April 19, 2021, Monday
नेकपा विवादः

नेकपा कार्यदलको प्रतिवेदनप्रति ओली समूहभित्रै असन्तुष्टी

नयाँ विकल्प
काठमाडौं– पार्टी भित्रको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको नेकपा कार्यदलको प्रतिवेदन आफै विवादमा परेको छ। सो प्रतिवेदनमा प्रधानमन्त्री केपी ओली निकट नेताहरु समेत असन्तुष्ट भएका छन् । स्रोतका अनुसार अर्का अध्यक्ष प्रचण्डलाई पार्टी जिम्मा लगाउने गरी प्रतिवेदन आएको भन्दै उनीहरुले असन्तुष्टी प्रकट गरेको एक नेताले बताए।

यता अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष समेत प्रतिवेदन प्रति सन्तुष्ट छैन् । उनीहरुले एक ब्यक्ति एक पदको अवधरणा आउन नसकेको भन्दै असन्तुष्टी जनाएको एक नेताले बताए। स्रोतका अनुसार कार्यदलका सदस्यहरु भीम रावल र सुरेन्द्र पाण्डे पनि प्रतिवेदन प्रति सन्तुष्ट नभएको एक सदस्यले बताए। कार्यदलमा नोट अफ डिसेन्ट लेख्दा राम्रो सन्देश नजाने भन्दै उनीहरुले हस्ताक्षर गरेको बताइएको छ।

महासचिव पौडेलको संयोजकत्वमा गठित कार्यदलमा शंकर पोखरेल, रावल पाण्डे, जनार्दन शर्मा र पम्फा भूसाल सदस्य थिए।

प्रतिवेदनले प्रधानमन्त्री ओलीलाई ५ बर्ष प्रधानमन्त्री हुन अभय दान गरेको र प्रचण्डलाई ‘फेस सेभिङ’ गरी दिएको एक नेताले दावी गरे। कार्यदलले तयार गरेको प्रतिवेदनमा कुनै नयाँ कुरा नभएको एक नेताले बताए। नेकपा एकीकरण हुदा तयार गरेको अन्तरिम बिधान र यस भन्दा अघिका बैठकहरुले गरेको निर्णय लिपिवद्ध भए जस्तो देखिएको ती नेताले बताए।

गत पुसमा बसेको स्थायी समितिले असोजमा केन्द्रीय समितिको बैठक बोलाउने र आगामी चैतमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो। त्यसैगरी प्रचण्डले पार्टी संचालनको जिम्मा लिने र ओलीले सरकार संचालनको जिम्मा लिनेपनि यस अघिका निर्णय हुन। प्रतिवेदनमा यहि कुरालाई जोडले अगाडि सारिएको छ।

कार्यदलले आफ्नो प्रतिवेदनमा अमेरिकन परियोजना एमसीसीका बारेपनि सुझाव दिएको छ। तर सो सुझाव यस अघिनै वरिष्ठ नेता झलनाथ खनाल संयोकत्वमा गठित कार्यदलले दिईसकेको छ। त्यसमा कार्यदलका सदस्य भीम रावल पनि सदस्य थिए।

नेकपा एक नेताले नयाँ बिकल्पसंग भने – कार्यदलको प्रतिवेदनमा कुनै नयाँ कुरा आएको छैन। पहिलेका बैठकले गरेका कुराहरुको निरन्तरता मात्रै हो’। ती नेताले थपे ‘लिखितमा कुनै समस्या छैन , ब्यबहारमा आएर अड्कने हो, पहिले पनि लिखितमा सबै कुरा राम्रा छन् ब्यबहारमा कार्यन्वयन नहुदा समस्य उत्पन्न भएको हो।’

स्रोतका अनुसार प्रचण्डलाई कार्यकारी अध्यक्ष भनेपनि ओली समूहका नेता त्यो मान्न तयार छैनन्। उनीहरु प्रचण्डलाई लिखितमा कार्यकारी उल्लेख गरेपनि ब्यबहारमा अहिलेको अवस्थामा राख्न चाहन्छन् । ओली निकट एक नेताका अनुसार यो पटक प्रचण्ड बाठो लड्छ तीन बल्ड्याङ भने जस्ता मात्र भएका हुन् ।

भर्खरै

TOP