November 24, 2020, Tuesday

नेपालले फेरि पनि सार्क आयोजना गर्न सक्छ

हरिविनोद अधिकारी

१.नेपालले दोश्रो स्थान प्राप्त गर्न थालेको यो दक्षिण एसियाली खेलकुद—साग—को १३औँ संस्करण २०१९ डिसेम्बर १देखि १० सम्म नेपालमा आयोजना हुँदैछ या भइरहेको छ । पहिलो दक्षिण एसियाली खेलकुद—साफ गेम्स—को सुरुवात पनि नेपालबाट नै १९८४मा भएको थियो ।

पहिलो खेलकुद समारोहमा ५ओटा खेलबाट सुरु गरिएको थियो भने १३औँ संस्करणमा आइपुग्दासम्ममा २६ओटा खेल भइरहेको छ । अझ प्याराग्लाइडिङमा आवश्यक संख्या पुगेको भए २७ओटा खेलको आयोजना हुने थियो ।

यसभन्दा अघि १९९९मा पनि नेपालले खेल समारोह आयोजना गरिसकेको छ र पनि यसपटकको आयोजना दुईपटकसम्म समय सारेर भए पनि नेपालमा नै हुँदैछ, त्यही गर्वको कुरा हो । खासमा २०१५को महाभूकम्पका कारणले भएका पूर्वाधारहरुसमेत तहस नहस भएकाले खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधारहरुको जोहो गर्न समस्या परेकोले खेल भइरहँदासम्म पनि कतिपय ठाउँमा निर्माण कार्यलाई निरन्तरता दिइरहनु परेको सत्यता जो सबै सामु छर्लङ्ग छ ।

२.हाम्रालागि दक्षिण एसियाली खेल समारोह आयोजना गर्नु खासै गाह्रो कुरा होइन भन्ने त १९८४मा जुन तन्मयताका साथ सम्पन्न गराइएको थियो, अहिले त्यो भन्दा हामी धेरै नै भौतिक पूर्वाधारको सम्पन्न अवस्थामा छौँ । यदि त्यो बेलामा हामीले दक्षिण एसियाली खेल सुरु गरेका थिएनौँ भने आजसम्म पनि त्यो क्षेत्रमा क्षेत्रीय खेलकुद सायदै सुरु हुन्थ्यो । सायद त्यही भएर पनि होला, सार्कको क्षेत्रीय राजधानी नेपालमा राखिएको होला ।

३.आज म सागको उत्पत्ति र विकासक्रमका वारेमा केही अरु कुरा लेख्न लागेको होइन । बरु सागको आयोजनासँगै सार्कको भविष्यका वारेमा चिन्ता लागेकोले यी कुराहरु गर्न लागेको हुँ । राजनीतिभन्दा खेलकुदले समाजलाई कसरी अग्रगतिमा लान्छ र सहिष्णुतातिर डो¥याउँछ भनेर भन्नमात्र खोजेको हुँ । एकातिर भारत र पाकिस्तान एउटै राजनीतिक मञ्चमा समेत बस्न आनाकानी गरिरहेका छन् भने अर्कोतिर नेपालमा स्वस्थ प्रतिस्पर्धामा खेल खेलिरहेका छन् ।

यहाँमात्र होइन, कमनवेल्थको खेलकुदमा होस् कि एसियाली खेलकुदमा होस् कि ओलम्पिक खेलमा होस् , भारत र पाकिस्तानमात्र होइन, इजरायल र प्यालेस्टाइनहरु पनि खेलिरहेका हुन्छन् । एक चीनको कुरा नगरे त्यो देशसँग सम्बन्ध नै विच्छेद गर्न पछि नपर्ने जनवादी गणतन्त्र चीन पनि चीनको अर्कोस्वरुपमा आफूलाई उभ्याउने तर जनवादी गणतन्त्र चीनले संयुक्त राष्ट्रसंघको पूर्णकालीन र निषेषाधिकारसहितको शक्तिराष्ट्रको अधिकार नपाउन्जेलसम्म त्यो अधिकार प्रयोग गर्ने ताइवानसँगै एउटै खेलमैदानमा प्रतिस्पर्धीकै रुपमा खेल खेलिरहेको हुन्छ । अर्थात् राजनीतिकै सेरोफेरोमा घुमेको खेलनीति भए पनि खेलमा सहिष्णुता देखिन्छ र खेलले राज्य राज्यका बीचमा नयाँ नयाँ समीकरण तयार गर्ने गर्दछ ।

४.अहिले नै पनि सार्कको भविष्य एकप्रकारले धरापमा छ । सार्कको बडापत्रले पनि मानेको के हो भने सार्कका सबै राष्ट्रहरुको सहमतिमा मात्र सार्कको शिखर सम्मेलन हुन्छ । सागको खेल संयोजन गर्नुपर्ने हुन्छ । अफगानिस्तान अहिले सार्कमा आएको भए पनि मूलतः नेपाल, भारत, पाकिस्तान, मालदिभ्स, बाङ्गलादेश, भूटान र श्रीलंका यी सात देशहरु नै हुन् । अहिले यी देशहरुका बीचमा कुरा नमिलेर नै होला,सार्कको शिखर सम्मेलन हुन सकिरहेको अवस्था देखिँदैन । खासगरी भारत र पाकिस्तानका बीचमा देखिएको तनाबले गर्दा नै सार्क शिखर सम्मेलन भइरहेको छैन । तर साग त सम्पन्न हुँदैछ त ।

