May 10, 2021, Monday

मुलुकमा अस्थिरताको कालो बादल मडारिन थालेको हो त ?

हरिविनोद अधिकारी

१.लकडाउन अहिले केही खुकुलो भएको छ , केही नयाँ तरिका प्रयोगमा सुझाइएको छ । बन्दाबन्दी अर्थात् लकडाउन जेठ मसान्तसम्म (३२ गतेसम्म)का लागि विस्तार गरिएको थियो नेपालमा र लकडाउनको घोषणालाई सरकारले स्थगित पनि गरेको छैन,फिर्ता पनि लिएको छैन ।

महामारी झन झन चर्किँदै गएको छ । यी हरफ लेख्दासम्ममा करिब ९ हजारको लगभगमा कोरोना संक्रमितहरु देखिएका छन्  । २२ जनाको मृत्यु कोरोनाको कारणले भएको चिकित्सकीय प्रमाण दिइएको छ । तर प्रधानमन्त्री केपी शर्मा ओली भने भन्नुहुन्छ—खासमा २—३ जनामात्र कोरोनाको संक्रमणबाट मरेका हुन् ।

सरकारको एउटा अंग भन्छ एउटा कुरा, अनि सरकारकै टाउको मानिने प्रधानमन्त्री संसदमा सगर्व घोषणा गर्नुहुन्छ, कोरोना ख्याल ख्याल हो, नेपालीहरुके रोग प्रतिरोधी क्षमता कडा छ, बेसार खानुपर्छ आदि आदि । अनि कोरोनाले झन झन संक्रमितहरुको संख्या बढिरहेकै छ ।

२. संक्रमितहरुको संख्या नबढोस् भन्दाभन्दै बढिरहेको छ र यसको कहिले समाधान होला भन्ने भन्न सक्ने अवस्था कसैको पनि छैन ।

३.लकडाउनको पालना गर्दागर्दै पनि नेपालमा करिब ९हजार जति कोभिड —१९बाट संक्रमित भएका छन् र अकस्मात निधन हुनेहरुको स्वाब संकलन गर्दा पोजिटिभ भएकाहरुलाई कोभिड—१९ संक्रमित देखिएपछि जम्मा अहिलेसम्म २२ जनाको मृत्यु भएको गणना गरिएको छ । के मान्ने लकडाउनका कारणले कम संक्रमित र कम निधन मान्ने कि लकडाउन हुँदाहुँदै पनि कसरी यो संक्रमण र निधनको कारण बन्यो भनेर चिन्तित हुने ?

४.कोरेन्टाइनको अवस्था नाजुक छ , परीक्षणको अवस्था विस्तारित हुन सकेको छैन र संक्रमितहरुको हेरचाह गर्ने क्षमतामा एउटै मानक देखिँदैन । क्षमता विस्तार र सञ्चय हुन नसक्नुमा कसको दोष हो ? सरकार पनि छ, उच्चस्तरीय समिति पनि थियो ( हालै विघटन गरिएको भए पनि), आकस्मिक अनुगमन गर्ने र ओखतीको व्यवस्था गर्ने मन्त्रालय पनि छ, विभाग पनि छ तर संक्रमितहरु अवहेलित भएका समाचारहरु आउँदैछन्, स्वयं पत्रकारहरु नै संक्रमित छन् र उनीहरुका समाचारले त्यस्तै देखाउँछन् । स्वास्थ्यकर्मीहरुको आफ्नै गुनासो छ र सुरक्षाकर्मीहरु धमाधम संक्रमित हुँदैछन् र पनि खटाएका ठाउँमा गएकै छन् सबै ।

५.सरकारी सुविधा नभए पनि निजी पत्रकारिताका साथीहरु समाचारद्वारा सुसूचित गर्नका लागि खाई न पाई छालाको टोपी लाई भनेझैँ खटेकै छन्, राहतका वारेमा भएका असमानताको समाचार दिएकै छन्, बाहिरबाट नेपाल आउने नेपालीहरुका वारेमा सुसूचित गरेकै छन् अनि सरकार ती कुराहरुमा नजरअन्दाज गर्दै अतिरञ्जित गरे भनेर धमाधम अनलाइनहरु ब्लक गर्दैछ र समाचारका लागि नयाँ नयाँ मानक तयार गर्दैछ यही लकडाउनमै ।

६.सरकारको गतिचाहिँ आफ्नै पद र कुर्सी जोगाउन लागेको देखिन्छ । यदि राजनीतिक विश्लेषणको अहिलेसम्मको मानक हेर्ने हो भने संविधान संशोधन लगत्तै सरकारमाथि ठूलो बज्रपात सुरु हुन्छ जस्तो कि संविधान घोषणा गर्ने बित्तिकै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालामाथि देशी विदेशी खनिएर पदच्यूत गरेका थिए संविधानको बाटोबाटै ।

अहिले पनि चाहे नक्शाका वारेमा कूटनीतिक वार्तामा असफल भएका कारणले होस् या मिलेनियम च्यालेन्ज कर्पोरेसनको कार्यान्वयनका वारेमा होस्, या भारत र चीनका बीचमा झन्डै युद्धको अवस्थामा चिनियाँ कम्युनिस्ट पार्टीसंगको सुसम्बन्ध देखाउने हतारका कारणले होस् । सरकार हट्दैछ भन्ने आभास पाइन्छ । सायद यो सरकारको घैँटोमा पानी भरिएर होला । एकातिर आधा आधा समयको पालो पनि बेला भएको छ, अर्कोतिर सरकारमा बस्नेहरुको अहंकारले मुलुक गत्यावरोधमा अड्किएको छ ।

