December 4, 2020, Friday

शिक्षाको रुपान्तरण, उद्यमशीलता र नवप्रवर्तन

रचना पन्थी

‘अलिअलि पढ्नेले हलो छोडे, मस्तै पढ्नेले थलो छोडे ।’ एकजना जुम्ली हजुरबाले भनेको कुरा हो यो । यो वाक्यमा कति सत्यता छ भन्ने त तथ्याङ्क हेरेर मात्रै भन्न सकिन्छ होला तर यी हरफ मर्मस्पर्शी भने पक्कै छन् ।

हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कामका लागि विदेशिनेको आश र उताबाट काठको बाकसमा भरिएर आउने लाशको हिसाब किताव गर्ने हो भने पनि ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा सार्थक बनाउन अझै धेरै गर्न बाँकी छ भन्ने लाग्छ ।

अझ मुलुककै लगानीमा पढेकाहरुले समेत जागीर खान देश छोडेर जाने प्रवृत्तिले हामी कता जाँदैछौं भनेर एकपटक गम्भीर हुनुपर्ने भएको छ । आफ्नो मात्र स्वार्थ हेरेर जीवन बिताउन खोज्ने नयाँ पुस्ता राज्यप्रति किन यति उदासीन बन्दैछ ? खोट कहाँनेर छ ? यही आजको मुख्य सवाल हो ।
मानवमा अन्तरनिहित चेतनाको कारणले पनि ऊ अन्य प्राणीभन्दा फरक छ । त्यो चेतनाले गर्दा उसले अग्रगामी विकासको परिकल्पना गर्न सम्भव छ । विश्वमा जतिपनि विकास भएको छ त्यो मानवमा निहित त्यही गुणको कारण भएको हो ।

मानिसको चेतनालाई विकास गर्नेक्रमनै वास्तवमा सिकाई हो । यसको व्यवस्थित रुप शिक्षा हो । जन्मदेखि मृत्युपर्यन्त आवश्यक पर्ने र त्यस अवधिमा प्रभाव पार्ने सम्पूर्ण ज्ञान नै शिक्षा हो । अशल र खराब छुट्याउन सक्ने विवेक प्रदान गर्ने, सही निर्णय लिन सक्षम बनाउने, व्यक्तिमा निहित प्रतिभाको प्रस्फुटन गराउने, चेतनाको विकास गराउने आदि शिक्षाको काम हो ।

शिक्षाले यतिमात्र होइन राज्यसत्ता सञ्चालनको क्रममा आवश्यक पर्ने राजनीतिक नेतृत्व छनौट गर्ने, देशको आर्थिक विकासका विकल्प दिने, सामाजिक तथा साँस्कृतिक विकास गर्दैै सभ्यतातर्फ लैजाने काम पनि शिक्षाकै हो  । शिक्षित व्यक्तिको व्यक्तित्व आदर्श हुन्छ  । अतः शिक्षालाई आदर्श व्यक्ति निर्माणको प्रकृया हो भन्न सकिन्छ  ।

शिक्षाको उद्धेश्य विशेष गरी दुई वटा हुन्छ । पहिलो सूचना उपलब्ध गराउनु । र, दोस्रो त्यही सूचनाको आधारमा समाजमा सकारात्मक रुपान्तरण गर्नु । कुसुचित हुनु भिन्नै कुरा हो । ज्ञान आर्जन गर्नु सूचना संकलन गर्नु हो भने आर्जित ज्ञानको आधारमा अरुलाई परिवर्तन गर्नु रुपान्तरण हो । सूचना संग्रह मात्रै गर्नु जति सजिलो छ त्यसलाई जीवन रुपान्तरणका लागि प्रयोग गर्नु त्यतिनै अप्ठेरो ।

हाम्रो देश नेपालको सन्दर्भमा हेर्ने हो भने हाम्रो शिक्षा प्रणालीमा धेरै कमी कमजोरी छन् । यहाँ सुगा रटाई स्टाइलको पढाईले नत शिक्षामा नवप्रवर्तन हुन्छ न त समाजको रुपमान्तरण नै । बरु रुढीवादी समाजको निरन्तरता मात्रै हुन्छ ।

शिक्षाको उद्देश्य जीवनोपयोगी सीप सिकाउनु पनि हो । सीपले व्यक्तिको जीवन सहज हुन्छ भने राज्यमा रहेका नागरिककको जमात मानव साधनमा रुपान्तरित हुन्छ । रुपान्तरण भनेको लार्भावाट प्युपा हुँदै पुतली बन्ने प्रकृया जस्तै हो । हामी देशको लागि आवश्यक जनशक्ति निमाणका लागि शिक्षाको विकास गर्नु जरुरी छ  ।

लार्भाका रुपमा रहेका व्यक्तिलाई उडान भर्न सक्ने सुन्दर पुतली बनाउने शिक्षा नै आजको आवश्यकता हो  । हामीले त सीपरहित श्रमशक्ति मात्र निर्यात गरिरहेका छौं । यसमा हाम्रो शिक्षा प्रणालीको दोष छ ।

प्रविधिरहित युगको घोकन्ते शिक्षाको निरन्तरता आजको कम्प्युटर युगमा एक आश्चर्य मान्न सकिन्छ । कम्प्युटर प्रोग्रामिङबाट पढ्नुपर्ने समयमा पनि हामी अरुले छापेका पाठ्यपुस्तक घोकेर पास गर्न बाध्य छौं । त्यही पाठ्यपुस्तक समेत समयमा पाईंदैन ।

