November 24, 2020, Tuesday

लकडाउनमा बसेर आफ्नै क्षेत्र नियाल्दा…

दामोदर प्रसाद दवाडी

लामो समय पत्रकारिता क्षेत्रमा काम गरिरहँदा यति धेरै समय घरमै बिताउनु परेको यो पहिलो पटक हो । बिरामी पर्दा र भूकम्पको बेला पनि यति धेरै समय थिएन र बचेन पनि । तर अहिले विश्वभर महामारीको रुपमा फैलिरहेकोे कोरोना भाइरस (कोभिड–१९) का कारण अरबौं मानिसहरु घरमित्रै बस्न बाध्य छन् । म पनि त्यसमध्येकै हुँ । मानव जातिमा नै यति ठूलो संकट आएको यो हाम्रो पुस्ताको सम्भवत पहिलो भोगाई हो । इतिहासलाई हेर्ने हो भने तत्कालिन अवस्थामा स्पेनिस फ्लुबाट करिब पाँच करोड व्यक्तिहरुको मृत्यु भएको भन्ने छ । त्यति बेलाका ठूला र शक्तिशाली राष्ट्रहरु लगभग खाली भएको भन्ने छ । दोस्रो विश्वयुद्धमा पनि अहिलेको जस्तो त्रास नभएको विभिन्न इतिहासविद्हरुले बताउँदै आएका छन् । जे होस् अहिलेको महामारी भनेको औषधि पत्ता नलागेको रोग नै हो भन्ने बुझिन्छ । यो महामारीले २१० राष्ट्रहरु प्रभावित भइसकेका छन् भने अहिलेसम्म झण्डै २५ लाख व्यक्तिहरु कोभिड–१९ बाट संक्रमित भइसकेका छन् । यो रोगबाट मुत्यु हुनेको संख्या १ लाख ७१ हजार नाघिसक्यो । संक्रमित र मृत्यु हुनेको संख्या मात्र हेर्ने हो भने यो रोग निकै भयंकर छ तर त्रसित भएर समस्याको समाधान हुने अवस्था छैन । उपाय नभएको कुराको खोजी जति गरे पनि पार लाग्दो रहेनछ । हरेस् खाने कुरा पनि भएन । यो रोगको उपचार र औषधी पत्ता लगाउन विश्वयुद्ध लड्न सक्ने, ग्रहमा पुग्न सक्ने, हजारौं किलोमिटर क्षेप्यास्त्र प्रहार गर्न सक्ने शक्ति राष्ट्रहरुका वैज्ञानिकहरुलाई समेत हम्मे–हम्मे परेको छ । आफूलाई सबैभन्दा शक्तिशाली राष्ट्र मान्ने अमेरिका पनि अहिलेको कोरोना भाइरसबाट थिल–थिलो भएको छ । उसले आफ्नो ४२ हजार बढी मानिसहरुलाई गुमाइसकेको छ । त्यसैगरी स्वास्थ्य क्षेत्रमा सबैभन्दा अब्बल मानिएको इटलीको हालत पनि त्यस्तै छ । स्पेन, जर्मनी, फ्रान्स लगायतका सम्पन्न राष्ट्रहरु पनि नराम्ररी प्रभावत भएका छन् । विश्वका अन्य राष्ट्रहरुको पनि अवस्था त्यस्तै छ ।


