November 24, 2020, Tuesday

पार्टीको महासचिव जोगाउन सत्ताको प्रयोग

राज्यको सम्पति दुरुपयोग हुँदा सरकार किन मौन ?

काठमाडौं । सत्ताको उपयोग गरी जनताको हितका लागि जीवनको समेत प्रवाह नगरी क्रियाशिल भइरहेको दाबी गर्ने वर्तमान नेकपा नेतृत्वको सरकार जनताको हितभन्दा आफ्नो व्यक्तिगत स्वार्थमा लाग्न थालेको छ ।

यसको पछिल्लो उदाहरणको रुपमा सरकारी जग्गालाई व्यक्तिगत बनाउने दलाल मार्फत कौडीको भाउमा घडेरी किन्ने नेकपाका महासचिव विष्णु पौडेललाई लिन सकिन्छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव पौडेलको बालुवाटारको जग्गा सरकारले जफत नगर्ने औपचारिक जानकारी दिएसँगै सरकारले आफ्नो पार्टीका महासचिव भएकै आधारमा कसरी दोषीलाई जोगाइरहेको छ भन्ने प्रष्ट हुन्छ ।

सरकारको अधिनमा रहेको बालुवाटारस्थित सरकारी जग्गालाई दलाल र मालपोतका कर्मचारीको मिलेमतोमा महासचिव पौडेलले आजभन्दा १४ बर्ष अघि छोराको नाममा प्रतिआना ५० हजारको दरले अर्थात कौडीको भाउमा खरिद गरेका थिए । २०६१ साल माघमा समेत प्रतिआना १० लाख रुपैयाँ आनामा बिक्री वितरण हुने उक्त जग्गा पौडेलले कसरी ५० हजार प्रतिआनाका दरले आठ आना जग्गा किन्न सफल भए होलान भनेर धेरैले अचम्म मानेका छन् ।

बालुवाटारको जग्गा व्यक्तिका नाममा आएको भन्दै सरकाद्वारा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनको आधारमा उक्त जग्गा नेकपा महासचिव पौडेलले पनि खरिद गरेको सूचना वाहिरिएको थियो । भूमाफियाहरुले नेपाल राष्ट्र बैंक, प्रधानमन्त्री निवास, सभामुख, अध्यक्ष र प्रधानन्यायाधीशको सरकारी निवास समेत व्यक्तिको नाममा स्वामित्वमा पास गराई सकेको हुनसक्ने भन्दै त्रितालले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।

तर प्रतिवेदनलाई प्रधानमन्त्री ओलीले गुपचुप राखेका थिए । जव आमसञ्चारका माध्यममा सो सूचना वाहिर आयो, तव प्रधानमन्त्री ओलीले सरकारी जग्गा एक इन्च पनि सरकारले छाड्ने छैन भनेर प्रतिवद्धता व्यक्त गरेका थिए । तर, प्रधानमन्त्री ओलीको सो प्रतिवद्धतालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल वाँस्कोटालाई एक साता नपुग्दै खण्डन गरेका थिए ।

उनले सरकारी जग्गाको संरक्षण गर्न सरकार तयार रहेको भन्दै भूमाफियाले झुक्याएर महासचिव पौडेललाई जग्गा भिडाएको भन्दै भूमाफियालाई कारबाही गरी पौडेललाई राहत दिनुपर्ने माग गरेका थिए । सञ्चार मन्त्रीको विवादस्पद भनाई आएसँगै प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल दुवैले महासचिव पौडेललाई जसरी पनि जोगाउनु भन्दै भूमिव्यवस्था मन्त्री पद्मा अर्याललाई निर्देशन दिएका थिए ।

सोही निर्देशनको आधारमा मन्त्री पद्मा अर्यालले मोही लागेको जग्गा किनेकोले विष्णु पौडेलले खरिद गरेको जग्गा जफत नहुने प्रष्ट पारिन् । मन्त्री अर्यालले पौडेलको जग्गा जफत नहुने बताउनुअघिनै सञ्चार मन्त्री गोकुल वाँस्कोटाले दलालले महासचिव पौडेललाई फसाएको भन्दै उहाँलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका थिए ।

सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको ललिता निवासको जग्गा भूमाफियाले कर्मचारीसँग मिलेर व्यक्तिको नाममा लगिसकेको चर्चा र हल्ला व्यापक भएपछि नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई टाउको दुखाईको बिषय बनेको छ ।

