November 23, 2020, Monday

एक महिनामा कांग्रेसका ७ बैठक, निष्कर्षविहिन

नेपाली कांग्रेस २२ असारदेखि केन्द्रीय कार्यसमितिको बैठक निरन्तर छ तर कुनै निष्कर्ष निकाल्न सकेको छैन । महाधिवेशनको क्यालेन्डर पेश नगरे बैठक बहिस्कार गर्ने अडानमा रहेका असन्तुष्ट नेतालाई सभापति शेरबहादुर देउवाले क्यालेन्डर पेश गर्ने वचन दिए ।

तर महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा पेश गरेका १४ एजेण्डामध्ये दुई वटामा मात्रै छलफल भएको छ भने दुई वटा प्रतिवेदन पेश गर्ने बिषयलाई पनि एजेण्डाको रुपमा प्रस्तुत गरिएको थियो । पार्टीको संशोधित नियमावलीको मस्यौदा र संक्रमणकालिन व्यवस्था अनुसारको संगठनको संरचना निर्माण गर्ने बिषयमा छलफल भए पनि निष्कर्ष आएको छैन ।

त्यसको निष्कर्ष उपसभापति निधि संयोजक रहेको निर्माण हुने निर्देशीकाले निर्धारण गर्ने देखिन्छ । नियमावलीको मस्यौदामाथिको छलफलपछि २९ असारको बैठकले आवश्यक साथीहरुसँग सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिको आधारमा परिमार्जन गर्ने गरी सर्बसम्मतले पारित गरेको थियो । सहमतिको आधारमा नियमावलीलाई अन्तिम रुप दिएर केन्द्रीय कार्यसमितिमा पेश गर्ने जिम्मेवारी पाएको नियमावली मस्यौदा समितिले सहमति निकाल्न सकेन ।

अझै सहमति जुट्न सकेको छैन । अनुशासनको कडा प्रावधान, शुभेच्छुक संस्थामाथिको नियन्त्रण, क्याडरवेस पार्टीमा जस्तै नियमित र धेरै रकम संकलन गर्ने गरी प्रस्ताव
गरिएको लेवी जस्ता विषय पनि नियमावलीमा सहमतिको मुख्य वाधक देखिएका छन् । एकातिर नियमावलीको मस्यौदा अलपत्र परेको छ । विधानको संक्रमणकालिन व्यवस्था अनुसारका संगठन संरचना निर्माण गर्दा निर्वाचन प्रक्रिया अपनाउनु पर्ने असन्तुष्ट पक्षको अडान छ ।

तर, संस्थापन पक्ष सहमतिको आधारमा अन्तरिम संरचना बनाउने अडानबाट टसको मस छैन । अन्तरिम संरचना निर्माण सहमतिका आधारमा गर्ने कि निर्वाचन प्रक्रियाबाट टुंग्याउने भन्ने विषयले काँग्रेसमा विवाद बढाएको हो । यही विवादले बैठक निष्कर्षविहिन भएका हुन् । विधान अनुसार पार्टी केन्द्रीय कार्यसमिति र जिल्ला कार्यसमिति बाहेकका ६ तहमा अन्तरिम संरचना बनाउनु पर्छ । सहमहामन्त्री डा प्रकाशशरण महत संक्रमणकालिन अवस्थामा टोल, वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अन्तरिम संरचना गठनमा निर्वाचन जरुरी नभएको बताउँछन् ।

उनले अहिले निर्वाचनबाट ६ तहकै संरचना निर्माण गरेर ६ महिनापछि फेरि अर्को निर्वाचनमा जाने प्रस्ताव कांग्रेसले धान्न नसक्ने बताउँछन् । उनले अन्तरिम संरचना सहमतिबाट निर्माण गरौं भन्ने हाम्रो प्रस्ताव नै निकासको एक मात्र उपाय भएको बताउँदै आएका छन् । छ महिनाभित्रै दुईरदुई पटक निर्वाचन गरेर कार्यसमिति गठन गर्दा पार्टीमा एकताभन्दा विवाद र विभाजन आउन सक्ने संस्थापन पक्षको तर्क छ । तर, असन्तुष्ट पक्षका नेता प्रदीप पौडेल संरचना निर्माण प्रक्रियामा गएपछि सम्बन्धित समितिले यसको निक्र्योल गर्ने वताउँछन् ।

