January 15, 2021, Friday

सत्तारुढ नेकपा सांसदको प्रस्ताव, कांग्रेस सांसदको समर्थन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद प्रभू साहले प्रतिनिधिसभाको सचिवालयमा गरेको ‘बाढीपीडितका लागि राहत र पुनर्निर्माण सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव’ माथि कांग्रेस सांसद डा. अमरेसकुमार सिंहले समर्थन गरेको विषयलाई लिएर कांग्रेसमा आलोचना भएको छ ।

गत ३० असारमा प्रतिनिधिसभाको बैठक बाढीपीडितलाई राहत र पुनःनिर्माणसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने कांग्रेस र राजपाको प्रस्तावमाथि छलफल नै नगराइ सभामुख कृष्णबहादुर महराले ८ साउनसम्म बैठक स्थगित गरेका थिए । सत्तारुढ सांसदले सो विषयमा छलफल गर्न नमानेका कारण सहमति हुन सकेन भन्दै सभामुख महराले नौं दिनसम्म सदनको बैठक स्थगित गरेका थिए ।

सत्तारुढ दलको असहयोगका कारण कांग्रेस सांसद डा. मिनेन्द्रप्रसाद रिजाल प्रस्तावक कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषाल र राजपा सांसद राजकिशोर यादव समर्थक रहेको प्रस्तावमाथि छलफल नभएको अवस्थामा शुक्रबार सत्तारुढ सांसद साह प्रस्तावक रहेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थकमा कांग्रेस सांसद सिंहले समर्थन गरेपछि उनी विबादमा तानिएका हुन् ।

सांसद सिंहले कांग्रेस संसदीय दलसँग कुनै सल्लाह नगरी साहको प्रस्तावको समर्थक बसेको थाहा पाएपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सिंहलाई हकारेका थिए । तर सिंहले साह प्रस्तावक रहेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा आफू र समाजवादी पार्टीका सांसद उमाशंकर अरगरिया समर्थन बस्नुको कारण प्राकृतिक प्रकोपको समयमा सर्बदलिय सहमति कायम होस भनेर बसेको जवाफ दिएका थिए ।

खाँडले भने ३० असारमा कांग्रेसले संसद सचिवालयमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको बिषयमा छलफल गर्न नमान्ने सत्तारुढ दल नेकपाका अर्का सांसदले दर्ता गरेको प्रस्तावको समर्थक हुनु पार्टीको नीति विपरित भएको भन्दै गुनासो गरेका थिए । सिंहले भने यसभन्दा अघि पनि सत्ता पक्ष र प्रतिपक्षी सांसदहरुले प्राकृतिक प्रकोप र विपत्तीमा सँगै र एकै ठाउँमा उभिएर प्रस्तावक र समर्थक बस्ने गरेको दाबी गरेका थिए ।

सांसद साहले प्रतिनिधिसभाको सचिवालयमा दर्ता गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा २६ असारदेखि परेको अविरल वर्षाका कारण मुलुकमा धेरै नागरिकको मृत्यु, वेपत्ता, घाइते र विस्थापित भएको भन्दै त्यसको समाधानका लागि छलफल गराउन माग गरिएको छ ।

सो प्रस्तावमा वाढी पीडितलाई अस्थायी सुरक्षित आवासको व्यवस्था गर्न, खाद्यान्नको व्यवसथा गर्न, अवरुद्ध सडक, विजुली, संचार लगायतका पूर्वाधारहरु तत्काल सुचारु गर्न, मृतकका परिवारालई कम्तीमा पाँच लाख नगद र वेपत्ताको खोजी तीव्र पार्नुपर्ने जनाइएको छ । त्यस्तै, दुषित खानेपानी, फोहोर मैला र प्रतिकुल वातावरणीय प्रभावका कारण विद्यामान र संभावित स्वास्थ्यसम्वन्धी जोखिमको सामना गर्न आवश्यक स्वास्थ्य सेवाको प्रबन्ध गर्नुपर्ने विषय अघि सारिएको छ ।

सांसद साहले दर्ता गराएको प्रस्तावमा दीर्घकालीन समाधानको लागि चुरेदेखि भारतीय सीमासम्म मुख्य नदीहरुमा मजबुत बाँध निर्माण गर्नुपर्ने प्रस्ताव गरिएको छ । ‘नदी वहाव क्षेत्रमाथिको जग्गा अतिक्रमण रोक्नुपर्ने, प्राकृतिक वहाव नै अवरुद्ध हुने गरी बनाईने जुनसकुै संरचना तथा गतिविधि रोक्नुपर्ने र नदीको गहिराई कामय राख्न चुरे क्षेत्रबाट हुने भूःस्खलनका गतिविधि रोक्नुपर्छ,’ प्रस्तावमा भनिएको छ ।

