काठमाडौं । गत फागुन १५ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाले ज्यान गुमाउने गरी ताप्लेजुङको पाथिभरामा एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना हुनुको मुख्य कारण प्रतिकुल मौसम र पाइलटको कमजोरी भएको खुलासा भएको छ ।
समितिले बुझाएको प्रतिवेदनमा प्रतिकुल मौसम, ओभर लोड, पाइलटको कमजोरी र कम्पनीले स्टान्डर्ट अपरेटिङ प्रोसिड्यअरसमेत पालना नगर्नुलाई हेलिकोप्टर दुर्घटनाको मुख्य कारण भएको जनाइएको छ ।
हेलिकोप्टर दुर्घटनाको लागि गठन गरिएको जाँचबुझ समितिले बुझाएको दुर्घटना भएको झन्डै ९० दिनपछि असार ११ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढासमक्ष प्रारम्भिक प्रतिवेदन पेस गरेको थियो । समितिले बुझाएको प्रतिवेदन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र सम्बन्धित सरोकारवाला निकायको रायपछि ६० दिनपछि प्रकाशन गरेको थियो ।
हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित एयर डाइनेस्टीका सिइओ तथा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको निधन भएको थियो । दुर्घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्रीका स्वकिय सचिव युवराज दाहाल, मन्त्री अधिकारीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे र हेलिकोप्टर चालक प्रभाकर केसीको निधन भएको थियो ।
दुर्घटनाको भोलिपल्ट सरकारले पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतम सहितको ४ सदस्यीय दुर्घटना जाँचबुझ समिति गठन गरेको थियो । जाँचबुझ समितिमा नेपाली सेनाका सहायक रथी दिपकप्रसाद बास्तोला, क्याप्टेन प्रमोद लामा सदस्य तथा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव रहेका थिए ।
दुर्घटना भएको दिन अर्थात फागुन १५, २०७५ का दिन नेपालकै सबैभन्दा बढी मौसम बदली रहने ठाउ ताप्लेजुंग क्षेत्रमा आँखाले देख्न सकिने भिजिबिलिटी ७ देखि १० किलोमिटर मात्र हुनु, पानीसँगै हिउँ पर्ने र हावा चल्नु र हावाको वेगमा पनि छिनछिनमै परिर्वतन हुँदा उडानमा समस्या रहेको जाँझबुझ समितिले जनाएको छ ।
मौसम प्रतिकुलताका कारण पनि तेह्रथुमको चुहानडाँडामा प्रस्तावित विमानस्थलको निरक्षण र औपचारिक कार्यक्रममा एक घण्टा विताएपछि हेलिकोप्टर ताप्लेजुंगको पाथिभरा मन्दीर क्षेत्रमा बसेको थियो ।
मौसम प्रतिकूलताका कारणले मन्त्री अधिकारी सहितको टोली करिब ४५ मिनेट त्यहीं रोकिएर पाइलटले ११ बजेर ३४ मिनेटमा पाथिभराबाट काठमाडौंका लागि उडान गरेका थिए । तर, उडान गरेको १ मिनेटमै हेलिकोप्टर दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ ।
पाईलटसहित सहित ९ जना सवार हेलिकोप्टरको लोडमा असन्तुलन भएको प्रतिवेदनमा जनाइएको छ । हेलिकोप्टर दुर्घटना हुँदाको परिवेस, अल्टिच्युड, डिसेन्ट लेभलको अवस्था, डिसेन्ट दरको उचाइ गुरुत्वाकर्षणको नियमअनुसार बढी भएको प्रतिवेदनमा देखाएको छ । दुर्घटना हुनुअघि प्रतिमिनेट २ हजार फिटको दरले हेलिकोप्टर जमिनतर्फ झरेको छ । यसरी तल झरेको हेलिकोप्टर ६० डिग्रीको कोणमा देब्रे ढल्किएका कारण सो समयमा गुरुत्वाकर्षणको नियमअनुसार हेलिकोप्टरको तौल ४ हजार ३ सय ६ केजी पुगेको समितिको प्रतिवेदनमा जनाइएको छ ।
‘हेलिकोप्टरको वजन क्षमता इन ग्राउन्ड इफेक्टमा २ हजार २ सय ५० केजी भए पनि आउट ग्राउन्ड इफेक्टको अवस्थालाई हेर्दा सो समयमा २ हजार १ सय २० केजीभन्दा माथि उडान सुरु गर्न मिल्दैन । तर, पाथिभराबाट हेलिकोप्टरले काठमाडौंका लागि उडान गर्दाको तौल २ हजार १ सय ५३ केजी छ । यो ३३ केजी बढी देखिन्छ’ प्रतिवेदनमा भनिएको छ ।
उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेह्रथुम र तेह्रथुमबाट सिधै काठमाडौं पुग्ने तालिका भए पनि उडानका बीचमा पाइलटले आवश्यक समन्वय नगरी तेह्रथुमबाट पाथिभरा उडान गरेका जाँझबुझ समितिले निष्कर्ष निकालेको छ । साथै पाइलटले पाथिभराबाट उडान गर्दा पनि काठमाडौं तथा नजिकैको ताप्लेजुङ विमानस्थलको टावरमा सम्पर्क गरेको प्रमाण फेला नपरेको पनि जनाइएको छ ।
फ्लाइट प्लानमा काठमाडौं–चुनडाँडा–काठमाडौंको उडान भए पनि बिनायोजना पाथिभरा उडान किन गरियो त्यसको केही प्रमाण खुलेको छैन । हेलिकोप्टरमा सवार एयर डाइनेस्टीका सिइओ आङछिरिङ शेर्पाको सोही दिन फ्रान्स उडानको तालिका थियो भने मन्त्री अधिकारीको पनि भोलिपल्टै अर्थात फागुन १६ गते युरोप भ्रमणको तालिका थियो ।
जसका कारण पनि पाईलटलाई सोही दिन काठमाडौं फर्कनुपर्ने अवस्था भएका कारण पनि पाइलटले दबाब लिएको हुनसक्ने प्रतिवेदनमा जनाइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको सबै नियम पूरा गरी चालक अनुमति पत्र लिए पनि पाइलटले मौसमसँग खेलाँची गर्दा हेलिकोप्टर दुर्घटना भएको जनाइएको छ । प्रतिवेदनले हेलिकोप्टर दुर्घटना हुनुमा पाइलटको त्रुटिपूर्ण निर्णय, उडान कौशलताको कमी, अवधारणात्मक त्रुटि र नियमविपरीत उडान गर्न खोज्नुलाई प्रमुख कारण भनेको छ ।
पाइलटमा परिस्थिति अनुसार जानकारीको अभाव, मन्त्री तथा मालिक सवारकै कारण दबाबमा पर्नु, समन्वयको कमी हुनु, नियमसंगत हिसाबमा उडान गर्न नसक्नुलाई दुर्घटनाको कारण मानिएको छ ।
नयाँ बिकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ओली समूहले सन्ध्या तिवारी अध्यक्ष रहेको...
नयाँ बिकल्प, काठमाडौं – चन्द्रागिरी नगरपालिकास्थित विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण हुने भएको छ । भारत सरकारको ६करोड ४९ लाख रुपैयाँ...
नयाँ बिकल्प, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी सदस्य पम्फा भुसालले नेपाली सेना, सशस्त्र प्रहरी र...