March 9, 2021, Tuesday

नेकपा केन्द्रीय कमिटी बैठकमा नेतृत्वको तिब्र आलोचना

नेतालाई हदैसम्मको कार्वाही र सम्पति छानबिन गर्न माग

काठमाडौं । सत्तारुढ नेपाल कम्यनिष्ट पार्टी (नेकपा) को विहीबारदेखि जारी केन्द्रीय कमिटीको बैठकमा नेतृत्वप्रति तिब्र आलोचना, टिप्पणी र असन्तुष्टी व्यक्त भएका छन् । तत्कालिन नेकपा एमाले र नेकपा माओवादीबीच एकीकरणको घोषणा भएपछि औपचारिकताको लागि २०७५ साल जेठको पहिलो साता केन्द्रीय कमिटी बसेपछि विहीबार नेकपा केन्द्रीय कमिटीको दोश्रो बैठक शुरु भएको हो ।

बैठकमा सहभागी सबैजसो केन्द्रीय कमिटी सदस्यले पार्टीका शीर्ष नेता नै गुटबन्दीमा लागेको आरोप प्रत्यारोप लगाएका छन् । नेता र जनप्रतिनिधिको सम्पति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न अधिकांसले माग गरेका छन् ।

सत्तामा बसेका र सचिवालय सदस्यवाहेक सबै जसो सहभागीले सम्पति छानबिन गर्नु पर्ने माग गरेका थिए । केन्द्रीय सदस्यहरुमा धेरै जसोको अभिव्यक्ति पूर्वमाओवादी र पूर्वएमालेप्रति बढी लक्षित थियो । पूर्वएमाले भए पनि माधव नेपाल पक्षधर केन्द्रीय कमिटी सदस्यले भने शीर्ष नेता अर्थात अध्यक्षद्धयले स्वेच्छाचारी निर्णय गरेको र विधानलाई मिचेर आफूखुसी निर्णय गरेको भन्दै आलोचना गरेका थिए ।

चर्चित अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) को विषयमा भने केन्द्रीय सदस्यहरुबीच तीन किसिमका धारणा आएका थिए । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर केन्द्रीय सदस्यहरुले एमसीसी मुलुकको हित अनुकूल भएको दाबी गरेका थिए । उनीहरुले अमेरिकी सैन्य रणनीतिसँग एमसीसीको सम्वन्ध नरहेको जनाएका थिए । पूर्वमाओवादी पक्षधर सबैजसो नेताले एमसीसी चीनको बीआरआई बिरुद्ध अमेरिकाले ल्याएको सैन्य रणनीति भएकोले त्यसलाई सदनबाट पारित गर्न नहुने धारणा राखेका छन् ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षधर केन्द्रीय सदस्यहरुले भने एमसीसीलाई यथास्थितिमा पास गर्न नहुने भन्दै संशोधन गरेर मात्र सदनमा लैजानु पर्ने बताउँदै आएका छन् । नेपाल पक्षधर भनेर चिनिएका प्रधानमन्त्री केपी ओलीका आलोचक भिम रावलले भने एमसीसीलाई अहिलेकै अवस्थामा पास गरे मुलुकको सावैभौमसत्ता र स्वाधिनता नै खतरामा पर्ने भन्दै आएका छन् । एमसीसी मुलुकको हितअनुकुल छैन भन्दै सार्वजनिक अभिव्यक्ति दिने र आमसंचार माध्यममा बोल्दै हिँड्ने रावलको क्रियाकलापबाट अध्यक्ष तथा प्रधानमन्त्री ओली निकै रुष्ट बनेका छन् ।

त्यसैले उनले अर्का अध्यक्ष दाहाललाई रावलसँग भेट गरी एमसीसीको बिरोधमा नजान सम्झाएका थिए । तर हठी स्वभावका रावल टसको मस भएका छैनन् । जसले गर्दा एमसीसी सदनबाट अहिलेकै अवस्थामा पारित गर्न सरकारलाई फलामको चिउरा चपाउनु सरह भएको छ ।

