January 16, 2021, Saturday

चिनिया ‘साँस्कृतिक क्रान्ति’को नेपाल संस्करण

केदार सुवेदी
यो साता

नेकपाको दुइतिहाइको सरकाले वास्तवमा नै नेपालमा चिनमै व्यापक आलोचना भएको सांस्कृतिक क्रान्तिको नेपाली संस्करण उतार्न खोजेको हो ? खासगरी उपत्यकामा यो प्रश्न घरघरमा उठन थालेकोे छ ।

निजी सम्पत्तिबाट खडाभएका गुठीलाई राष्ट्रियकरण गर्ने विधेयक प्रस्ताव भएपछि सुरु भएको यस्तो प्रश्न अव आन्दोलनमा रुपान्तरित हुँदै आमनागरिकलाई यसले सडकमा उतार्ने काम गरेका पाइयो । खासगरी उपत्यकाको एउटा समुदाय गएको हप्तादेखि करिव–करिव सडकमानै छ भनेपनि हुनेभएको अवस्था छ ।

पृथ्वीनारायणको चर्चा
इतिहासमा लेखिएअनुसार पृथ्वीनारायण शाहले इन्द्रजात्राको दिन काठमाडौं आक्रमण गरेपछि मल्ल राजाको शासन अन्त्य भई एकीकृत नेपालको राजा भएको इतिहास प्रायः सबै नेपालीलाई थाहा छ । उनले काठमाडौं विजयसँगै कुमारीको दर्शन गरी चलि आएका रीत, परम्परा, संस्कृति, धर्मको रक्षा हुन्छ भनी आश्वस्त पारेकाले स्थानीय जनताको मन जितेका थिए ।

उनले भूमि लिय । तर संस्कृति छोएनन मात्र होइन त्यसलाइनै माने जसको परम्परा अहिलेसम्म कायम छ । जस्तो आजसम्म कुमारी, गणेश र भैरवको पूजा हुन्छ ।

राजा हुँदा राजाले र अहिले राष्ट्रपतिले राष्ट्रप्रमुखका रूपमा इन्द्रजात्राको दिन वसन्तपुर गई कुमारी समेतको ढोगभेट गर्ने र धुमधामसित पूजा गर्ने चलन कायम छ । अस्ति भरखरमात्रै राष्ट्रपतिले भोटोजात्रा हेरेको उदाहरण सस्कृतिको जगेर्नाको प्रमाणपनि हो  ।

तर नेकपाको सरकारको अहिलको प्रस्तावले भने त्यस्ता संस्कृतिहरुलाई समाप्त गर्छ । समाप्त मात्र होइन तिनको राष्ट्रियकरण करण गरेर त्यसको अवशेषपनि मेटन खोजेको जस्तो देखिन्छ जस्तो माओको समयमा चीनमा भएको थियो  ।

विगतका प्रयास
पछिल्लो दशक दुई प्रधानमन्त्रीका पालामा दुइटा प्रयोग गरिए यस्तो परम्परा मेट्ने सन्दर्भमा । पहिलो, पशुपतिनाथको मन्दिरमा परम्परादेखि दक्षिण भारतबाट ल्याइएका भट्टको सट्टा स्थानीय ब्राह्मणलाई पशुपतिनाथको मूल भट्टमा स्थापित गरियो । दोस्रो, हनुमान ढोकामा चलिआएका रीत, परम्परा बमोजिमको पूजामा राज्यद्वारा दिइआएको आर्थिक सहयोग रोक्का गरियो ।

तर यी दुवै प्रयोग पुरै असफल भए । यी दुवै कार्य कम्युनिस्ट प्रधानमन्त्रीका पालामा भएका थिए । यतिबेलापनि कम्युनिष्ट प्रधानमन्त्री नै छन । अहिलेका प्रधानमन्त्री फेरि अर्को प्रयोग गर्दै छन, गुठी सम्बन्धमा नयाँ विधेयक संघीय संसदमा प्रस्तुत गरेर ।

संसदमा पेस भएको यो विधेयकबारे निकै समय चर्चा भएन, त्यति बेला सरोकारवालाहरूले सायद जानकारी नै पाएनन् । तर जानकारी चुहिएपछि यसको विरोधको मात्रा बढ्दो छ र काठमाडौंको माइतीघर मण्डलामा विरोध जनाउनेहरूमाथि राज्यले लाठी चार्ज र पानीको फोहराको प्रयोग गर्नुपर्ने एवं पक्रेर थुनामा राख्नुपर्ने सम्मको स्थिति पैदा भयोे ।

