May 10, 2021, Monday

प्रकृति केन्द्रित विकास अनि व्यवहारको अपरिहार्यता

सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखलाई   विश्व वातावरण दिवसको रुपमा मनाउंदै आएको पनि ४७ वर्ष पुगिसकेछ | “सुरक्षित जीवनका लागि जैविक विविधता” भन्ने नाराका साथ यस वर्ष पनि विश्व वातावरण दिवस मनाइदै छ |

विगतका वर्षहरुलाई हेर्ने हो भने वातावरणबारे जनचेतना जगाउने केहि नमुनामुलक कार्यहरु गर्ने र स्वस्थ वातावरणको महत्वकाबारेमा विचार बिमर्श गर्ने दिन हो यो | सरकारी, गैरसरकारी एवं अन्य संघ संस्थाहरु र आम जनसमुदाएको सहभागितामा सदाझैं त्यस्ता कार्यहरु गर्न यसपाली समयले साथदिएको छैन, कारण हो कोरोना भाइरसको महामारी (कोभिड १९) र त्यसले निम्त्याएको बन्दाबन्दी  |  जसका कारण परम्परागत सोच र तरिका भन्दा केहि फरक ढंगले यो दिवस  मनाउन परेको छ | तर यो परिस्थितीले प्राकृतिक वातावरण र मानव स्वास्थ एवं जीवन बिच रहेको सह अस्तित्वलाई झन् टड्कारो रुपमा उजागर गरिदिएको छ र हामीलाई फरक ढंगले सोच्न बाध्य पारेको छ |

कोभिड १९ महाव्याधिको वास्तविक कारण, चाहे त्यो चमेरा प्रजाति होस् वा सालक, बन्यजन्तुको अबैध व्यापार र उपभोग रहेको तथ्य उजागर भैसकेको छ | तथ्यहरुलाई केलाएर हेर्ने हो भने मानिसको प्रकृति माथिको दोहनले  – बनजन्य प्रजातिको अत्याधिक उपभोग, वनबिनास, कृषिको अनियनत्रित विस्तार र बढ्दो भौतिक निर्माणका कामहरु – पारिस्थिकिय प्रणालीमा नकारात्मक प्रभाव परेको छ, मानव र बन्यजन्तु बिचको सामिप्यलाई बदलिदिएको छ एवं बन्यजन्तुबाट मानवमा सर्ने रोगहरुको प्रकोप पनि बढदो छ | भनिन्छ जनावरबाट सुरु भएर मानिसमा सर्ने रोगहरु मध्ये ७०% रोगहरु बन्यजन्तुबाट पैदा हुन्छन्  भने बाँकी ३०% घरपालुवा जनावरबाट हुन्छन् | त्यसैगरी बढ्दो जनसंख्यासंगै प्रकृति माथि परेको बढ्दो मानवीय पदचापले मानव र बन्यजन्तु बीच जम्काभेट हुने सम्भावनालाई पनि बढाएको छ, जसले गर्दा एच आइ भी एड्स तथा ईबोला भाइरस जस्ता रोगहरु बिगतमा पनि उत्तपन्न भएका छन् | अझ यसो पनि भनिन्छ कि भू उपयोगमा आएको परिवर्तन र त्यससंग सम्वन्दित क्रियाकलापहरु लगभग ५०% जति जनावरबाट सुरु भएर मानिसमा सर्ने रोगहरुका वास्तविक कारण हुन् | अर्थतन्त्रको प्राकृतिक श्रोतमाथिको निर्भरताका बारेमा यो पनि भानिन्छ कि विश्वको कुल ग्राहस्थ उत्पादनको आधाजसो भाग (५०%) उच्च अथवा मध्यम रुपमा प्रकृति माथि निर्भर छ | यी प्रसंगहरु आजको दिनसंग यस अर्थमा सान्दर्भिक छन् कि हामीले प्रकृति, पर्यावारण, र मानवको स्वास्थलाई परस्परमा आश्रित स्वास्थको हिसाबले बुझेर सोहि अनुसारको व्यवहार गरेनौ भने केहि गरि कोरोना भाइरसबाट मुक्ति पाएपनि यस्ता महाव्याधिले मानवजातिलाई  छिट्टैनै कुनै अर्को रुपमा आक्रान्त बनाउने सम्भावना रहिरहन्छ |

