January 16, 2021, Saturday

काँग्रेसभित्रको रडाँकोले जिल्लाजिल्लाका कार्यकर्ता आक्रोशित

सानेपामा कसले भन्यो ‘मन नपरे छोडे हुन्छ’

काठमाडौं । नेपाली कांग्रेस भित्र संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच खिचातानी र अविश्वासका कारण दुवै पक्षबाट समानान्तर गतिविधि हुन थालेका छन् ।

समानान्तर गतिविधि यति धेरै हुन थालेका छन् कि संस्थापन पक्षका नेता तथा सभापति शेबरहादुर देउवालाई उचाल्नेहरु असन्तुष्ट नेतालाई पार्टी छोडे हुन्छ … सम्म भन्न थालेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले गत मंसिर २६ गतेको केन्द्रीय कार्यसमिति बैठकमा नौ बुँदे छलफलको प्रस्ताव पेश गर्दा आगामी १४औं महाधिवे

शनको कार्यतालिका नल्याएको भनेर असन्तुष्ट बनेको संस्थापनइत्तर पक्ष अहिले पानी बाराबारको स्थितिमा पुगेको छ । सभापति देउवालाई महाधिवेशनको कार्यतालिका पेश गर्नै मिल्दैन भनेर उकास्नेहरुले पुस ११ गतेको केन्द्रीय कार्यसमिति बैठमा भने १४औं महाधिवेशनको कार्यतालिका पेश गर्दै २०७७ सालको फागुनमा महाधिवेशनको प्रस्ताव समेत गरेका छन् ।

जुन बेला असन्तुष्ट नेताले महाधिवेशनको कार्यतालिकाको माग गरे, त्यसवेला कार्यतालिका नै ल्याउन मिल्दैन भन्ने सभापति देउवा निकटका केन्द्रीय सदस्यहरुले दुइ सातापछि नै घटनामा कुनै परिवर्तन नआइ कार्यतालिका ल्याउन राजी भए । तर समय यति घर्की सकेको थियो कि संस्थापन पक्षले फालेको पासोमा उ आफै पर्दै थियो ।

भ्रातृ संस्थालाई पूर्णता दिने र महाधिवशेन गर्ने एजेण्डासँगै राखेर प्याकेजमा सहमति गर्ने भन्दै देउवालाई मनाएर जस जति आफै लिन तम्सिने उपसभापति निधिका कारण संस्थापन पक्ष सकसमा परेको हो । असन्तुष्ट पक्षले भने बमोजिम महाधिवेशनको कार्यतालिका पेश गरेपछि जे पनि निर्णय गर्ने अनुमति वा सहमति पाइएला भनेर छँदा खाँदाको २८ विभागलाई ४१ वटा बनाउन एजेण्डामा प्रस्ताव पेश गरी ४७ वटा विभागको नाम थपेर पारित गरेपछि संस्थापन पक्ष र संस्थापनइत्तर पक्षबीचको बिबाद वार कि पारको स्थितिमा पुगेको हो ।

असन्तुष्ट पक्षलाई ठेगान लगाउन वा पेल्नका लागि सभापति देउवाले उपसभापति विमलेन्द्र निधिलाई जिम्मेवारी दिएता पनि उनको गतिविधि र क्रियाकलापले देउवालाई झन बिबादित बनाउने संस्थापन पक्षकै केही नेताहरुको भनाई छ । निधिले आफूलाई शक्तिशाली उपसभापति भएको देखाउन र अर्का उपसभापति विजयकुमार गच्छदारको हैसियत केही पनि होइन भन्ने देखाउनको लागि सभापति देउवालाई असन्तुष्ट पक्षबाट टाढा राख्ने काम गरेको बुढानिलकण्ठ श्रोतले जनायो ।