शताव्दी पुरषका शब्द
शताब्दी पुरुष सत्यमोहन जोशी पनि सरकाले बेला न कूवेला गरेको आफैलाई नास गर्ने एक एउटा काम भन्छन् । तीनचार दिन पहिले पाटनमा जस्तो जनसमुदाय प्रकट भयो तयसलाई उनी सरकारले सडकमा उतारेको अस्था भनछन । परम्परासँग मान्छेको एकदमै बाक्लो र घनिष्ट सम्बन्ध हुन्छ । गुठी पनि नेवारहरूको निम्ति संस्कृति र सभ्यतासँग जोडिएको विषय हो ।

यस्तो गम्भीर विषयमा हात हालेर सरकारले बेमौसमी राग अलापेको छ । शक्तिशाली सरकारले गर्नुपर्ने कामहरू कम थिएनन् । काठमाडौं उपत्यका बासीलाई मेलम्चीको पानी मात्र खुवाउन सकेको भए साराले मान्ने थिए । गर्नुपर्ने काम एकातिर छ, त्यसलाई वास्तै नगरेर नचाहिने काममा किन हात हालेको हो, मैले बुझेको छैन ।

उनका अनुसार यो काम कसैले माग्द नमागि र आवश्यकतानै नभएको बेलामा भयो । न कसैले मागेको छ, न कसैले यो विषय उठाएको छ । यो त आफ्नो विनाश आफैंले खोजेजस्तो देखियो । गुठी भनेको हिजो–अस्तिको परम्परा होइन । लिच्छवि राजा शिवदेव र अंशुवर्माकै पालाका शिलालेखमा ‘गोष्ठिका’ शब्द प्रयोग भएको पाइन्छ ।

बाजागाजा गर्न त्यतिबेलै ‘बादित्र गोष्ठिका’ थियो । राजकुलोदेखि धारासम्म पानी प्रबन्ध गर्न ‘पानीय गोष्ठिका’ थियो । गुठी त्यही ‘गोष्ठिका’ बाट आएको हो । लेलेको लिच्छविकालीन शिलालेख हेर्ने हो भने त्यो बेला ‘पानीय गोष्ठिका’ ले लेले, चापागाउँ, सानोगाउँ, ठेँचो, सुनाकोठी जम्मैतिरबाट पानी ल्याएर पाटन, टुँडिखेलका चार पोखरी भरेको पाइन्छ । त्यही पानी पाटन अस्पतालको पोखरी हुँदै जावलाखेलको ठूलो पोखरीसम्म ल्याइएको थियो ।

सहरमा पानीको प्रबन्ध मिलाउन यति बलियो सञ्जाल मिलाउने काम गुठीले नै गरेको हो । गुठीका माध्यमबाट सर्वसाधारणले नै सफलतापूर्वक व्यवस्थापन गरेको काम अहिले सिंगो राज्य लाग्दा पनि लथालिंग छ । यत्रो प्रयास र बजेट लगाउँदा पनि सरकारले काठमाडौंबासीलाई देखाएको मेलम्ची सपना पूरा गर्न सकेको छैन । आफ्नो भएको परम्परा ध्वस्त पारेपछि आउने परिणाम भनेको यस्तै हो । यतिबेला सरकराको यस्तो रवैया समाजको बलियो हैसियतलाई छिन्न–भिन्न पार्ने उद्देश्यले प्रेरित भएको देखिन्छ ।’

पाँच खोट
वरिष्ठ अधिवक्ता तथा राष्ट्रिय सभाका सदस्य राधेश्याम अधिकारीका अनुसार गुठी सम्बन्धी प्रस्तावित व्यवस्था पाँच कारणले त्रुटिपूर्ण छ । पहिलो, यसले संघीयताको मर्ममाथि प्रहार गरेको छ । गुठी व्यवस्थापन प्रदेशको जिम्मामा रहेको विषय हो । संविधानको अनुसूची–६ मा यो स्पष्टसँग उल्लेख छ । संघीय कानुन बनाएर शक्तिको केन्द्रीकरण गर्ने र प्रदेशलाई अधिकारविहीन बनाउने शृंखलाको थप उदाहरण हो यो ।

