May 19, 2021, Wednesday

समय डायरी

सञ्चित इतिहास अपूर्ण छन् । साध्य छैन लेखेर । युगौँयुगदेखिको विकासक्रम पृथ्वी, जीव र मानव उत्पत्तिको आदम र हब्बा, मनु र सतरूपादेखि ओढारको घरमा बस्दाको मानिसको दिनचर्य अनि चन्द्र धरातलमा अवतरण गरेको मान्छेको समुन्नति ।

शिक्षा, संस्कृति र सभ्याताले काँचुली फेरको विश्वको अनुहार आजभन्दा फरक देखिन्छ भोलि । अतीतमा गुमे हाम्रा कयौँ महिमाशाली ग्रन्थहरू पुस्तकालयबाट । बुद्धका मूर्ति हराए । पूर्खाले आर्जेको धर्तीको भू–भाग हरायो । शेक्सपियर, बायरन, इलियट र चसरका कविताको शुद्ध अर्थ भेट्न सक्दैनौ आज अनि न्यूटनलाई पागल भन्नेको ठूलो जमात पनि ।

आज २१ औँ शताब्दीमा गतिमान छ समय । आदि र अन्त्य छैन । छालजस्तै छ समुद्रको फर्कंदैन नत थकान नै । धनको धन हो, मूल्यवान छ प्राप्त गर्न सकिन्न मूल्य तिरेर बितेपछि । पारख गर्न नसक्नेका लागि काँचजस्तै हुन्छ हिरा पनि । परिचित हुन नसक्दा समयसँग यथास्थितिमै रहिन्छ । बटन नथिची उभिएझैँ लिफ्टमा ।

समय सबैको हातमा छ चराचर बराबर । दिनको चौबीस घण्टा । समयका दृष्टिमा विपन्न छैन कोही र सम्पन्न पनि । समभावले न्यानो किरण छर्छ रवि । उस्तै रितमा झरी पनि । यत्रतत्र सर्वत्र बहन्छ पवन । समय पर्खंदैन कसैलाई नत क्षमाशील नै ।

समयको साथमा सुहाउनु जरुर हुन्छ । कार्यको मूल्यांकन समय स्वयम गर्छ । शून्यताबाटै पूर्णताको यात्रा शुरु हुन्छ । समयमै गरेका ससाना कार्यहरु आधारभूत हुन्छन् महान कार्यका लागि । सरल र जटिल पानाले परिपूर्ण अनगिन्ती अध्याय हो समय र मानव अनुभूतिको बृहत् शब्दकोष पनि । जो चलिरहन्छ सदा अग्रगामी पथमा । हामी भन्छौँ-मसँग समय छैन । समय कसैसँग पनि छैन । बरु सदा समयसँग हामी छौँ ।

बाँधेको छ प्राणी जगत्लाई बलियो फलामे सिक्रीमा । समय आजको अनमोलता बोध गराउँछ । मानव भोलिको चिन्ता गर्छ । भोलि कुन रुपमा आउँछ ? आजकै रुपमा आउँछ । भेट्न सक्दैनौँ हामी भोलिलाई उत्पत्तिदेखि प्रलयसम्म । यसो भन्छन् कविवर माधव घिमिरे कवितामा


सँधै सँधै आज र भोलि पर्सि
हिँडिरहन्छ्यौ कहिल्यै नपर्खी
मेटिन्न माटो मुटु हुन्न बन्द
टुंगिन बाटो क्रम यही अनन्त ।

समय सँधै रहीरहन्छ । समय कहाँ सिद्धिन्छ र ? हामी भन्छौँ— समय सिद्धिन्छ, समय दौडन्छ यताबाट उता । समय दौडिएर कहीँ जाँदैन । कहाँ जानु छ र समयलाई ? मानिसले पो त दौडनु पर्छ समयको घेराभित्र रहेर ।
यन्त्रबिनानै समय परिवर्तनको जानकारी दिने एकाई दिनरात हो ।

