November 29, 2020, Sunday

काँग्रेसमा ४ वर्षे कार्यकाल सकिनै लाग्दा नियुक्ति पाउनेको लर्को

संगठन कब्जा गर्ने दाउमा दुवै समूहको जोरबल

काठमाडौ । आफ्नो ४ वर्षे कार्यकाल समाप्त हुनै लाग्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, विभागीय प्रमुख र जेष्ठ राजनीतिज्ञ सभामा नियुक्तिको वर्षा गराएका छन् ।

सभपाति देउवाले आफ्नो कार्यकालको उत्तरार्धमा केन्द्रीय कार्यसमिति बिस्तार गर्ने र विभाग गठन गर्ने कार्यप्रति भने असन्तुष्ट नेता रामचन्द्र पौडेल र उनी पक्षधर नेताहरुले भने विरोध गरेका छन् । पार्टीको विधानअनुसार ४ वर्षे कार्यकाल समाप्त भए पनि देउवाले निर्धारित समयमा महाधिवेशन गर्न सम्भव नभएको कारण देखाउँदै पार्टीको केन्द्रीय कार्यसमिति सहित सबै कार्यसमितिको पदावधि एक वर्ष थप गरिसकेका छन् ।

पार्टीको १४ औं महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा एक पक्षिय रुपमा नियुक्ति गरिएको भन्दै पौडेल पक्षले विरोध गरेको छ । दुवै समूहको क्रियाकलाप र अभियान हेर्दा पार्टीका शीर्ष नेतालाई महाधिवेशनको रौनकले छोएको छ ।

पार्टीमा देखिएको असहति, गुटगत÷समूहगत विवाद र किचलो समाधानमा भन्दा शीर्ष नेताहरु महाधिवेशनलाई लक्षित गरी पार्टी कार्यक्रम कार्यकर्तामाझ लिएर जानमै व्यस्त छन् । २०७२ साल चैत १ गतेदेखि पार्टी सभापतिको हैसियतले पदभारग्रहण गरेका देउवाले ४ वर्षे कार्यकाल समाप्त हुनै लाग्दा गरेको मनोनयनको सख्या हेर्दा महाधिवेशनमा आफू कमजोर हुन्छु कि भन्ने भान भएका बुझ्न सकिन्छ । नत्र उनले ४ वर्षसम्म विधानले दिएको अधिकार प्रयोग नगरी कार्यकर्ता र नेतालाई अवसर दिने र खुसी बनाउने उदेश्यले यतिधेरै नियुक्ति दिनैपिच्छे गर्ने थिएनन् ।

सभापति देउवाले पछिल्लो समय गरेको नियुक्तिलाई हेर्दा उनको क्रियाशिलता यति धेरै बढेको छ कि पार्टी नेता र कार्यकर्तालाई पद र अवसर दिएरै भए पनि आप्mनो पक्षमा ल्याउने र महाधिवेशन आफ्नो कब्जा गर्ने रणनीति हो भनेर बुझ्न त्यति गाह्रो छैन ।

देउवाले फागुन १७ गते असन्तुष्ट नेता रामचन्द्र पौडेलको सहमति बेगर नै १३ केन्द्रीय सदस्यलाई विभागी प्रमुख बनाए । त्यसको दुई दिन पछि नै उनले फेरि फागुन १९ गते ७ केन्द्रीय सदस्यलाई विभागीय प्रमुखमा नियुक्त गरेका छन् । देउवाले फागुन २३ गते विजयकुमार गच्छदारसँगै २ वर्षअघि नेपाली कांग्रेसमा प्रवेश गरेका तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका ११ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

सभापति देउवाले दुई महिनाअघि असन्तुष्ट नेता पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला नेतृत्वको गुट÷समूहसँग गरेको सहमति तोड्दै नियुक्तिको वर्षा गर्न थालेपछि नेता पौडेल र महामन्त्री डा. शशांक कोइरालाले आपत्ति जनाउँदै एकलौटी पार्टी चलाउने चेष्टा नगर्न चेतावनी दिएका छन् । तर सभापति देउवाले त्यसलाई कुनै रेस्पोन्स गरेका छैनन् ।

सहमति बिना कुनै निर्णय नगर्ने र पार्टी नेतृत्वले गर्ने सबै क्रियाकलाप र गतिविधि आगामी महाधिवेशनलाई सफल बनाउने कार्यसँग मात्र सम्वन्धित हुनु पर्ने सहमति शीर्ष नेताबीच भएपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा असन्तुष्ट नेता पनि उपस्थित भएका थिए । सहमति कार्यान्वयन नगर्दै देउवाले पौडेल समूहको सहमति बिना भटाभट नियुक्ति गरेपछि देउवाको क्रियाकलापको विरोध गर्दै कार्यकर्तामाझ पौडेल उनी निकटका नेताहरु जन थालेका छन् ।