विपक्षी दल कांग्रेसले सर्लाहीमा असार पाँच गते र असार १४ गते भएको प्रहरी कारबाहीमा नेकपा विप्लव समूहका नेता कुमार पौडेल र एक स्थानीयको हत्या भएको विषयमा संसदीय छानविन समिति गठनको माग गर्दै आएको थियो ।

सरकारले सो बिषयमा संसदीय छानबिन समिति गठन गर्न नमानेपछि कांग्रेसले राजपासँग मिलेर सदनको कारबाही अवरुद्ध गर्दै आएको थियो । यसैबेला मुलुकमा बाढी, पहिरो र डुबान समस्या उत्पन्न भइ ठूलो संख्यामा जनधनको क्षति भएपछि कांग्रेसले असार ३० गतेको प्रतिनिधिसभा बैठकमा अन्य विषयमा प्रवेश नगरी बाढी, पहिरो र डुबानको विषयमा मात्रै छलफल केन्द्रित गर्न र अन्य विषय स्थगन गर्न माग गरेको थियो ।

सदनको अबरोध खुलाउने विषयमा सरकार र सत्तापक्षले प्रमुख प्रतिपक्षी दल कांग्रेस र यसको नेतृत्वसँग वार्ता र सहमतिको कुनै प्रयास नगरीरहेको समयमा कांग्रेसकै सांसद सिंहले सत्तापक्षको प्रस्तावमा समर्थकको रुपमा हस्ताक्षर गरेपछि नेपाली कांग्रेस भित्र सिंहलाई अनुुशासनको कारबाही गर्न माग पनि भइरहेको छ ।

दलको जानकारी र अनुमतिबिना सत्तारुढ दलको नेताले तयार पारेको प्रस्तावमा समर्थक बस्नुको कारण लालबकैया, बाग्मती र कमला नदी क्षेत्रका तीनजना जनप्रतिनिधिले आफ्नो निर्वाचन क्षेत्रमा भएको बाढी र डुबानको समस्याबारे सदनमा आवाज उठाउनु रहेको सिंहको दाबी छ । प्रतिनिधिसभामा बाढी पहिरो पीडितको राहत, उद्धार र दीर्घकालिन योजनाको बिषयमा छलफल गर्न राष्ट्रियसभामा पनि यस्तै प्रस्तावमा सत्ता र प्रतिपक्षीले संयुक्त रुपमा प्रस्ताव दर्ता गरी छलफल गरेका छन ।

कांग्रेस–राजपाको प्रस्तावमा नेकपा सांसदले साथ दिएपछि राष्ट्रिय सभामा भने प्रतिनिधिसभामा जस्तो बिबाद र असहमति देखिएको छैन् । सभामुख कृष्णबहादुर महराले पनि सत्ता र विपक्षी दलका सांसदलाई समन्वय गरेर अघि बढ्न नसक्दा बिबादमा तानिएका छन् । उनीमाथि विपक्षी कांग्रेसले सभामुखलाई सत्तारुढ दलको छायाँको रुपमा काम गरेको भन्दै आलोचना पनि गरेका छन् ।

नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले समेत समर्थन गरेपछि राष्ट्रिय सभामा भने बिबाद नभएको हो । कांग्रेसका सांसद राधेश्याम अधिकारीले राष्ट्रियसभाको सचिवालयमा १ साउनमा दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावमा बाढी पहिरोको क्षति, रोकथामका उपाय, राहत र उद्धारको विषयमा छलफल गर्न माग गरिएको थियो ।

सांसद अधिकारी प्रस्तावक र राजपाका सांसद वृषेशचन्द्र लाल र बद्रीप्रसाद पाण्डे समर्थक रहेको प्रस्तावमाथि सदनमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक खिमलाल भट्टराईले सहमति जनाएका थिए ।

सत्ता र प्रतिपक्षी दलबीचको सहमतिमा शुक्रबार नै सत्तारुढ नेकपाका प्रमुख सचेतक भट्टराई, कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे र राष्ट्रिय जनता पार्टीका सांसद बृषेशचन्द्र लाल र समाजवादी पार्टीकी प्रमिला कुमारीले संयुक्त रुपमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका थिए ।

सो प्रस्तावको समर्थकमा अनिता देवकोटा र जीवन बढु रहेका थिए । जरुरी सार्वजनिक महत्वको प्रस्ताव राख्दै सांसद बद्रीप्रसाद पाण्डेले सरकारको नेतृत्व प्रभावकारी नभएका कारण विपद व्यवस्थापन प्राधिकरण र परिषद् गठन हुन नसकेको तथा हालै आएको बाढी पहिरोको विपत्तिबाट क्षति कम गर्न नसकिएको जनाएका थिए ।

उनले विपद व्यवस्थापनमा सरकारले कुनै योजना नबनाउँदा ‘छेपारोको कथा जस्तो भएको आरोप लगाए । उनले भने ‘छेपारोले राति छिसोले कठ्याँग्रिएपछि भोलि घर बनाउँछु भन्छ तर बिहान भएपछि घाम लाग्छ अनि जाडोको व्यथा बिर्सने गर्छ । अहिलेको सरकारको क्रियाकलाप यस्तै छ ।’

विपद व्यवस्थापन समिति गठनका लागि कांग्रेसको सरकारले ल्याएको कानून बमोजिम सरकारले काम नगरेको, विपद जोखिम व्यवस्थापनको लागि कोषको व्यवस्था पनि कार्यान्वयनमा नआएको र एउटा कार्यकारी अधिकृत नियुक्त गर्न नसकेको आरोप लगाए । नेपाल ३०औं विपद् चुनौतीको देशको रुपमा रहेकोले पूर्वतयारी प्रभावकारी नभएको उनले गुनासो गरे ।

प्रस्तावका समर्थक बृषेशचन्द्र लालले मुलुकले बाढी पहिरोजस्तो प्राकृतिक प्रकोपको चुनौती सामना गर्नु परेका बेला सरकार चनाखो हुनुपर्नेमा जोड दिए । उनले भने, ‘प्राकृतिक विपत्तिको समयमा राहत र उद्धारको तयारी सरकारले गरेको पाइँदैन । विपत्तिको चुनौतीलाई सामना गर्ने तयारी गरेको भए बाढीपीडित स्थलमा गएर राहत बाँड्ने र सेल्फी खिच्ने काम गर्नुपर्ने थिएन ।’

प्रस्तावका समर्थक नेपाल कम्युनिस्ट पार्टीका सांसद जीवन बुढाले प्राकृतिक प्रकोपलाई नियन्त्रण गर्न पूर्वतयारी गर्नुपर्नेमा जोड दिए । उनले रोकथामको लागि सबै स्रोत साधनको प्रयोग भएको नभएको गुनासो पनि गरे ।

विपत्तिको समयमा सत्ता वा विपक्षी दल भनेर विभाजित हुन नहुनेमा उनको जोड थियो । राजापाकी सांसद प्रमिला कुमारीले बाढी र डुवानबाट तराईका धेरै गाउँका नागरिकले दुःख पाएको भन्दै विपतमा रहेकालाई सुरक्षित स्थानमा बसाउन र तत्काल खाना र बस्नको व्यवस्था गर्नुपर्नेमा जोड दिइन ।

कांग्रेसकी सांसद अनिता देवकोटाले अहिले मन्त्री क्वार्टरमा स्विमिङ पुल र जिमखाना जरुरी नभइ बाढी पीडितलाई उद्धार र राहतको आवश्यकता भएको बताइन् । उनले पीडित जनतालाई राहतको सट्टामा हेलिकोप्टरबाट घुम्दैमा या बुइ चढ्ने र डुल्ने कामले सरकार गम्भीर देखिएको आरोप लगाइन् ।

सम्बन्धित समाचार

रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख वलीसहित ५ जना जुवा खालबाट पक्राउ
रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख वलीसहित ५ जना जुवा खालबाट पक्राउ
  • २०७६ श्रावण ७, ०६: ५१: ०२

नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...

शनिबार ७५३ स्थानीय तहमा हुने विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेसको अपिल
शनिबार ७५३ स्थानीय तहमा हुने विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेसको अपिल
  • २०७६ श्रावण ७, ०६: ५१: ०२

नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...

तङ्ग्रिदै छ पोखराको पर्यटन ब्यावसाय
तङ्ग्रिदै छ पोखराको पर्यटन ब्यावसाय
  • २०७६ श्रावण ७, ०६: ५१: ०२

सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...

भर्खरै

TOP