May 18, 2021, Tuesday

अराजनीतिक उधारो सौदावाजीमा रुमलिएका प्रधानमन्त्री ओली

काठमाडौं ।
काम कुरो एकातिर कुम्लो बोकि ठिमीतिर भने झैं आज सिंगो संसारको ध्यान मानव अस्तित्वमाथि नै घातक आक्रमण गरिरहेको कोरोना भाईरसको संक्रमणलाई नियन्त्रण गर्ने तर्फ गइरहेको बेला नेपालमा भने व्यक्तिगत स्वार्थको लागि छिनाझम्टी शुरु भएको छ ।

प्रधानमन्त्री के. पी. शर्मा ओली
फोटो: https://www.opmcm.gov.np


सत्तारुढ नेकपाका शीर्ष नेताहरु दुई साताअघि सरकारले राजनीतिक दलसम्वन्धी अध्यादेशका विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिएका थिए । प्रधानमन्त्रीका हैसियतमा पार्टी अध्यक्षसमेत रहेका ओलीले चालेको कदम बेमौसमी वाजा र राजनीतिक अस्थिरता निम्त्याउने भन्दै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले सो कदम फिर्ता लिन गरेको मागलाई आमरुपमा स्वागत गरिएको थियो । दुवै प्रभावशाली नेताले प्रधानमन्त्रीको हैसियतमा ओलीले लिएको निर्णयप्रक्रियाप्रति असहमति राखेपछि प्रधानमन्त्री ओलीले आफ्नो कदम गलत भएको भन्दै दुई वटा जारी भएका अध्यादेश फिर्ता पनि गरे ।
प्रधानमन्त्री ओलीले चालेको कदम पाँच वटा दृष्टिकोणबाट गलत र मुलुकको लागि नै हानिकारक थियो ।

प्रथम त उनले ल्याएको राजानीतिक दल सम्वन्धी अध्यादेशले मुलुकमा भएका राजनीतिक दलको एकतालाई भन्दा फुट र विग्रहलाई प्रोत्साहन दिएको थियो । दोश्रो, संवैधानिक परिषद्को काम कर्तव्य, अधिकार कार्यविधि सम्वन्धि अध्यादेशले बहुदलिय संसदीय प्रजातान्त्रिक मुल्य र मान्यतालाई तिरस्कार गर्दै संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतलाई निस्तज, निष्क्रिय र तेजोबध गर्ने षडयन्त्र थियो ।
तेश्रो भनेको राष्ट्रप्रमुखको रुपमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको अभिभावकत्व र तठस्थ भूमिकालाई बिबादस्पद र कठपुतली बनाउने घटनाको नजिर स्थापना गरेको छ । चौथो, सत्ताको नेतृत्व गरिरहेको व्यक्तिले चालेका कदम र योजना असफल भएपछि राजनीतिक नैतिकता राख्ने हो भने राजिनामा दिनु पर्ने हो ।

प्रधानमन्त्री ओलीको कदम अराजनीतिक यस अर्थमा भन्न सकिन्छ कि आफू पार्टी र संसदमा अल्पमतमा पर्ने देखिएपछि आफ्नै दल वा अन्य दल फुटाएर सत्तामा बसिरहन गरिएका हर्कतलाई लोकतन्त्रको दुषित दृष्टान्तको रुपमा लिन सकिन्छ । प्रधानमन्त्री ओलीको भनाई र निर्देशन उदृत गर्दै उनी निकटस्थ सांसदहरु किशान श्रेष्ठ र महेश बस्नेतले निवर्तमान प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई प्रयोग गरेर तत्कालिन समाजवादी दलका सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौमा ल्याए ।

सांसद डा. यादवले आफूलाई जवर्जस्ती गरेर महोत्तरीबाट उठाएर ल्याएको भन्ने निवेदन प्रहरीले नलिनु एक सार्वभौम सांसदको हैसियतलाई नजरअन्दाज गर्दै उसको अधिकारलाई सिमित गरिएको छ । यो घटनाले भोलीका दिनमा सत्तारुढ दल निकटको व्यक्तिले कसैलाई आपराधिक उदेश्यले अपरहण गरे पनि प्रहरीले निवेदन लिन नसक्ने खराव नजिर स्थापित गरेको छ ।
ओलीको यो कदमले निम्त्याएको अर्को खराव नजिर भनेको लोकतान्त्रिक शासन प्रणालीका अंगहरुलाई पंगु र सत्ताको तावेदारी गर्ने सहयोगी संस्थाको रुपमा विकास गर्नु हो । प्रधानमन्त्री ओलीले राज्यको प्रमुख अंग न्यायपालिकाका प्रमुख र अख्तियारको प्रमखलाई राति राति एक्लै आफ्नो निवासमा बोलाएर भेट्ने प्रचलन शुरु गरेर लोकतान्त्रिक अंगलाई कार्यपालिका मातहत ल्याउने चेष्टा गरेका छन् । यसअघि नेपालका कुनै पनि प्रधानमन्त्रीले प्रधानन्यायाधिश र अख्तियार प्रमुखलाई अनौपचारिक भेटघाटको लागि आफ्नो निवासमा राति एक्लै भेटेको इतिहास छैन ।
प्रधानमन्त्रीका क्रियाकलापलाई पनि न्यायिक निरुपण गर्न सक्ने र अख्तियारीको दुरुपयोग भए नभएको विषयमा छानबिन गरी मुद्धा चलाउन सक्ने हैसियत राख्ने प्रधानन्यायाधिश र अख्तियार प्रमुखलाई प्रधानमन्त्री ओलीले आफ्नै कार्यालयका कर्मचारीको हैसियतमा व्यवहार गर्नुले लोकतन्त्रको संस्कारलाई बलियो नभएर कमजोर बनाउने र सरकार निरंकुस हुने वाटो देखाउँछ ।
मुलुक र मुलुकको लोकतन्त्रलाई गम्भिर असर गर्ने किसिमका क्रियाकलाप गर्ने एउटा राजनीतिक दलको नेता जसलाई नेकपाले प्रधानमन्त्री बनायो, उसको क्रियाकलापलाई नियन्त्रण गर्नु मात्र दलको कर्तब्य होइन । राजनीतिक दलको शक्ति भनेको सत्ता चलाउने मात्र होइन, जनता र नागरिक रिझाउने पनि हुनु पर्छ ।