कांग्रेसको सभापति भएको ३ वर्ष ११ महिनासम्म कुनै विभाग गठन नगरी देउवाले १४ औं महाधिवेशनको घोषणा गरेपछि मात्र विभाग गठन गर्न थालेपछि असन्तुष्ट नेताहरु देउवाले विधान मिच्दै पार्टी चलाए भनेर कार्यकर्तालाई सचेत गराउँदैछन् । आगामी महाधिवेशनमा आफू र आफ्नो पक्षमा जनमत सृजन गर्न र कार्यकर्ता आफूतर्फ तान्नकै लागि बृद्धदेखि युवा र अन्य दलबाट कांग्रेस प्रवेश गरेकालाई समेत देउवाले पद वाँड्न थालेका छन् ।

देउवाले पद बाँड्न थालेपछि कतिपय पौडेल समूहका केन्द्रीय नेता पनि देउवाको शरणमा पुग्न थालेका छन् । १३औं महाधिवेशनमा तत्कालिन संस्थापन पक्षका महामन्त्री कृष्णप्रसाद सिटौला बिद्रोह गरी सभापतिमा उम्मेदवारी दिएपछि पौडेललाई असहयोग गर्दै एक दर्जन नेता देउवा गुटमा पुगेका थिए । जिल्ला सभापतिहरु अधिकांस अहिले पनि देउवाइत्तर अर्थात पौडेल पक्षधरका छन् । त्यसैकारण २६ मंसिरमा पौडेल–सिटौला गठबन्धन बनाएर केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेका थिए ।

तर, देउवाले असन्तुष्टको बहिस्कारका बाबजुद ११ पुसको केन्द्रीय कार्यसमिति बैठकमार्फत पार्टी विधानका धारा निलम्वनगरी केन्द्रीय विभागको सख्या २८ बाट बढाएर ४७ बनाएका थिए । असन्तुष्ट पक्षका केन्द्रीय सदस्यहरुको बहिस्कारलाई समेत बेवास्था गर्दै बहुमतको आधारमा केन्द्रीय कार्यसमितिको बैठक मार्फत महाधिवेशनको घोषणा गर्ने निर्णय गरेका देउवा बहुमत जिल्ला सभपातिहरुले कार्यान्वयन नगर्न चेतावनी दिएपछि आफ्नो निर्णयबाट पछि हटेका थिए ।
जिल्ला सभापतिले केन्द्रीय कार्यसमिति बैठकको निर्णय कार्यान्वयन नगर्ने चेतावनी दिएपछि देउवा असन्तुष्ट नेता पौडेल र सिटौलासँग सहमति गर्न सहमत भएका थिए ।

कार्यकर्ता र नेतालाई पद र अवसर दिएरै आफ्नो पक्षमा पार्ने रणनीति १३ औं महाधिवेशनदेखि नै देउवाले अख्तियार गरेका थिए । अर्जुननरसिंह केसी, अर्जुनप्रसाद जोशी, फरमुल्लाह मन्सुर, चन्द्र भण्डारी र आनन्द ढुंगाना १३ औं महाधिवेशनकै बेला तत्कालिन संस्थापन पक्षका सभापतिका उम्मेदवार पौडेललाई छाडेर देउवा गुटमा गएर उनैलाई सभापतिमा सघाएका थिए ।

महाधिवेशनको एक वर्षसम्म देउवाकै पक्षमा उभिएका केसी र भण्डारी २०७४ को स्थानीय तहको निर्वाचनदेखि देउवाको कार्यशैलीसँग असन्तुष्टी जनाउँदै उनकै विरुद्धमा लागेका थिए । सभापतिको निर्वाचनमा पौडेललाई सहयोग नगरेका सिटौलाले समेत बैशाख २०७४ देखि देउवाबिरुद्धको मोर्चामा पौडेल पक्षलाई सहयोग गरेका थिए ।

१३ औं महाधिवेशनमा पौडेल पक्षबाटै केन्द्रीय सदस्यमा निर्वाचित दुई जना नेता पौडेल पक्षलाई छोडेर देउवाको नियुक्ति खान गएका छन् । केन्द्रीय सदस्यहरु गोविन्द प्रसाद भट्टराई र चीनकाजी श्रेष्ठलाई आफ्नो गुटमा ल्याउन सफल भएका देउवाले पौडेल निकटका पूर्वसांसद कृष्णकिशोर घिमिरेलाई आमन्त्रित केन्द्रीय सदस्य बनाएका छन् ।

