April 19, 2021, Monday

दलित युवाको सामूहिक हत्या र जनार्दनको कठोर बचनको कुरुप चित्र

हुन त दलित शब्दले २१ औं शताव्दीको डिजिटल दुनियाँमा निकै निच र विभेदपूर्ण भावलाई प्रतिनिधित्व गर्छ । देशको संविधानले नेपालको त्यो कर्मशील र शिल्पी समुदायलाई यस्तै पहिचान दिएको छ । दुनियाँमा हुने सबै किसिमका मानवीय विभेदलाई अक्षम्य अपराध मानिन्छ ।
यस्तो विभेद सोंच र संस्कारमा मात्र होइन, रुकुममा अमानविय र बर्बर ढंगले हत्या गरिएको घटना आज देशको राजनीतिसँग जबर्जस्त जोडिएको छ । दलित शब्दले जति विभेदपूर्ण भावको प्रतिनिधित्व गर्छ, राजनीतिले त्यति नै उच्चस्तरको नीति, व्यवहार र संस्कारको भाव दर्साउँछ ।
हरेक नेपालीको खुसी अनि समृद्धिको लक्ष्य बोकेको झण्डै दुई तिहाई निकटको शक्तिशाली सरकारको नेतृत्व गर्ने दलको प्रभावशाली नेताको बोली र व्यवहार सुनियो र हेरियो भने त्यस्तै अभिषापपूर्ण नेपाली समाजको झल्को दिन्छ ।
विषय दलित र राजनीतिमा मात्र सिमित छैन । घटना दलित युवाहरु माथिको बर्बर आक्रमण, निर्मम हत्या अनि दोषी र पीडकलाई सत्तारुढ दलकै एक नेताको संरक्षण लक्षित र मनसायबाट सार्वभौम संसदमा कुर्लिएको र हुँक्कार देखाएको दृष्यलाई यहाँ प्रस्तुत गर्न खोजिएको हो ।
घटना आमनेपालीले धेर थोर सुनेकै हो । गैरदलित समुदायकी ठकुरीकी छोरी र दलित समुदाय भनिएका विश्वकर्माको छोराबीचको प्रेमको परिणाम विवाहमा परिणत हुन खोजेपछि राजनीतिक शक्तिको आडमा दलित युवा र उनका साथिलाई लखेटेर, यातना दिँदै जेठ १० गते भेरी नदिमा फालिएको सन्दर्भ निकै कहाली लाग्दो छ ।
रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर ८ निवासी शुस्मा मल्ल र जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं ४ का किशोर विश्वकर्माबीचको प्रेम सम्वन्ध विवाहमा परिणत गर्न खोज्दा कुटिएर केटा र उनका साथिहरु मारिनु परेको घटनाले देश भित्र मात्र होइन, विदेशमा समेत सनसनी मच्चाएको छ ।
लक डाउनको समयमा छिमेकी जिल्ला जाजरकोटबाट १८ जना युवासहित भेरी नदि तरेर रुकुम पश्चिमको चौरजहारी ८ सोतीसम्म आउँदा दुवै जिल्लाका प्रहरी सुरक्षाकर्मीले सूचना नपाउनु कमजोरी देखिन्छ । एउटा स्थानीय तहबाट अर्को स्थानीय तहसम्म एक्लै वा दोक्लै जान स्थानीयले ठुलै सकस भोग्नु परेको अवस्थामा अर्को जिल्लासम्म १८ जनाको लस्कर सुरक्षाकर्मीले के नदेखेकै हो त ?
जाजरकोट जिल्लाबाट रुकुम पश्चिम जिल्लाको त्यो पनि इलाका प्रहरी कार्यालय चौरजहारीको प्रहरीले थाहा नपाउनु वा थाहा पाएर चुप बस्नु शंकास्पद व्यवहार भन्न सहज सकिन्छ ।
युवतिको घर पुगेपछि उनकी आमाबाट तथानाम गालिगलौज सुनेर युवतिलाई नलिइ फर्किएका १८ युवालाई भेरी नदि नपुग्दै करिव दुई सयको समूहले घेरा हाली आक्रमण गर्नु नै अमानवियताको पराकाष्टा हो ।
त्यहीँमाथि चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल जस्तो जनप्रतिनिधिको नेतृत्वले घेरा हाली युवालाई आक्रमण गर्नु जघन्य अपराध सिवाय अरु मान्न सकिन्न ।
सत्तारुढ नेकपाबाट वडाध्यक्षमा निर्वाचित मल्लको संलग्नता देखिएपछि स्थानीय प्रहरीले उनी लगायतका १२ जनालाई तत्काल पक्राउ गरेको थियो । तर, उनलाई जोगाउने मनसायले रुकुम पश्चिमबाट प्रतिनिधिसभाका निर्वाचित सांसद जनार्दन शर्मा खुलेआम प्रस्तुत हुनुले गम्भिर षडयन्त्रको आभाष दिएको छ ।
