March 7, 2021, Sunday

समायोजन कार्य अलपत्र हुँदा महाधिवेशनको कार्यतालिका समेत प्रभावित

सभापतिसँग नेता पौडेल र महामन्त्रीबीच विवाद चुलियो

काठमाडौं । नेपाली कांग्रेसभित्र पदाधिकारी र शीर्ष नेताबीचको विवादले एक वर्ष थप गरिएको समयमा पनि पार्टीको केन्द्रीय महाधिवेशन निर्धारित मितिमै हुनेमा आशंका पैदा भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले माघ २९ गतेको केन्द्रीय कार्यसमिति बैठकमा सर्वसम्मत निर्णयबाट पारित गरेको महाधिवेशनको कार्यतालिका नै प्रभावित भएपछि आगामी महाधिवेशन नै प्रभावित हुने आशंका बढेको हो ।

पार्टी केन्द्रीय कार्यसमितिको गत मंसिर २६ देखि पुस ११ गतेसम्म बसेको बैठक नेताहरु रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालादेखि नेता कृष्णप्रसाद सिटौलासम्मले बहिस्कार गरेपछि देउवाले माघको अन्तिम साता सहमति गरेका थिए ।

असन्तुष्ट नेतासँग सहमति गरी देउवाले पुस ११ गते पार्टी केन्द्रीय कार्यसमितिको बैठकले बहुमतका आधारमा गरेका सबै निर्णयहरु उल्टाउँदै सहमतिको आधारमा महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गर्ने र पार्टी विधानका विभिन्न धारा निलम्वन गर्ने र संशोधन गर्ने निर्णय उल्टाउने सहमति भएको थियो ।

तर, सहमतिको मसी सुक्न नपाउँदै देउवाले माघ २९ गतेदेखि एक महिनासम्म केन्द्रीय कार्यसमितिको कुनै बैठक पनि नडाकी पार्टीमा ४७ वटा विभाग रहने गरी २० केन्द्रीय सदस्यलाई विभागको प्रमुखमा नियुक्त गरेपछि केन्द्रीय तहमा विवाद छचल्किएको हो ।

आगामी २०७७ साल फागुन ७ देखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशनको मिति तोकिएको छ । सो निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्न सर्वसहमतिको आधारमा तय भएको महाधिवेशनको कार्यतालिका प्रभावित हुन थालेको छ ।

सभापति देउवाले महाधिवेशनको कार्यतालिका बमोजिमका जिम्मेवारीलाई पुरा गर्नुभन्दा बिभागी प्रमुखमा नियुक्ति गर्ने, अन्य पार्टीबाट २ वर्षअघि कांग्रेस प्रवेश गरेकालाई केन्द्रीय कार्यसमितिको सदस्य र केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यको रुपमा नियुक्त गर्न थालेका छन् । एकपछि अर्को गर्दै देउवाले केन्द्रीय सदस्य मनोनित गर्ने, जेष्ठ राजनीतिज्ञ सभा गठन गरी असन्तुष्ट र अवसर नपाएका ३० जनालाई सदस्यमा नियुक्त गरेका छन् ।

पार्टीको १४औं महाधिवेशनको घोषणा भएको अवस्थामा सभापति देउवाले नयाँ नियुक्ति गर्न नपाउने भन्दै असन्तुष्ट नेताले विरोध जनाइरहेका छन् । उनीहरुले देउवामाथि महाधिवेशनको कार्यतालिकालाई प्रभावित गर्नेगरी काम गरेको आरोप लगाएका छन् ।

कांग्रेसको माघ २९ गतेको केन्द्रीय कार्यसमिति बैठकले २०७६ साल फागुन १५ गतेसम्म पार्टीको स्थानीय तहका सबै संगठनको अन्तरिम संरचनाको समायोजन गरिसक्ने निर्णय गरेको थियो । तर चैत २ गतेसम्म वितिसक्दा सबै जिल्लाले समायोजनको प्रतिवेदन केन्द्रीय कार्यालयलाई पठाएका छैनन् । हालसम्म करिव ४५ जिल्लाबाट मात्र समायोजनको प्रतिवेदन आएको पार्टी कार्यालयले जनाएको छ ।

७७ जिल्लामध्ये आधा जिल्लाबाट मात्र समायोजनको प्रतिवेदन आएपछि पार्टी कार्यालयले पनि समायोज सम्पन्न गरेका जिल्लालाई मात्र सदस्यता वितरण र नविकरणको लागि सदस्यता फाराम पठाउन थालेको छ । पार्टीले फागुन १६ देखि चैत मसान्तभित्रमा नयाँ सदस्यता वितरण गर्न र नविकरण गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । सदस्यता वितरण कार्य पार्टीको यही कार्यशैलीले चैत मासन्तभित्रमा वितरण गरिसक्न सम्भव देखिँदैन ।