‘नयाँ सांगठनिक संरचना निर्माण गर्न प्रक्रियामा प्रवेश गरेर स्थानीय तहमै सहमति हुन सक्छ, सानेपामा बसेर यो समितिमा यसलाई र त्यो समितिमा त्यसलाई राखौं भनेर तोक्न पाइँदैन,’ नेता पौडेलले भने । केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना संयोजन समितिको प्रतिवेदन समिति संयोजक उपसभापति विमलेन्द्र निधिले पेश गरे ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक समेत रहेका निधिले प्रतिष्ठानको हालसम्मको कार्य प्रगति विवरण र आगामी कार्य योजना बारे प्रतिवेदन पनि पेश गरे । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको २५ बैशाखदेखि २५ जेठसम्म सम्पन्न प्रथम चरणको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
शुक्रबार दिउँसो एक बजे बोलाइएको बैठक साँझ साडे ६ बजे मात्र शुरु भएको थियो ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक २२ साउन वुधवार दिउँसो दुई बजे बस्दैछ । १४ वटा एजेण्डामा नियमावली मस्यौदा समितिको प्रतिवेदन संशोधन गर्ने सर्तमा पारित भयो भने संक्रमणकालिन व्यवस्था अनुसारको अन्तरिम संरचना निर्माण गर्ने प्रस्ताव निर्देशीका बमोजिम हुने सर्तमा पारित गरियो । तीन एजेण्डा जागरण अभियानको प्रतिवेदन, नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र गच्छादर नेतृत्वको तत्कालिन नेपाल लोकतान्त्रिक फोरमसँगको एकीकरण सम्वन्धी प्रतिवेदन केन्द्रीय कार्यसमितिमा पेश भएका छन् । ति प्रतिवेदनमाथि छलफल वाँकी छन् ।

यसरी २२ असारदेखिको बैठकले एउटै पनि एजेण्डालाई पूर्णता नदिएर पाँच वटाले प्रवेश पाउनु र २ एजेण्डा माथि मात्र छलफल हुन सक्नुले वाँकी ९ एजेण्डाले प्रवेश पाउन र निष्कर्ष निकाल्न अझै ६ महिना लाग्ने देखिन्छ ।

गच्छाच्दारले भाग खोजेपछि
अन्तरिम संरचना निर्माण प्रक्रियालाई लिएर विवाद भइरहेको बेलामा संसदीय दलका उपनेतासमेत रहेका उपभापति विजयकुमार गच्छदारले नयाँ किचलो झिकेका छन् । काँग्रेससँग पार्टी एकीकरण गर्दा आफूसँग २५ हजारभन्दा बढी कार्यकर्ता रहेको गच्छदारको दाबी छ । तर, उनले ती कार्यकर्ताको नाम र विवरण कांग्रेसलाई दिएका छैनन् ।

तत्कालिन नेपाल लोकतान्त्रिक फोरममा कार्यकर्ताको सम्पूर्ण विवरण नभएको उनको तर्क छ । काँग्रेस पनि महाधिवेशन प्रतिनिधिहरुको नामावली नभएको वताउने गर्छ । संक्रमणकालिन संरचना निर्माण गर्दा सीमाङ्कन परिवर्तन नभएका जिल्ला, संघीय निर्वाचन क्षेत्र, स्थानीय तह र वडा कार्यसमिति साविककै रहने व्यवस्था काँग्रेस विधानमा छ । गच्छादारले पार्र्टी विधानको दफा ७२ को उपदफा २ आकर्षित नहुने भन्दै आफ्ना सबै कार्यकर्तालाई संक्रमणकालिन व्यवस्था अनुसार गठन हुने सांगठानिक तहमा भाग खोजेका छन् ।

कांग्रेस विधानमा पार्टीका कुनै पनि सांगठनिक तहको निर्वाचन हुनु एक बर्षअघि क्रियाशिल सदस्यता वितरण गरिसक्नु पर्ने व्यवस्था छ । सांगठानिक तहको अधिवेशन भएको ६ महिनापछि मात्र महाधिवेशन हुने व्यवस्था पनि छ । सभापति देउवाले विधान अनुसार आफ्नो कार्यकाल पाँच बर्षको हुने भन्दै अहिले नै हतामार १४औं महाधिवेशनको घोषणा नगर्ने अडान यसअघि लिएका थिए । सभापति देउवाको यस्तो अडानको बैठकले कुनै निर्णय गर्न सकेको छैन । कांग्रेस नेताहरु बैठकको एजेण्डामा भन्दा एक अर्काको आलोचनामा केन्द्रीत भएका छन् ।