यो प्रकरणमा नेकपा महासचिव पौडेल त्यसबेला मुछिए, जब ललिता निवासको ८ आना जग्गा उनका छोरा नविन पौडेलको नाममा भेटियो । पूर्वमन्त्री पौडेलले यो प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छ र नविनको नाममा रहेको जग्गा किनेको दाबी गरेका छन् ।

त्यही तर्कलाई टेकेर सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जग्गा प्रकरणमा पार्टी महासचिव पौडेललाई पीडितका रुपमा प्रस्तुत गरेका थिए । भूमिसुधारमन्त्री पद्म अर्यालले भने पौडेलको जग्गा बैधानिक भएको तर्क गरेकी छन् । उनले सरकारले अधिग्रहण गरेपछि भूमाफियाहरुले व्यक्तिको नाममा लगेको ललित निवासको साढे ४ सय कित्ता किटान गरेर रोक्का गरिएको छ ।

तर, पौडेलले आफ्ना छोरा नविनको नाममा किनेको जग्गा भने मोही कायम भइसकेकाले बैधानिक भएको उनको दाबी गरिन् । उनकाअनुसार प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश निवास विस्तार गर्दा व्यक्तिको जग्गा लिएर ललित निवासमा सट्टा दिएको र त्यसमध्ये केही राजकुलो, बाटो भएको पाइएको मन्त्री अर्याल बताउँछिन ।

सरकारले नै मोही कामय गरेर व्यक्तिमा हस्तान्तरण हुँदै छैटौं व्यक्तिका रुपमा नविनको नाममा पुगेको भन्दै उनले यो जग्गा जफत नहुने बताइन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको जग्गा भने व्यक्तिको नाममा गइसकको भएपनि जफत हुने बताएकी हुन् ।

६ दशक अघि स्याङ्जामा जन्मिएका विष्णु पौडेलको आर्थिक हैसियत तीन दशकमा यति धेरै बढ्यो कि उनलाई चिन्ने जान्ने राजनीतिज्ञ र सहपाठीहरु उनको अहिलेको अवस्था देखेर ओठ टोक्ने गर्छन् । राजनीतिक दलका नेतालाई रिझाएर शक्ति र पद प्राप्त गर्न सफल विष्णु पौडेलको हैसियत पार्टीभित्र मात्र होइन, अन्तरपार्टी सम्वन्धमा पनि त्यतिकै छ ।

२०४८ सालमा पाल्पाबाट तत्कालिन नेकपा एमालेको राजनीतिमा सक्रिय पौडेल जिल्ला सचिवको मात्र हैसियतमा थिए । त्यसपछि उनी बुटवल झरेका थिए । २०५१ सालको मध्यावधी निर्वाचनमा टिकट पाएर सांसद बन्न सफल भएपछि पौडेलले दिन दुई गुणा र रात चौगुण धनसम्पती आर्जन र पार्टी नेतृत्वमा प्रभावशाली हैसियतको बनेका हुन् ।

तत्कालिन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा पहिलो पटक कम्युनिष्ट सरकार बन्ने भएपछि उनी पनि सत्तामा जान निकै लालायित थिए । त्यसका लागि मगर समुदायबाटै राजनीतिको उचाई लिएका पौडेलले मगर ससुराली भएका बामदेव गौमको सहारामा शक्तिको आरोहण गर्न सफल भएका हुन् ।

बामदेव गौतमका कट्टर हिमायति पौडेलले गौतमको निगाहमा सत्तामा जान त सकेनन् तर पार्टीमा भने एकाएक प्रभावशाली भूमिका पाए । तत्कालिन नेकपाका एक सेएक नेताहरु अध्यक्ष अधिकारी प्रधानमन्त्री, महामन्त्री माधवकुमार नेपाल उपप्रधानमन्त्री, केपी ओली गृहमन्त्री, सहाना प्रधान मन्त्री भएर क्याविनेटमा गएपछि बामदेव गौतमलाई पार्टी हाँक्ने जिम्मेवारी आईलाग्यो ।

तत्कालिन नेकपा एमालेको संगठन विभाग प्रमुख भएका बामदेव गौतमलाई जिम्मेवारी अनुसार पद चाहियो भन्ने माग भएपछि उनलाई एमाले विधान विपरित उपप्रधानमन्त्री बनाइयो । अनि गौतमले छाडेको संगठन विभागमा पौडेललाई लगियो । एमालेको सरकार नौ महिनामा ढलेपछि महासचिवको जिम्मेवारीमा रहेका माधवकुमार नेपालले गौतमलाई उपमहासचिवबाट हटाइयो ।