विश्वभरी फैलिएको कोरोना भाइरस नेपालमा पनि भित्रिइसकेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितहरुको संख्या १६ बाट ह्वातै बढेर एकैपटक ३२ पुगेकोे छ । छिमेकी राष्ट्रहरु चीन र भारत दुवै प्रभावित भएका छन् । हाम्रो मुलुकको अधिकांश सिमाना दक्षिण भारतसँग गाँसिएको हुनाले नेपालमा जोखिम बढ्ने आँकलन गरिदैछ । यस कारण पनि सिमाना क्षेत्रका बासिन्दाहरु त्रसित छन् । नेपाल सरकारले संक्रमण फैंलिन नदिन लकडाउन गरेको महिना दिन हुन लागिसक्यो र यो अवधि अझ बढ्ने सम्भावना छ । सरकारले वैशाख १५ गतेसम्म लकडाउनको घोषणा गरेको छ । लकडाउनको समय अहिले घरपरिवासँग समय बिताउने राम्रो अवसर पनि भएको छ तर पनि पत्रकारिता पेशामा बिदा भन्ने कुरा बिरलै हुन्छ । घरमै बसे पनि आधिकारिक समाचारहरु पस्कने काम आम जनतालाई सुसूचित गर्ने जिम्मेवारीबाट पन्छिएको भने छैन । साथै फुर्सदको यो समयलाई सदुपयोग गर्ने क्रममा मैले नेपालको सञ्चार जगतलाई निक्कै केलाएर हेर्ने मौका पाएँ । अनलाइन मिडिया, पत्रपत्रिका, टेलिभिजन र सामाजिक सञ्जाल समेतलाई नजिकबाट नियाल्ने अवसर पाएँ । यो महामारीको समयलाई मिडियाहरुले कसरी प्रयोग गर्ने गरेको रहेछन् भन्ने कुराको राम्रो अध्ययन गर्ने अवसर मिल्यो । कुरा गरौं अनलाइन मिडियाको, च्याउसरह उम्रेका अनलाइनहरु सबैले पत्रकारिता गर्ने गरेका रहेनछन् । समाचार ‘ब्रेक’ गर्ने बहानामा अस्वस्थ प्रतिस्पर्धाले कतै हाम्रो पत्रकारितामाथि संकट निम्त्याउने त होइन भन्ने कुराले निक्कै चिन्तित पनि बनाएको छ । कतै यो भीडले पत्रकारिताको मर्म र कर्मलाई गिज्याइरहेको त छैन ? समाचारको आधिकारिकता र पत्रकारिताको व्यवसायिकता खोलामा बगाउने र झोलामा समाचार लिएर हिँड्ने प्रवृत्ति त हाबी हुने छैन ? यस्तो संकटको समयमा कसरी समाचार दिने, कस्ता खालका समाचारले जनमानसमा हौसला मिल्छ, कसरी जनतामा रहेको क्रास कम गराउने भन्ने जानकारी कमै हामी सञ्चार माध्यमले प्रयोग गरेका रहेछौं ।

‘क्राइसिक कम्युनिकेशन’को अवधारणा निकै कम अनलाईनले आत्मसाथ गरेको मैले पाँए । जनतालाई सही, सत्य र सकारात्मक सूचना दिने भन्दा पनि आफ्नो अनलाइनलाई कसरी पपुलर बनाउने होडबाजीमा धेरै अनलाईन मिडियाहरुलाई मैले नियाल्ने मौका पाँए । समाचारको आधिकारिकता माथि नै प्रश्न खडा हुनेगरी समाचार पस्कने क्रमले जनता दिग्भ्रमित हुने देखिन्छ । आधिकारिक निकायबाट आधिकारिक सूचना आउनुभन्दा पहिले नै अनलाइनलाई समाचार ‘ब्रेक’ गर्ने हतारो । हतारमा गरेको काम लतार भने जस्तै काम हुने नै भयो । त्यसमाथि पनि पत्रकारभन्दा पनि कार्यकर्ता भएर समाचार संप्रेषण गर्नाले समाचारको मर्मनै कुरुप र कुँडिन पुगेको देखिन्छ । हामी यस्ता अनलाइन चलाइरहेका रहेछौं जसमा पार्टी विशेष, नेता विशेषका मात्रै नभएर कुनै ठूला उद्योगपतिका समाचारलाई बढी प्राथमिकता दिएका रहेछौं । व्यक्ति, संस्था र नेतै पिच्छे सञ्चार माध्यमलाई बनाउने भीडले न त मुलुकको अस्थित्व जगेर्ना गर्न सक्छ न त प्रेस निष्पक्षता नै ?

यो महामारीमा अर्को महामारीको रुपमा प्रयोग भएको फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जाल । सामाजिक सञ्जाल प्रयोग आफुले पनि गरियो र अन्य प्रयोगकर्ताहरुलाई बुझ्ने मौका पनि पाइयो । यसरी नियाल्दा फेसबुकको फोरमलाई सदुपयोग भन्दा पनि दुरुपयोग गरेको बढी देखिन्छ । कोरोना भाइरसको बारेमा व्यक्ति पिच्छे सामाजिक सञ्जालमा पोष्ट हुने, आफै डाक्टर, नर्स, प्रहरी, ल्याव टेक्निसियन सबै आफै जस्तो गरी फेसबुकमा सुझाव दिनेहरुको संख्या निक्कै रहेछ । । फेसबुकलाई प्रयोगकर्ताले पनि समाजमा राम्रै त्रास फैलाउने काम गरेको देखियो । स्रोत नखुलेका, आधिकारिकता, सत्यता केही पनि नभएका हावादारी समाचार धेरै भन्दा धेरै ‘शेयर’ र ‘लाइक’ हुने रहेछन् । त्यस्ता खालका भ्रामक समाचारहरुले समाजमा र कोही व्यक्ति विशेषको मानसिकतामा कस्तो असर पर्नसक्छ भन्ने हेक्का हामीमा हराउँदै गएको रहेछ । मानिसलाई ‘फेक न्यूज’ ले धेरै नै ‘इन्टरटेन’ गर्ने रहेछ भन्ने मलाई आभाष भयो । यसको अर्को पक्ष नियाल्दा, फेसबुक सूचनामूलक सन्देश प्रवाह गर्ने छिटो र छरितो माध्यम पनि रहेछ । कतिपय स्थानीय निकायहरुले आफ्ना आधिकारिक पेज मार्फत् आफ्ना सूचनालगायत गतिविधिहरु राख्न सजिलो माध्यमको रुपमा प्रयोग गरेको देखियो । सबैको हात–हातमा इन्टरनेट र मोबाइल भएपछि फेसबुक मार्फत् सूचना दिन सजिलो पनि हुने रहेछ ।