शर्मा आफैमा सो घटनाका नायक वा खलनायक हुन भन्ने अवस्था छैन । तर, उनी यो घटनामा पीडकको संरक्षक बन्न खोज्नु वा पीडकलाई अभियोगबाट उन्मुक्ति दिलाउने भगिरत प्रयास गर्नु नेपाली समाज र राजनीतिको कुरुप चित्र हो ।
एक राजनीतिक पात्र शर्माको टिप्पणी वा आलोचना भन्दा पनि उनी यही समाजका एक औसत प्रतिनिधि पात्र हुन्, जसले सत्ता र पदमा पुगेपछि विगतमा शोषित पीडित र विभेदमा पारिएका समुदायको हक, अधिकार, समानता र न्यायको लागि लडिरहन्छु भनेको कसम विर्सिएर अपमान र पूर्वाग्रही संस्कारलाई समातिरहेका छन् ।
देशको राजनीतिको कुसंस्कार र सामाजिक कुरितीको भूमरीबाट शर्मा माथि उठ्न सकेको देखिएन । शर्माले प्रतिनिधिसभाका २ सय ७५ जना सांसदमध्येका एक सांसद मात्रको प्रतिनिधित्व गर्दैनन् । उनी गृहमन्त्री,शान्ति तथा पुनःनिर्माण मन्त्री र उर्जा मन्त्री भएर आर्थिक प्रलोभन वा विवादमा सार्वजनिक रुपमा नफसेका राजनीतिज्ञको प्रतिनिधि पात्र हुन् ।
शर्माले १० वर्षे शसस्त्र जनयुद्धमा लडाकु कमाण्डर भएर रुकुम, रोल्पा, जाजरकोटका गरिव, दुःखी, निमुखा, शोषित पीडित जनतामा जागरण र चेतनाको झिल्को झोसे पनि होलान ।
ज्यानको वाजी थापेर समाजमा भएका जातिय वा बर्गिय विभेद, अन्याय, अत्याचार, कुरिती र कुसंस्कारका बिरुद्ध शर्माले विगतमा गरेको क्रान्ति र त्यो योगदान जेठ १० गते जाजरकोटका दलित युवामाथि भएको नृशंह हत्यालाई ‘दुवै पक्षबीच झडपपछि नवराज विकसहितका युवाहरु भेरी नदीमा हाम फालेका होलान’ भन्ने वाणीले भेरी नदिमा रोदन, चिच्याहट र दर्दनाक आर्तनादसँगै जिउँदै हेल्याइएका युवासँगै बगेर गएको छ ।
मुलुकका झण्डै चालिस लाख दलित समुदायको मर्ममाथि सो घटनाले प्रहार गरेको त थियो नि तर तिनै शोषित, पीडित र अन्यायमा परेका जनताको पक्षमा आवाज उठाउँछु भन्दै आश्वासन दिएका उम्मेदवारलाई मत हालेका समुदाय यतिवेला पश्चाताप परेका छन् ।
संसदीय राजनीतिमा प्रवेशसँग शसस्त्र क्रान्तिमा समानता र न्यायका पक्षमा लडेका शर्माको कार्यशैली, जीवनशैली, सोँच र संस्कारमा परिवर्तन आएको प्रमाण उनले जेठ १३ गते प्रतिनिधि सभामा दिएको अभिव्यक्तिले पुष्टी गर्छ ।
जातको आधारमा दलित भनेर शोषित, उत्पीडित र अपहेलित भएका दूरदराजका करिव १६ प्रतिशत बढी दलित समुदायको मात्र होइन, मानवतावादी जुनसुकै मानिसले चौरजहारीको भेरी नदी किनारामा दलित युवा र उनको समुहलाई छेकेर कुटी कुटी नृशंस हत्या गर्ने कार्यलाई सामान्य झडप वा वादबिबाद भनेर पत्याउने ठाउँ छैन ।
जेठ १३ गते प्रतिनिधिसभाको बैठकमा शर्माको भाष्य शोषित जनताको पक्षमा पटक्कै थिएन । उनले चौरजहारीकी शुस्मा मल्ललाई विवाह गर्न भनी लिन आएका युवा लडकडाउनमा हुल वाँधेर आएपछि उनकी आमाले गाउँलेलाई हार गुहार गरेको जानकारी दिए ।
सांसद शर्माको भाषामा गाउँले र नवराज विश्वकर्मासँग आएका युवाबीच झडप भएपछि चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्वरबहादुर मल्लले नै प्रहरीलाई खवर गरेका हुन् । उनले प्रहरीलाई समेत सो घटना थाहा भएको दाबी गरेका छन् । आफू सो जिल्लाको जनप्रतिनिधि भएको भन्दै उनले झडपमा भाग्दै गएका युवाहरुले भेरीमा हामफालेको दाबी गरे ।
