संचार माध्यमलाई हतोत्साहित गर्न खोजिएको बिषयप्रति सभापतिको ध्यानाकर्षण
नेपाली कांग्रेसक सभापति शेरबहादुर देउवाले समाचार लेख्ने र बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएको बिषयप्रति ध्यानाकर्षण गराएका छन् । एक बिज्ञप्ति जारि गर्दै सभापति देउवाले कोरोना सचेतना र सहयोग क्रममा नेपाली कांग्रेसले आफ्ना धारणा, सुझाव र अपिल नियमित रूपमा सार्वजनिक गर्दै आएको छ । मेडिकल सामग्री खरिद प्रकरणमापनि पार्टीको धारणा सार्वजनिक भइ सकेको छ । तर यो प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइ रहेकोे एवं समाचार लेख्ने र बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएको बिषयलाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।
चार बुंदे बिज्ञप्तिमा उनले खरिद अनियमितताको अनुसन्धान र कार्वाही गर्न माग गरेका छन् भने काठमाडौँ प्रेसको घटनामा जो दोषी छन् तिनलाई कार्वाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरका छन्:
(१) कोरोना भाइरसको जोखिमबाट नेपाल र नेपालीलाई जोगाउन यतिबेला हामी सरकारको साथमा छौं र हरसंभव सघाइरहेका छौं । युद्धस्तरमा कार्य गर्न सरकारलाई सुझाएका छौं तर उत्तिकै धैर्य, पारदर्शिता एवं विधि प्रक्रियाको पालना गर्न सचेत गराएका छौं । तर अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पु¥याउने कार्य गरेको छ ।
(२) अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफी योग्य छैन । यो ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कार्वाहीको प्रक्रियालाई सघाउन म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु ।
(३) लक डाउनका कारण एक ढंगले बन्द समाजको स्थिति बनेका बेला भ्रष्टाचारका प्रकरणले सहजता पाउन सक्ने वातावरणलाई दृष्टिगत गर्दै सम्बन्धित संवैधानिक निकायले बिशेष चनाखो भइ कार्य गर्न आवश्यक छ । अतः अपारदर्शी ढंगले कार्य भएको व्यापक समाचार दृष्टिगत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रकरणको गहिरो अनुसन्धान गर्न र कार्वाहीको प्रक्रिया अघि बढाउन जरुरी छ ।
(४) लक डाउनको प्रतिकूल अवस्थाका बावजुद संचार माध्यमहरुले क्षमताले भ्याएसम्म सूचना सम्प्रेषण र सचेतनाको कार्य गर्दै आएका छन् । यस्तो बेला राज्यको चौथो अंगलाई विशेष रुपले कदर र प्रोत्साहित गर्नुपर्नेमा हतोत्साहित गर्न खोजिनु दुःखद छ । काठमाडौं प्रेस अनलाइनमा प्रकाशित खरिद प्रकरणको समाचार साइबर अतिक्रमणमा पर्नु आपत्तिजनक छ । यसमा जो दोषी छन् तिनलाई कार्वाहीको दायरामा ल्याउन म सम्बन्धित निकायलाई आग्रह गर्दछु ।
नेपाली कांग्रेस सबै खाले अनियमितता र बेथितिको विरुद्धमा निरन्तर उभिने छ । तर आजको संकटसंग जुध्न निरन्तर सरकारको साथमा रहनेछ ।
शेरबहादुर देउवा
सभापति
सम्बन्धित समाचार
- २०७६ चैत्र २२, ०८: ५५: ४३
नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...
- २०७६ चैत्र २२, ०८: ५५: ४३
नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...
- २०७६ चैत्र २२, ०८: ५५: ४३
नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...