May 17, 2021, Monday

बहुमतको कसरतमा ओली, चेपुवामा प्रचण्ड, दोधारमा नेपाल


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक कलह फुट र वार कि पारको अवस्थामा पुगेको छ ।
तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ साल जेठ दुई गते औपचारिक रुपमा एकता घोषणा भएको थियो । तर, यो फुट वा कलह पूर्वएमाले र पूर्वमाओवादीबीच नभएर पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अर्का अध्यक्ष र सचिवालय सदस्यलाई बाईपास गर्दै एकलौटी निर्णय गर्दै जाने कार्यशैलीका कारण उत्पन्न भएको हो । प्रधानमन्त्री ओलीले सत्ताको नेतृत्व शुरु गरेदेखि नै एकल निर्णय गर्दै जाने कार्यशैली नअपनाएका होइनन, तर पछिल्लो पटक गत बैशाख ८ गते उनले जब संवैधानिक परिषद् कानून र राजनीतिक दल सम्वन्धी कानुनमा संशोधन गर्ने अध्यादेश सुटुक्क मन्त्रिरिषदबाट पारित गरे, तब पार्टीका बहुमत नेताहरु प्रधानमन्त्री ओलीसँग रुष्ट बनेका हुन् ।


राजनीतिक दल सम्वन्धी कानून शंशोधन गरी कुनै पनि राजनीतिक पार्टी विभाजित हुन केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याउनु पर्ने प्रावधानलाई संशोधन गरी संसदीय दलमा ४० प्रतिशत पुर्याए पनि दल विभाजित गर्न पाउने र संवैधानिक परिषद्ले जुनसुकै निर्णय सहमति नभएमा बहुमतको अधारमा निर्णय गर्न सक्ने गरी संवैधानिक परिषद् सम्वन्धी कानुनलाईसंशोधन गर्न अध्यादेश ल्याएका थिए ।


मन्त्रीपरिषद्को आकश्मिक बैठक बोलाएर ओलीले निर्णय गर्नासाथ जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बैशाख ८ गते साँझ ७ बजे लैजानासाथ जारी भएपछि नेकपाका सचिवालयका सदस्यहरु ओलीसँग क्रुद्ध बनेका थिए । उनले सचिवालयको बैठक बोलाएर मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेका विषयमा छलफल चलाई रहँदा राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि सचिवालय सदस्यहरु अपमानित गरेको भन्दै ओलीसँग चिढिएका हुन् ।


अध्यादेश ल्याउनु परेको कारण पेश गर्दै ओलीले नेकपालाई विभाजन गर्न नभएर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व गरेको समाजवादी पार्टी नेपाललाई विभाजन गर्ने लक्ष्यका साथ ल्याएको बताएका थिए । तर, मुलुक कोरोना भाइरसको संक्रमणमा जुधिरहेको बेला राजनीतिक दलहरुको एकता र समर्थन अनि सहयोगको खाँचो भएको बेला दल विभाजन गर्ने दाउमा प्रधानमन्त्री नै लागेको खुलासा भएपछि सत्तारुढ दल नेकपा र अन्य दलका नेताहरुले चर्को विरोध र असहमति जनाएका थिए ।


अध्यादेश ल्याएर दल फुटाउने ध्याउन्नमा प्रधानमन्त्री ओली लागेको घटनाबाट असन्तुष्ट बनेका नेकपाका धेरै जसो नेताहरु प्रधानमन्त्रीकै संलग्नतामा समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेपछि ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउन पार्टी भित्रैबाट दबाब बढेको थियो । अपहरणमा आफू परेको भन्दै सांसद डा. यादवले महानगरिय प्रहरी परिसर काठमाडौंमा निवेदन दिँदा निवेदन नै प्रहरीले दर्ता गर्न नमानेपछि ओलीबिरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल लागेका हुन् ।
केपी ओलीको कार्यशैलीबाट अर्का अध्यक्ष दाहाल र प्रभावशाली नेता नेपाल वाक्क दिक्क हुँदै उनलाई जिम्मेवारीबाट पन्छाउनु पर्ने पक्षमा उभिएका हुन् । तर, ओलीलाई पन्छाएर प्रधानमन्त्री र पार्टी अध्यक्षको जिम्मेवारी कसले लिने भन्ने विषयमा बलियो एकमत देखिएको छैन ।