पार्टीले बैशाखभित्रमा सदस्यता वितरण र नविकरणको विवरण केन्द्रमा पठाई सक्नुपर्ने छ । तर, २ नम्वर प्रदेशका आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा अझै पनि स्थानीय तहको संगठनको अन्तरिम संरचना निर्माण हुन सकेको छैन । एक सयभन्दा बढी स्थानीय तह रहेको सप्तरी, सिरहा, धनुषा जस्ता जिल्लामा स्थानीय तहको संख्या घटाएर १७ देखि २० मा झार्दा समायोजन कठिन भएको कांग्रेसले जनाएको छ ।

पार्टीले क्रियाशिल सदस्यता नविकरण र सदस्यता वितरणमा चित्त नबुझेमा उजुरी दिने समय जेठ १५ गतेसम्म तोकेको छ भने प्रारम्भिक छानबिन समितिले छानबिन गरी जेठ मसान्त भित्रमा निर्णय दिइसक्नुपर्ने व्यवस्था गरेको छ । प्रारम्भिक छानबिन समितिले गरेको निर्णयमाथि चित्त नबुझेमा असार १५ गतेसम्म केन्द्रीय छनबिन समितिमा उजुरी दिने समय सीमा तोकिएको छ ।

साउन १५ गतेसम्म केन्द्रीय छानबिन समितिले छानबिन गरी साउन २५ गतेभित्र पार्टी सभापतिलाई सदस्यताको बिवरण दिइक्सनुपर्ने छ । त्यसपछि मात्र सभापतिले केन्द्रीय निर्वाचन समितिलाई क्रियाशिल सदस्य र पार्टीको सदस्यको विवरण प्रमाणीत गरी बुझाउने कार्यतालिका छ । तर, समायोजन प्रक्रियानै टुंगो नलाग्दा महाधिवेशन प्रभावित हुने आशंका असन्तुष्ट नेताहरुले गर्न थालेका छन् ।

एकताको वातावरण विथोलिएको महामन्त्रीको आरोप
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवालाई फागुन २८ गते एक लिखित पत्र दिँदै विधान विपरित नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) को जिल्ला नेतृत्वलाई विधान विपरित हटाएर पार्टी विधानको उल्लंघन गरेको भन्दै आपत्ति जनाएका छन् ।

उनले आमनिर्वाचनपछि पार्टीमा उत्पन्न विवादबाट पार्टीलाई थप क्षति नहोस् भनेर आफूले साथीहरुको आलोचना सहँदै देउवालाई सहयोग गरेको बताएका छन् । महामन्त्री डा. कोइरालाले आफ्नो सहयोगलाई देउवाले नजरअन्दाज गरेको आशय व्यक्त गर्दै पार्टीभित्र विवाद बढ्दै जाँदा केन्द्रीय कार्यसमितिका पछिल्ला केही बैठकमा आफूपनि सहभागी हुन नसक्ने परिस्थिति निर्माण भएको जनाएका छन् ।

विवादको परिस्थितिको अन्त्य गर्न बैठकमा सहभागी हुने वातावरण निर्माण गर्न र छलफल र कुराकानीको माध्यमबाट पहल हुँदै गर्दा हालै विधानमा तोकिए वाहेकका विभाग बनाइएको आरोप महामन्त्री कोइरालाले सभापति देउवालाई लगाएका छन् ।

‘पार्टीका केही साथीहरुलाई केन्द्रीय समिति सदस्य र आमन्त्रित सदस्यहरुको मनोनयन गरिनुले पार्टीभित्र एकताको वातावरण थप बिथोलिएको मेरो बुझाई छ’, डा. कोइरालाले पत्रमा भनेका छन्, ‘२०७६ साल फागुन २३ गते तपाईद्धारा हस्ताक्षरित पत्रद्वारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (७) बमोजिम विष्णुप्रसाद पौडेललाई नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) को जिल्ला सभापतिको जिम्मेवारी दिइनु विधान विपरित छ ।’

पार्टीको विधानअनुसार गर्न पाउने कार्य गर्न गराउन सो जिल्लाको पार्टी संगठन संचालनको जिम्मेवारी पौडेललाई प्रदान गरिएको भन्ने सूचनाले पार्टीको मौजुदा विधानको व्यवस्था प्रतिकूल हुने कोइरालाको ठहर छ । सभापतिको यस्तो कदमले गम्भीर सांगठानिक विवाद सृजना गरेको कोइरालाको आरोप छ ।

सभापति देउवालाई बुझाईएको पत्रमा महामन्त्री कोइरालाले नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) मा रिक्त सभपातिमा कांग्रेसको विधानको धारा ५० को उपधारा (८) वमोजिम तत्कालिन नवलपरासी जिल्ला कार्यसमितिका उपसभापति अर्जुन पोख्र्रेललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको दाबी गरिएको छ ।

