछि सिटौला झापा गएका थिए । सिटौला मोरङ र सुनसारीका विभिन्न क्षेत्रमा आयोजित अगुवा कार्यकर्तासँगको भेटघाटमा व्यस्त हुने भएका छन् ।

नेता डा. शेखर कोइराला शुक्रबार पोखरामा बुद्धिजीविसँगको छलफलमा थिए भने शनिबार नेपाल शिक्षक संघ र पार्टीका अगुवा कार्यकर्तासँगको अन्तरवार्तामा क्रियाशील भए । सभापति देउवाले त्यस्ता कार्यक्रममा पार्टीभित्रकै गुटले आफूलाई काम गर्न नदिएको बताई रहँदा संस्थापनइत्तरका नेताहरुले भने सभापति देउवाको कमजोरीका कारण पार्टीनै धरासयी भएको आरोप लगाउँदै आएका छन् । सिटौलाले भने नेविसंघ र अनुशासन समितिमा सभापति देउवाले सहमति गर्नुपर्ने बताएका छन् ।

पौडेलको भने देउवाको सहमति आफूसँग हुनुपर्ने धारणा रहँदै आएको छ । डा. शेखर कोइराला भने वर्तमान नेतृत्वबाट पार्टी नचल्ने भन्दै चाँडो महाधिवेशनको लागि अघि बढ्न सुझाव र दबाब दिइरहेका छन् । डा. शेखर कोइराला पार्टीका हरेक कार्यक्रममा जिल्ला दौडाहामा र कार्यकर्ताको घरदैलोमा पुगिरहेका छन् ।

सम्बन्धित समाचार

हजाराैलाइ गैरकानुनी रूपमा विदेश पठाएकाे गाेप्य सुचनापछि विभागले मेनपावरमा छापा मार्याे
हजाराैलाइ गैरकानुनी रूपमा विदेश पठाएकाे गाेप्य सुचनापछि विभागले मेनपावरमा छापा मार्याे
  • २०७५ फाल्गुन २७, ०६: ३८: १२

नयाँ विकल्प काठमाडाैं-वैदेशिक रोजगार विभागले दुई दिनमा तीन वटा मेनपावर कम्पनीमा छापा मारेको छ। विभागले लैनचोरस्थित होप इन्टरनेसनल, धापासीको एसओएस मेनपावर...

बालिका हत्याकाे बिराेधमा प्रदर्शन गर्नेमाथि प्रहरीले गाेली चलायाे, २ गम्भीर घाइते,  आराेपीकाे घर जलाइयाे
बालिका हत्याकाे बिराेधमा प्रदर्शन गर्नेमाथि प्रहरीले गाेली चलायाे, २ गम्भीर घाइते, आराेपीकाे घर जलाइयाे
  • २०७५ फाल्गुन २७, ०६: ३८: १२

नयाँ विकल्प बर्दिवास । बालिका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दामाथि प्रहरीले मंगलबार गोली चलाउँदा दुइ...

तुलसीपुरमा हवाई ईन्धन डिपो निर्माण गरिने
तुलसीपुरमा हवाई ईन्धन डिपो निर्माण गरिने
  • २०७५ फाल्गुन २७, ०६: ३८: १२

नयाँ विकल्प, काठमाडौं – नेपाल आयल निगमले तुलसीपुर उपमहानगरपालिकास्थित दाङको टरीगाउँ विमानस्थलमा हवाई ईन्धन डिपो स्थापना गर्ने भएको छ ।...

भर्खरै

TOP