पार्टी एकतादेखि नै अर्का अध्यक्ष ओलीको एकपक्षिय निर्णयबाट आफूहरु कर्नर परेको अनुभव गरेका दाहाल ओलीलाई कुनै पनि हालतमा प्रधानमन्त्रीबाट त तत्काल हटाउन चाहन्छन् । तर, उनलाई पार्टी एकता गरेको दुई वर्ष बित्दा नवित्दै ४० प्रतिशत सांसद लिएर अलग पार्टी बनाउने पक्षमा छैनन् । उनी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर माधवकुमार नेपाललाई त्यो जिम्मेवारी दिने र आफू अध्यक्ष बन्ने रणनीतिमा छन् । तर, संकट र समस्या पर्दा स्पस्ट र बोल्ट निर्णय गर्न नसक्ने शैलीका माधवकुमार नेपालले पार्टी अध्यक्षको एकल जिम्मेवारी दाहाललाई दिँदा पूर्व एमालेका सबै केन्द्रीय सदस्यबाट साथ र समर्थन नपाईएला भन्ने त्रासमा छन् । हुन पनि पूर्व एमालेहरु पार्टी अध्यक्ष र सरकारको नेतृत्व ओलीलाई हटाए पनि पूर्व एमालेले नै लिन पाउनु पर्ने पक्षमा छन् ।


४० प्रतिशत सांसद लिएर अलग दल दर्ता गर्ने अंक गणित दाहालसँग नभए पनि पार्टी केन्द्रीय कार्यसमिति फुटाउने सख्या छ । तर, आफूले नेकपा विभाजन गरे पनि सत्तामा बस्न कांग्रेससँग सम्झौता गर्नु पर्ने अवस्था स्पस्ट छ । २०७४ साल मंसिरमा भएको संघीय संसदको निर्वाचनमा तत्कालिन नेकपा माओवादीका ३६ जना प्रत्यक्ष र १६ जना समानुपातिक गरी जम्मा ५२ जना मात्र सांसद छन् । उता पूर्वएमालेमा भने ८० जना प्रत्यक्ष र ४२ जना समानुपातिक गरी एक सय २२ सांसद छन् ।


नेकपा संसदीय दलमा ४० प्रतिशत पुर्याउन ७० जना सांसद आवश्यक पर्छ । त्यसका लागि अर्का प्रभावशाली नेता नेपालको सहयोग दाहाललाई जरुरत देखिन्छ । पार्टी फुटाएर प्रमुख प्रतिपक्ष कांग्रेस वा राजपा, समाजवादी (हाल जनता समाजवादी पार्टी नेपाल दर्ता) सँग गठबन्धन बनाएर प्रधानमन्त्री नै बन्ने ग्यारेण्टी नहुने र ओलीले सत्ताको दुरुपयोग गरी आफूहरुलाई अख्तियार वा सम्पति सुद्धिकरणमार्फत अप्ठ्यारो बनाउन सक्ने थाहा पाएका छन् ।
प्रधानमन्त्री ओलीले तत्कालिन सभामुख कृष्णबहादुर महरा देखी अध्यक्ष दाहाललाई समेत आफूलाई असयोग गरेमा माअओवादीका शीर्ष नेताहरुलाई तत्कालिन माओवादी शिविरको नाममा छुट्याएको बजेट दुरुपयोग गरेको र भ्रष्टाचार गरेको विषयमा अख्तियारमा रहेको मुद्धा व्युँताई दिने धम्की दिँदै आएका छन् ।
अपहरण गरेको आरोप लगाइएको तत्कालिन नेकपा एमालेको भ्रातृ संस्था युवा संघका अध्यक्ष एवम् सांसद महेश बस्नेतले क्यान्टोनमेन्टमा अर्बौं भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुुद्धा दर्ता गरेका थिए ।


माधव नेपालको सहकार्य र एकतामा पार्टीबाट ओलीलाई अलग्याउने एक मात्र उदेश्य लिएर अघि बढेका दाहालको योजना नेपाललाई राम्रोसँग थाहा छ । तर, नेपाल ओलीलाई नचिढ्याइ आफु प्रधानमन्त्री बन्न सकिन्छ कि भन्ने ध्यानमा छन् । किनकी आफु प्रधानमन्त्री भएपनि पार्टीमा आफूलाई कमजोर बनाउन भोलीका दिन दाहालले ओलीसँग पुनः गठजोड गर्लान भन्ने आशंका छ् । ओली निकटका नेताहरुको समेत सहयोग र समर्थन आफू पार्टी वा सरकारको नेतृत्व पाउने आशामा रहेका नेपालको कार्यशैलीका कारण ९ सदस्यीय सचिवालय बैठकले पार्टीको आन्तरिक विवाद समाधान गर्न नसकी भोली अर्थात शनिबार जेठ २० गते बैठक बोलाएको छ ।ओलीलाई पार्टीको शक्तिबाट अलग्याउँदा आफू कति बलियो हुन सकिन्छ भन्ने जोड घटाउमा नेपाल लागेका छन् । नेपाललाई यतिवेला ओलीभक्त नेकपाका महासचिव विष्णु पौडेल खुलेका छन् । त्यसैले पनि नेपाल पूर्वएमालेका सबैको साथ सहयोग र समर्थन जुटाउने ध्याउन्नमा रहेका छन् । प्रचण्डको अधिकार साँगुरो बनाउँदै एक व्यक्ति एक पदको कुरा नेपाललाई यतिवेला जोड तोडले उठाएका छन् ।


