May 13, 2021, Thursday

कांग्रेसको जागरण अभियान यस्तो छ

काठमाडौं । नेपाली कांग्रेसले पार्टीमा देखिएको मतभेद र गुटगत सक्रियतालाई निस्तेज पार्दै पार्टीलाई गतिशिल र नेतामा एकता कायम गर्ने उदेश्यले आयोजना, गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ हाल देशका ७७ वटै जिल्लामा सञ्चालन भएका छन् ।

तीन चरणमा आयोजना गरिएको यो अभियान बैशाख ११ गतेदेखि जेठ ११ गतेसम्म एक महिनाको लागि आयोजना गरिएको भएपनि पार्टीका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएका कारण बैशाख २५ गतेबाट मात्र सुरु भएको थियो ।

वैशाख २५ देखि जेठ २५ गतेसम्म प्रथम चरण, भदौ २४ गते बीपी जयन्तीको दिनदेखि असोज १० गतेसम्म दोस्रो चरण र पुष ७ देखि पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिनसम्म तेस्रो चरणमा जागरण अभियान सञ्चालन हुँदैछन् ।

सिन्धुपाल्चोक बाहेकका सबैजसो जिल्लामा अभियान उत्साहपूर्वक र सफलतापूर्वक सम्पन्न भएको प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन् । नेपाली राजनीतिमा एकै स्वरुपको प्रथम कार्यक्रमका रुपमा अभियान शुरु भएको थियो ।

अभियानमा पन्ध्र उद्देश्य रहेका छन् भने विदेशका ३३ देशमा र ७७ जिल्लामा एकसाथ उद्घाटन गरिएको कार्यक्रमसँगै कांग्रेसले आसन ग्रहणमा र वक्ताको लर्कोलाई समेत संशोधन र परिमार्जन गर्दै स्वागत र समापन बाहेक तीन वक्ता मात्र राख्ने परम्पराको थालनी गरेको छ ।

हरेक कार्यक्रममा महिला वक्ताको र प्रमुख अतिथिको मात्र मन्तव्य रहने नयाँ प्रचलन ल्याएको छ । आकर्षक व्याज वितरण, खादाको अनावश्यक प्रयोग र किलोका किलोको माला पहिरनको परम्परालाई कांग्रेसले परित्याग गरेको छ ।

पहिलो चरणमा केन्द्रीय प्रतिनिधिहरुले जिल्ला र संघीय निर्वाचन क्षेत्रस्तरमा अभियानलाई संचालन गर्नेछन भने दोश्रो चरणमा प्रदेश निर्वाचन क्षेत्रमा पर्ने तीन सय ३० निर्वाचन क्षेत्रमै केन्द्रीय प्रतिनिधि खटाइने छ ।

त्यस्तै, तेश्रो चरणको कार्यक्रममा भने सात सय ५३ स्थानीय तहमै कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएर अभियान चलाउने निर्णय भएको प्रवक्ता शर्माले जनाए ।
जागरण अभियानाका क्रममा आममतदाता र पार्टीका कार्यकर्ता तथा शुभेच्छुकमा उत्साह र अपनत्व प्रदान गर्न १२ भाषामा जागरण गीत पनि प्रस्तुत गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माको शब्द र संगीत रहेको जागरण गीत मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली भाषामा रेकर्डिङ गरिएका गीत यतिवेला जिल्ला जिल्लामा बज्न थालेका छन् । २५ गते सभापति शेरबहादुर देउवासहित अन्य शीर्ष नेताहरुले हरके प्रदेशमा गएर अभियानको शुरुआत गरेका थिए ।

देउवाले प्रदेश तीनको काठमाडौंमा, उपसभपाति विजयकुमार गच्छदारले प्रदेश एकको विराटनरमा, वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश २ को जनकपुरमा, महामन्त्री पूर्णबहादुर खड्काले गण्डकी प्रदेशको पोखरामा, अर्का महामन्त्री डा. शशांक कोइरालाले प्रदेश पाँचको बुटवलमा, कोषाध्यक्ष सीतादेवी यादवले कर्णाली प्रदेशको सुर्खेतमा र अर्का उपसभापति विमलेन्द्र निधिले सुदूरपश्चिम प्रदेशको धनगढीमा अभियानको प्रारम्भ गरेका थिए ।

जागरण अभियानलाई सहयोग गरी सफल बनाउन पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षण कार्यक्रमहरुको प्याकेज घोषणा गरेको छ । यस बीचमा पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले जागरण अभियानलाई अनुशासित र व्यवस्थित बनाउने उद्देश्यका साथ पार्टी हित विपरीतका गतिविधि कोहीबाट भएमा कारवाहीको लागि पर्यवेक्षणको काम समेत गरेको छ । काठमाडौंमा रहेका ५१ जिल्ला सम्पर्क समितिको भेला पार्टी केन्द्रीय कार्यालयमा गरी अभियानलाई सफल बनाउन काठमाडौंमा कार्यक्रम गर्न आग्रह गरेको छ ।

अभियान दुई साता पछि सरेसँगै पार्टीले केन्द्रीय समितिमा रहेका सांसदहरुलाई चलिरहेको संसद अधिवेशनमा बढी क्रियाशील हुनु पर्ने भन्दै जिल्ला नजान निर्देशन दिएको छ । सांसदहरुको ठाउँमा अन्यलाई प्रतिनिधि तोकिएको छ । मोरङ र इलाम जिल्लामा स्थानीय व्यवहारिक कठिनाई देखाउँदै २५ गते अभियान हुन सकेन भने सिन्धुपाल्चोकमा सभापति विकास लामा समूहका कार्यकर्ताले केन्द्रीय सदस्य मोहन बस्नेत समूहका नेतालाई कुटेपछि सभा भाँडिएको थियो ।