श्रीमद्भगवत महापुराणको तेस्रो स्कन्धको एघार अध्यायमा समय मापनको चर्चा गरिएको छ । सूर्यलाई नै समयको अधिष्ठाता मानिएको छ । समयलाई परिभाषित गर्न पदार्थको सहारा लिइएको छ । जसले समयलाई वस्तु सापेक्ष गरी हेर्ने दार्शनिक आधार दिएको छ ।
सुनौलो क्रान्ति हो समय । आज जस्तो लाग्दैन भोलि ।

नत हिजोजस्तै हुन्छ आज । सजिन्छ बेग्लै सिल्पले हरदिन । अद्भूत छ नियम । सुनिश्चित समय छ घामको उदाउने र अस्ताउने । त्यस्तै जाडो–गर्मीको आवागमन पनि । आफ्नै समयमा वर्षन्छ शीत अनि वर्षात लागेपछि गडगडाउँछ खहरे ।

मैदानका लिली फूलहरु मुस्कुराउँछन् बसन्त आएपछि । अनि गाना भर्छ कोकिल वन प्रान्तमा । आफ्नै याममा टुप्लुक्क आइपुग्छे चरी हाँगामा काफल पाक्यो भन्दै । पृथ्वी घुमेको छ अनवरत रितले । अग्लिन्छ हिमाल शिशिरमा अनि पग्लिन्छ आफ्नै मौसममा सललल्ल बनेर हिमनदी ।

हावाले बहन बिर्सिए के होला ? अनि नबगे पानी ! रोक्यो भने पृथ्वीले गति ! धराशायी हुन्छ मानव अस्तित्व अनि अन्त्यको शुरुवाता पनि । कर्मैको आडमा जीवन्त बन्छ मान्छे । रोकेर बसे गति खुल्दैन फाटक उन्नतिको ।

आव्हान गर्छ समय खोज, आविष्कार र सिर्जनाका निम्ति नवजागरणको शंखनाद । पहिचान गर्न सक्नेहरुका लागि शांकेतिक हुन्छन् अवसरहरु ।
जंगली अवस्थाको मान्छे जंगलमा खाना खोज्न जान्थ्यो । ओढारमा बास बस्न फर्कंदा बाटो भुलिएला भनेर रुखका हाँगा मर्काउँथ्यो ।

कान्ला र ढिस्काहरु भत्काउँदै चिनो राख्थ्यो फर्कनका लागि सजिलो बनाउन । डाँडाको घाम हेरेर रात पर्न लागेको अड्कल काट्थ्यो । यिनै अवस्था पार लगाएर व्यापक परिवर्तनको बिगुल फुकेको छ समयले लम्कँदै छ दिनानु दिन ।

विज्ञान र प्रविधि शिखरतर्फको यात्रामा आवश्यकता नै आविष्कारको जननी हो । सिद्धान्त नै सिकाईको आधारशिला पनि । आज मान्छेले कम्पासदेखि राडरसम्म विकास गर्न सक्यो । आराधनमा समयको अनवरत जुटे प्रयोगशालामा न्युटन, आइन्स्टाइन बालकजस्तै बनिरहे जिज्ञासु । उनकै सिद्धान्त बाँचेका छन् हाम्रा व्यवहारिकतामा सँगै उनीहरु पनि ।

थाक्दैनौ गाएर दृष्टान्त उनको छाडेनन् जसले समयको साथ । माथ गरे अनेक कठिनाई । देवकोटा, सम, शेक्सपियर, टैगोर । उनका उपजिव्य कृति छन् आज हाम्रा हात हातमा ।

दिनको सत्र घण्टा व्यस्त रहन्छन् बिल गेट्स । त्यसैले त धनी कहलाए विश्वकै । एउटा प्रयोगशालाले मानवकै समकक्षी यन्त्रमानव बनाउने क्रममा एउटा जिउँदो र जाग्दो मान्छेको एक सेकेन्ड समय बराबर पचास हजार डलर मूल्य तोकेको छ । जसबाट अवगत हुन्छ समयको मूल्य ।

