November 23, 2020, Monday

‘अर्जुन नभेटेको हुँदा सारथी बन्दिनँ’- सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशनमा नेतृत्वकोलागि प्रतिष्पर्धा गर्ने संकेत गरेका छन् ।

जीपी कोइराला लोकतन्त्र संवद्धन केन्द्रले हालै राजधानीमा आयोजना गरेको अन्तरक्रियामा सिटौलाले पार्टीमा अहिलेसम्म अर्जुन जस्तै भुमिका खेल्ने योग्य कोही नभएकोले आफू कसैको सारथी नबन्ने भन्दै नेतृत्वको दाबी नछाड्ने संकेत गरेका हुन् ।

कांग्रेसको ११ पुसको केन्द्रीय समिति बैठकले बहुमतको आधारमा गरेका निर्णयलाई लिएर पार्टी भित्र देखिएको बिबादको समाधान गर्न नेतृत्वले भूमिका खेल्न नसकेको भन्दै असन्तुष्टि जनाएका सिटौलाले ‘कम्युनिष्ट नेतृत्वको सरकारको भूमिकाले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान नै संकटमा परेको बेला पार्टी नेतृत्व बिधानअनुसार चल्न नसक्दा पार्टी कमजोर भएको जनाए ।

उनले जिल्ला सभापतिसँग देउवाले प्रत्यक्ष छलफल गरेपछि बिबाद मिलाउँछु भनेकाले आफूलाई विश्वास भएको बताए । नेपाली कांग्रेस भित्र तेश्रो धारको नेतृत्व गरिरहेका सिटौलाले पार्टी सभापति देउवाबिरुद्धको मोर्चाबन्दीमा रामचन्द्र पौडेल पक्षलाई सहयोग गरेको वा नगरेको भन्ने अन्योल भइरहेको बेला सिटौलाले पार्टी भित्र कुनै पनि नेताको सारथी नबन्ने घोषणा गरेर आफ्नो गुट अस्तित्वमा रहेको र प्रभाव जनमाउने पक्षमा रहेको संकेत दिएका छन् ।

आफ्नो समूहका दुई केन्द्रीय सदस्य उमाकान्त चौधरी र शिवप्रसाद हुमागाईंलाई सभापति शेरबहादुर देउवाले बोलाएको केन्द्रीय समिति बैठकमा र दुई केन्द्रीय सदस्य गगनकुमार थापा र प्रदीप पौडेललाई असन्तुष्ट नेता रामचन्द्र पौडेलको बैठकमा सहभागी गराएकोले उनी निकटका नेता कार्यकर्तामा अन्योलता छाएको थियो ।

सिटौलाले सभापति देउवाले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा सहभागि भएका हुमागाईं र असन्तुष्ट समूहको बैठकमा सहभागी प्रदीप पौडेललाई मञ्चमा राखेर कार्यक्रम गरेका थिए । उनले आधा समय पार्टीको कमजोरी र वाँकी समय सरकारले संविधान विरुद्ध गरेका क्रियाकलापको आलोचना गरेका थिए ।

पार्टीको आन्तरिक बिबाद समाधान नगरी सरकारको कमजोरी र संविधानमाथिको प्रहारलाई परास्त गर्न नसक्ने भन्दै सिटौलाले कम्युनिष्ट सरकारको २ वर्ष हेर्दा प्रतिपक्षी दल कमजोर भएको र कांग्रेस मौन बसेको आरोप लगाए ।

सिटौलाले भने, ‘मौनता कांग्रेसको कमजोरी हो । कांग्रेसका कार्यकर्ताले लोकतन्त्र ल्याइयो, संविधान जारी भयो भनेर सुतेर बस्ने बेला होइन, गिरिजाप्रसाद कोइरालाको अनुयायी भन्नेले सुतेर बस्ने ?’ उनले प्रेस बक्तव्य निकालेको भरमा, एउटा ट्वीट गरेको भरमा वा फेसवुकमा लेखेको भरमा पार्टीको कार्यकर्तालाई जागरुक बनाउन नसकिने भन्दै नेपालकै इतिहासमा पहिलो पटक प्रतिपक्षी भएर कांग्रेसले गत वर्ष सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतले पारित गरेको आरोप लगाए ।