संविधानको धारा २९० बमोजिम संघीय संसदले ऐन बनाउँदा पनि प्रदेशको अधिकारमा आघात पार्न पाइँदैन, तिनको अधिकारमा हस्तक्षेप गर्न मिल्दैन । दोस्रो, किसानको संरक्षण गर्ने भन्ने उल्लेख गरे पनि ‘किसान’को परिभाषा विधेयकमा छैन । किनभने ‘किसान’ लक्षित विधेयक होइन यो । वास्तविकता के हो भने, गुठीका जग्गा जबरजस्ती कब्जा गरी बसेकाहरूको संरक्षणका लागि यो विधेयकको उत्पत्ति भएको हो । तेस्रो, ‘निजी गुठी’लाई एकदमै साँघुरो तुल्याइएको छ, साबिकमा रहेको परिभाषालाई नै समाप्त गरिएको छ ।

साबिकमा ‘निजी गुठी भन्नाले राजगुठी र छुट गुठी बाहेकका जनताले राखेको गुठी’ सम्झनुपर्ने व्यवस्था थियो । आउँदा दिनमा निजी गुठी ऐनमा मात्र रहनेछ । निजी गुठी अन्ततः सार्वजनिक गुठी भएर सकिने छन् । चौथो, संविधानको धारा २६(२) ले प्रदान गरेको हकप्रतिकूल सम्प्रदायको अहित हुने गरी यो विधेयक प्रस्तुत भएको छ ।

पाँचौं, गुठीका महत्वपूर्ण जग्गा उपयोग गर्ने नाममा पच्चीस वर्षका लागि लिज करारमा दिन सकिने व्यवस्था यसमा गरिएको छ । मूल्यवान् जग्गा भएको नेपाल ट्रस्टको सम्पत्ति जसरी व्यक्तिविशेषमा लैजाने प्रपञ्च गरिएको छ, त्यही शृंखलाको यो अर्को उदाहरणीय विधेयक हो ।

अबुझ होइनन गुठी वाला काठमाडौंका नेवारहरूले प्रविधिको महत्व नबुझेर एक्काइसौं शताब्दीको उत्तरार्धमा पनि मान्छेले नै रथ तानिरहेका होइनन् । राजधानीमा पृथ्वीनारायण शाहको कालखण्ड भन्दा अघिदेखि निरन्तर चल्दै आएका जात्रा, पूजा–अर्चना, मेला पर्व फगत तमासा होइनन् । ती रीतिथितसँग नेपाली पहिचान जोडिएको छ ।

नेपालको गौरव जोडिएको छ । हाम्रो आफनोपन त्यतै कतै छ । मेचीदेखि महाकालीसम्म फैलिएका विभिन्न जाति, जनजाति समुदायमा प्रचलित लोक नृत्यको निरन्तरता लहडबाजी होइन । साकेला, झर्रा, कौरा, टप्पा, लाखे, हुड्केली, देउडा, सोरठी, ख्याली, चण्डी, भैरव नाच आदि अनेक नामले चिनिने नृत्य र तीसँग जोडिएका गीत वास्तवमा नेपालीपनका परिचायक हुन् । हरेकजसो जनजाति समुदायका बस्तीमा पुग्दा पाइने अलग अलग लोकसंस्कृति हाम्रो गौरवका विषय हुन् ।

नेपाली भूगोलभित्रका विभिन्न जाति, जनजाति समुदायको रहन सहन, जीवनशैली र लवाई खवाई नै असली नेपालीपन हो । तीसँगै जोडिएका संस्था, परम्परा र संस्कार हाम्रा अमुल्य निधि हुन् । सदियौंदेखि चल्दै आएका हाम्रा परम्परालाई निरन्तरता दिनका लागि देशभरि छरिएका, समुदायपिच्छे फरक नामले चिनिने गुठीहरूले सञ्जिवनी जस्तै बनेर सघाइरहेका छन् ।

तर, यतिखेर तिनै गुठीको विषयमा उब्जेको विवादले देश तरङ्गित भएको छ । नियम, कानून, व्यवस्थामा आउने परिवर्तनले असल परम्पराको संरक्षण गर्नुपर्छ । तर यहा उल्टो भयो । हुन संस्कृति मेटन नै सांस्कृतिक क्रान्ति गरिदो रहेछ । चिनमा त्यो देखियो भने नेपालमा त्यसको सस्करण यसरी प्रकट हुदैछ ।