परिवर्तनशील छ समय । नश्वर छन् सम्पूर्ण संरचना । सेकेन्डमै खसेको लिटिल ब्वई एण्ड फ्याट म्यानले हिरोशिमा र नागाशाकीको सुन्दर संरचना ध्वस्त गर्यो । फेरि मानव आविष्कारले नै पृथ्वीलाई चन्द्र र मंगलग्रहसँग साक्षात्कार गर्न सक्यो । वरदान र विनाश दुवै हो विज्ञान । बराबरी छन् गुण–दोष । समयको देन हो आविष्कार र शिक्षाको उपलब्धी पनि ।

सुकरातले मृत्युदण्ड दिनुभन्दा अघि आफ्ना शिष्यलाई कार्यको निरन्तरता बोध गराएका थिए । समयको पहिचान हो निरन्तरता । बीशौँ शताब्दीका महामानव महात्मा गान्धी समस्या लिएर आउनेहरुका भीडमा घेरिएर समाधान बताउँथे चर्खामा धागो कात्दै । कोल्टे फेरेपछि समयले अर्थहीन हुन्छ रफ्तार । लखेटिन्छ मान्छे झरेको पातलाई हावाले लखेटेझैँ दिशाविहीन भएर ।

समय उड्छ पाइलट हामी नै हौँ । परिस्थितिलाई नियन्त्रण गर्नु पर्छ समयसँग हिँड्न । डोहोरिनु पर्छ मनस्थितिले । कसरी अविराम यात्रा गरिरह्यो कछुवा । अन्ततः खरायोले नै झेल्नु पर्यो पराजयको पश्चाताप । समय नै धारिलो हतियार हो । व्यक्तिलाई प्रमाणित गर्ने आधार पनि । वर्तमान विश्वले भित्र्याएको छ दिनानु दिन नयाँ प्रविधि ।

विकसित मुलुकहरु आविष्कार गर्छन् स्मार्ट वाच, मोबाइल इत्यादि । प्रयोग गर्छौँ हामी । उनीहरु समयको सदुपयोग गर्छन् । भिडियो गेम बनाउँछन् । युट्युब र फेसबुकबाट व्यापार गर्छन् । हामी मनोरञ्जन लिन्छौँ । घण्टौँ खर्चिन्छौँ सामाजिक सञ्जालमा ।

हामीले प्रविध होइन प्रविधिले हामीलाई चलाउन थालेको पत्तै पाउँदैनौ । कम महत्वपूर्ण कार्यमा समय खेर गइरहेको छ । उल्टो बाटो हिँडेर गन्तव्य भेटिन्न । कलिला स्कुले बालबालिकाहरुको सिर्जनाशीलतामा हस हुँदै गइरहेको छ । के होला यसको दीर्घकालीन असर ?

साना–ठूला सबैको मस्त लुटिरहेछ समय वान आइ मन्स्टर रमेर सबैका हातमा । मनोरञ्जक र रमिते मात्र होइन विद्यमान छ नायक बन्ने गुण पनि हामीमा । नितान्त महत्वपूर्ण छ समय । कल्पनाको प्रवाहले पनि नपाए उत्रिन पानाभरि हराउँछ क्षणमै ।

पौरखीहरुका लागि थप हिम्मतको पर्याय बनिदिन्छ समय । उत्साह र शक्ति पनि । शान्ति, कल्याण र अमनचैनको विगुल फुक्छ कहिले उहि यायावर जरासन्ध बनेर खडा हुन्छ फेरि । थुपार्छ अनेकौँ चुनौती । रहँदैन कसैको नियन्त्रणमा पनि ।

युद्ध, महामारी अनेकौँ प्रकोपको चक्करमा धकेल्छ आफ्नो प्रवाहलाई । वर्तमानलाई बेरको छ भाइरसरुपि जालले । विश्वमा कयौँले गुमाए ज्यान । भोकमरीले मरेका छन् कति । संसारका अर्का कुनामा सडेर गइरहेको छ खानेकुरा । कसैले खोला बगाइरहेका छन् ।