उता प्रधानमन्त्री ओलीको ध्यान भने आफू सत्तामा रहिरहन नेकपाका अनेक नेतालाई अनेकौं पासा फालेका छन् । उनले गृहमन्त्री बादललाई आफू प्रधानमन्त्री नभए तिम्रो गृहमन्त्री पद गुम्ने र अर्को सरकारमा सबै अवसर गुम्ने भनेर तर्साएका छन् भने बामदेव गौतमलाई प्रधानमन्त्रीले पासा फालेका छन् । सचिवालय बैठकले राष्ट्रिय सभाको सदस्य बनाउन गरेको निर्णयलाई समेत कार्यान्वयन नगर्ने ओलीले सांसद समेत हुन नसकेका गौतमलाई प्रधानमन्त्री बनाउने योजना कोरा कल्पना मात्र भएको धेरैले बुझेका छन् । त्यहीँमाथि प्रधानमन्त्री बन्न प्रतिनिधिसभाको सदस्य निर्वाचित हुनु पर्छ । प्रतिनिधिसभाको सदस्य बन्न काठमाडौं ७ सांसद तथा ओली नेतृत्वको सरकारका राज्यमन्त्री रामबीर मानन्धरले राजिनामा दिन तयार हुँदा समेत अबरोध गर्ने ओलीबाट उपनिर्वाचन पछि प्रधानमन्त्री बनाउने योजना कोरा उधारो आश्वासन हो भन्ने कुरा गौतमलाई थाहा छ । त्यसैले उनले पहिले पदबाट राजिनामा दिए पछि सचिवालयले निर्णय गर्ने जवाफ ओलीलाई दिएका छन् । तर ओलीको उधारो आश्वासनमा गौतम पग्लिन पनि सक्ने आशंका धेरैले गरेका छन् ।


राष्ट्रिय सभाको सदस्य गौतम कथंकदाचित भए पनि संविधानले प्रतिनिधिसभाको सदस्य मात्र प्रधानमन्त्री हुने कल्पना गरेको छ । यदी संविधान संशोधन गर्ने हो भने पनि नेकपा एक्लैसँग दुई तिहाई बहुमत छैन । यस्तो अवस्थामा कांग्रेस वा जनता समाजवादीको समर्थन अनिवार्य छ । तर यस्तो प्रस्ताव दुवै दलले स्वीकार्ने अवस्थाको कल्पना मात्र गर्न सकिन्छ ।


आफूविरुद्धको मोर्चाबन्दीलाई फुटाउने, असन्तुष्टलाई अवसर र पदको लोभ देखाउने र राज्य सत्ताको चरम दुरुपयोग गर्ने दाउमा ओली छन् । उनी यतिवेला किशान श्रेष्ठ जस्तै पैशाको चलखेल गर्ने, महेश बस्नेत जस्तै अराजक जमात सडकमा उतार्न र परिचालन गर्ने तथा सर्वेन्द्र खनाल जस्ता प्रहरी संगठनको नेतृत्व गरिसकेका भक्तहरुको सुझाव र योजनामा फुटाउ र राज गरको रणनीतिमा व्यस्त छन् ।
नेकपाका बहुसँख्यक स्थायी समिति सदस्यले स्थायी समिति बैठकको माग गरिसकेको अवस्थामा त्यसलाई कसरी टार्ने भन्ने योजनामा ओली लागेका छन् । ओलीले सचिवालयकै बैठक तन्काउने र लम्ब्याउने, संसदको बजेट अधिवेशन बोलाउने, प्रि बजेट छलफल गराउने, नीति तथा कार्यक्रम बनाउने र ल्याउने तथा कोरोना संक्रमणले निम्त्याएका समस्याका विषयमा छलफल गरेर स्थायी समितिको बैठक नडाक्ने रणनीतिमा लागेका छन् । ति सबै उपाय वा अस्त्र काम नलागे ओली स्वास्थ्य परिक्षणवको लागि सिंगापुर जाने वा कुनै अस्पतालमा भर्ना हुने देखि आराम गर्नु पर्ने कारण समेत देखाउने सम्भावना छ । स्वास्थ्य संवेदनशिलताको कारण देखाएमा सबैभन्दा कामयावी अस्त्र हुने उनको सचिवालयका सदस्य र नजिकका नेताहरुले सुझाव दिएका छन् ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ बैशाख १९, १९: ४०: २८

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ बैशाख १९, १९: ४०: २८

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ बैशाख १९, १९: ४०: २८

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP