November 24, 2020, Tuesday

आगे प्रधानमन्त्री ओलीकै मर्जी

हरिविनोद अधिकारी

१. सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सफलताका साथ मिर्गौला प्रत्यारोपण भएको छ र उहाँ त्रिविको शिक्षण अस्पतालबाट डिस्चार्जसमेत भएर प्रधानमन्त्रीको सरकारी निवासमा फिर्ता आउनु भएको छ ।

एउटा राजनेताको स्वास्थ्यमा देखिएको खराबीको उपचार हुनु र त्यसबाट सकारात्मक परिणाम आउनु साह्रै सुखद पक्ष हो । उहाँको स्वास्थ्यको अवस्था १२ वर्ष अघिकै जस्तो होस् भन्ने कामना गरौँ ।

२. तर सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली विरामी हुँदा देश पनि विरामी हुनु पर्छ कि पर्दैन भन्ने यक्ष प्रश्न अहिले नेपालका सामु उभिएको छ । दुईओटा जरासन्धझैँ मिलेका कम्युनिस्ट पार्टीहरुलाई खासमा नेतृत्व गरिरहनु भएका ओलीको इच्छामा भावी प्रधानमन्त्री र भावी नेतृत्वको व्यवस्था हुनेछ ।

३. अहिले न त पार्टी न त सरकार नै राम्रोसँग चलेको आभास पाइएको छ । मिलेका दुई समूहका बीचको खिँचातानी र आपसमा देखिएको विवादले भुसको आगोको काम गरेको छ जुन छिटै बाहिर धुवाँसहितमात्र होइन, आगोका लप्कासहित देखिनेवाला छ । नेपालको इतिहासले बारम्बार इतिहास दोहोरिएको देखाउँछ ।

४.प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफलताका साथ हुन सकेको छ , उहाँलाई मिर्गौला दान दिएर महान दाताको श्रेणीमा पर्नु हुने समीक्षा संग्रौला र उहाँलाईँ सफल प्रत्यारोपण गर्नका लागि आफ्नो सिप र पेसागत धर्म निर्बाह गर्ने सबै चिकित्सकहरुलाई धन्यवाद दिनैपर्छ । त्यसैले प्रधानमन्त्रीको स्वस्थ र दीर्घ जीवनको कामना गरेकै छौँ ।

५ं सफल प्रत्यारोपणले एकैपटक दुईओटा सन्देश प्रवाहित गरेको छ ः नेपालमा पनि मिर्गौला सफलताका साथ प्रत्यारोपण हुन्छ र प्रधानमन्त्री ओली अब मिर्गौलाका कारणले विरामी भइरहनु पर्ने छैन । तर आएका समाचारहरु विवादास्पद छन् किनभने सम्वेदनशील अंग अनि उमेरको अवस्थासँगै रोगसँग लड्ने प्रतिरोधी क्षमतामा देखिने कमीसँग संक्रमणले पनि आक्रमण छिटै गर्ने हुन्छ ।

अरु सबै कुरा राम्रो हुँदाहुँदै पनि शरीरमा संक्रमण हुनसक्ने खतरा बढेको छ । शरीरले सामान्य जुत्तालाई त केही दिन लगाएपछि मात्र सजिलो महसुस गर्छ भने अर्काको मिर्गौलालाई शरीरले आफ्नो सामान्य प्रक्रियामा स्वीकार गर्न पक्कै पनि केही समय लाग्ला नै । त्यस्तो समय कति लाग्छ भन्ने कुरा समय, परिस्थिति र रोगसँग लडिरहेका व्यक्तिको क्षमता र रोगको तहले निर्धारण गर्ने हो । कसैले पनि यस्तै हुन्छ भन्न सक्दैन होला ।

६.व्यक्ति केपी शर्मा ओली विरामी मान्छे हो । उहाँ नेकपाको अध्यक्ष पनि हो र मुलुकको निर्वाचित प्रधानमन्त्री पनि हो । उहाँ नेपाललाई चाहिने मानिस हो र त एमालेको अध्यक्ष हुँदै प्रधानमन्त्री अनि नेकपाको अध्यक्षसँगै प्रधानमन्त्री पनि हुनु भएको छ त्यो पनि प्रचण्डसहितको अत्यधिक बहुमतले । उहाँ राजनीतिक रणनीतिकार पनि हो र चुपचाप आफ्ना अभीष्टता पूरा गर्नका लागि माहिर मानिस हो, नत्रभने शेरबहादुर देउवाजीेको सरकारमा गृहमन्त्री नै रहेको मानिसलाई कसरी आफ्नो दलमा मिल्नका लागि राजी गराउन सक्नुहुन्थ्यो या शेरबहादुरजीलाई समर्थन गरिरहेको माओबादी केन्द्रलाई एमालेमा मिल्ने निम्तो कसरी दिन सक्नुहुन्थ्यो त्यो पनि जगलाई कुनै सुइँको नै दिई ।