गुठियारका चिन्ता
हाल चर्चामा रहेको गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकले परम्पराको जगेर्ना गर्नुको साटो निरन्तरतामै प्रश्न खडा गर्छ भन्ने चिन्ताले गुठीयारहरू आन्दोलित छन् । आन्दोलनका क्रममा बल प्रयोग गरिएको विषय संसद्सम्म पुगेको छ । यही पृष्ठभूमिमा गुठीको विषयलाई खास भूगोल र समुदायसँग मात्रै जोडेर गरिएका टिप्पणीसमेत आइरहेका छन् ।

नाम र कार्यशैलीमा भिन्नता भएपनि देशभरफैलिएर रहेका गुठीहरू सम्बन्धित समुदायको सांस्कृतिक निरन्तरताको लागि सबैभन्दा महत्वपूर्ण संस्था हुन् । सम्पदा र संस्कृतिको संरक्षण तिनको मूल ध्येय हो । त्यसैले दुईचार कमजोरीका उदाहरण देखाएर नेपालीपनसँग जोडिएको सिङ्गो परम्परालाई ’डिस्टर्ब’ गरिनु हुँदैन । नेपाली समाजमा यत्रतत्र समस्या छन् । खास समस्याको निदान गरी समाधान हुनुपर्छ । तर सिङ्गो परम्परालाई दखल पु¥याउनु किमार्थ ठीक होइन ।

पहिचान मास्ने कि जोगाउने ?
पहिचान के हो ? भन्ने प्रश्नको जवाफ व्यक्तिपिच्छे फरक हुनसक्छ । त्यसलाई व्यक्तिको तहमै छाडिदिनु ठीक होला । तर त्योभन्दा माथि पनि समुदाय र राष्ट्रको पहिचान हुन्छ । सिङ्गो समाज र राष्ट्रको पहिचानको संरक्षण र प्रवद्र्धन गर्नु राज्यको दायित्व हो । वर्तमान नेपालमा खण्ड(खण्डमा बाँडिएर पहिचान खोज्ने धुनमा समग्र नेपालको पहिचान कमजोर बन्दै छ । आलोचकहरूका शब्दमा गुठीसम्बन्धी विधेयकसमेत त्यसैको एक कडी हो ।

मन्दिर, मस्जिद, चैत्य, गुम्बा सबैमा आफ्नोपन देख्नु, सबै जात–जाति र धर्मको सम्मान गर्नु र तिनको संरक्षण गर्नुरगर्न सघाउनु नेपाली संस्कार हो । यदि त्यस्तो नहुँदो हो त आज विश्व सम्पदा सूचीमा रहेका सम्पदाहरू र तिनका अजङ्गका संरचना प्रविधिको विकास नै नभएको युगमा निर्माण हुने थिएनन् । हालसम्म तिनको अस्तित्व हुने थिएन ।

सम्पदाको प्रत्यक्ष साइनो संस्कृतिसँग छ । संस्कृति र सम्पदा एकअर्काका परिपूरक हुन् । सम्पदा जोगाउने र संस्कृतिको निरन्तरतामा गुठीको भूमिका छ । गुठीजस्तै अरु पनि औपचारिक, अनौपचारिक संस्था र प्रचलन छन् । संस्कृति र सम्पदालाई ‘डिट्याच’ गरियो भने पहिचान जोगिएला ? संस्कृति जोगिएला ? आज हामीले हतारमा वा अज्ञानमा पहिचानको मर्ममा प्रहार र्गयौं भने भोलि पहिचान भेटिएला ? यी प्रश्न अहिलेका संगीन प्रश्नहरू हुन् ।

सञ्चार माध्यममार्फत सार्वजनिक भएका गुठीसम्बन्धी विधेयकका प्रावधानले सदियौंदेखि कुनै पारिश्रमिक, आर्थिक लाभ वा प्रतिफलको आशा नगरीकन सम्पदा संरक्षणमा लाग्नेहरूको चित्त दुखाएको छ ।विधेयकमा गुठीसँग संरक्षकको अपनत्व टुटाउने भाषाको प्रयोग भएको देखिन्छ । वास्तवमै संरक्षणको लागि दिलोज्यान दिनेहरूलाई पछि धकेलेर अवसरवादीहरू खेल्ने ’स्पेस’ प्रस्तावित कानूनको भाषामा पाइन्छ । त्यसैले यसलाई राजनीतिक खिचातानीको विषय नबनाई सच्चाउनेतिर लाग्नु उचित हुन्छ ।