एकातिर यसरी हामी प्रकृति माथि आर्थिक एवं स्वस्थका तवरले निर्भर छौ भने अर्को तिर यो निर्भरतालाई दिर्घरुपमा पारस्परिक सन्तुलनमा नराखी प्राकृतिक श्रोत माथिको दोहन तिब्रगतिमा बढ्दो छ | यसरी बढ्दो प्राकृतिक श्रोत दोहनले क्षणिक रुपमा आर्थिक फाईदा प्राप्त भएपनि दिर्घरुपमा मानवीय स्वास्थ,अर्थतन्त्र एवं प्राकृतिक पुँजीमा नकारात्मक असर परिरहेका छन्, जसका कारण जलवायु परिवर्तन, वायु तथा जल प्रदुषण, जमीनको उर्वराशक्तिमा ह्रास  र जैविक विविधतामा ह्रास  हाम्रा साझा चुनौतीका रुपमा रहेका छन् |

कोभिड १९ को महाब्याधिका बीच विश्व वातावरण दिवस मनाइरहंदा आजको दिनले हामीलाई प्रकृतिलाई फरक ढंगले हेर्न र बुझ्न, विगतका कार्यहरुको समीक्षा गर्न र भावी रणनीति बनाई दिर्घकालिन सोचका साथ व्यवहारमा उतार्न एउटा अवसर पनि दिएको छ | यस परिस्थितिको सदुपयोग गरि हाम्रा प्रकृति एवं वातावरणसंग सम्वन्धित नीति, नियम, कार्यक्रम र खासमा तिनीहरुको कार्यन्वयन पक्षको यथार्थपरक समीक्षा गरि नतिजा उन्मुख सोच र कार्यन्वयन गर्नुनै खासमा वातावरण दिवस मनाउनुको व्यवहारिक अर्थ रहन्छ |

कोभिड १९ महाब्याधि पछिका पुनारुथ्यानका प्रयासहरुमा प्रकृतिलाई केन्द्रभागमा राखेर काम गर्नु जरुरी छ | जसले गर्दा प्राकृतिक सम्पदालाई देशको आर्थिक सम्पतिको अभिन्न पुँजीको रुपमा मानव पुँजी (स्वास्थ, शिक्षा, सिप, ज्ञान) अनि भौतिक पुँजी (मानव निर्मित भौतिक/यान्त्रिक संरचनाहरु) कै हाराहारीमा राखेर प्राकृतिक पुँजीको रुपमा ब्यवहारत उतार्न पर्ने भएको छ | त्यस्तै भौतिक पुँजीको विकास गर्ने क्रममा प्राकृतिक पुँजीको प्रयोग प्राकृतिक सिमा भित्र रहेर, परिस्थिकिय प्रणाली नखलबलिने गरि गर्नु आजको टड्कारो आवश्यकता हो | वातावरण मैत्री विकासको अवधारणालाई व्यवहारमा उतार्नुको अर्को विकल्प छैन | अन्यथा भविषयमा विगत सम्झदै पछुताउनुको बिकल्प पनि छैन |

नेपाल स्वयम् प्रकृति र संस्कृतिमा धनि देश हो, हामीले आफ्नो प्राकृतिक पुँजीको महत्व बुझेर सोहि अनुरुपको विकासको अबधारणाअवलम्वन गर्न ढिला भैसक्यो | जसरी हिजो प्राकृतिक श्रोतको दोहनबाट विकास भएका मुलुकहरुमा प्रकृति र स्वच्छ वातावरण प्रतिको अभाव आज खट्किएको छ र सोको प्राप्ति अति महँगो भएको पनि छ | हामी त्यस्तो धरापमा पर्नुबाट बेलैमा बच्नु छ, जसका लागि ब्यक्तिगत रुपमा आफ्ना व्यवहार, आनीवानी पनि सक्दो वातावारण मैत्री बनाउन अति जरुरी भैसकेको छ | उदाहरणका रुपमा सकेसम्म प्लास्टिकको प्रयोग नगर्ने बानी, वातावरण विनास गरि उत्पादित आयातित वस्तुको प्रयोगमा न्यूनता (सके प्रतिबन्द नै), स्थानीय एवं परम्परागत शैलीमा उत्पादित वस्तुको अधिकतम प्रयोगलाई लिन सकिन्छ |