कार्यवाहक सभापति हुन नेपाली कांग्रेसको विधानको धारा १२ (५) (क) (१) बमोजिम १० वर्ष क्रियाशील सदस्य रहेको महाधिवेशन प्रतिनिधि भन्ने व्यवस्था नवलपरासीको हकमा आकर्षित नहुने भन्दै कोइरालाले सो व्यवस्था सभापतिको उम्मेदवार हुनको लागि मात्रै भएको दाबी गरेका छन् । कोइरालाले विधानको धारा ५० (८) ले सम्वन्धित तहको अधिवेशन तोकिएको अवस्थामा वा महाधिवेशन तोकिएको अवस्थामा वा ६ महिना भित्र महाधिवेशनको मिति नै तोकिएमा सभापतिको लागि अलग्गै निर्वाचन गर्नु पर्ने छैन भन्ने व्यवस्था गरेको छ ।

यस व्यवस्थाले नयाँ अधिवेशन गर्न सक्ने वा पाउने अवस्था देखिदैन र विधान बमोजिम कार्यवाहक सभापति हुँदा हुँदै नयाँ सभापति तेक्ने हामीसँग कुनै बैधानिक बाटो नभएको कोइरालाले जनाएका छन् । पार्टी विधानको धारा २५ (७) मा जिल्ला नेतृत्व छनोटका सन्दर्भमा आकर्षित नहुने देखिन्छ ।

नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) को जिल्लाको नेतृत्वको विषयमा पार्टीका केन्द्रीय पदाधिकारीहरुको बैठकले अर्जुन पोख्रेल कार्यवाहक सभापति रहेको विषयलाई सर्वसम्मतले निर्णय गरेको जनाउँदै कोइरालाले कार्यवाहक सभापति पोख्रेलकै नेतृत्वमा सो जिल्लामा स्थानीय तह, प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न भएको र सम्पूर्ण सांगठानिक समायोज कार्यंहरु पुरा भईं त्यसको अभिलेख समेत केन्द्रीय कार्यालयमा रहेको स्पस्ट पारेका छन् ।

विधानको धारा ४५ मा भएको व्यवस्था अनुरुप कुनै कारणले पार्टीका कुनै पनि निकायमा रिक्त हुन आउने स्थानका लागि यस विधानमा अन्यथा व्यवस्था भएकोमा वाहेक जुन प्रक्रियाबाट निर्वाचित भएको हो सोही प्रक्रियाद्वारा पदपूर्ति गरिने व्यवस्था रहेकाले कार्यवाहक सभापति विधान बमोजिम जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा नयाँ निर्णय गर्ने कुनै कारण नदेखिएको जनाइएको छ ।

पार्टीको १४औं महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेको अवस्थामा एकाङ््गी रुपमा हुने निर्णयले महाधिवशेनको निष्पक्षता र सुनिश्चितता गम्भीर रुपमा प्रभावित भएको दाबी गर्दै डा. कोइरालाले विधानको व्यवस्था अनुसार सभापतिको काम, कर्तइव र अधिकार पार्टीको आदर्श, सिद्धान्त र मर्यादालाई उच्च राख्ने र राख्न लगाउने हो भनी सम्झाएका छन् ।

कांग्रेसको संचालन पद्धतिलाई अनुकरणीय रुपमा कायम राख्नु हामीसबैको कर्तव्य भएको जनाउँदै उनले सो जिल्लाको सभापतिमा जिल्ला विधानको व्यवस्था वमोजिम अर्जुनकुमार पोख्रेल कार्यवाहक सभापति हरेको जिल्ला कार्यसमितिलाई नै यथावत कायम राख्न अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

भारतद्घारा बुटबलस्थित नहरपुर माविलाई ४ करोड ४१ लाख रुपैयाँ सहयोग
भारतद्घारा बुटबलस्थित नहरपुर माविलाई ४ करोड ४१ लाख रुपैयाँ सहयोग
  • २०७६ चैत्र ३, ०६: ३७: ०९

नयाँ बिकल्प,काठमाडौं । बुटवलस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारत सरकारले चार करोड ४१ लाख ४० हजार रुपैयाँ...

मदनराज गुरुङ स्मृति कप फुटसलको उपाधि बाह्रदशीलाई
मदनराज गुरुङ स्मृति कप फुटसलको उपाधि बाह्रदशीलाई
  • २०७६ चैत्र ३, ०६: ३७: ०९

काठमाडौं । नेपाली कांग्रेस झापा — काठमाडौं सम्पर्क समिति क्षेत्र नं ६ ले आयोजना गरेको मदनराज गुरुङ स्मृति कप फुटसल...

वैधानिक नेकपा हामी हौँ :  अध्यक्ष प्रचण्ड
वैधानिक नेकपा हामी हौँ : अध्यक्ष प्रचण्ड
  • २०७६ चैत्र ३, ०६: ३७: ०९

नयाँ विकल्प काठमाडाैं -नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू नै वैधानिक नेकपा भएको दाबी गरेका छन् ।...

भर्खरै

TOP