एउटै एजेण्डा एक दर्जन नेता बोलिरहने
संक्रमणकालिन व्यवस्था अनुसार संगठन संरचनाको विषयमा साउन १०, १२, १३, १४ र १५ गते केन्द्रीय कार्यसमिति बैठकमा छलफल भएको थियो । बैठकमा २ दर्जन नेता एजेण्डाका बिषयमा एकरत्ति बोल्दैनन र चुप बस्छन् तर, एक दर्जन नेता यही एजेन्डामा बारम्बार बोलिरहेका छन् ।

उपसभापतिको हैसियतले १४ साउनमा करिव १ घण्टा बोलेका गच्छदार १५ साउनको बैठकमा पनि बोले । उनको यस्तो गतिविधिले असन्तुष्ट केन्द्रीय सदस्य अझ रुष्ट भए । बरिष्ठ नेता रामचन्द्र पौडेलले १४ र १५ साउनमा, कृष्ण सिटौलाले १० र १५ साउनमा, महेश आचार्यले ९, १२ र १५ साउनको बैठकमा आफ्नो धारणा राखे ।

दिलेन्द्रप्रसाद बढुले ९ र १५ साउनमा, महामन्त्री खड्काले १४ र १५ साउनमा, डा.मिनेन्द्र रिजालले १० र १५ साउनमा र धनराज गुरुङले १० र १५ साउनमा आफ्नो भनाई राखेका थिए ।

यस्तो छ कांग्रेसको निर्णय
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । गत असार २२ गतेदेखि प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको आजको बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु— बालकृष्ण खाँण, रमेश रिजाल, डा. मिनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, एन.पी. साउद, शंकर भण्डारी, मीन विश्वकर्मा र बीरबहादुर बलायरले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

बैठकको निर्णय–अन्तरिम संरचनाका सम्बन्धमा
१३ औं महाधिवेशनको क्रममा बनेको पार्टी संगठनको स्थानीय संरचनालाई रुपान्तरण गरी संघीय व्यवस्था बमोजिम विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठन गरिनेछ । यसकालागि आवश्यक निर्देशिका केन्द्रीय कार्यसमितिको बैठकमा पेश गरी पारित गरिनेछ ।

अन्तरिम संरचना गठन तथा १३ औं महाधिवेशन अघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता छानविन समितिले निर्णय गरे बमोजिमको क्रियाशील सदस्य अभिलेख अद्यावधिक गर्ने कार्य २०७६ मंसिर मसान्तभित्र सम्पन्न गरिनेछ । त्यस पश्चात बस्ने केन्द्रीय कार्यसमितिको बैठकले १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउनेछ ।

नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना संयोजन समितिको प्रतिवेदन प्रस्तुत
नेपाली कांग्रेस पार्टीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन समितिका संयोजक, पार्टी उपसभापति विमलेन्द्र निधिले समितिको कार्य प्रगति विवरण प्रस्तुत गर्नु भयो ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत
उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले प्रतिष्ठानको हालसम्मको कार्य प्रगति विवरण र आगामी कार्य योजना बारे प्रतिवेदन प्रस्तुत गर्नु भयो ।
राष्ट्रिय जागरण अभियानको प्रथम चरणको प्रतिवेदन प्रस्तुत
महामन्त्री पूर्णबहादुर खड्काले “हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को बैशाख २५ देखि जेठ २५ सम्म सम्पन्न प्रथम चरणको प्रतिवेदन प्रस्तुत गर्नु भयो । केन्द्रीय कार्यसमितिको बैठक २०७६ श्रावण २२ गते वुधवार दिनको २ः०० बजे पुनः बस्नेछ ।

सम्बन्धित समाचार

किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
  • २०७६ श्रावण २०, ०७: ३३: ४६

नयाँ विकल्प,एजेन्सी -चीनले सन् १९७० को दशकयता चन्द्रमाबाट ढुङ्गाका नमुना ल्याउन पहिलो पटक प्रयास गर्ने भएको छ। मङ्गलवार प्रक्षेपण गरिने...

वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
  • २०७६ श्रावण २०, ०७: ३३: ४६

नयाँ विकल्प काठमाडाैं – सरकारले काेराेना संक्रमण नियन्त्रणकालागि प्रत्यक्ष रूपमा खटिने स्वास्थ्यकर्मीलाइ तलबकाे शतप्रतिशत भत्ता उपलब्ध गराउने घाेषणा गरेकाे थियाे...

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
  • २०७६ श्रावण २०, ०७: ३३: ४६

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज)...

भर्खरै

TOP