आफ्नो बिरुद्ध हाल लागेका तेश्रो धारका नेता सिटौलालाई फकाउन देउवाले उनी निकटका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंलाई विभागीय प्रमुख बनाए भने पूर्वसांसद सुधिर शिवाकोटीलाई आमन्त्रिक केन्द्रीय सदस्यमा नियुक्त गरेका छन् । देउवाले उनकै सहोदर दाई पूर्वसांसद डिल्लीप्रसाद सिटौला, झापा कांग्रेसका पूर्वसभापति पूर्णानन्द शर्मा र सिटौलाको गृह नगर चन्द्रगढीका प्रमेश न्यौपानेलाई जेष्ठ राजनीतिज्ञसभामा ल्याएका छन् ।

पार्टीको क्रियाशिल सदस्यहरुको हालको रेकर्ड नै संकलन गर्न नसकेको, संघीय संरचना अनुसारको वडा, गाउँ÷नगर, प्रदेशसभा, संघीय सभा निर्वाचन क्षेत्र कार्यसमितिको समायोजन प्रक्रिाय फागुन पहिलो साता सम्म दुरुस्त नहुनुले महाधिवेशन नै प्रभावित हुने देखिन्छ । पार्टीका सांगठानिक तहको समायोजन साउन मसान्त २०७६ भित्र गरिसक्ने निर्णय भएको थियो ।

हालसम्म पार्टीको समायोजित सांगठानिक तहको रेकर्ड केन्द्रीय कार्यालयमा आइनपुग्दा सदस्यता वितरण कार्य नै अघि बढेको छैन । पार्टीले चैत मसान्त भित्रमा सदस्यता वितरण र नविकरण गरीसक्ने निर्णय गरेको थियो । संस्थापन पक्षले पार्टी केन्द्रीय कार्यालयमा बुधवार बोलाएको जिल्ला उपसभापतिको भेला पौडेल पक्षले बहिस्कार गरेका छन् । बहिस्कारबाट झस्किएका देउवाले फेरी आफूबिरुद्ध घेराबन्दी होला भनेर पार्टी प्रवक्ता विश्वप्रकाश शर्मामार्फत पार्टीका सबै औपचारिक कार्यक्रम स्थगित गर्न लगाएका थिए ।

संस्थापन पक्षको प्रभाव र क्रियाशिलता देखाउन देउवाको इसारामा उपसभापति विमलेन्द्र निधिले बुधबार ७७ जिल्लाका उपसभापतिहरुलाई पार्टी केन्द्रीय अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको नाममा भेला गरेर ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा १० हजार प्रशिक्षकलाई प्रशिक्षण दिने घोषणा गरेका थिए । तर बुधबार नै प्रवक्ता शर्माले पार्टीका सबै औपचारिक कार्यक्रम अर्को सूचना नभएसम्का लागि स्थगित गर्न भन्दै संस्थापनपक्षबिरुद्ध असन्तुष्टले गर्ने सम्भावित बिरोधलाई टार्न सफल भएका छन् ।

पार्टीमा तेश्रो धारको भन्दै क्रियाशिल नेता सिटौलाले देउवालाई नसघाए पनि आफूहरुसँग मिल्न आउने सम्भावना नरहेको भन्दै महामन्त्री डा. शशांक कोइरालाले पौडेल र प्रकाशमान सिंह सहितका नेतालाई व्रिफिङ गरेका थिए । त्यसको केही समयपछि नै देउवाले गरेको विभाग गठन र आमन्त्रित केन्द्रीय सदस्य नियुक्त गर्ने निर्णयको बिरुद्धमा सिटौला मौन बसेका छन् ।

यता सिटौला पक्षधर भनेर चिनिएका युवा नेता गगन थापा र प्रदीप पौडेल बुधबार पौडेलसमूहले बोलाएको भेलामा चाक्सिवारीमा गएनन् । सिटौला पक्षका नेताहरु हुमागाईंले विभागको प्रमुख पाएका छन् भने शिवाकोटीले आमन्त्रित केन्द्रीय सदस्य पाएका छन् । सिटौला समूहकै उमाकान्त चौधरी कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्य छन् ।

