November 26, 2020, Thursday

सूची देखाएर महाधिवेशन पछि धकेल्ने रणनीति

विधान कार्यान्वन गर्न संस्थापनको आनकानी

काठमाडौं । नेपाली कांग्रेसले मुलुक संघीय संरचनामा गएको तीन बर्षपछि बल्ल तल्ल निर्माण गरेको पार्टीको नयाँविधान कार्यान्वयनमा समेत समस्या देखिन थालेका छन् । संघीय संरचना बमोजिमको विधानलाई कार्यान्वयन गर्न कठिनाई भएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा र संस्थापनपक्षका नेताहरुले विधान कार्यान्वयन गर्दा निर्धारित समयमा महाधिवेशन गर्न नसकिने तर्क गर्न थालेका हुन् ।

पार्टी नेतृत्वमा रहेर प्रभावकारी भूमिका खेल्न नसकेको आरोप खेपिरहेका कांग्रेस सभापति देउवालाई निर्धारित समयमा महाधिवेशन गर्न केन्द्रीय नेताहरुले गरेको आग्रह अस्वीकार गर्दै महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न समेत मानेका छैनन् ।

असार २२ गतेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने बचन असन्तुष्ट नेतालाई दिएका थिए । तर, उनले पार्टी अन्तरिम सांगठानिक संरचना निर्माण गर्दै महाधिवेशनमा जाने एजेण्डासहित १४ एजेण्डालाई प्रस्तुत गराएर निर्धारित समयमा महाधिवेशन गर्ने प्रतिवद्धतालाई छल्ने प्रयास गरेको आरोप लाग्न थालेको छ ।

अन्तरिम सांगठनिक संरचना बनाउने बैधानिक प्रकृयालाई नै अवलम्बन गर्न सभापति देउवा र संस्थापन पक्षका नेताहरुले अश्वीकार गरेपछि पार्टी भित्रको विवाद बढ्दै गएको हो । सभापति देउवाले अन्तरिम संरचना निर्माण गर्दा प्रक्रियामा गएर निर्वाचन गर्नुभन्दा सहमतिकै आधार अपनाउनु पर्ने प्रस्ताव गरेपछि एक महिनादेखि छलफल भएको एजेण्डाले निकास पाउन सकेको छैन ।

कहिले पार्टीको स्थानीय तहमा निर्वाचन गर्दा पार्टी कार्यकर्तामा बिबाद बढाउने त कहिले क्रियाशिल सदस्य र महाधिवेशन प्रतिनिधिको रेकर्ड नै नहरेको जस्ता तर्क गरेर महाधिवेशनको निर्धारित समयलाई धकेल्ने मनसाय राखेको देखिन्छ ।

यतिमात्र होइन, पार्टीको बिधान विपरित कांग्रेसको क्रियाशिल सदस्यता समेत प्राप्त नगरेका उपसभापति विजयकुमार गच्छदारले निर्वाचन प्रक्रियाबाट स्थानीय तह, वडा र गाउँ तहको संरचना निर्माण गर्दा आफूसँग कांग्रेस प्रवेश गरेका तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका कार्याकर्तालाई समावेश गर्नुपर्ने दावी गर्दै आएका छन् ।

उनले राजनीतिक निर्णयमार्फत आफ्ना कार्यकर्तालाई सहमतिको आधारमा २५ प्रतिशत भाग दिन समेत लविङ गरिरहेका छन् । एक महिनादेखिको एउटै विषयको छलफलले निकास नपाएपछि असन्तुष्ट नेताहरुले समेत महाधिवेशनको प्रक्रियालाई अघि बढाउन निर्देशीका बनाएर अन्तरिम संरचना निर्माण गर्ने र क्रियाशील सदस्यताको अद्यावधिक मंसिरमसान्त भित्र गर्ने संस्थापन पक्षको प्रस्तावलाई स्वीकार गरेका छन् ।

१३औं महाधिवेशन भएको साँढे तीन बर्षपछि पार्टी महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेसका क्रियाशिल सदस्य र महाधिवेशन प्रतिनिधिहरुको नामावली पार्टी केन्द्रीय कार्यालयमा नभएको भनेर जानकारी दिएपछि पार्टीको महाधिवेसन त के बैधानिकता र अस्तित्वलाई नै कमजोर बनाउन लागेको भनेर असन्तुष्ट नेताहरु गम्भिर भएका छन् ।

बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायतले पार्टी क्रियाशिल सदस्यताकै रेकर्ड अद्यावधिक नरहे अन्य विषयमा प्रवेश गर्नु उचित नहुने भन्दै १३ महाधिवेशनपूर्व तत्कालिन केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठिन सदस्यता छानबिन समितिको प्रतिवेदनलाई आधार मानेर सदस्यता अद्यावधिक गर्ने संस्थापन पक्षको प्रस्तावलाई स्वीकारेका छन् ।