असन्तुष्ट पक्षलाई गलाउन र ठेगान लगाउन संस्थापन पक्षले साम, दाम, दण्ड, भेद र अवसरका उपायहरु अवलम्बन गर्न थालेपछि असन्तुष्ट पक्षका नेताहरु पनि देउवाबिरुद्धको मोर्चाबन्दीलाई झन कसिलो र मजबुद बनाउँदै लगेका छन् । यसका लागि उनीहरुले पार्टीका केन्द्रीय सदस्यवाहेक पूर्वकेन्द्रीय सदस्य, सांसद र पूर्वसांसद, जिल्ला सभापति, प्रदेश सभा सदस्य र महाधिवेशन प्रतिनिधिहरुको भेला समेत गर्ने निष्कर्ष निकालेका छन् ।

एजेण्डामा पेश गरेको भन्दा थप एजेण्डा घुसाउँदै बहुमतको आधारमा पार्टी विधानको प्रयोग नै नगरी निलम्वन गरी क्रियाशिल सदस्यता वितरणमा आफूखुसी गर्ने उदेश्यले निर्णय गरेपछि असन्तुष्ट पक्ष पुस ११ गते भएको निर्णय फिर्ता नलिएसम्म सभापति देउवाले गरेका हरेक निर्णयका विरुद्ध लाग्ने निष्कर्षमा पुगेको बताइन्छ ।

सभापति शेरबहादु देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपा पार्टी केन्द्रीय कार्यसमितिको बैठक ११ गते बेलुकी साढे चार बजे गरिरहँदा असन्तुष्ट पक्षले भने महामन्त्री डा. शशांक कोइरालाको निवासमा बैठक गरेका थिए । बरिष्ठ नेता रामचन्द्र पौडेलले महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा तीन नेता कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला र कूलबहादुर गुरुङ भने सहभागी भएनन् ।

असन्तुष्ट पक्षका नेताहरुले देउवाबिरुद्धको मोर्चाबन्दीलाई मजबुद बनाउन आज सोमबार काठमाडौंमा ७७ वटै जिल्लाका सभापतिको भेला बोलाएका छन् । उनीहरुले बोलाएको भेलामा ७७ जिल्लाकै सभापति नआए पनि ५० भन्दा बढी जिल्लाका सभापतिहरु उपस्थित हुने संस्थापन पक्षइत्तरका एक सभापतिले नयाँ विकल्पलाई बताए ।

उनीहरुको भेला पार्टी केन्द्रीय कार्यालय सानेपामा गर्ने सर सल्लाह भइरहेको छ । तर, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहको जोडबल भने आ–आफ्नै निवास महाराजगंज वा चाक्सीवारीमै गरौं भन्ने रहेको छ । तर, नेता कृष्णप्रसाद सिटौला र डा. शेखर कोइरालाले भने पार्टी कार्यालयमै गएर सभापति देउवाबिरुद्ध निर्णय गर्नुपर्ने दबाब नेता रामचन्द्र पौडेललाई दिएको बुझिएको छ ।

सोमबार जिल्ला सभापतिहरुको सल्लाह र सुझाव बमोजिम नेता पौडेल समूहले पूर्व जिल्लासभापति, पूर्वकेन्द्रीय सदस्य, पूर्वसांसद र भातृ संस्थाका पदाधिकारीको बैठक पनि काठमाडौमै गर्ने सहमति भएको छ । सहमति अनुसार प्रदेश सभा सांसद र महाधिवेशन प्रतिनिधिहरुको भेला भने प्रत्येक प्रदेशमा हुने भएको छ । प्रदेशमा हुने भेला भने माग दोश्रो सातादेखि हुने बताइएको छ । त्यसअघिका भेला भने काठमाडौंमा हुने केन्द्रीय सदस्य हृदयराम थानीले नयाँ बिकल्पलाई बताए ।