संसदमा सांसदले सभामुखलाई संवोधन गर्दै सरकारको जवाफ माग्ने गर्छन तर आफूलाई सांसदको भूमिकामा रहेको विर्सिएर शर्माले गृहमन्त्री झैं सांसदले उठाएको प्रश्नको जवाफ दिएका थिए ।
सांसद शर्माले जेठ १३ गते बोलेको भिडियो सुन्ने हो भने जो कोहीले पनि उनले वडाध्यक्ष मल्ललाई जोगाउन खोजेको प्रष्ट बुझ्दछ । वडाध्यक्ष मल्लले गाउँले र केटा पक्षबीच झडप हुँदा प्रहरीलाई खवर गरेका थिए भन्दै शर्माले संसदमा जनाएका थिए । त्यसो हो भने प्रहरीले सो घटनालाई किन नियन्त्रणमा लिन सकेन ?
सांसदको वाणीले अर्को गम्भिर प्रश्न उब्जाएको छ कि जनप्रतिनिधिलाई विश्वास गर्नै पर्ने दबाब दिएका छन् । मुलुकभर लक डाउन लागू भएको समयमा १८ जना युवालाई गौंडा र चारै तिरबाट बोटा छेकेर कुटी कुटी हत्या गर्दा प्रहरीले नियन्त्रण गर्न नसकेको हो ? वा प्रहरीले जानी जानी घटनालाई नियन्त्रण नगरेको हो ?
गृहमन्त्री रामबहादुर थापालाई थाहा नदिने स्थानीय प्रहरीले उनलाई घटना जेठ १० गते साँझ ६ बजे भएको र दुवै पक्षबीच झडप भएको, भाग्दै गर्दा भेरीमा हामफालेको घटना शर्मालाई कसरी थाहा भयो ? झडपमा जाजरकोटबाट आएका ४ जना मारिँदा र २ जना बेपत्ता हुने अवस्थामा चौरजहारीका एक जनालाई कहिँ कतै चोट पनि नलाग्ने गरी दुई पक्षबीच झडप हुन्छ ?चौरजहारीका गाउँलेहरु किन एक जना पनि घाइते भएनन ?
१८ जना युवामाथि आक्रमण गरी कुटेरै हत्या गर्नेसम्मको बल प्रयोग गर्न १२ जनाको समूहबाट मात्र सम्भव छैन । प्रहरीले ६० जना गाउँलेको समूहले करिव एक घण्टा टाढाको बाटो छेकेर आक्रमण गर्न जाँदै गरेको किन थाहा पाएन ?
पूर्वगृहमन्त्री शर्माको भनाईलाई विश्वास गर्ने हो भने प्रहरीले सो घटना थाहा पाएर पनि नियन्त्रण नगरेको देखिन्छ ? रुकुम पश्चिम जिल्लाका प्रहरी नायव उपरिक्षक ठग बहादुर केसी साँच्चै सकसमा परेका हुन सक्छन् । सत्तारुढ दलको सांसद भएको नाताले शर्माले पक्कै पनि आफ्नो विश्वास पात्रकै रुपमा जिल्ला प्रहरी प्रमुखमा लगेका होलान ।
यहाँ डीएसपी केसीको नियतमाथि भन्दा पनि राज्य संयन्त्रको नियतले घटना निम्त्याएको भन्दा फरक पर्दैन । संसदमा सभामुखलाई थर्काउने र गृहमन्त्रीलाई घटनाको विवरण सार्वजनिक गर्नुअघि सिकाउने उदेश्यले सांसदको जवाफ दिने शर्माले प्रहरी प्रमुख वा प्रमुख जिल्ला अधिकारीलाई कति दबाब दिएका होलान, सहजै अनुमान गर्न सकिन्छ ।
कर्णाली र मध्यपश्चिमको गरिवी, अन्याय, अत्याचार, राज्यको विभेद र समाजको जातिय विभेदको उत्पीडनमा परेका तिनै दलित, अभाव, रोग र भोकमा पिल्सएका सोझा मगर जाति वा अन्य समूदायको आक्रोसलाई विद्रोहको रुपमा संगठीत गर्ने कर्म विगतमा गरेका शर्मा सत्तामा गएपछि उनीहरुको पक्षमा नभएर विपक्षमा उभिएको पाइन्छ ।
शारीरिक चोट भन्दा भावनात्मक चोट कति कारुणीक र दर्दनाक हुन्छ भन्ने शायद उनले विर्सिएको हुनुपर्छ । त्यसैले पछिल्लो समय सत्तामा पुगेर सुविधाको भोग अनुभव गरेका शर्माले विगतको क्रान्तिका योगदानलाइ विर्सिएर सत्ताको भाषा्, शैली र व्यवहार देखाएको सहज अनुमान गर्न सकिन्छ ।
शर्माको भाष्य र भाव जनताको प्रतिनिधिभन्दा पनि स्थानीय शासक वा सामन्ती राज्यसत्ता र समाजमा हुने शोषण, अन्याय र अत्याचारको जानेर वा नजानेर पृष्ठपोषकको रुपमा देखिन्छ ।

गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । तर, यो समितिले के दबाबमुक्त भएर काम गर्न सक्ला र ? आज पनि चौरजहारी क्षेत्रमा खुलम खुल्ला किशोर विश्वकर्माले आक्रमण गर्न जाजरकोटबाट युवाहरु लिएर आएको जस्ता एकोहोरो आरोप लगाइएको छ ।

दुवै पक्षबीच झडप भएको भन्दै आमसंचारका माध्यम र सामाजिक सञ्जालमा भिडियो हाल्न थालिएको छ । यसबाट प्रष्ट हुन्छ कि अधिकारवादी वा दलित अधिकारकर्मीले राज्यलाई खबरदारी नगरेसम्म पीडितले न्याय पाउने सम्भावना छैन । राज्य वा राजनीतिक दलको स्वभाव र चरित्र शासककै जस्तो हुन्छ, जवसम्म दबाब समूहले खबरदारी गरिरहँदैनन ।
त्यसैले राज्य पक्षबाट गरिने अनुसन्धानमा भर पर्नुु भन्दा विश्वास मात्र गर्न सकिने अवस्था छ । जुन दिन विश्वस्नीय प्रतिवेदन आउँदैन तवसम्म शान्तिपूर्ण खवरदारीको जरुरी पर्छ ।

दलित समुदाय सहनशिल जाति भएकोले पनि उनीहरुको यो सहनशिलतालाई राज्यले कमजोरी ठानेमा त्यो अभिषाप नहोला भन्न सकिन्न । आज संघीय संसदमा रहेका सत्ता र विपक्षी दलका सबै दलित र अन्य समुदायको सांसदको आवाजले त्यही भनिरहेको छ । तर, राजनीतिक स्वार्थ, जिल्ला र निर्वाचन क्षेत्रीय स्वार्थलाई केन्द्रविन्दुमा राखेर पीडकलाई जोखाउने शैली अपनाएमा समस्या बुढी मरी भन्दा पनि काल पल्कियो भने झैं हुन्छ ।
एक शक्तिशाली राजनीतिज्ञको कृपा पात्र भएमा वा सम्वन्ध भएमा अपराधजन्य घटनालाई त जोडिन्छ भने अन्य घटनामा राजनीतिकरणको प्रभाव कति रहेछ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । अरुलाई खाने बाघले आफूलाई पनि खान सक्छ भनेरै होला संसदमा सत्ता र प्रतिपक्ष नभनी आएको अवाजले जाति उत्पीडन र विभेदबिरुद्ध दर्विलो एकता देखाएको छ ।

सम्बन्धित समाचार

सतर्कता र सजगताको निरन्तरता
सतर्कता र सजगताको निरन्तरता
  • २०७७ जेष्ठ १५, १३: ४७: ५२

१. नेपाल पत्रकार महासंघको २६ औँ निर्वाचन २०७७ साल चैत्र २५ गते बुधवार नेपालभरि एकैपटक मतदान भएर सम्पन्न भयो । यसपटकको...

यो सरकारले सञ्चार क्षेत्रको अधिकारलाई समेत कुण्ठित पार्ने प्रयास गरीरहेको छ
यो सरकारले सञ्चार क्षेत्रको अधिकारलाई समेत कुण्ठित पार्ने प्रयास गरीरहेको छ
  • २०७७ जेष्ठ १५, १३: ४७: ५२

मुलुकमा देखिएको पछिल्लो राजनैतिक घटनाक्रमले के देखाउन खोजी रहेको छ भन्ने कुरा घाम जस्तै छर्लङ्ग भएको छ तर पनि राजनैतिक...

व्यावसायिकता र प्रजातान्त्रिक मिसन बुझेको नेतृत्वको स्थापना आवश्यक
व्यावसायिकता र प्रजातान्त्रिक मिसन बुझेको नेतृत्वको स्थापना आवश्यक
  • २०७७ जेष्ठ १५, १३: ४७: ५२

१.नेपाल पत्रकार महासंघको २६ औँ निर्वाचन यही चैत्र २५ गते नेपालभर एकैपटक हुँदैछ । पत्रकारितामा लाग्ने र पत्रकारिताप्रति चासो राख्ने मानिसहरु...

भर्खरै

TOP