विधान बमोजिम पार्टीको संगठनका अन्तरिम संरचना आगामी मंसिरसम्ममा निर्माण गर्ने र त्यसपछि मात्र १४औं महाधिवेशनको कार्यतालिका घोषणा गर्ने सभापति देउवाको प्रस्तावलाई असन्तुष्ट नेताले स्वीकारेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले विधान बमोजिम पार्टीको अन्तरिम संरचना निर्माण मंसिरसम्म गर्ने निर्णय पनि गरेको छ ।

तर, त्यो निर्णयसँगै १३औं महाधिवेशनअघि आचार्यको संयोजकत्वको समितिको निर्णय बमोजिमको क्रियाशील सदस्य अभिलेख अद्यावधिक गर्ने कार्य मंसिर मसान्तभित्र सम्पन्न गर्ने भन्ने निर्णय एक आपसमा बाझिने देखिएको छ ।

क्रियाशिल सदस्यतालाई अन्तिम रुप दिएपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकले १४औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । क्रियाशील सदस्यतालाई अन्तिम रुप दिने र विधानको संक्रमणकालिन व्यवस्था अनुसार अन्तरिम संरचना निर्माणसँग सँगै गर्ने निर्णय सम्भव छैन । क्रियाशील सदस्यतालाई अन्तिम रुप नदिँदै अन्तरिम संरचना निर्माण हुन सक्दैन ।

पार्टीको क्रियाशील सदस्य को हो वा होइन भन्ने निस्कर्ष नआइ अन्तरिम संरचनामा निर्माण गर्दा त्यस्तो सांगठानिक तहको नेतृत्वमा जाने वा मताधिकार प्राप्त गर्ने बैधानिक व्यक्ति हो वा होइन भन्ने स्पष्ट हुँदैन । यस्तो अवस्थामा उपसभपाति विमलेन्द्र निधि संयोजक रहेको अन्तरिम संरचना निर्माण सम्वन्धि निर्देशीका निर्माण समितिले लिने निर्णय सर्वसम्मत प्रकृया मात्र हुनसक्ने स्थिति छ ।

निर्देशीका बनाएर सर्बसम्मतको नाममा सानेपा मुख्यालयबाट गरिने निर्णयबाट पार्टी सदस्यको अधिकार सुरक्षित नभए अधिकार हरण हुने निश्चित छ । क्रियाशील सदस्यताको छानबिन गरी अभिलेख अद्यावधिक मंसिरसम्ममा भए छिटोमा पुस महिना भित्रमा महाधिवेशनको घोषणा हुने आशा गर्न सकिन्छ । तर, यो आशाले मूर्त रुप लिने सम्भावना छैन ।

किन भने शुक्रकारको केन्द्रीय कार्यसमिति बैठकले अघिल्लो १३औं महाधिवेशनको सदस्यताको रेकर्ड हेरेर अद्यावधिक गर्ने मात्र हो । १३औं महाधिवेशनपछिका क्रियाशिल सदस्यता वितरणको मापदण्ड र समयसूची तयार गर्नै महिनौं लागेका नजिर कांग्रेससँग छ ।

कांग्रेसको लफडानै सदस्यतामा हुने गरेको छ । त्यहीमाथि यस पटकको लफडा झिक्ने प्रमुख पात्र भएका छन, विजयकुमार गच्छदार र भिष्मराज आङदम्बे । गच्छदारले आफू २०७४ साल कात्तिक ३० गते नेपाली कांग्रेसमा तत्कालिन नेपाल लोकतान्त्रिक फोरम एकीकरण गर्दा २५ हजारभन्दा बढी क्रियाशील सदस्य रहेको दाबी गरेका छन् ।

तर, उनको त्यो पार्टीबाट कांग्रेसमा एकीकृत हुन आएका क्रियाशील सदस्यताको प्रमाण वा तथ्य उपलब्ध गराउनु त कहाँ हो कहाँ उल्टै नामावली समेत दिन सकेका छैनन् । गच्छदारकोे केन्द्रीय कार्यसमितिमा प्रस्तुती नै फरक छ । उनले संस्थापनइतरका नेताहरु रामचन्द्र पौडेल, बलबहादुर केसी र महेश आचार्यलाई नामै तोकेर बेइज्जत गर्ने चेतावनी दिएका छन् । उनले आफूसँग जोरी खोजे वा असहयोग गरे ठिक नहुने चेतावनी पनि दिएका छन् ।

गच्छदारले आफू पौडेल र केसीभन्दा सिनियर भएको दाबी गरे । तर कांग्रेस केन्द्रीय कार्यसमितिमा २०४६ सालमै देउवाभन्दा पौडेल केन्द्रीय कार्य समितिमा बसेका थिए भने केसी र देउवा समकालिन हुन् । गच्छदारले मोरङबाट राजनीति गर्दै आएका महेश आचार्यलाई समेत हैसियत देखाइ दिने भनेर धम्क्याइ सकेका छन् ।