७. यसरी अचानक जस्तो बनेको रणनीति र स्थानीय निर्वाचनमा पाएको मतको गणनाबाट आउने परिणामका आधारमा भएको एमाले र माओबादी केन्द्रको एकताले राम्रो परिणाम दिएकै हो र आजसम्म आउँदा विपक्षीको कुनै नामो निसान नहुने अवस्था देखिएकै हो । तर सरकारमा रहेको दलको अवस्था झन झन विवादजन्य देखिन्छ र प्रधानमन्त्रीजीको दलमा भन्दा पनि सचिवालय र स्थायी समितिमा स्थिति कमजोर देखिन थालेको छ ।

८.उहाँको १२ वर्ष अघि दुवै मिर्गौलाले काम नगरेकाले नयाँ मिर्गौला प्रत्यारोपण गरेर निको हुनु भएको हो र पनि यता केही समयदेखि उहाँले राम्रोसँग काम गर्न नसक्नु भएको थिएन अर्थात् उहाँको मिर्गौैलाले राम्रोसँग काम गर्न सकेको थिएन । त्यो समय गणना गर्दा लामो देखिन्छ तर दिनका हिसाबले अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएपछि चाहिँ औपचारिकरुपमा नै उहाँ असक्त देखिनु हुन्छ । यो समीक्षा तयार गर्दा उहाँ कहिले अस्पतालबाट डिस्चार्ज भएर निवासमा आए पनि कहिलेदेखि सहजतरिकाले काम गर्नसक्ने भन्ने प्रश्न अहं बनेको छ ।

चिकित्सकहरुको स्पष्ट धारणा छ ः उहाँको दैनन्दिनी पहिले जस्तो हुनका लागि करिब ६ महिना या १ वर्ष लाग्छ । अहिले उहाँलाई आरामको जरुरत छ किनभने यो दोस्रो पटकको मिर्गाैला प्रत्यारोपण हो र अब उहाँको उमेर पनि ७०को लगभग पुगेको छ । जतिसुकै रोगसँग लड्ने प्रतिरोधी क्षमता भए पनि र आत्मबल रहे पनि कम्तीमा पनि शरीरले आराम चाहन्छ त्यो पनि शल्यचिकित्सा गरेको भित्री भागले, संवेदशील अङ्गले ।

९.यसरी यस्तो बेलामा कार्यकारी को हो भन्ने प्रश्न एकातिर उठेको हुन्छ भने मुलुकमा तत्काल चाल्नुपर्ने कुनै पनि कदमका वारेमा कसरी निर्णय लिने भन्ने समस्या देखिन्छ । सरकारमा यसै पनि दुई धार या तीन धारले काम गरेकै छ , त्यसको उदाहरणमा लामो समय लगाएर सभामुखको निर्वाचन र अझै उपसभामुखको चयन हुन नसक्नुले पुष्टि गरेको छ ।

१०.प्रधानमन्त्री ओलीले मुलुकको बृहत्तर हितका लागि भन्दा पनि सत्तामा तत्काल टिक्न र सत्ता लम्ब्याउनका लागि पार्टी एकीकरण गर्नु भएको थियो तत्कालीन माओबादी केन्द्रसँग । साँच्चै भन्ने हो भने सधैँ टुटफुटमा रमाउने नेपाली कम्युनिस्ट भँगालाहरु एकपटक ठूलो नदीको रुपमा देखिनु मुलुकका लागि हितकर होला भन्ने यसकारणले मानिएको थियो कि मुलुक सदैव अस्थिर सरकारका कारणले रुमलिएको थियो ।

तर त्यो मृग मरीचिका साबित हुँदैछ स्वयं नेकपाभित्र नै । सरकार भित्र देखिने विवादलाई एउटा गतिशील पार्टीको चरित्र माने पनि त्यो गतिशीलताको परिणाम छिटै देखिने अनुमान राजनीतिक पर्यवेक्षकहरुको छ ।

११.सिद्धान्त र व्यवहारमा एक नदीका दुई किनाराजस्ता कम्युनिस्ट पार्टीहरुका बीचमा भएको एकीकरणले तत्काललाई त नेकपाको सरकार बन्यो र अहिलेसम्म पनि कायम छ तर त्यसले सृजना गरेको अन्यौल र विवादले अब परिणाम देखाउने ठाउँमा पुगेको बुझिन्छ । स्वसिर्जित समस्यासँग अहिले ओली स्वयं लडिरहनु भएको छ ।

तत्कालीन एमालेले भोगिरहेको छ र माओवादी पक्षचाहिँ सुरक्षात्मक तरिकाले नियालिरहेको देखिन्छ । सत्ताका सबै सुविधा लिँदै तर सत्ताका वागडोरका लागि पर्खँदै अर्थात् प्रधानमन्त्री पदको लागि अधैर्यताका साथ पर्खँदै ।

१२.स्वयं सृजना गरिएका समस्या भनेको सरकार बनाउनका लागि जस्तोसुकै सम्झौता गर्न पछि नपर्ने ओली सिद्धान्तको कुरा गर्दा पहिले राप्रपासँगको मिलन र पछि माओबादीसँगको मिलनलाई लिइने गरिन्छ । भन्न त भनियो, अस्थिरतालाई चिर्नका लागि माओबादी र एमालेको मिलन भएको हो तर राजनीतिक पर्यवेक्षकहरु त्यही दिनबाट झन सैद्धान्तिक विचलन र गहिरो अस्थिरताको वीजारोपण भएको थियो जसलाई अहिले ओलीले झेल्नुपरेको समस्यासँग जोडेर हेरिन्छ ।