विभिन्न देशमा मानवको जस्तै प्रकृतिको पनि वाच्ने अधिकार सुरक्षित गरिएका उदाहरणहरु बढ्ने क्रममा छन् | बिगत केहि वर्षयता कोलोम्बियामा त्यहाका खानीबाट प्रदुषित भएका नदीहरु (अत्रतो, काउका आदि), तिनका जलाधार क्षेत्र र तिनमा मिसिने साना खोलानालाहरुलाई संबैधानिक रुपमा व्यक्तिगत स्थान दिएर उनीहरुको संरक्षण र सम्भार गर्ने जिम्मा राष्ट्रको हो भनि गरिएको फैसलाहरुलाई लिन सकिन्छ | अर्कातिर कसरी प्राकृतिक पुँजीलाई मापन गर्ने र राष्ट्रको मूल आर्थिक प्रणालीमा समेट्ने भनेर पनि विभिन्न प्रयासहरु भैरहेका छन् (जस्तो कि UN को Systems of Environmental-Economic Accounting एउटा त्यस्तो प्रणाली हो) | त्यसैले कुनैदिन प्राकृतिक पुंजी राष्ट्रको आर्थिक प्रणालीमा पूर्ण रुपमा समेटिने दिन पनि त्यति टाढा छैन |यिनै कुराहरुलाई ध्यानमा राख्दै हालैका दिनमा बनेको/परिमार्जन भएको वातावरण संरक्षण ऐन २०७६ (साथै वन ऐन २०७६ पनि) का प्राबधानहरुलाई आवश्यक सुधार सहित व्यवहारमा उतार्न अव ढिलो गर्न हुँदै हुंदैन | साथै दिगो विकास २०३० का प्रकृति एवं वातावरण संग सम्बन्धित मुख्य उद्देश्यहरु (खासमा मुख्य उद्देश्य ३, ६, १३, १४, १५ ) र प्रकृति एवं वातावरण संग सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिबद्ध्यताहरु (जलवायु परिवर्तन, जमिनको क्षयीकरण, जैविक विविधता आदि) अनुरुप कामगर्न सकिएमा वातावरण मैत्री विकास र प्रकृति एवं मानव स्वास्थको रक्षामा दिर्घकालिन टेवा पुग्नेछ | त्यस कार्यमा आजको दिनले अर्थात् जुन ५ ले सम्बन्धित सबैलाई दृढसंकल्पित बनाउन सकोस, तब मात्रै साँचो अर्थमा “सुरक्षित जीवनका लागि जैविक विविधता” भन्ने नाराले सार्थकता पाउनेछ |

सम्बन्धित समाचार

नेपाल-खनाल समुह बैठकः   ओलीलाई  विश्वासकाे मत नदिने निर्णय
नेपाल-खनाल समुह बैठकः ओलीलाई विश्वासकाे मत नदिने निर्णय
  • २०७७ जेष्ठ २३, १७: २१: ५१

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने बैठकमा नेकपा एमालेकाे माधव कुमार नेपाल- झलनाथ खनाल समुहले बहिस्कार...

एसईई र कक्षा १२ को परीक्षा स्थगित
एसईई र कक्षा १२ को परीक्षा स्थगित
  • २०७७ जेष्ठ २३, १७: २१: ५१

नयाँ विकल्प, काठमाडाैं-यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल...

नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
  • २०७७ जेष्ठ २३, १७: २१: ५१

नयाँ विकल्प, काठमाडाैैं- नेकपा(एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । संघीय संसद सचिवालय सिंहदरबारमा सुरु भएको...

भर्खरै

TOP