उनले आफूले मुख खोल्नु परेमा धेरै नेताको निद हराम हुने भन्दै आफूभन्दा बरिष्ठ कांग्रेसमा कोही नभएको भन्दै साउन १४ गते केन्द्रीय कार्यसमिति बैठकमा एक घण्टा लामो पट्यारलाग्दो प्रवचन दिएका थिए ।

अर्को लफडा निम्त्याउने पात्र हुन देउवाले गत चैत ४ गते अनुशासन समितिमा संयोजक बनाइएका भिष्मराज आङदम्वे । उनले केन्द्रीय कार्यसमितिको निर्णय विपरित समितिमा रहेको पाँच सदस्यमध्ये दुई जना उमाकान्त चौधरी र देवेन्द्रराज कँडेललाई थाहै नदिइ निर्णय गर्न थालेका छन् । उनले पहिलो पटक चैत मसान्तसम्म उजुरी दिन आव्हान गरे ।

तर किस्तावन्दीमा उनले दुई बर्षअघिको निर्वाचनका वाघीलाई कारबाही गरेको सूची निकाली रहेका छन् । पार्टीको तत्कालिन विधान र अहिलेको क्रियाशील विधानले पनि पार्टीको आधिकारिक उम्मेदवारबिरुद्ध उम्मेदवारी दिने वा वाघी उम्मेदवारका प्रस्तावक र समर्थक पार्टीबाट स्वत कारबाहीमा पर्छन ।

तर अनुशासन समितिका संयोजकले किस्तावन्दीमा करिव २८ जिल्लामा दुई बर्षअघि भएका काम कारबाहीलाई पुन स्मरण गराउँदै अभिलेखबाट हटाउन दिएको निर्देशन र विवरणलाई संचारमाध्यममार्फत प्रचार गराउनमै व्यस्त छन् ।

अनुशासनको कारबाहीको लागि भनी पार्टी सभापति शेरबहादुर देउवाबिरुद्ध उजुरी दिने गोरखा कांग्रेसका महाधिवेशन प्रतिनिधि राजेन्द्र बजगाईंको उजुरी दर्ता गर्न नमान्ने र उजुरी दिनेलाई उल्टै कारबाहीको धम्की दिने गर्छन । उनले अनुसाशन समितिको अघिल्लो टोलीले गरेको उजुरीमाथि छानबिन गरेर एउटालाई कारबाही गर्न सकेको छैन ।

सदस्यता वितरणको समय आइसक्दा पनि अनुसाशनको कारवाहीलाई टुंगामा पुर्याउन ढिलाई गरेर उनी संक्रमणकालिन संरचना निर्माणमै ढिलाई गराउने योजनामा लागेका छन् । पाँच पटकसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले विधानको धारा ७२ बमोजिम पार्टीको अन्तरिम संरचना गठन गर्नको लागि आवश्यक पर्ने प्रक्रिया र मोडालिटी तयार गर्न निर्देशिका निर्माण गर्ने जिम्मेवारी उपसभापति निधि र महामन्त्रीद्धय खड्का र डा. शशांक कोइरालालाई दिएको छ । सो समितिले ल्याएको निर्देशीकाले मात्र पार्टी महाधिवेशनको तयारीमा छ वा छैन भन्ने स्पष्ट हुने देखिन्छ ।

सम्बन्धित समाचार

प्रहरीको गोलीबाट घाइते न्यौपानेको मृत्युपछि बर्दिबास झन तनावग्रस्त
प्रहरीको गोलीबाट घाइते न्यौपानेको मृत्युपछि बर्दिबास झन तनावग्रस्त
  • २०७६ श्रावण २०, ०७: ५१: ५५

नयाँ विकल्प,काठमाडौं – महोत्तरी जिल्लाको ब्यापरिक केन्द्र बर्दिवासमा प्रहरीको असावधानी र अत्यधिक बल प्रयोगका कारण झन तनावग्रस्त बनेको छ ।...

आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनू: देउवा
आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनू: देउवा
  • २०७६ श्रावण २०, ०७: ५१: ५५

नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा हाल देखिएको समस्या र चुनौतिको सामना गर्न पार्टी संगठनलाई एक ढिक्का...

शेयर बजार इन्डेक्स नयाँ इतिहास  रच्ने तरखरमा
शेयर बजार इन्डेक्स नयाँ इतिहास रच्ने तरखरमा
  • २०७६ श्रावण २०, ०७: ५१: ५५

नयाँ विकल्पकाठमाडाैं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) इन्डेक्स विहिबार ८ अंकले बढ्याे भने हालसम्मकै उच्च विन्दुमा पुग्ने छ । अल टाइम...

भर्खरै

TOP