सच्चिएन भने…
सच्चिएनभने के होला ? पछिलला दिनका केही समाचार अंश त्यसका जवाफ हुन सक्दछन् ।
समाचार एकः गुठी विधेयकविरूद्ध वसन्तपुरमा विशाल प्रदर्शन । गुठी विधेयकको विरोधमा काठमाडौंको वसन्तपुरमा विशाल जुलुस निकालिएको छ । ज्यापू महागुठी नेपास्को आह्वानमा भएको जुलुस वसन्तपुर नगर परिक्रममा गरी पुनस् वसन्तपुरमै पुगी कोण सभामा परिणत भएको थियो । विभिन्न प्लेकार्ड र मौलिक बाजागाजा बोकेर स्थानीयले गुठी विधेयकविरूद्ध प्रदर्शन गरेका हुन् ।

यो विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै काठमाडौं उपत्यकाका स्थानीय आन्दोलित भएका हुन् । यसअघि काठमाडौंका गुठियारहरूसँगको छलफलपछि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीका नाममा विज्ञप्ति सार्वजनिक गरिएको थियो । गुठियारहरूले भने मन्त्रालयको विज्ञप्तिलाई ‘भ्रमपूर्ण’ भन्दै आन्दोलन चर्काउने निर्णय गरेका छन । (जेठ ३२ )

समाचार दुइः गुठी विधेयकविरूद्ध पाटनमा पनि विशाल प्रदर्शन । गुठी विधेयकविरूद्ध पाटन, मंगलबजारमा बिहीबार आयोजित प्रदर्शनमा स्थानीय । गुठी विधेयकको विरोधमा काठमाडौंबाट सुरू आन्दोलतले तीव्रता लिएको छ । स्थानीय गुठियारहरूको अगुवाइमा चलेको आन्दोलन क्रममा बिहीबार पाटनको मंगलबजारमा विशाल प्रदर्शन भयो ।

साँझ ५ बजे मंगलबजारबाट सुरू जुलुसले पाटनका विभिन्न टोल परिक्रमा गरेको थियो । यो विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै काठमाडौं उपत्यकाका स्थानीय आन्दोलित भएका हुन । यसअघि काठमाडौंका गुठियारहरूसँगको छलफलपछि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीका नाममा विज्ञप्ति सार्वजनिक गरिएको थियो ।

‘हामी आन्दोलनबाट एक इन्च पछि हटेका छैनौं,’ सरकारसँगको वार्ता र बिहीबारको छलफलमा समेत सहभागी नरदेवी गुठीका सचिव रामकाजी महर्जनले भने, ‘यसलाई अझ चर्काएर लैजाने हाम्रो निर्णय भएको छ ।’ सरकारले सडकको ‘सेन्टिमेन्ट’ नबुझेको आरोप लगाउँदै उनले भने, ‘मध्यस्थता गर्ने नेताहरूलेनै हामी गुठियारहरूको भावना नबुझेको देखियो । हामी अब उनीहरूको भ्रममा पर्ने छैनौं । काठमाडौ, जागिसक्यो, विधेयक फिर्ता नभएसम्म चुप लाग्दैनौं ।’

सम्बन्धित समाचार

राष्ट्रिय विकास परिषद बैठक बालुवाटारमा शुरु
राष्ट्रिय विकास परिषद बैठक बालुवाटारमा शुरु
  • २०७६ असार २, ०९: ०६: ०७

नयाँ विकल्प, काठमाडौं – प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय विकास परिषदको ४८ औं बैठक शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको...

भारतमा उपचार गरी प्रचण्ड पत्नी सीता स्वदेश फर्काइन्
भारतमा उपचार गरी प्रचण्ड पत्नी सीता स्वदेश फर्काइन्
  • २०७६ असार २, ०९: ०६: ०७

नयाँ विकल्प, काठमाडौं – पार्किन्सन जस्तै रोगले संक्रमित भएपछि थप उपचारका लागि गत पुस २० गत भारतको मुम्बई लगिएकी नेकपा...

संसद पुनःस्थापना नगरी निर्वाचनमा गए रक्तपात हुन्छ –सुजाता
संसद पुनःस्थापना नगरी निर्वाचनमा गए रक्तपात हुन्छ –सुजाता
  • २०७६ असार २, ०९: ०६: ०७

नयाँ विकल्प,काठमाडौं – नेपाली काँग्रेसकी नेतृ तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले संसद पुनःस्थापना विना निर्वाचन गराउन खोजेमा मुलुकमा रक्तपात हुने बताएकी...

भर्खरै

TOP