७. अनि अरु त अरु, यो महामारीमा पनि भ्रष्टाचारको खबर बाक्लिँदो छ । त्यसमा कुनै विवादमा आउनै नहुने संस्था नेपाली सैनिकसमेत विवादमा आएको छ । सत्यतथ्यका आधारमा विश्लेषण गर्ने हो भने औषधि नै प्रयोग नगरिने कोरोना भाइरसका लागि करोडौँको ओखती भनेर कसरी खर्च भएको हो ? एकातिर नेपालका उपचाररत संक्रमितहरुमा लक्षण नै देखिएन भनिन्छ, अनि विना लक्षण कसरी ओखती कुन सिद्धान्तमा दिइन्छ होला र ओखती प्रयोगमा करोडौँ वा अर्बौँ खर्च हुन्छ ? अहिले उठेको अहम प्रश्न यही हो र युवाहरुले सडकमा खोजेको खर्च विवरण पनि यही हो,संसदमा सांसदहरुले गरेको चर्चा पनि यही हो र नागरिक समाजले उठाएको औँलो पनि यसैमा हो ।

८.एकप्रकारले लकडाउन जारी छ र घरैमा बसेर आफूलाई पुनरावलोकन गर्ने काम भइरहेको छ । सायद यति लामो लकडाउन अब फेरि जीवनमा भोग्नु नपर्ला । लकडाउन पनि अचम्भको छ । सरकारवादीहरुका लागि लकडाउन रमाइलो मनाउने बेला ठहरिएको छ । लाखौँ मानिसहरुको बिचल्लीसहितको गतिशीलता पनि यही बेलामा चलेकै छ । गाडी दुर्घटनामा मानिसहरु मरेकै छन् एकातिर भने गाडीहरुलाई चलाएबापत कार्बाही पनि भएकै देखिन्छ ।

गाउँका गाउँ मानिसहरु झगडामा देखिन्छन् र गाउँका सबै मानिसहरु ओइरिएर रुकुममा नवराज विक सहित अरु ५ जनाको हत्या गरिन्छ जातको उँचनीचका आधारमा प्रेमविवाह गर्न लागेको कारणले । सत्यतथ्य विस्तारै आउला तर कसरी लकडाउन पालना भएको छ भन्ने यो पनि एउटा जीवन्त उदाहरण बनेको छ नेपाली सामाजिक अभियानको एउटा कालखण्डमा । लकडाउनमा कोरेन्टाइनमा बलात्कार पनि भएकै छ राम्रो बासस्थानको अभावले । सुरक्षाको अभावले ।

९.लकडाउन अझै कति लम्बिने हो थाहा छैन । लकडाउन एउटा सरुवा रोगलाई नसार्ने उपायमात्रै हो भन्दा पनि कतै नभेटिएको ओखती जस्तै नगर्ने र यसलाई सजगताका साथ पालना गर्ने काम पो गर्ने हो कि ? फेरि लकडाउन छोडौँ युरोपका स्पेन, बेलायत, इटाली, अमेरिका, ब्राजिल, भारत, रुस जस्तै पो हुने हो कि भन्ने पनि छ ।

ती विकसित देशहरुले त यसमा पार पाउन सकेनन् भने हाम्रो त के हालत होला हजारौँमा संक्रमण भएपछि ? अझ भन्ने हो भने लकडाउन लाउने बेला त अहिले पो भएको छ ।

कल्पना गरौँ , हाम्रो लकडाउनको समय सकिँदै संसारमा कोभिड—१९को ओखती अनुसन्धान हुनेछ र संसारभर सहजतरिकाले सस्तोमा उपलब्ध हुनेछ । नेपालमा अब कुनै हानि हुनेछैन । श्री पशुपति नाथले हामी सबैको कल्याण गरुन् । कोरोनाको महामारी नेपालबाट छिटै समाप्त होस् ।

१०. र अन्त्यमा, यो महामारीभित्रै मुलुकले पनि नयाँ नयाँ समस्याहरुसंगै जुध्ने अवस्था आएको जस्तो छ किनभने हामीले आफ्नो परराष्ट्र नीतिलाई अलि बढी नै उत्तरतिर ढल्काउन थाल्यौँ भन्ने कूटनीतिज्ञहरुको आरोप छ । मुलुक सखल्ल राख्नका लागि मुलुकको चिन्ता मुखले भनेर देखाउने होइन कि बुद्धिमत्तापूर्ण कामले अघि बढ्नुमा जो छ ।

सम्बन्धित समाचार

नेपाल-खनाल समुह बैठकः   ओलीलाई  विश्वासकाे मत नदिने निर्णय
नेपाल-खनाल समुह बैठकः ओलीलाई विश्वासकाे मत नदिने निर्णय
  • २०७७ असार ८, ११: ४८: ४३

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने बैठकमा नेकपा एमालेकाे माधव कुमार नेपाल- झलनाथ खनाल समुहले बहिस्कार...

नेपाल-खनाल समुहलाइ ओलीले ‘रेस्पोन्स’, नै गरेनन् , सामुहिक राजीनामाका लागि बैठक बस्दैं
नेपाल-खनाल समुहलाइ ओलीले ‘रेस्पोन्स’, नै गरेनन् , सामुहिक राजीनामाका लागि बैठक बस्दैं
  • २०७७ असार ८, ११: ४८: ४३

नयाँ विकल्प, काठमाडाैं- नेकपा एमालेभित्रको माधवकुमार नेपाल पक्ष अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले राखेका मागमा अहिलेसम्म कुनै प्रतिक्रिया...

नेपाल समूहको निर्णयः ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम, तत्काल राजिनामा नदिने
नेपाल समूहको निर्णयः ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम, तत्काल राजिनामा नदिने
  • २०७७ असार ८, ११: ४८: ४३

नयाँ बिकल्प, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिनु अघि नै आफ्नो माग पुरा गर्न...

भर्खरै

TOP