कम्युनिष्टको नेतृत्वले देश चलाउन नसकेको कुरा २ वर्षको कम्युनिष्टको सरकारले प्रमाणीत गरिसकेको भन्दै सिटौलाले सरकारले देश र जनताको लागि केही दिन्छ भन्ने आशा गर्न नसकिने ठोकुवा गरे । संविधानमा पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकार, व्यक्तिगत स्वतन्त्रताको व्यवस्था गरिए पनि २ वर्षमा संवैधानिक अंगलाई सरकारले कमजोर बनाउँदै गएको, सर्वोच्च अदालत र न्यायलय सरकारको अनुकूल हुन थालेको र स्वतन्त्र न्यायपालिकाको अस्तित्वमा प्रश्न उठ्न थालेको उनको आरोप थियो ।

यसैगरी, नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वाइडबडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचारको विषयमा छानबिन नभएसम्म संसद चल्न दिन नहुने धारणा राखेका छन् । राजधानीमा हालै आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेल केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि संविधानमाथि हस्तक्षेप बढाएको भन्दै भ्रष्टाचारको विषयलाई संसद नै अबरोध गर्ने काम प्रमुख प्रतिपक्षीको रुपमा कांग्रेसले गर्न नसकेको टिप्पणी गरे ।

‘यति होल्डिङस्, वाईडबडी, बालुवाटार जग्गा प्रकरण लगायतका विषयको छानबिन प्रक्रिया अघि नबढाएसम्म सदन चल्न दिँदैनौं भनेर कांग्रेसले किन भन्न सकने ?’ पौडेलको प्रश्न थियो, ‘प्रधानमन्त्री कार्यालय मातहतमा हरेक निकायलाई ल्याएर क्याविनेटबाट निर्णय गर्दै नीतिगत भ्रष्टचार गर्न पाइन्छ ?’ प्रधानमन्त्री कार्यालय मातहतमा अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग, सम्पति शुद्धिकरण विभाग ल्याएर प्रधानमन्त्रीले अन्य मन्त्रीलाई अविश्वास गरेको पौडेलको आरोप थियो ।

‘प्रधानमन्त्रीले आफू बिरुद्ध बोल्नेलाई अरिँगाल भएर डस्न लगाउने र संचार मन्त्रीले सरकारको बिरोध गर्नेलाई ठाउँको ठाउँ ठेगान लगाउन भनेर राज्य आतंक मच्चाउन खोज्नु भएको छ’, पौडेलले भने, ‘प्रेमी र प्रेमिकाबीचको टेलिफोन गफ समेत टु्यापिङ गर्ने योजनामा सरकार लागेको छ ।’

पौडेलले संविधानको पालना गर्न प्रधानमन्त्रीको खवरदारी गर्नु पर्ने कांग्रेसका कार्यकर्ताले पार्टी सभापतिसँग पनि बिधान कार्यान्वयन गर्नुस, विधान नमिच्नुस भनेर दबाब दिनु परेको छ । उनले पार्टी सभापति देउवालाई पाटीको नेता र त्यसमाथि माथि उठेर राजनेता र देशको नेता बन्नुस भन्दा गुटको नेता बन्ने अभिलासा मात्र लिएको आरोप लगाए ।

सम्बन्धित समाचार

किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
  • २०७६ माघ ६, ०६: १७: ०६

नयाँ विकल्प,एजेन्सी -चीनले सन् १९७० को दशकयता चन्द्रमाबाट ढुङ्गाका नमुना ल्याउन पहिलो पटक प्रयास गर्ने भएको छ। मङ्गलवार प्रक्षेपण गरिने...

वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
  • २०७६ माघ ६, ०६: १७: ०६

नयाँ विकल्प काठमाडाैं – सरकारले काेराेना संक्रमण नियन्त्रणकालागि प्रत्यक्ष रूपमा खटिने स्वास्थ्यकर्मीलाइ तलबकाे शतप्रतिशत भत्ता उपलब्ध गराउने घाेषणा गरेकाे थियाे...

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
  • २०७६ माघ ६, ०६: १७: ०६

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज)...

भर्खरै

TOP