राजनीतिक प्रतिवेदन पेश गरेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले इण्डो प्यासिफिक स्टाटेजी (आइपीएस) चीनको बीआरआईलाई घेराबन्दी गर्न ल्याइएको अमेरिकी रणनीति भन्दै आलोचना गरेका छन् । पूर्वमाओवादीका नेताहरुले एमसीसीलाई आपीएसको अभिन्न अंग भन्दै व्याख्या गरिरहेको बेला दाहालको यस्तो राजनीतिक प्रतिवेदनबाट अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर केन्द्रीय सदस्यहरु सशंकित भएका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमा आईपीएस अमेरिकाले चीनलाई घेराबन्दी गर्न भनी ल्याएको रणनीति भनी पेश गरेको वाक्यांस फिर्ता लिन केन्द्रीय कमिटीको १४ नं. टोली नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माग गरेका छन् । उनले दाहाललाई गुटबन्दी गर्न कहिले खुमलटार र कहिले भैंसेपार्टीमा गोप्य बैठक गरेको भनी आलोचना समेत गरेका छन् । थापाले अध्यक्ष दाहालप्रति लक्षित गर्दै नेकपाको नेता हुन छाडेर पूर्वमाओवादीको गुट चलाएर बसेको आरोप समेत लगाएका छन् । उनले जनताको बहुदलिय जनबादको सारतत्वलाई स्वीकार्ने तर नाम स्वीकार गर्न नसक्ने संकिर्ण सोच भनी आलोचना गरेका छन् ।

थापाको यो भनाईलाई केन्द्रीय कमिटीका एक जना सदस्य वा १४ नं. टोलीको संयोजकको रुपमा मात्र लिन सकिँदैन । प्रधानमन्त्री ओलीको किचन क्याविनेटका एक विश्वास पात्रको रुपमा चिनिने थापाको यो सुझाव, टिप्पणी र प्रतिवेदनलाई धेरैले ओलीको अभिव्यक्ति र भावको रुपमा लिने गरेका छन् । थापाको यो अभिव्यक्तिबाट ओली अर्का अध्यक्ष दाहालप्रति कति विघ्न असन्तुष्ट रहेछन भन्ने प्रस्ट हुन्छ ।

दाहालले प्रतिनिधि सभाको रिक्त सभामुख पदमा पूर्वमाओवादीबाटै उम्मेदवार बनाइनु पर्ने भन्ने मागलाई बल पु¥याउनको लागि सचिवालय सदस्य बामदेव गौतमको निवास भैंसेपाटीमा सचिवालयका अन्य सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतमलाई राखेर बैठक गरेका थिए । दाहालको यस्तो कदमपछि ओली निकै सशंकित हुँदै आएका छन् ।

केन्द्रीय कमिटी बैठकमा अधिकांस केन्द्रीय सदस्यहरुले प्रभावशाली र शीर्ष नेतामा सम्पति थुपार्ने होडबाजी चलेको, नवसामन्ति संस्कार विकसित भएको, सर्वहारा वर्ग पार्टीबाट पलायन भएको जस्ता गुनासो गरेका थिए । केन्द्रीय सदस्य ठाकुर गैरेले भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था हुने गरी कानून बनाउन माग गरेका थिए ।

टोली नं ११ का संयोजक राजेन्द्रकुमार राईले नेताहरुले कमाएको अकुत सम्पतिको छानबिन हुनुपर्ने, निजी स्वास्थ्य संस्था र निजी शिक्षण संस्थामा भएको व्यापार बन्द गरी त्यहाँ लगानी गर्ने पार्टी नेतालाई हटाउनु पर्ने र पार्टीलाई विधान, नियम र पद्धतिअनुसार चलाउनु पर्ने माग सुझाव प्रतिवेदनमा दिएका थिए ।

१३ नम्वर टोलीका संयोजक लेखनाथ न्यौपानेले नेता र जनप्रतिनिधिको सम्पति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नु पर्ने भन्दै नेकपाको नेता हुँ भनेर सार्वजनिक रुपमा भन्न पनि अप्ठ्यारो भएको बताएका छन् ।