मुलुक कोरोना भाइरसको संक्रमणबिरुद्ध लडिरहेको बेला सत्ताले चालेको अनावश्यक र अराजनीतिक गतिविधिले निकास पाउने भन्दा पनि सम्झौताबाट अघि बढेको देखिन्छ । आफूलाई पार्टी र सरकार प्रमुखबाट च्युत गर्न र गराउन आफ्नै दलका प्रभावशाली नेताबाट चालिएका कदमलाई निस्तेज र समन गर्न प्रधानमन्त्री ओलीले अघि सारेका व्यक्तिगत स्वार्थ र अवसरका पासोमा शीर्ष नेता परिसकेका छन् ।
ओलीले नेता माधवकुमार नेपाललाई तेश्रो अध्यक्ष बनाउने, कार्यकारी अध्यक्ष प्रचण्डलाई एकल अध्यक्ष बनाउने, उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभाको सांसद बनाएर प्रधानमन्त्री बनाउने जस्ता आकर्षक उधारो आश्वासनपछि नेकपामा देखिएको विवाद समाधान गर्ने लाईन अघि बढाएका छन् ।


यसअघि आफू पार्टीमा कमजोर भएको महसुस गरेका ओलीले मन्त्रिपरिषद परिवर्तन गर्ने, मुख्यमन्त्री पद दिने लगायतका आकर्षक प्रस्ताव अघि सारेका थिए । उनले कोरोना भाइरसको संक्रमणपछि पदबाट राजिनामा दिने र राष्ट्रिय सभाको सांसद बनाएर संविधान संशोधन गरी गौतमलाई प्रधानमन्त्री बनाउने जस्ता तिलस्मी र असम्भव हुने प्रस्ताव समेत अघि सारेका थिए ।

ओलीले आफनो प्रस्तावलाई अस्वीकार गरेमा न्यायलय र अख्तियार लगाएर प्रचण्डलाई क्यानटोनमेन्टको भ्रष्टाचार, नेपाल र विष्णु पौडेललाई बालुवाटार जग्गा प्रकरणमा फसाई दिने धम्की दिएपछि शीर्ष नेताहरु ओलीसँग सम्झौता गर्न वाध्य भएका हुन् । ४० प्रतिशत सांसद आफ्नो पक्षमा पार्ने प्रधानमन्त्री ओलीको रणनीति असफल भएपछि ओलीले दाहाल, नेपाल र गौतम फकाउने रणनीति अघि सारेका हुन् ।
ओलीको प्रस्तावमा उधारो सम्झौतामा ल्याप्चे लगाउन तयार भएका नेकपाका नेताहरुले पार्टी स्थायी समितिको बैठकमा असन्तुष्ट नेताको आक्रोसलाई सामना गर्न भने निकै कठिन हुने निश्चित छ । तत्कालका लागि आएको समस्यालाई टार्न सफल प्रधानमन्त्री ओलीको टालटुले शैलैले उनले आगामी आर्थिक वर्षको बजेट आफ्नो गुटगत स्वार्थअनुकूल ल्याउने बाटो भने खुलेको छ ।

सम्बन्धित समाचार

बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
  • २०७७ बैशाख २१, १८: ३८: ००

नयाँ विकल्पबुटबल- लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । चार जनामध्ये तीनजना रुपन्देहीका र एकजना अर्घाखांचीका...

भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
  • २०७७ बैशाख २१, १८: ३८: ००

नयाँ विकल्प, काठमाडाैं- भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात्...

कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
  • २०७७ बैशाख २१, १८: ३८: ००

नयाँ विकल्प, काठमाडाैं-सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणले मृत्यु भएको छ। विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै आज...

भर्खरै

TOP