कोही एक घुट्को पानीका लागि तड्पिरहेका छन् । ख्याति कमाएका अस्पताल मनाही छ कोभिड संक्रमितका लागि । नजिक नआउन अनुरोध गर्छन् डाक्टरहरु । अभावले दुर्गम बनेको छ सहर । यस्तै विषमताका अनेक दृश्यांशको दर्शक मान्छे स्विकार्न विवश छ निरीह बनेर समको दासत्व ।

भूमि, जल, जाति, धर्मका नाममा चर्किंदा युद्ध अनेक गोता खाइरह्यो युगले । सन् १९३९ को महासमर आत्तिए कयौँ कलिला एन फ्र्याङ्कहरु गुप्त भवनमा तेजावधारा खन्यायो समयले । दिनरात साइरन बजे, बम खसे, गोली चले, ध्वनि वर्जित थियो पाएनन् चिच्याउन समेत ।

कालो समय अस्विच र वैइगेन बेल्सेनका ग्यास च्याम्बरहरुमा यहुदी हत्याको खबर विश्वले सुनिरह्यो आतंकित बनेर । अन्ततः साठी लाख यहुदीको हत्या । निको नभएका घाऊ फेरि दुख्न थाले । धर्मका निम्ति, भूमिका निम्ति प्यालेस्टाइन र इजरायलको अबिराम युद्ध कहिलेसम्म ?
निष्ठूर समयका पखेटामुनि कयौँ भियतनामी बौद्ध भिक्षुहरु ज्युँदै डढे ।

द्वापरको अन्त्यमा सत्य र धर्मको स्थापनाकै नाममा अठार दिनसम्म हस्तिनापुरको कुरुक्षेत्रमा अनवरत चल्यो घमासान । भाइ–भाइ बिचको युद्ध सत्ता प्राप्तिकै खातिर अनेक दुर्दान्त । हेर्ने उही समय जो सजिव छ आज हाम्रा आँखामा ।

समयको रफ्तारमा भवितव्यहरू आकस्मिक हुन्छन् चिर्दै जान्छ मानव स्वयमले नै । सम, विषम, रौद्र र सौम्य परिस्थितिका चुनौतीहरूलाई । अनुभूतिहरू लामो विगतका उपलब्धीहरू हुन् । बौद्धिक उपलब्धी र ज्ञानका पाठहरू आजका लागि गणनायोग्य हुन्छन् ।

समयको सम्बन्ध आज र अहिलेसँग हुन्छ । जसको अधिक से अधिक उपयोगले उन्नत कार्यसिद्धि हुन्छ । आजभन्दा २५ सय वर्षअघि जन्मिएका बुद्ध गुगलमा खोजिने आम हो ।

र, बिक्री हुने मूर्ति पनि उनैको हो । उच्च बौद्धिक चेतनाले महान बन्छ मान्छे जसका ज्ञान र अनुभूतिहरू नै अशेष समयका शेषमा साझा पथप्रदर्शनका मार्ग बनेका छन् । अटाएका छन् आलोक बनेर सबका हृदयमा ।

सम्बन्धित समाचार

देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
  • २०७७ असार २२, १३: ५३: ५६

नयाँ बिकल्प,काठमाडौं । कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैं देशमा कोरोना संक्रमणको महामारीबाट दैनिक दुई सयको हाराहारीमा नेपाली...

उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
  • २०७७ असार २२, १३: ५३: ५६

नयाँ बिकल्प,काठमाडौं । सत्तारुढ केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्वासको मत दिने र नदिने विषयमा चर्किएको विपक्षी जनता समाजबादी पार्टी...

जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
  • २०७७ असार २२, १३: ५३: ५६

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्तावको विपक्ष र तठस्थमा...

भर्खरै

TOP