७ नम्वर टोलीकी संयोजक पूर्णकुमारी सुवेदी लगायत अधिकांसले बालुवाटारको जग्गा व्यक्तिको नाममा किर्ते गरी हडपेको विषय र यति होल्डिङलाई कौडीको भाउमा कानून विपरित गोकर्ण फरेष्ट रिसोर्ट लगायतको सम्पति लिज दिएर भ्रष्टाचार गरेको विषयमा समेत छानबिन गर्न माग गरेका छन् । १५ नम्वर टोलीका संयोजक हिमाले शर्माले भने पूर्वसभामुख कृष्णवहादुर महरालाई लगाइएको अभियोगका विषयमा पार्टीले छानबिन गर्नु पर्ने माग गरे । विहीबार शुक्रबार बोल्ने सबै जसो टोलीका अधिकांस केन्द्रीय सदस्यले स्वर्गीय नेताको नाममा खोलीएका प्रतिष्ठानलाई खारेजी गर्नुपर्ने माग गरेका छन् ।

नेता भीम रावल, लेखनाथ न्यौपाने, राजेन्द्रकुमार राई लगायतका नेताहरुले प्रतिष्ठानको नाममा राज्य र दातृ निकायले दिएको आर्थिक सहयोग र अनुदानले जिल्ला जिल्लामा कार्यक्रम गरी गुट संचालन गरी पार्टीलाई कमजोर बनाएको भनि टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र उनी निकटकाले मदन भण्डारी, रामनाथ दाहाल, सुखानी शहिद, छिन्ताङ शहिद, मनमोहन अधिकारी, सहाना प्रधान, पुष्पलाल आदि नेताको नाममा खोलीएका प्रतिष्ठानमा आफै संरक्षक, अध्यक्ष कार्यकारी पदमा वसेर पार्टीको समानान्तर गतिविधि गरेर पार्टी कार्यकर्तालाई प्रभावित पर्ने र गुट बलियो बनाउने काम गरेको भन्दै आलोचना गरेका छन् ।

धेरै सहभागीले केन्द्रीय कमिटीको बैठक डेढ वर्ष पछि बोलाएको, पोलिटव्युरो कमिटी गठन गर्न नसकेको, दुवै पार्टीको एकीकरण घोषणाको डेढ वर्षमा पनि सबै जनवर्गिय संगठनले पूर्णता नपाएको, एकीकरण प्रक्रिया टुंगोमा नपुर्याएको भनी आलोचना गरेका थिए । उनीहरुले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको सचिवालय र स्थायी कमिटीको बैठकलाई छलेर महत्वपूर्ण निर्णय गर्ने गरेको भनी आलोचना भएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा भने नेताहरु सुभाषचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, सूर्य थापा र कृष्णगोपाल श्रेष्ठहरु खुलेर लागेको मात्र होइन, सरकार र पार्टीको बचाउ समेत गरेका छन् ।

सम्बन्धित समाचार

कञ्चनपुरमा चितुवा आतंकले वासिन्दा त्रसित
कञ्चनपुरमा चितुवा आतंकले वासिन्दा त्रसित
  • २०७६ माघ २०, ०७: ४८: ३१

नयाँ विकल्पकञ्चनपुर–चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका बासिन्दा निकै चिन्तित भएका छन् । गाउँजजिकैको लक्ष्मी...

बैशाख महिनाबाट हुलास आइरन इण्डष्ट्रिज सञ्चालन हुँदै
बैशाख महिनाबाट हुलास आइरन इण्डष्ट्रिज सञ्चालन हुँदै
  • २०७६ माघ २०, ०७: ४८: ३१

नयाँ विकल्पवाग्मती–पर्सा जिल्लामा करिब रु ९० करोडको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना भई सञ्चालनको प्रक्रियामा रहेको छ । उद्योग निर्माणको...

लक्ष्यभन्दा अगाडि नै छात्रावास भवन निर्माण सम्पन्न
लक्ष्यभन्दा अगाडि नै छात्रावास भवन निर्माण सम्पन्न
  • २०७६ माघ २०, ०७: ४८: ३१

नयाँ विकल्पम्याग्दी–जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माविको छात्रावास भवन निर्माण सकिएको छ । ढिलासुस्तीका कारण अधिकांश विकास आयोजना...

भर्खरै

TOP