मैले पत्रकारिता गरेको झण्डै ३० वर्ष हुन लाग्यो तर समय धेरै परिवर्तन भइसकेको छ । त्यति बेलाको पत्रकारिता र उहिलेको पत्रकारिता निकै फरक छ । तथापि, हामीले सुरु गर्दा समाचारको आधिकारिकता सबैभन्दा महत्वपूर्ण हुन्थ्यो । तर अहिले ‘न्यूज ब्रेक’ गर्नु नै प्रमुख दायित्व जस्तो ठानेर न्यूज ब्रेकले निम्त्याएका घटनाहरु पनि छर्लङ्गै छन् । त्यस कारण पत्रकारिता क्षेत्रमा भइरहेको यो अस्वस्थ प्रतिस्पर्दाले निकै चिन्तित तुल्यायो यो लकडाउनको समयमा । निकै दिनको गहिराई पछि मेरो मन मष्तिष्कले मात्र यस्तो देखेको होईन होला भन्ने लागेर आफ्नै कौतुहलता मेट्न पनि यो टिप्पणी गर्ने जमर्को गरेको हुँ । वर्तमान अवस्था र विश्वमा आएको परिवर्तनको साथै सर्वसाधारण व्यक्तिको पहँुचमा सूचना पुग्नुपर्छ भन्ने मान्यता र प्रेस स्वतन्त्रताको पक्षपाती हामी जो कोही पनि हामी हाम्रो कलमलाई कसरी प्रयोग गरिरहेका छौं ?

सार्वभौम सत्ता नेपाली जनता र नेपालको संविधांंंंनले मान्यता दिएको चौथो अंगको रुपमा आफुलाई उभ्याइरहदा कुनै सञ्चार माध्यम दलको मुखपत्र बन्नु, सरकारको कमिकमजोरीलाई ढाकछोप गर्नु, आर्थिक प्रलोभनमा परेर वा विज्ञापनको लोभमा सत्य समाचार ढाकछोप गर्ने ट्रेण्ड बढेर गएको खण्डमा राष्ट्रका लागि गरिने पत्रकारिताको कुनै अर्थ रहँदैन । प्रेस स्वतन्त्रता, मानव अधिकार, कानुनी राज्यको वकालत गर्न सकिदैन । तथापि अहिलेसम्म हामीले खवरदारी गरिरहेकै छौं । सरकार र प्रतिपक्षीको भूमिका माथी खबरदारी गरेको कारण नै कतिपय निर्णयहरु सच्चिने गरेका छन् । अहिले विश्वनै संकटमा परेको बेला जिम्मेवार भएर आफ्नो अधिकार र कर्तव्यलाई पालना गर्ने हो भने नेपाली जनता र समाज नै सभ्य बन्न सक्छ । त्यसैले जनतालाई आस्वस्त पार्नका लागि सकारात्मक सन्देश प्रवाह गर्नु जरुरी छ । सकारात्मक सन्देशले मात्र शक्ति निर्माण हुन्छ र नेपाली नेपालीमा मातृत्व भातृत्व विकास हुँदै जानेछ र यो महामारी कोरोनालाई पनि जित्न सक्ने तागतको निर्माण हुन्छ ।

सम्बन्धित समाचार

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
  • २०७७ बैशाख ८, १०: ५८: २७

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज)...

नाइजेरियामा बन्दुकधारीहरुले मस्जिदमा हमलामा पाँचको हत्या, १८ जना अपहरित
नाइजेरियामा बन्दुकधारीहरुले मस्जिदमा हमलामा पाँचको हत्या, १८ जना अपहरित
  • २०७७ बैशाख ८, १०: ५८: २७

नाजेरियामा शुक्रबार यहाँको एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन् । यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको...

अमेरिकी विदेश मन्त्रीमा एन्टोनी ब्लिन्केनको सम्भावना
अमेरिकी विदेश मन्त्रीमा एन्टोनी ब्लिन्केनको सम्भावना
  • २०७७ बैशाख ८, १०: ५८: २७

वासिङ्टन–अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले अमेरिकी विदेश मन्त्रीमा आफ्ना सल्लाहकार सहयोगी एन्टोनी ब्लिन्केनलाई मनोनयन गर्ने सम्भावना रहेको छ । बाइडेनका नजिकका...

भर्खरै

TOP