असन्तुष्ट पौडेल, कोइराला समूहले पुस १२ गते सभापति देउवाको अध्यक्षतामा अघिल्लो दिन पुस ११ गते केन्द्रीय कार्यसमिति बैठकबाट भएका निर्णय फिर्ता लिन आग्रह गर्दै फिर्ता नलिए ति निर्णय नमान्ने चेतावनी दिएपछि संस्थापन पक्ष अप्ठ्यारोमा परेको छ । त्यसैले पुस १६ गते मेलमिलाप तथा एकता दिवसको अवसरमा सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा बोलाएको बैठकमा समेत पौडेल कोइराला गएनन् ।

भोलीपल्ट पुस १७ सानेपामा बोलाएको केन्द्रीय कार्य समिति बैठकमा असन्तुष्ट पक्षका नेताहरु सानेपा नगइ महामन्त्री कोइरालाको निवासमा केन्द्रीय सदस्यहरुको बैठक भएको थियो । यसरी समानान्तर बैठक बारम्बार हुन थालेपछि संस्थापन पक्षले पनि असन्तुष्ट पक्षलाई पेलेर जाने रणनीति बनाएको बुझिएको छ । जुन रणनीति अनुसार उसले संस्थापनइत्तरका केन्द्रीय सदस्यलाई विभिन्न विभागको अफर समेत गरेका छन् । देउवाको यस्तो अफरबाट केही केन्द्रीय सदस्यहरु सहभागी भइसकेका छन् ।

पार्टी केन्द्रीय कार्यसमिति बैठकमा देउवा पक्षधर एक केन्द्रीय सदस्यले असन्तुष्ट केन्द्रीय सदस्यहरु सानेपामा नआएर अन्यत्र बैठक गरेर हिँड्छन् भने छोडेर गए पनि भयो भनेर प्रतिक्रिया दिएका थिए । केन्द्रीय कार्यसमितिको पुस १७ गतेको बैठकमा नेता पौडेल, कोइराला र सिटौलालाई लक्षित गरी त्यस्तो अभिव्यक्ति दिने केन्द्रीय सदस्यलाई त्यस्तो अभिव्यक्ति फिर्ता लिन सभापति देउवालाई दबाब समेत दिएका छन् ।

तर, देउवाले त्यस्तो अभिव्यक्ति कसैले नदिएको दाबी गरेका थिए । पछि ति केन्द्रीय सदस्यले बोलेको अडियो सुनाउँ भनेपछि देउवा तर्सिएका थिए । उनले बिबाद चर्काउन भन्दा मिलाउन तिर लागौं भनी कुरा बटारेका थिए । ति केन्द्रीय सदस्य को थिए भनेर खोजि भइरहेको छ । त्यसो भन्ने केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र किशोरसिंह राठौरमध्ये एक भएको स्रोतले बतायो ।

तर, असन्तुष्ट पक्षका एक नेताले देउवालाई भेटेर पार्टी फोड्न पनि नदिने र महाधिवेशनमा एकलौटी पनि गर्न नदिने भनेपछि देउवा पेलेर जाने रणनीतिबाट कसरी पछि हट्ने होला भन्ने समय र कारणको खोजिमा लागेका छन् । यसैबीच पार्टीका कार्यकर्ताहरुले केन्द्रमा रडाँको मच्चिएपछि सामाजिक सञ्जालमा नेताहरुप्रति लक्षित गर्दै गालीगलौज गर्न सुरु गरेका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरितः नेता सिंह
प्रधानमन्त्रीको कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरितः नेता सिंह
  • २०७६ पुष २१, ०८: ०२: ५३

नयाँ विकल्प काठमाडाैं- नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली र सभा गरेको छ ।...

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला
सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला
  • २०७६ पुष २१, ०८: ०२: ५३

नयाँ विकल्प विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका...

चितवनकै पहिलो आकाशे पुलको उद्घाटन
चितवनकै पहिलो आकाशे पुलको उद्घाटन
  • २०७६ पुष २१, ०८: ०२: ५३

नयाँ विकल्प भरतपुर-पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम...

भर्खरै

TOP