तर संगठन विभागमा झर्न वा सिमित हुन वामदेवले नमानेपछि पौडेलको भाग्य खुलेको हो । २०५३ सालमा भारतसंग गर्न लागिएको पञ्चेश्वर बहुउदेश्यीय परियोजनासहित महाकाली सन्धी राष्ट्रघात थियो भन्दै कुर्लने बामदेव गौतमलाई उनै पौडेलले सघाएका थिए ।

संसदमा यस कारणले महाकाली सन्धी राष्ट्रघाति थियो भनेर प्रस्ताव लेख्ने उनै पौडेलले अन्तत्वगत्वा महाकाली सन्धीको पक्षमा संसदमा मत दिएर तत्कालिन महासचिव माधवकुमार नेपालको मन जितेका थिए ।

बामदेवलाई छाडेर माधव नेपालको कित्तामा आएका पौडेल पौडेललाई त्यसपछि सत्ताले सितिमिति छोडेन । कांग्रेस नेतृत्वको सरकारमा एमाले जाँदा होस वा लोकेन्द्रबहादुर चन्द नेतृत्वको राप्रपाले सरकारको नेतृत्व गरेको होस, हरेक पटक पौडेलले अवसर पाउने गरेका छन् ।

२०६१ सालसम्म प्रतिगमनविरुद्धको आन्दोलन जारी हुँदा प्रतिगमन आधा सच्चियो भन्दै तत्कालिन नेकपा एमालेलाई तत्कालिन नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा लैजान पनि पौडेलकै हात थियो ।

२०६४ सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेको सर्मनाक हार भएपछि महासचिवबाट माधवकुमार नेपालले राजिनामा दिएसँगै पौडेल केपी शर्मा ओलीको क्याम्पमा हामफालेका थिए । त्यसैले २०६६ वैशाखमा बनेको माधव नेपाल नेतृत्वको सरकारमा जान नपाएका पौडेललाई झलनाथ खनाल नेतृत्वको सरकारमा गृहमन्त्रीसहित पठाउने निर्णय गरियो ।

तर, पौडेलको खुराफती र तिलस्मी क्रियाकलापलाई नियालेका तत्कालिन प्रधानमन्त्री खनालले गृहमन्त्रीमा स्वीकार्नु भएन र, पौडेलले रक्षा मन्त्रीमा चित्त बुझाउनु प¥यो । ओलीभक्त भएको आशंका झलनाथले रक्षा मन्त्रीमा सिमित गरेपनि पौडेलको हैसियत भने झन बढी रहेको थियो ।
एमालेको आठौ महाधिवेशनमा केपी ओलीलाई रिझाएर उपमहासचिवको उम्मेदवार बनेका पौडेलले माधव नेपाल गुटका घनश्याम भूषालको भन्दा कम मत पाएका थिए ।

नेकपा एमाले र नेकपा माअ‍ोवादी केन्द्रबीच एकताको सूत्राधार नै पौडेललाई मानिन्छ । ओली निटक भनेर चिनिएका विचारक शंकर पोख्रेललाई हराउन भूमिका खेलेका पौडेल अन्तत पोखरेलभन्दा ओलीसँग आफू बस्न र रहन सफल भएका छन् ।

अहिले केपी ओली र प्रचण्डलाई बराबरको नेता मान्ने पौडेलले प्रधानमन्त्री ओलीलाई भनेर आफ्नो राजनीतिक भविष्य जोगाइदिन हार गुहार गरेका छन् । पाल्पाका पुर्खौली सम्पती, बुटबलमा आलिसान घर, हाल भैंसेपाटीमा आलिसान बंगला जोडेका पौडेलको आम्दानीमा बढेर अर्वको हाराहारीमा पुगेको पारिवारिक श्रोतले बतायो ।

सम्बन्धित समाचार

किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
  • २०७६ बैशाख १६, ०९: ३८: ०२

नयाँ विकल्प,एजेन्सी -चीनले सन् १९७० को दशकयता चन्द्रमाबाट ढुङ्गाका नमुना ल्याउन पहिलो पटक प्रयास गर्ने भएको छ। मङ्गलवार प्रक्षेपण गरिने...

वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
  • २०७६ बैशाख १६, ०९: ३८: ०२

नयाँ विकल्प काठमाडाैं – सरकारले काेराेना संक्रमण नियन्त्रणकालागि प्रत्यक्ष रूपमा खटिने स्वास्थ्यकर्मीलाइ तलबकाे शतप्रतिशत भत्ता उपलब्ध गराउने घाेषणा गरेकाे थियाे...

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
  • २०७६ बैशाख १६, ०९: ३८: ०२

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज)...

भर्खरै

TOP