५.सार्कको सट्टा बिमेस्टेक हुन सक्दैन । सार्कको विकल्प सार्क नै हो किनभने दक्षिण एसिया विश्व समृद्धिको सम्भावनाको क्षेत्र हो । जनसंख्याको हिसाबले होस् कि भौतिक विशेषताले होस् कि समानता र असमानताको कारणले होस्, विश्वमा नै अलौकिक क्षेत्र हो । सायद दक्षिण एसियाली सहयोग सङ्गठनका जन्मदाताहरुले पनि यो क्षेत्रीय महत्व बुझेर नै यसको स्थापना गरेका थिए होलान् । तर शिखर सम्मेलनमा द्विपक्षीय विषयलाई स्थान नदिने भनेपछि भारत र पाकिस्तानका बीचमा कुरा मिलेर एकै ठाउँमा बस्न पाइने अवसर फेरि कहिले जुट्ने हो , थाहा छैन । तर सागमा जुट्यो त ? यही भावनालाई अघि बढाउँदै सार्कको गति तीब्र बनाउनु जरुरी छ ।

६.जुनबेलामा प्रधानमन्त्रीको रुपमा सुशील कोइराला हुनुहुन्थ्यो ,त्यहीबेलामा सार्कको शिखर सम्मेलन भएको थियो । आपसमा बेलचाल नै नगरेका पाकिस्तानका प्रधानमन्त्री नबाज सरिफ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा संयोजन गरेर एकातिर शिखर सम्मेलन आयोजना गरिएको थियो भने अर्कोतिर ती दुईजनाको हात समाएर मिलाउँदै बोल्न र छलफल गर्ने वातावरण मिलाइएको थियो । हुन त हिजोको त्यो व्यक्तित्वको अहिले कल्पना गर्नु पनि गौरवको विषय बनेको छ किनभने त्यसपछि सार्कको सम्मेलन आयोजना गर्ने वातावरण नै बनाउन सकिएन । त्यसको जिम्मा नेपालको हो किनभने त्यही बेलादेखि नै नेपाल सार्कको अध्यक्षता गरिरहेको छ ।

७.साग गरेजस्तै सार्क पनि गर्न सकिन्छ । यसका लागि कूटनीतिक क्षमता र नेपालको छिमेकी नीतिलाई अझ पारदर्शी र स्पष्टरुपमा व्याख्या गरिनु आवश्यक छ । नेपालले चीनसँगको मित्रताको कुरा गर्दा भारतलाई पन्छाउन नसकिने अनि भारतसँगको मित्रताको कुरा आउँदा चीन बीचमा ल्याइने नीति भन्दा नेपालको हितमा नेपाल नै अघि आउने नीति लिएमा सार्कको शिखर सम्मेलन गर्न नसकिने जस्तो लाग्दैन । हामीले सार्कभित्रका द्विपक्षीय मामिलामा पनि मध्यस्थता गर्न सक्छौँ र भारतसँगका हाम्रा जटिलता पनि यसैगरेर समाधान गर्न सक्छौँ ।

८. र अन्त्यमा, अहिले नेपाल, भारत र चीनका बीचमा त्रिदेशीय छलफल चलाउने जुन प्रयास देखिन्छ, त्यसलाई साँच्चै कार्यान्वयन गर्नु जरुरी छ । त्यसले सीमा विवादको समस्या मत्थर पार्नेछ र सार्कमा नयाँ उर्जा आउने देखिन्छ ।

सम्बन्धित समाचार

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
  • २०७६ मंसिर २३, ०७: ३७: ४६

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज)...

नाइजेरियामा बन्दुकधारीहरुले मस्जिदमा हमलामा पाँचको हत्या, १८ जना अपहरित
नाइजेरियामा बन्दुकधारीहरुले मस्जिदमा हमलामा पाँचको हत्या, १८ जना अपहरित
  • २०७६ मंसिर २३, ०७: ३७: ४६

नाजेरियामा शुक्रबार यहाँको एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन् । यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको...

अमेरिकी विदेश मन्त्रीमा एन्टोनी ब्लिन्केनको सम्भावना
अमेरिकी विदेश मन्त्रीमा एन्टोनी ब्लिन्केनको सम्भावना
  • २०७६ मंसिर २३, ०७: ३७: ४६

वासिङ्टन–अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले अमेरिकी विदेश मन्त्रीमा आफ्ना सल्लाहकार सहयोगी एन्टोनी ब्लिन्केनलाई मनोनयन गर्ने सम्भावना रहेको छ । बाइडेनका नजिकका...

भर्खरै

TOP