अधिकांश जिल्लामा भने ‘नवीन स्वरुपको, व्यवस्थित कार्यान्वयन’ भएको प्रवक्ता विश्वप्रकाश शर्माले जनाए । उद्घाटन कार्यक्रमको अभिव्यक्ति मार्फत् ‘पार्टीलाई नवीन सन्दर्भमा नवीन ढंगले सुदृढ गर्दै, वर्तमान सरकार बने यताका समग्र बेथिति उपर खरो प्रहार गरेर अघि बढ्न’ पार्टी शीर्ष नेतृत्व एवं सम्पूर्ण केन्द्रीय प्रतिनिधिहरूबाट एउटै स्वर र भावना प्रकट भएको पार्टीले जनाएको छ ।

जागरण अभियानका उद्देश्यहरू पार्टीको स्थानीय पंक्ति हुँदै आमजनता समक्ष पु¥याउन २६ गतेदेखिनै अभियान क्षेत्र र गाउँ–नगर तहमा शुरु भएको छ । केन्द्रीय प्रतिनिधि एवं जिल्ला पार्टी नेतृत्वसँगै जागरण अभियानमा सबै तहका कार्यकर्ता र शुभचिन्तकहरू क्रियाशिल भएको पार्टीले जनाएको छ । जागरण अभियान पार्टीले शुरु गरे पनि कार्यकर्ताले यसलाई नुन नपुगेको तरकारीको रुपमा अनुभव गरेका छन् ।

पार्टीले स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनमा पराजय भोग्नुका कारणहरुको लेखाजोखा र निष्कर्ष नकिकाली कार्यकर्ता र मतदातासमक्ष पुग्नुलाई केही कमजोरीको रुपमा लिएका छन् । त्यस्तै ति तहमा उम्मेदवारी छनोटमा भएका कमजोरी र गुनासो गरेर बसेका कार्यकर्तालाई आड भरोसा वा जिम्मेवारीको कुनै निर्णय नगरिनुले कार्यक्रमलाई खल्लो बनाएको टिप्पणी पार्टी कार्यकर्ताको छ ।

यता केन्द्रमा भने विधान बमोजिम सभापति शेरबहादुर देउवाले २ महिनाभित्र गठन गर्नुपर्ने विभागलाई तीन बर्ष पुग्दा समेत गठन नगर्नु, नेपाल विद्यार्थी संघ गठन गर्न नसक्नु र नेपाल तरुणलाई चार सदस्यीयमा सिमित गरिनुले अभियानलाई फितलो बनाएको टिप्पणी गरेका छन् ।
धेरै जसो जिल्ला सभापतिले केन्द्रीय सभापति र केन्द्रीय कार्यसमिति समक्ष महासमिति बैठकको भावना र सहमति बमोजिम निर्णय नभएको भनी गुनासो गरेका छन् ।

जिल्लाका सभापतिको मनामा रहेको गुनसोलाई संवोधन नगरी शुरु गरिएको यो अभियानले केन्द्रीय नेतालाई एकातिर र जिल्लास्तरका नेताहरुलाई अर्को कित्तामा उभ्भएको छ । जिल्ला सभापतिहरु समक्ष केन्द्रीय सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र पदाधिकारीले स्वत महाधिवेशन प्रतिनिधि हुने प्रचलनको अन्त्य गर्ने आश्वासन दिएका थिए ।

तर महासमिति बैठकमा त्यस्तो निर्णय नभएको भन्दै सभापति देउवापक्षधर केन्द्रीय सदस्यहरुले आफूहरुको राजनीतिक भविश्यलाई सुरक्षीत गर्दै आफूहरु स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्थालाई निरन्तरा दिएका थिए । धेरैजसो जिल्ला सभापतिले अभियानको क्रममा जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरुलाई यही गुनासो गर्ने गरेका छन् ।

जिल्ला सभापतिहरुको गुनासोलाई केही प्रतिनिधिले स्वीकारेका छन् भने केहीले महासमिति बैठकमा त्यस्तो प्रस्ताव नै पेश नभएको र पारितनै नभएको तर्क गर्दै आएका छन् । राष्ट्रिय सभामा प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डे, प्रतिनिधिसभाका मुख्य सचेतक बालकृष्ण खाँड र नेता डा. मिनेन्द्र प्रसाद रिजाललाई केन्द्रीय प्रतिनिधिको रुपमा ललितपुर, काठमाडौं र भक्तपुर खटाइए पनि अन्य सांसदहरुलाई भने नजान भनिएको छ ।

किनकी सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम र प्रि बजेट छलफलमा भाग लिनु पर्ने भएकोले उपत्यकावाहिर खटाइएका केन्द्रीय प्रतिनिधिलाई बाहिर नजान भनिएको हो ।

सम्बन्धित समाचार

एमाले विवादः माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा
एमाले विवादः माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा
  • २०७६ बैशाख ३१, ०८: ०८: २८

नयाँ विकल्प, काठमाडाैं- नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास...

सत्ता संकटमा परेपछि माधव नेपालकाे शरणमा पुगे ओली पक्षीय नेताहरू
सत्ता संकटमा परेपछि माधव नेपालकाे शरणमा पुगे ओली पक्षीय नेताहरू
  • २०७६ बैशाख ३१, ०८: ०८: २८

नयाँ विकल्प, काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीकाे सत्ता संकटमा परेपछि माधव नेपाललाइ फकाउन ओली निकट नेताहरू नेपाल निवासमा पुगेका छन्...

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त
  • २०७६ बैशाख ३१, ०८: ०८: २८

नयाँ बिकल्प,पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा...

भर्खरै

TOP