१३.अबको ओलीजीको सहज निकासको बाटो भनेको या त कार्यवाहक प्रधानमन्त्रीको व्यवस्था गरेर या मुलुकलाई नयाँ प्रधानमन्त्रीका लागि बाटो खुला गर्ने हो , त्यो पनि पहिलेको एमालेबाटै नेतृत्वको विकास गरेरमात्र । त्यसोभन्दा पक्कै नै सँगै कुम जोडेर बस्ने प्रचण्डजीका लागि गाह्रो त हुन्छ तर तत्काललाई नेपाली समाजलाई स्वीकार्य पात्र पनि हुनु जरुरी छ त्यसमा प्रजातान्त्रिक प्रक्रियामा लामो समयदेखि सक्रिय तत्कालीन एमालेजनहरु नै नेपाली समाजलाई स्वीकार्य हुनेछन् ।

हाललाई प्रतिनिधि सभामा सदस्य नभएका वामदेव गौतमको कुरा आएन, तर पूर्व प्रधानमन्त्रीहरु माधव नेपाल, झलनाथ खनाल र हालका उपप्रधानमन्त्री ईश्वर पोखरेलमध्येबाट प्रधानमन्त्रीका लागि विकल्प तयार गर्नुपर्छ जसका लागि स्वयं ओलीकै हातमा छ किनभने अझै सँसदीय दलमा ओलीकै पकड छ ।

फेरि एकपटक सत्ता हातबाट गएपछि फर्केर आउँदैन भन्ने त्रासले भन्दा ओलीजीले आफ्नो स्वास्थ्यको लागि न्याय गर्दाको परिणाम भनेको तत्काल आराम गर्नका लागि कार्यकारी हाललाई उपप्रधानमन्त्री पोखरेललाई कार्यवाहक दिने र आफू मुलुकलाई सहज बनाउनका लागि विदामा बस्नु आवश्यक छ, नत्र कम्युनिस्ट पार्टीको सरकार भनेको दलको जिम्मामा हुन्छ, उहाँलाई पदच्यूत गर्ने सम्भावना बढेर गएको छ ।

१४.यसबीच धेरै खिचडी पाकेको छ र प्रतिशोध लिनेहरुले समय र परिस्थितिको संवेदनशीलतामात्र पर्खेर बसेका हुन्छन् । सरकार बनाउने बेलाको जस्तोमात्र समीकरण अहिले छैन । प्रजातन्त्र भन्दा सत्ताको बढी चिन्ता हुनेहरुको जमात अहिले सँसदमा छ । चाहे त्यो सरकार पक्षमा होस् या प्रतिपक्षमा होस् ।

१५.र अन्त्यमा, यदि प्रधानमन्त्री ओलीले आफूलाई राजनीतिक रुपमा सक्रिय र सान्दर्भिक राख्ने हो भने तत्काल नै पूर्व एमालेसँगको गठबन्धनद्वारा नयाँ समीकरण तयार गरेर सरकारको नेतृत्व परिवर्तन गर्नु जरुरी छ जसले ओलीको दलमा रहेको पकड पनि कायम रहने छ र प्रधानमन्त्री पनि आफ्नै इच्छामा निर्वाचित हुनेछ ।

असक्त अवस्थामा पनि प्रधानमन्त्री पदलाई िम्दारी भागजस्तो नबनाउँदा भोलिका दिनका लागि पनि नयाँ नजिर हुनेछ । विरामी प्रधानमन्त्रीप्रति सम्मान हुँदाहुँदै पनि भावी राजनीतिको अदृश्य अवस्थाको आँकलनमात्र गरिएको हो । आगे सम्माननीय प्रधानमन्त्रीकै मर्जीमा ।

सम्बन्धित समाचार

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
  • २०७६ चैत्र ३, ०६: ४२: ५७

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज)...

नाइजेरियामा बन्दुकधारीहरुले मस्जिदमा हमलामा पाँचको हत्या, १८ जना अपहरित
नाइजेरियामा बन्दुकधारीहरुले मस्जिदमा हमलामा पाँचको हत्या, १८ जना अपहरित
  • २०७६ चैत्र ३, ०६: ४२: ५७

नाजेरियामा शुक्रबार यहाँको एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन् । यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको...

अमेरिकी विदेश मन्त्रीमा एन्टोनी ब्लिन्केनको सम्भावना
अमेरिकी विदेश मन्त्रीमा एन्टोनी ब्लिन्केनको सम्भावना
  • २०७६ चैत्र ३, ०६: ४२: ५७

वासिङ्टन–अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले अमेरिकी विदेश मन्त्रीमा आफ्ना सल्लाहकार सहयोगी एन्टोनी ब्लिन्केनलाई मनोनयन गर्ने सम्भावना रहेको छ । बाइडेनका नजिकका...

भर्खरै

TOP