नियुक्ति पाउनेहरु यस्ता पनि
देउवाले केन्द्रीय सदस्यमा यसैसाता सर्लाहीका जंगीलाल रायलाई नियुक्त गरेका छन् । उनी राष्ट्रिय जनता पार्टी (राजपा) नेपाका महामन्त्रीबाट कांग्रेस प्रवेश गरेका थिए । डोल्पाका कर्णबहादुर बुढा राप्रपाका केन्द्रीय सदस्य थिए । त्यस्तै आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएका कैलालीका मोहनसिंह राठौर एमाले र सर्लाहीका शम्भुलाल श्रेष्ठ माओवादीको तर्फबाट राज्यमन्त्री थिए । कपिलबस्तुका अभिषेख प्रताप शाह तत्कालिन मधेशी जनअधिकार फोरमबाट, लमजुङका दयाराम पाण्डे खस क्षेत्री पार्टीबाट, आएका थिए ।

३० सदस्यीय जेष्ठ राजनीतिज्ञ सभामा पूर्वमन्त्री तथा पूर्वकेन्द्रीय सदस्य ढुण्डीराज शास्त्री, पूर्वसांसद सूर्यमान गुरुङ ताप्लेजुङ्गका लक्ष्मीप्रसाद ताल्चाभडेल, झापाका पूर्णानन्द शर्मा, डिल्लीप्रसाद सिटौला,केदार ढकाल र प्रमेश न्यौपाने र तेह्रथुमका तेजमान तुम्वाहाम्फेलाई नियुक्त गरिएको छ । सभामा दाङका छविकुमार शर्मा र तीर्थराज ज्ञवाली ‘चैतु’ सोलुखुम्वुका देवीध्वज बस्नेत र केशरवावु थुलुङ्ग राइ, महोत्तरीका हरिशंकर मिश्र र रामचन्द्र सिंह, काभ्रेका राजेन्द्र खरेल, काश्कीका खेमराज पौडेल, चितवनका वावुराम पुरी, देवेनद्रप्रसाद उपाध्याय र तोपमान गुरुङलाई नियुक्त गरेको जनाएका छन् ।

त्यस्तै, स्याङजाका सूर्यप्रसाद रेग्मी र तारापति सुवेदी, धादिङका भरतप्रसाद उप्रेती, गोरखाका चन्द्रप्रसाद न्यौपाने, जुम्लाका लाल हमाल, रुपन्देहीका सूर्यदत्त जोशी र भगवती सिंह, कञ्चनपुरका अन्तराम भट्ट, मदन चन्द र धनकुटाका अजितनारायण थापालाई पनि जेष्ठ राजनीतिज्ञ सभामा मनोनित गरेका छन् । देउवाबाट मनोनित हुन पाउनेहरु अधिकांस संस्थापन पक्षधरकै हुन भने केही पौडेल पक्षका असन्तुष्ट र नगण्य संख्यामा सिटौला पक्षधरहरु रहेका छन् ।

सम्बन्धित समाचार

चन्द्र ढकाल  : बाग्लुङको  अमलाचौरदेखि महासंघकाे  नेतृत्वसम्म
चन्द्र ढकाल : बाग्लुङको अमलाचौरदेखि महासंघकाे नेतृत्वसम्म
  • २०७६ फाल्गुन २७, ०७: ३०: १८

काठमाडौँ- भनिन्छ, बिहानीले दिनको सङ्केत गर्छ । नेपाल प्रज्ञा प्रतिष्ठान नजिकैको घण्टाघरले बिहानको ४ः३० बजेको समय सूचक घण्टी बजायो र...

बैंकमा लगानीकर्ता झुमिदा ७५ अंकले बढ्यो नेप्से, कारोबार ९ अर्ब माथी
बैंकमा लगानीकर्ता झुमिदा ७५ अंकले बढ्यो नेप्से, कारोबार ९ अर्ब माथी
  • २०७६ फाल्गुन २७, ०७: ३०: १८

नयाँ विकल्पकाठमाडाैं-साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ७५ अंकले बढेको छ। यो अंकको वृद्धिसँगै नेप्सेले १९६८ अंकको नयाँ...

रोल्पामा अपरिचित दुई पुरुषका शव फेला
रोल्पामा अपरिचित दुई पुरुषका शव फेला
  • २०७६ फाल्गुन २७, ०७: ३०: १८

नयाँ विकल्पकाठमाडाैं- रोल्पामा सडेको अवस्थामा दुइटा शव फेला परेका छन्। सुनिल स्मृति गाउँपालिका वडा नं. ४ जिया खोला किनारमा १२...

भर्खरै

TOP