हाम्रा पाठ्पुस्तकमा रहेको प्रमुख हरफ हो–‘नेपाल एक कृषिप्रधान देश हो  ।’ यद्धपी हामी हाम्रा बालबालिकालाई पढाउँदा ‘राम्रोसंग पढ्,’ नत्र पछि हलो जोत्न पर्ला’ भनिरहेका हुन्छौं  । मानौं हलो जोत्नु नराम्रो काम हो । कसैले कृषि कर्म गर्छु वा कृषि उद्यमी बन्छु भन्दा पनि सुख नदिने हाम्रो सामाजिक संरचना छ ।

यसले सबैलाई पढेर जागीर खानुपर्छ अनिमात्र ठूलो मान्छे भइन्छ भन्ने सन्देश दिन्छ । सबैको अन्नदाता किसानलाई कसैले राम्रो मान्दैन । त्यसैले पनि होला हामी हाम्रो मुलुकमा उपलब्ध स्रोत र साधनको प्रयोग गरी उद्यमशीलता विकास गर्न लजाउँछौं । बरु विदेशमा भाँडा माझ्नु बेश तर आफ्नो मुलुकमा काम गर्न सक्दैनौं ।

समयमा पाठ्पुस्तक हातमा नपाएपनि परिक्षामा पास हुनुपर्ने हाम्रो शिक्षा प्रणालीमा ठूलै सुधारको खाँचो छ । हाल मुलुक संघीयतामा गैसकेको छ । स्थानीय सरकारहरुलाई शिक्षासम्बन्धी अधिकार प्रयोग गर्ने संबैधानिक व्यवस्था गरिएको छ । अब यस्तो अवस्थामा स्थानीय सरकारहरुले व्यक्तिको प्रतिभा प्रस्फुटन गराई स्थानीय आवश्यकता परिपूर्ति गर्न सक्ने जनशक्ति विकासमा ध्यान दिनु जरुरी छ ।

स्थानीय विशेषतासहितको शिक्षा र नवप्रवर्तनलाई विशेष जोड दिने शिक्षा नीति नै आजको आवश्यकता हो । जसले स्थानीय तहको आवश्यकतालाई नवप्रवर्तनको माध्यमबाट विश्वसंग जोड्न सक्छ  । विद्यार्थीले आफ्नो चाहना र रुची अनुसारको शिक्षा लिन सक्छ  । जसलाई घोकन्ते भन्दा पनि विद्यार्थीको चाहना र समयको आवश्यकता अनुरुपको खुकुलो शिक्षा प्रणालीले मात्र सम्बोधन गर्न सक्छ ।

उदाहरणको रुपमा फेसबुकको आविस्कारलाई लिन सकिन्छ । फेसबुकका आविष्कारक जुकरवर्ग लगायतका पाँच जना साथीले आफूहरु एकआपसमा कुरा गर्न बनाएको कम्प्युटर प्रोगाममा आज संसारभरका मानिस जोडिएका छन् । उनीहरुले फेसबुक यो रुपमा विकास होला भनेर कल्पना पनि गरेका थिएनन् तर आज फेसबुकका संस्थापकहरु विश्वका धनीमध्ये गनिन्छन् । यस्तो नवप्रवर्तन व्यक्ति, समाज तथा सरकारको आवश्यकतामा निर्भर हुन्छ ।

अतः हामीले हाम्रा विद्यार्थीलाई समाधानमुखी शिक्षाको बाटो देखाउनु जरुरी छ । आज हामी मोवाइल एपबाट गाडी रोक्न, चढ्न र भाडा तिर्न सक्छौं । अनलाइन कारोवार गर्न सक्छौं । घरमै बसीबसी हामी विश्वमा तरंग ल्याउन सक्छौं । केबल खाँचो छ नवप्रवर्तनको । विद्यार्थीलाई आवश्यकता र आविष्कारसंग जोड्न सक्ने शिक्षाको । शिक्षालाई समृद्धिसंग जोड्न सक्ने नीतिको ।

सम्बन्धित समाचार

उत्तरगया-गोकर्णेश्वरको दर्शन नगरी धार्मिक यात्रा पुरा हुँदैन, हाइकिङ र साइक्लिङको रुट बन्दैछ
उत्तरगया-गोकर्णेश्वरको दर्शन नगरी धार्मिक यात्रा पुरा हुँदैन, हाइकिङ र साइक्लिङको रुट बन्दैछ
  • २०७६ भाद्र २, ०६: ३०: १०

तपाईं नगरप्रमुखमा निर्वाचित भएपछि नगरको विकास र नागरिकको सेवामा के चुनौति छन् ? समाधानका लागि के–के गर्दै हुनुहुन्छ ?म आउँदा...

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ हटाउने  सरकारकाे निर्णयमाथी सर्वाेच्चकाे कारण देखाउ आदेश
‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ हटाउने सरकारकाे निर्णयमाथी सर्वाेच्चकाे कारण देखाउ आदेश
  • २०७६ भाद्र २, ०६: ३०: १०

नाममा सर्वोच्चको आदेशनयाँ विकल्पकाठमाडाैैं-सर्वोच्च अदालतले देशको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ हटाएर ‘नेपाल’ मात्र लेख्ने सरकारको निर्णयविरूद्ध कारण देखाऊ आदेश...

भारतमा कोभिड–१९ संक्रमित ९५ लाख नाघे
भारतमा कोभिड–१९ संक्रमित ९५ लाख नाघे
  • २०७६ भाद्र २, ०६: ३०: १०

नयाँदिल्ली–भारतमा कोभिड–१९बाट संक्रमितको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत चौबीस घण्टामा...

भर्खरै

TOP